गुफाडाँडापछिको कार्यसूची

काठमाडौँ — गत एक महिनाभित्र भएका दुई ठूला जलवायु सम्मेलनले प्रशस्त चर्चा पाए । मध्य मंसिरमा पोल्यान्डको काटोविसमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धि (युयनएफसीसीसी) पक्ष राष्ट्रको सम्मेलन (कोप २४) ले विश्वभर चर्चा बटुल्यो ।

त्यसैगरी मध्य पुसमा सिन्धुपाल्चोकमा भएको राष्ट्रिय जलवायु सम्मेलनको चर्चादेशभित्र भइरहेको छ । वर्षेनि नयाँ संस्करणमा यस्ता सम्मेलनहरू हुने गरे तापनि त्यसमा नवीन मुद्दाहरू देखिँदैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कोप २४ मा नेपालीमा दिएको मन्तव्य र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले कोप १५ मा अंग्रेजीमा गरेको भाषणमा मात्रै भाषागत भिन्नता छ, विषय–वस्तु उही ।

लाग्छ, जलवायु परिवर्तनले हिमनदी फैलिएको, हिमाल नांगिएको, प्रकोप बढेको रस्थानीय जीविका कष्टकर बनेको जस्ता सामान्य र मोटामोटी कुरा बाहेक हामीसँग कुनै समस्या छैन । कम कार्बन उत्सर्जन गर्ने देश भएर पनि जलवायु परिवर्तनको चपेटामा नेपाल परेकोले आफूमाथि अन्याय भएको भन्नेबाहेक कुनै अनुरोध छैन ।

आर्थिक सहयोगको लागि विश्वसामु गरिने याचनाबाहेक कुनै आग्रह छैन । एक दशकपछिको राष्ट्रसंघीय जलवायु सम्मेलनमा कोप २४ मा नेपालले त्यही कुरा दोहोर्‍यायो, जुन दशक अघिको कोप १५ मा उठाइएको थियो । बरु कोप १५ मा नेपालले पर्वतीय देशको समूह बनाउने महत्त्वपूर्ण कुरा राखेको थियो । यद्यपि त्यसले अझै मूर्तरूप लिन र सम्मेलनमा विषयगत रूपमा प्रवेश पाएको छैन ।

कम अध्ययन–अनुसन्धान

दस सालसम्म वर्षेनि उही कुरा एउटै ढंगले एकै मञ्चमा फलाकिरहनुको अर्थ हो— हामी विषयगत ज्ञानको क्षेत्रमा टाट पल्टिएका छौं । प्रगति हासिल गर्न नसकेको यथास्थितिमा रुमल्लिरहेको देश, समाज र व्यक्तिसँग नयाँ कुरा हुँदैनन् ।

यद्यपि निरन्तर अध्ययन र अनुसन्धानले विचार, दृष्टिकोण र शैलीमा नवीनता ल्याउँछ । अनुभव, अध्ययन र अनुसन्धानको अभावमा सिर्जनाका ढोकाहरू स्वत: बन्द हुन्छन् । नेपालको अन्य विषयहरूमा जस्तै जलवायु परिवर्तनमा पनि भएको त्यही हो ।

गत दशकमा विश्वमा विज्ञान र प्रविधिमा भीमकाय परिवर्तन भए । जलवायु परिवर्तनका क्षेत्रमा उल्लेख्य ज्ञान उत्पादन र नयाँ तथ्य उजागर भए । उदाहरणका लागि अनुसन्धान लेखहरूको सन्दर्भ सामग्री सूचीकृत गरिने डेटावेस ‘वेभ अफ साइन्स’ मा ‘क्लाइमेट चेन्ज’ टाइप गर्दा सन् २००९ देखि २०१९ सम्म करिब १ लाख ६१ हजार लेख प्रकाशित भए ।

त्यो संख्या सन् १९९९—२००९ को अवधिभन्दा साढे चार गुणाले बढी हो । विश्वमा घातांकीय हिसाबले जलवायु परिवर्तन सम्बन्धी अनुसन्धानको संख्या बढेतापनि त्यसको प्रभाव सरकारी प्रकाशन, राजनीतिक भाषण र विज्ञहरूको प्रस्तुतिमा परेको देखिँदैन ।

सरकारले सन् २०१७ मा प्रकाशित गरेको जलवायु परिवर्तनको लागि राष्ट्रिय अनुकूलन सम्बन्धी प्रकाशनमा अद्यावधिक नगरिएको तथ्यांकको पुन: प्रयोग भेट्न सकिन्छ, जुन त्यस्तै प्रकाशनमा दशकअघि प्रयोग गरिएको थियो । उक्त प्रकाशनमा सन् १९७६—२००५ को नेपालको तापक्रम विश्लेषण गरिएको नतिजा राखिएकोछ । जबकि विश्वमै सबैभन्दा उच्च तापक्रम वृद्धि भएका टप १० वर्षहरूमा ९ वर्ष सन् २००७ पछिका छन् । नेपालमा तापक्रम वृद्धिको पछिल्लो अवस्था के छ ? सरकारी प्रकाशनहरूमा अद्यावधिक तथ्य भेट्टाउन मुस्किल छ ।

सरकारले पत्याएका विज्ञहरूको अवस्थापनि भिन्नछैन । सिन्धुपाल्चोकमा जलवायु परिवर्तनबाट जोखिममा परेको राष्ट्रको सूचीमा नेपाल विश्वमै चौथो नम्बरमा परेको बताइयो । त्यो तथ्यांक करिब दशक पुरानो हो । जोखिम राष्ट्रको सूची प्रकाशन गर्ने जर्मनवाचको पछिल्लो प्रतिवेदनले नेपाललाई २६ औं स्थानमा राखेकोछ ।

सरकारी प्रकाशन र विज्ञको सीमित ज्ञानको प्रतिविम्ब उच्च नेतृत्वले अन्तर्राष्ट्रियस्तरमा गर्ने भाषणमा देखिन्छ । अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा देशको प्रमुखले जलवायु परिवर्तनले पानीको मुहान सुकेको बताइरहँदा हामीसँग कति संख्यामा पानीको मुहान सुके भन्ने तथ्यांक छैन । मुहान सुक्नुको कारण जलवायु परिवर्तन नै हो भनेर यकिन गरिएको भरपर्दो वैज्ञानिक अध्ययन भेटिँदैन ।

चलनचल्तीको जलवायु परिवर्तनको असरजस्तै फूल चाँडै फुल्नु नेपाली अध्ययनको निष्कर्ष होइन, अन्यत्रको निचोड हो । त्यसकारण भनिएका प्रभावहरू जलवायु परिवर्तनको हो वा जलवायु परिवर्तिता (क्लाइमेट भेरिइविलिटी) वा स्थानीय प्राकृतिक दोहन र कुशासनको परिणाम हो भनेर छुट्याउने अध्ययन छैन ।

नेपालमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक अध्ययन र अनुसन्धानको अवस्था निम्छरो छ । नयाँ कुरा खोज्ने, नयाँ पुस्तासँग सिक्ने, अद्यावधिक हुने, नयाँ तथ्यसँगै सच्चिने र आफ्नो विधाभन्दा पर गएर सोच्ने परिपाटी अभावले विश्व मञ्चमा हाम्रो उपस्थितिलाई थप कमजोर बनाएको छ ।

ज्यादा अभिनय र नाट्यगिरी

आफ्नो काम–कर्तव्यमा स्पष्टता नभएपछि अरूको नक्कल, नाट्यगिरी स्वाभाविक बन्छ । नक्कलसँगै मौलिकता हराउँछ । जलवायु परिवर्तनमा दशकयताको कार्यशैलीमा त्यो अस्पष्टता देखिन्छ ।

कोप १५ को पूर्वसन्ध्यामा माल्दिभ्सले समुद्रमुनि मन्त्रिपरिषद बैठक गरेको नक्कल गर्दै सगरमाथा आधारशिविरमा मन्त्रिपरिषद बैठक गरियो र ७ सय जनाको जुलुसलिएर कोपनहेगेन पुगियो । थाहा छैन, माल्दिभ्स यतिखेर के गर्दैछ । तर पोहोर रारामा बैठक गरेर नेपालले त्यसलाई निरन्तरता दिँदैछ । वर्षेनि कहिले सगरमाथाको फेदीबाट त कहिले राराको किनारबाट, खलंगादेखि गुफाडाँडासम्मबाट जलवायु घोषणापत्र जारी गरिन्छ ।

तर घोषणापत्रका प्रतिबद्धताको प्रगतिको पुनरावलोकन र लेखाजोखा गर्ने फुर्सद र चासो दातृ निकाय, सञ्चारमाध्यम र स्वतन्त्र अध्येता कसैसँग छैन । गरिब देशको सीमित स्रोत र साधन यस्ता सजिलो उत्सव गरेर सिध्याएपछि अध्ययन र अनुसन्धानजस्ता कठिन, हत्पत्ति नदेखिने कार्यहरू स्वाभाविक रूपमा छायामा पर्छन् ।

अबको बाटो

जलवायु परिवर्तन एउटा जटिल, बहुआयामिक विषय हो । यसमा जलवायु विज्ञानमात्रै होइन, वातावरण, इन्जिनियरिङ, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका कुराहरूसमेत पर्छन् ।

नेपालमा यसप्रतिको बुझाइ सीमित विधाहरूमै केन्द्रित छ । त्यसकारण जलवायु परिवर्तनलाई बुझ्ने, अध्ययन र अनुसन्धान गर्ने सवालमा यसको बहुआयामिकतालाई आत्मसात गर्न जरुरीछ । जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको अन्य समस्याहरू, गरिबी, बेरोजगारी, पछौटेपन, अविकासभन्दा कति महत्त्वपूर्ण हो वा होइन भन्ने निक्र्योल हुन आवश्यक छ । देशको तत्कलीन र दीर्घकालीन प्राथमिकतामा यस विषयको स्थान निश्चित गरिनुपर्छ ।

हाल जलवायु परिवर्तनमा काम गर्ने सरकारी निकाय वन मन्त्रालय मातहतको एक महाशाखामा सीमित छ । त्यसले विषयगत बहुआयामिकता समेट्न सक्दैन । त्यसैलाई मध्यनजर गरेर संसद्को वातावरण संरक्षण समितिले जलवायु परिवर्तनको मुद्दा हेर्ने छुट्टै निकाय बनाउन निर्देशन दिएको पनि एक वर्ष बितिसकेकोछ । तर त्यस्तो निकाय बनेको सार्वजनिक भएको छैन । त्यस्तो निकाय गठन जरुरी छ ।

नेपालमावातावरण संरक्षण ऐन बनेको २२ वर्ष भयो । त्यसमा जलवायु परिवर्तनको शब्द नै उल्लेख छैन । जलवायु परिवर्तन नीति २०६७ बनेतापनि जलवायु परिवर्तन केन्द्रित नयाँ कानुनी व्यवस्था तत्कालको आवश्यकता हो । यस्तो ऐन नबन्नुको कारण पेस गर्न सर्वोच्च अदालतबाट सरकारलाई कारण देखाउ आदेश जारी भइसकेकाले अब त्यस दिशामा अविलम्ब काम गर्नुपर्छ ।

नेपालमा धेरैजसो सरकारी प्रतिवेदन परामर्शदाताको भरमा लेखिन्छ । वर्षेनि परामर्श खर्च चुलिँदै गएको छ । देशको नीति बनाउन सहयोगी त्यस्ता प्रतिवेदन लेख्ने काम टेन्डर प्रक्रियाबाट गरिनु दुर्भाग्यपूर्ण हो । यो प्रवृत्तिको अन्त्य जरुरी छ । जलवायु परिवर्तनका लागि अन्तरदेशीय निकाय (आईपीसीसी) ले निश्चित अवधिमा प्रकाशन गर्ने उच्चस्तरीय प्रतिवेदनहरू स्वंयसेवी विज्ञहरूले तयार पार्छन् । त्यसको लागि आईपीसीसीले विश्वका उत्कृष्ट विज्ञहरूको छनोट गर्छ ।

प्रतिवेदनमा लेखकको रूपमा नाम आउनु प्रतिष्ठाको विषय भएकोले विज्ञहरूले पनि त्यसबाट उत्प्रेरणा पाउँछन् । नेपालको राष्ट्रिय मुद्दाहरूमा मूल्यांकन प्रतिवेदनहरू बनाउँदा यही मोडलमा तयार पार्ने परम्परा थाल्नु जरुरी छ । त्यस्ता विज्ञटोलीले देशको जलवायु परिवर्तनको क्षेत्रका मुख्य सवालहरूको बृहत सूची बनाएर भविष्यमा हुने अध्ययन र अनुसन्धानलाई दिशानिर्देश गर्न आवश्यक छ । हामीले जलवायु परिवर्तनलाई सधैं समस्याको रूपमा बुझ्दै आएकाछौं ।

यसले विनाश र दु:खान्तहरू निम्त्याएको छ । तर यसले हाम्रो विकासप्रतिको बुझाइ र आनिबानी फेर्दै नवोन्मेषलाई बढाउँदै लगेकोपनि छ । हरित अर्थतन्त्र, व्यवसाय र रोजगारीको ढोका खोलेको छ । रपूर्वाधारहरूलाई वातावरण मैत्री बनाउने अवसर पनि । त्यसकारण जलवायु परिवर्तनको चुनौतीलाई अवसरको रूपमा हेर्ने दृष्टिकोण निर्माण अबको आवश्यकता हो ।

राष्ट्रपतिले विश्वसामु कार्बन उत्सर्जन घटाउन आफूले विद्युतीय सवारी किनेको सगर्व बताएको एक महिना नपुग्दै राष्ट्रिय जलवायु सम्मेलनमा सयौं निजी र सरकारी गाडीको लस्कर देखियो । सयौं साना गाडीमा सहभागी लैजानको साटो केही ठूला बस प्रयोग गरिएको भए कार्बन उत्सर्जन कम हुन्थ्यो भनेर सामाजिक सञ्जालमा त्यसको विरोध भयो । कार्बन उत्सर्जन कम गर्न अब व्यावहारिक रूपान्तरण हुन जरुरी छ ।

कान्तिपुर दैनिक । पुस २४, २०७५

‘झ्याम्ली बाख्राको पाठो’ भेट्दा

शीर्षक सुन्दै अनौठो लाग्ने र कौतुहल जाग्ने ‘झयाम्ली बाख्राको पाठो’ निबन्ध संग्रहका निबन्धहरु पढ्दा पाठकले प्राचीन सभ्यतादेखि बेदसम्म, धर्मदेखि विज्ञानसम्म, तथ्यांकशास्त्रदेखि जीव विज्ञानसम्म विविध विषयहरुमा ज्ञान प्राप्त गर्छन्।

अमेरिकामा प्राध्यापन गरिरहेका प्राध्यापक शिव गौतमद्वारा लिखित निबन्ध संग्रहमा झ्याम्ली बाख्राको पाठो लगायतका २२ वटा निबन्धहरु समावेश छन्। ती निबन्धहरुमा लेखकले भूमिकामा लेखेजस्तै लेखकका कचकच, चकचक, छुकछुक प्रशस्त देख्न सकिन्छ। निबन्धभित्र अज्ञान, विज्ञान, अभिज्ञान, सामान्यज्ञान र मनोविज्ञानका खुराकहरु पाठकले भेट्छन्।

संग्रहको पहिले निबन्ध पाल्सी कुरामा सामान्य बोलिचालीमा अरुले नबुझुन भनेर शब्दलाई बंग्याएर बोलिने पाल्सी कुरासँग कम्प्यूटरको दुनियाँको क्रिप्टोग्राफी कसरी जोडिन्छ थाह पाउन सकिन्छ। आगोको खोजीमा लेखकले आगोलाई मानिसले अहिलेसम्म गरेको आविष्कार मध्येकै सबैभन्दा महत्वपूर्ण भनेका छन्। त्यसको पुष्टि गर्न उनले मोटरका इन्जिनदेखि रकेटसम्मले कसरी आगो निकाल्छ भनेर विभिन्न दृष्टान्त दिएका छन्।

उत्तानो ओदान, झ्याम्ली बाख्राको पाठो, सपना, पाल्सी कुरा, घोडामा लागेका समयका गोडा, रुमालमाथि बसेर अरुण नदी तर्ने कलाजस्ता निबन्धहरुमा उनका बाल स्मृति कसरी ठूलो भएपछि परिपक्व बन्दै गयो र ज्ञानको आयतन फैलियो भनेर बुझ्न सकिन्छ। बाल्यकालमा लेखककी आमाले चट्याङ पर्दा ओदानलाई उत्तानो बनाएर राखेको स्मृतिमाथि निकै घोत्लिएका छन्– ओदान शीर्षकमा। निबन्धमा सानैमा सुनेको इन्द्रले बज्र हानेर चट्याङ पर्ने अन्धविश्वासमा आधारित किंबदन्ती र विज्ञानले उजागार गरेका सत्यलाई पढ्न सकिन्छ। ‘ठूलो भएपछि व्यक्तिले सच्चाई बुझ्दै जान्छन् (आफूले जस्तै) तर बालकको डर हटाउन आमाहरुले यसरी नै नयाँ नयाँ किंबदन्ती (चाहे अन्धविश्वासमा आधारित किन नहुन) भनिरहुन्’, उनी लेख्छन्।

‘घोडामा लागेका समयका गोडा’ मा लेखकले अलेक्जेन्डरदेखि बुद्घले चढेको घोडाको नाम लिएका छन् तर आफूले चढेको घोडाको नाम भुलेका छन्। त्यसमा कुनै बेला लन्डन र न्यूयोर्कको सडकको प्रमुख सवारी साधन घोडाले त्यहाँको सडकमा लिदीको समस्या निम्त्याएको बयान छ। उनका बाल्य स्मृतिका तिथिमिति भूलिएका कुराहरु निबन्धमा सधैं अभाव खड्किन्छ। कम्तिमा पनि लेखकले त्यसलाई अनुमान गरेर राखिदिएको भए निबन्ध अझै यथार्थवादी हुनसक्थे।

लाग्छ, लेखकसँग शब्द र अक्षरहरुको अर्थ खोज्ने मनोवैज्ञानिक रोग सवार छ। दुःख र सुख निबन्धमा दुःख र सुख को अगाडिको दुले नराम्रो सुले राम्रो बुझाउँछ भने दुवै शब्दको पछिल्लो अक्षर ख को अर्थ के हुन्छ? संस्कृतको असुर शब्दसँग इरानी शब्द अहुरको साइनो होला? वा चलनचल्तिमा बोलिने असुरसँग इजिप्टको न्याय कि देवी माआतसँग के नाता होला? अंग्रेजी शब्दहरु rotation, round, repeat, repetition, rotunda, ring, ring, rhythm र उस्तै अर्थ (घुमाउने) दिने नेपाली शब्द रोटी, रोटेपिङ, रिंगाउने, रिंगटाको सम्बन्ध छ कि? सत्यको सत्यतामा ट्रि र ट्रुथको सम्बन्ध कसरी भयो होला? नेपालीको सत्यलाई अंग्रेजी भनिने भेरिटासको vir सँसँग संस्कृतको वीर पो जोडिएको छ कि? यस्ता थुप्रै प्रश्नहरुसँग लेखकले जोरी खोजेका छन्।

नेपाली र संस्कृत शब्दहरुको उत्पत्ति र त्यसको अन्य भाषा, संस्कृतिसँगको साइनोलाई लेखकले प्रत्येक जसो निबन्धमा केलाएका छन्। शब्द र अक्षरहरु केलाइएको अर्को निबन्ध अजर, अमर, अ र म बीचका अक्षर निबन्ध संग्रहकै सबैभन्दा गहकिलो निबन्ध हो। डब्लु (W)  भनेको डबल (UU) देखि पाणिनीका व्याकरणसम्मका व्याख्याहरु त्यसमा छ। नेपाली भाषाका अक्षरहरु उच्चारण गर्दा घाँटीबाट निस्किएर जिब्रो, दाँत हुँदै कसरी क्रमशः ओठसम्म पुग्छन् भनेर थाहा पाइने उक्त निबन्धमा गौतम लेख्छन्, ‘क, ख घाँटीबाट निकन्छन्, त, थ दाँतबाट ट, ठ झन् अगाडिबाट र प, फ चाहिँ ओठबाट निस्कन्छ। त्यसकारण नेपाली अक्षरको क्रम स्वभावविक छ।’

शिव गाैतम र उनकाे 'झ्याम्ली बाख्राको पाठो'काे कभर

शिव गाैतम र उनकाे ‘झ्याम्ली बाख्राको पाठो’काे कभर

मानिसले निकाल्ने प्रायः सबै उच्चारणहरुलाई अक्षरमा रुपान्तरण गरेर त्यसलाई व्यवस्थित गर्नु निकै ठूलो कुरा भएको कुरा उक्त निबन्ध पढ्दा लाग्छ।

संग्रहका निबन्ध मध्येमा सबैभन्दा अप्ठ्रो नकारात्मकताको सकारात्मक कुरा नेतिनेतिदेखि क्यान्सरको ओखती हो। प्राध्यापक गौतम आफैँ जैविक तथ्यांकसास्त्रका प्राध्यापक हुन्। निबन्धमा कसरी अनुसन्धानकर्ताहरुले नकारयुक्त अड्कल अर्थात नल हाइपोथिसस (null hypothesis) प्रस्तुत गरेर कसरी सकारात्मक नतिजा निकाल्छन् भन्ने व्याख्या छ तर सामान्य पाठकका लागि बुझ्न त्यो कठिन निबन्ध हो। तर त्यस्तै प्रकारको अर्को निवन्ध जन्मजात पुरुषको हातमा भने बच्चा जन्मनुको वैज्ञानिक तथ्य आनुवाशिंक विज्ञानको सहायताले सरल ढंगले केलाइएको छ। ‘आठ दुना सत्र’ त्यस्तै उच्च कोटीको वैज्ञानिक निबन्ध हो। शून्यदेखि ९ भएको अंक प्रणालीमा त्यो सम्भव नभए पनि ९ को गुण अर्थात अन्तिम नम्बरलाई ८ मा सार्ने हो भने त्यो संभव हुन्छ भन्ने तर्क लेखकले गरेका छन्। अर्थात ० देखि ८ सम्मको अंक प्रणालीको कल्पना गर्ने गरेर लेखकले आठ दुना सत्र हुन्छ भनेर देखाएका छन्। तीन आँखा, अरुण र बरुण तर्दा, आटसउटुस मध्यम कोटीका निबन्ध हुन्।

कतिपय आफूले सुनेका अन्धविश्वासयुक्त किम्वदन्तीहरु चलिरहुन् भनेर केही निबन्धमा लेखकले लेखे पनि चलन चल्तिमा कसैलाई नम्र हुन भनिने फलेको हाँगो नझुकेको कहाँ छ र? सँग लेखक असहमत छन्। उनी लेख्छन्, फलेको वृक्ष झुक्नुमा गुरुत्वाकर्षणको हात छ। यो कसैको विनम्रतासँग कसरी जोडिन्छ? त्यसलाई कविताकै रुपमा रहन दिउँ भन्ने तर्क उद्वरण र उदाहरणको जादूमयी शक्तिमा पढ्न सकिन्छ। त्यसकारण लेखक कुनै निबन्धमा यथास्थितीवादी त कुनैमा त्यसको विरोधमा उभिएका छन्।

यस्ता अपवादका कुराहरु निबन्धको शब्दमा मात्रै होइन शिव गौतमको जीवन हेर्दा पनि लाग्छ। नेपालमा बच्चाहरुलाई देखेर भनिन्छ, हुने विरुवाको चिल्लो पात। तर कुनै बेला विश्वप्रसिद्घ हार्वड विश्वविद्यालयको प्राध्यापक रहेका शिव गौतम बालक हुँदा चलनचल्तीमा भनिने चिल्लो पातका थिएनन्। उनी अक्षरहरुलाई मन नपराउने, किताबलाई हुत्याउने, अत्यन्त चकचके, उट्फट्याङ र जिद्दी स्वभावका थिए। यद्यपि अहिलेको वैज्ञानिक खोजहरुले बच्चाको त्यस्तै जिज्ञासु स्वभाव नै ठूलो आविस्कारको जननी भएको देखाएका छन्। त्यसैले शब्दमा जस्तै जीवनमा पनि कतिपय मान्यताहरु (नेपालका) का अपवाद बनेका छन् लेखक।

भूमिकामा प्राध्यापक गोविन्द भट्टरार्इले भनेजस्तै ‘झ्याम्ली बाख्राको पाठो’ बौद्घिक, तार्किक, गहिरो र उच्चकोटीको निबन्ध संग्रह हो। तर पनि निबन्धमा भाषागत, व्यकरणात्मक त्रुटीहरु थुप्रै छन्। जस्तै कतै असुर लेखिएको छ त कतै अशुर। अनौपचारिक भाषा जस्तै हुन्छन् अरे, बेदमा लेखिएको छ अरे, को प्रयोग धेरै पटक भएको छ। भिन्न समय र परिवेशमा लेखिएकोले होला प्रत्येक निबन्धको शैली पनि फरक फरक छ। छपाइ र कभर आर्कषक छैन्। सम्पादन भएर निकालिएको भए सायद त्यस्ता सामान्य त्रुटिहरु हटेर निबन्ध संग्रह अझ उत्कृष्ट बन्न सक्थ्यो।

नेपाल खबर अनलाइन | ९ कार्तिक २०७५

समृद्धिको साँघुरो संकथन

काठमाडौँ — गोरखाका राजा भए पनि पृथ्वीनारायण शाहसँग मोबाइल फोन थिएन  । उनले बिजुली बालेनन्, पत्रपत्रिका पढेनन्, काठमाडौंसम्म जानलाई गाडी चढेनन्, छोराछोरीलाई खोप लगाएनन् र स्कुल पनि पठाएनन्  ।

उनी उखु चपाउँदै दरौंदी बगरमा दौडेर मनोरञ्जन लिन्थे । यतिखेर गोरखाका सामान्यजन पनि मोबाइल बोक्छन् । बिजुली बाल्छन्, मोटरबाट काठमाडौं आउ–जाउ गर्छन्, बच्चालाई स्कुल पठाएका छन्, उनीहरूको खानामा विविधता छ । लुगा विदेशी लगाउँछन् र सिनेमा, टिभी हेरेर मनोरञ्जन गर्छन् । दुई शताब्दीमा नेपालमा खाना, लत्ताकपडा, स्वास्थ्य, शिक्षा, बास, यातायात र ऊर्जाको उपयोगमा व्यापक परिवर्तन आएको छ ।

समृद्धि के हो ?
परिवर्तन संसारभर देख्न सकिन्छ । अहिलेको मान्छेले २ सय वर्ष अघिको पुर्खाले भन्दा सरदर बीस गुणा बढी वस्तु र सेवासुविधा उपयोग गर्छ । कतिपय देशमा त्यो सयौं गुणाले बढी छ । भनिन्छ, सन् २१०० सम्म मान्छेले अहिले उपयोग गरिरहेको वस्तु र सेवासुविधामा थप १६ गुणाले वृद्घि हुनेछ । वस्तु र सेवासुविधाको उपयोगमा विविधता थपिनु समृद्धिको सूचक हो । प्रविधिले आर्थिक उत्पादनका क्षेत्रहरू जमिन, मेसिन र सेवामा कार्यक्षमता बढाएको छ । त्योसँगै मानवश्रम र उत्पादनमा विशेषीकरण भइरहेको छ । कामचलाउ कर्म गर्नेबाट फेरिएर मान्छेले निश्चित काममा विशिष्टता हासिल गर्दै लगेका छन् । यतिखेर जमिनमा बढी उब्जाउ हुन्छ, मेसिनले धेरै उत्पादन गर्छ र सेवाक्षेत्र विस्तारित छ । उपयोगमा विविधीकरण र उत्पादनमा विशेषीकरण नै समृद्धि (पस्परिटी) का मानक हुन् ।

नेपालमा समृद्धिको व्याख्या आआफ्नो सहजता अनुसार भएको पाइन्छ । कतिपयले ठूला पूर्वाधार बन्नुलाई समृद्धि भनेका छन्, कतिपयले जलविद्युत, कृषि र पर्यटनको विकासलाई । मुलुकको समृद्धिसँगै ठूला पूर्वाधार बन्छन् । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायात जस्ता सेवाक्षेत्र विस्तारित हुन्छन् । तर ती सबैले ल्याउने अन्तिम परिणाम भनेको वस्तु र सेवासुविधाको उपयोगमा वृद्धि र विविधीकरण र उत्पादनमा विशेषीकरण नै हो । नेपालका धेरैले खेतीपाती त्यागे पनि विविध प्रकारका अन्नपात, फलफूल, तरकारी खाइरहेका छन् । उद्योगधन्दा नफष्टाए पनि धेरै प्रकारका वस्तु उपयोग गरिरहेका छन् । विश्वमै बढ्दो बजारीकरण, अत्याधुनिक प्रविधिको प्रयोग र सहज वस्तु विनिमयले त्यसलाई सम्भव तुल्याएको छ । यसले वस्तु र सेवाको पहुँच सहज र सुलभ भएको छ । कुशासन र दोहनकारी आर्थिक प्रणालीबीच पनि जनताले उपयोग गर्ने वस्तु र सेवासुविधामा विविधता थपिँदै गएको छ । नयाँ पुस्ताका नेपाली क्रमश: समृद्ध हुँदै गएका छन् । श्रम र उत्पादनको विशेषीकरण भने हुनसकेको छैन । आवश्यक शिक्षा र रोजगारीको अवसर देशमा कम छ । जसले जनताको आम्दानी खासै बढेको छैन । र समृद्धिको एउटा मानक उपयोगमा वृद्धि र विविधीकरणमा अघि बढे पनि अर्को मानक उत्पादनको विशेषीकरणमा हामी पछि छौं ।

पछिल्लो जीवनस्तर सर्वेक्षण अनुसार नेपालीले आम्दानीको सरदर ५४ प्रतिशत खानामा खर्च गर्छन् । त्यो खर्च पाकिस्तानमा ४१, भारतमा ३६ र चीनमा ३४ प्रतिशत छ । विकसित देश अमेरिकामा ६.४, बेलायतमा ८.२ र सिंगापुरमा ६.७ प्रतिशतमात्रै छ । विकसित देशमा वस्तु र सेवासुविधाको विविधतासँगै त्यसलाई उपयोग गर्न मानवीय श्रमको योगदान घटे पनि (आय बढेर) नेपालजस्ता देशमा कम भएको छैन । अर्थात उपयोगमा विविधता थपिए पनि नेपालमा गरिने श्रमले हातमुख जोर्न ठिक्क छ । नेपाल र अमेरिकामा एउटै काम गर्ने मानिसबीच उनीहरूले उपयोग गर्ने वस्तु र सेवासुविधा धेरै अन्तर छ । अमेरिकालाई आज संसारको समृद्घ मुलुक भन्नुको कारण त्यहाँ अन्यत्रको तुलनामा कम समय काम गरेर धेरै वस्तु र सेवासुविधा उपयोग गर्न पाइने अवस्थामा हुनु हो । उपयोगको मानकमा देश र जनता समृद्घ भए पनि आम्दानीको मानकमा कंगाल नै रहनुपर्ने असन्तुलित र असमान अवस्थाको चर्चा समृद्घिको बहसमा हुन आवश्यक छ ।

प्राकृतिक स्रोतले वस्तु र सेवाको उत्पादन र उपयोगमा ठूलो भूमिका खेलेको हुन्छ । कार्यक्षमता विस्तारले वस्तु र सेवा उत्पादनमा प्रकृतिको भूमिका कम गर्न सक्छ, तर पूर्णरूपमा विस्तापित गर्न सक्दैन । त्यसैले मानव प्रगतिको बहसमा उत्पादनमा प्रकृतिको योगदानको चर्चा पनि आवश्यक छ ।

बहुआयामिक विकास
बच्चा जन्मेपछि उसको शरीरका अंगहरू समानुपातिक रूपमा बढ्दै जान्छन् । उसको सोच्ने क्षमता, दक्षता, सामाजिक सम्बन्धहरू पनि विस्तार हुँदै जान्छन् । विकल्प बढ्दै जान्छन्, जसलाई हामी व्यक्तिको विकास भन्छौं । शरीरका केही अंगमात्रै बढ्दै जाने र बाँकी अंग जन्मँदाको जस्तै अवस्थामा रहे मानिस कुरूप देखिन्छ । मुलुकमा पनि एउटा क्षेत्रको मात्रै प्रगति भए असन्तुलित र कुरूप देखिन्छ । समृद्घिले दुई आयामको प्रगति मापन गर्छ, तर विकास बहुआयामिक छ ।

प्रारम्भमा विकास पनि आर्थिक विकास अझ देशको आम्दानी मापनमा मात्रै सीमित थियो । त्यसैले विकास र समृद्घिलाई त्यतिखेर पर्यायका रूपमा बुझिन्थ्यो । अहिले विकास अवधारणामा व्यापक परिवर्तन भएको छ । समृद्घिको सोचमा भने खासै परिवर्तन भएको छैन । यतिखेरको विकास बुझाइ उत्पादन र उपयोगमा मात्रै सीमित छैन । नयाँ–नयाँ ज्ञान उत्पादनसँगै विकास अवधारणा फराकिलो बन्दै गएको छ । विकास अवधारणामा बहुआयामिकता मात्रै थपिएको छैन, बरु गतिशील विधाका रूपमा परिस्कृत हुँदै गइरहेको छ ।
सन् १९९२ मा संयुक्त राष्ट्र संघीय विकास नियोग (युएनडीपी) ले पहिलोपटक मानव विकास सूचकांक प्रकाशित गरेपछि विकास अवधारणामा मानव विकासको आयाम थपियो । बीस वर्षपछि राष्ट्र संघले अगाडि सारेको विकास अवधारणामा उत्पादन र उपयोगमा भएको वृद्धिले प्रकृतिमा गरेको विनाशलाई आत्मसात गर्दै विकास दिगो हुनुपर्नेमा जोड दिन थालियो । दिगो विकासको अवधारणाले प्राकृतिक स्रोत र उपयोग–उत्पादनबीच अन्तर–सम्बन्धलाई आत्मसात मात्रै गरेको छैन, बरु जिम्मेवार उत्पादन र उपयोगलाई जोड दिएको छ । भविष्यको विकास अवधारणामा पर्यावरण र जैविक विविधता संरक्षणदेखि जलवायु परिवर्तनसँग लड्ने कार्यसूची थपिएको छ । दिगो विकास अवधारणाको महत्त्वपूर्ण आयाम भनेको यसले मुलुक र जनताबीच असमानता घटाउने मात्रै होइन, अन्तर–पुस्ताबीच प्राकृतिक स्रोतको न्यायपूर्ण वितरणमा पनि जोड दिन्छ ।

समृद्धिको अवधारणाले श्रम र उत्पादनको विशेषीकरण र उपयोगको विविधीकरणमा जोड दिन्छ, तर उत्पादन र उपयोगबीच प्राकृतिक स्रोतको योगदानबारे मौन रहन्छ । जसरी पनि समृद्घ हुने सोचले मानवीय उपयोग–उत्पादनसँग प्राकृतिक स्रोतको प्रचुरता अन्तर–सम्बन्धित हुन्छ भन्ने सत्यलाई हेक्का राख्दैन । उपयोग वृद्धिले मानवीय/सामाजिक सम्बन्ध र प्रकृतिमा पार्ने प्रभावको खासै वास्ता गर्दैन । यसले प्रकृतिले प्रदान गर्ने वस्तु र सेवासुविधालाई असीमित र अनुदत्त ठान्छ । थोरै योगदानबाट धेरै उत्पादन गरेर समृद्धशाली बन्ने सोच अर्थ केन्द्रित सीमित अवधारणा हो ।

वस्तु उत्पादन र उपयोग वृद्घिले नेपालजस्तो देश पनि समृद्घ बन्न सक्छ, तर विकसित नहुन सक्छ । तर विकसित देश सधैं समृद्घ हुन्छ । हुन त विकास र समृद्घिलाई पर्यायका रूपमा बुझाउन खोजिएकाले शब्द चयनले के फरक पर्छ भन्नेजस्तो लाग्न सक्छ । तर यतिखेर ल्याइएको समृद्घिको भाष्यले प्रगतिका थुप्रै मानकलाई समेट्न सक्दैन । मापन कमजोर भएपछि त्यसले निर्दिष्ट गर्ने लक्ष्य पनि कमजोर हुने गर्छ । देश र जनताको प्रगतिको मापनलाई समृद्धिमा सीमित गराउँदा वातावरणको विनाश र प्राकृतिक स्रोतको दोहन भइरहेको, कृषि उत्पादन र भौतिक पूर्वाधार कमी भएको, कमजोर प्रशासन र मानव संसाधन भएको नेपालमा थप समस्या निम्त्याउने खतरा हुन्छ ।

नेपालमा हरेक दशक जस्तोमा प्रगतिको नयाँ–नयाँ भाष्य देखापर्छ । पञ्चायतको अन्यतिरको एसियाली मापदन्ड, बहुदल सुरुवातताकाको सिंगापुर बनाउने उद्घोष, संक्रमणकालको नयाँ नेपाल र वर्तमानको समृद्धि त्यसैको उपक्रम हुन् । प्रत्येक पटक गोलै नगरी गोलपोष्ट सार्ने अभ्याससँगै प्रगतिका भाष्यहरू फेरिए पनि त्यस्ता भाष्य समयक्रममा बहुआयामिक, फराकिलो र दिगो अवधारणाका रूपमा विकसित हुँदै गएको पाइँदैन । अहिले अगाडि सारिएको उपयोग बढाउने र उत्पादनको विशेषीकरण गर्ने समृद्धिको भाष्य निकै साँघुरो अवधारणा हो । यसलाई फेर्ने कि ?

कान्तिपुर दैनिक | कार्तिक ५, २०७५

विमानस्थल र वातावरण

काठमाडौँ — मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सानो गडबडी हुँदा विदेशमा विमान अवतरण गराउनुपर्ने बाध्यकारी स्थिति हुनु राष्ट्रिय लज्जा हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन धेरै ढिला भइसकेको छ । ढिलै भए तापनि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चर्चामा छ ।

उक्त विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेकाले विमानस्थल निर्माणले वातावरणमा पार्ने प्रभावबारे बहस भइरहेको छ ।

ठूला पूर्वाधार बनाउँदा त्यसले पार्ने वातावरणीय प्रभावबारे संसारभर बहस हुने गर्छ । अहिले क्यानाडाबाट अमेरिकासम्म तेलको भूमिगत पाइप बिछ्याउने आयोजना, भारतीय अदानी समूहले पाएको अष्ट्रेलियाको समुद्री तटको कोइलाखानी उत्खनन आयोजना र हङकङ विमानस्थल विस्तारले वातावरणमा पार्ने प्रभावबारे अन्तर्राष्ट्रिय मिडियामा चर्चा भइरहेका छन् ।

त्यसकारण नेपालमा हुने निजगढको वातावरणीय प्रभावप्रतिको चासो, चिन्ता र बहस स्वाभाविक हो । बरु त्यो नहुनु अस्वाभाविक हुन्छ । यस्ता बहसले पूर्वाधारलाई वातावरणमैत्री बनाउन, विनाशलाई न्युनीकरण गर्न, वातावरणीय ह्रासको क्षतिपूर्ति भर्न र उन्नत विकल्प खोज्न सहयोग गर्छ । तर यतिखेर निजगढको वातावरणीय प्रभावको बहस विमानस्थल निर्माण गर्दा काटिने रुखको संख्यामा मात्रै केन्द्रित छ ।

वातावरण भनेको रुखमात्रै होइन
वातावरणीय प्रभाव मूल्यांकन भनेको आँखाले देख्ने रुख कटानीको गणनामात्रै होइन । भौतिक पूर्वाधारले वातावरणलाई २ प्रकारले असर गर्छ । निर्माणक्रममा वातावरण बिगारेर र निर्माणपश्चात् हानिकारक वस्तु वातावरणमा थुपारेर । विमानस्थलले निर्माणक्रममा मात्रै होइन, त्यसको सञ्चालनमा पनि ठूलो मात्रामा वातावरणीय प्रभाव पार्छ । कार्बन उत्सर्जन, ध्वनि प्रदूषण, फोहोर उत्पादन, ऊर्जाको खपत आदिको कारण ।
वातावरण भनेको देखिने रुख, काठ र हरियालीमात्रै होइन, असंख्य अदृश्य विषय पनि हुन्, जसले आवश्यकीय सेवा र सुविधा दिएर मानव कल्याण गर्छ । माटोको उर्वराशक्ति अक्षुण्ण राख्ने जमिन मुनिको व्याक्टेरिया, बालीनालीमा परागसेचन गरिदिने किराफट्यांग्रा, हानिकारक किराहरू खाइदिने जीवजन्तु लगायत मानिसले उत्सर्जन गरेका कार्बन सोस्ने, पानीको मूललाई रिचार्ज गर्ने, प्रकोपबाट सुरक्षा प्रदान गर्ने जस्ता पर्यावरणीय सेवा हत्पत्ति देखिँदैनन् । तर यस्ता सेवाको आर्थिक हिसाब निकाल्ने हो भने त्यसको मूल्य धेरै हुन्छ । कार्बन विनिमयको वस्तु बनिसकेको अहिलेको युगमा प्रकृतिका यी सेवा र सुविधा अनुदत्त हो र प्रकृतिलाई जे गरे पनि हुन्छ भन्ने भ्रमबाट मुक्त हुन आवश्यक छ ।

नेपालमा गरिने अधिकांश ईआईए प्रतिवेदनमा वातावरणका यस्ता सेवा र सुविधालाई मिहिन ढंगले केलाउने प्रयास गरेको देखिँदैन । फलस्वरूप हाम्रो विकासले धेरै विनाश निम्त्याएको छ । काठमाडौं लगायत ठूला सहरहरूको बस्नलायक सूचांक, गाउँमा भइरहेको डोजरे विकास, हाम्रा नदीनालाहरूको अवस्था, हामीले श्वास फेर्ने हावा, पिउने पानी र खाने तरकारीको गुणस्तरलाई हेर्दा विनाशको त्यो तस्बीर देखिन्छ । पारित भएको भनिएको निजगढको ईआईए प्रतिवेदन स्थापित मापदण्ड पनि पूरा नगर्ने कमसल छ, थप वातावरणीय सुरक्षा त परको कुरा ।

४० वर्षमा भएको परिवर्तन
निजगढ विमानस्थल क्षेत्रीय हव बनाउने अवधारणा अन्तर्गत ४० वर्षअघि परिकल्पना गरिएको आयोजना हो । भौगोलिक अवस्थितिको सुविधासँगै घरेलु वायुसेवाको वृद्घि अनिवार्य सर्त हो, हवका लागि । विगत ४० वर्षमा मानव इतिहासमै सबैभन्दा बढी प्रविधिको विकास भएको छ । ४० वर्ष अघिका बोइङ ७०७ विमानले अधिकतम १२ घन्टा यात्रा नरोकिकन तय गर्न सक्थ्यो । अहिले एयरबस कम्पनीका विमान ए ३५० र बोइङ कम्पनीका ७८७ समूहका अत्याधुनिक विमानले १६ देखि १८ घन्टासम्मको यात्रा नरोकिकन सजिलै तय गर्छन् । २० घन्टाको ‘नन स्टप’ उडान सुरु हुने क्रममा छ । प्रविधिले यो अवधिमा विमानको नरोकिकन गरिने यात्रा क्षमतालाई ४—५ घन्टा बढाएको छ । त्यसकारण त्यतिबेला सोचेजस्तो अन्तर्राष्ट्रिय चल्तीको ट्रान्जिट बैंकक, हङकङ, सिंगापुर, दुबई, क्वालालम्पुरसम्म नपुगी ४—५ घन्टा अघिको दूरीमा रहेको निजगढमा यात्रु ओराल्नुपर्ने प्राविधिक कठिनाइ अब छैन । उड्डयन प्रविधिमा भएको विकासले हव हुनसक्ने भौगोलिक सुविधाको सम्भावनालाई खारेज गरिसकेको छ ।

नेपाल विश्वमै उच्च आर्थिक वृद्घि र ठूला अर्थतन्त्र भएका चीन र भारतको सानो छिमेकी हो । सन् २०२२ भित्र विश्वकै सबैभन्दा ठूलो उड्डयन बजार बन्ने चीनमा यतिखेर वार्षिक ८ वटा विमानस्थल बनिरहेको छ । चिनियाँ वायुसेवा कम्पनीहरू एयर चाइना, चाइना साउदर्न र चाइना इस्टर्नको वृद्घिदर र विमानस्थल निर्माणको गति हेर्दा अब चीन हवाई यात्राको पनि विश्वकेन्द्र बन्दैछ । एम्रेट्सको दुबई, क्याथे प्यासिफिकको हङकङ, थाईको बैंकक, एयर इन्डियाको दिल्ली, चाइना साउदर्नको ग्वाङ्जाओ हव भएजस्तै निजगढ हव बन्ने भनेको स्वदेशी नेपाल वायुसेवाको हो । ऋण लिएर किनिएका दुइटा वाइडबडी जहाज पूर्ण क्षमतामा चलाउन संघर्षरत नेपाल वायुसेवा र काठमाडौं विमानस्थलको सुरक्षा प्रणालीलाई भारतले समेत नपत्याइरहेका बेला निजगढलाई हव बनाउने सपना अहिलेलाई बिजुली निकालेर स्याटेलाइटबाट बेच्ने जस्तै कुरा हो । त्यसकारण निजगढ बनाउनुको आर्थिक औचित्य क्षेत्रीय हवभन्दा पर्यटनको विकासमात्रै हो ।

वातावरण हाम्रो मौलिक कार्यसूची
हाम्रो पर्यटनको आधार भनेको वातावरण, जैविक विविधतामा आधारित धार्मिक, सांस्कृतिक विविधता र हिमाल हो । वातावरण आयातित वा कुनै विकसित देशद्वारा लादिएको कार्यसूची होइन, यो हाम्रो मौलिक कार्यसूची हो । धार्मिक र सांस्कृतिक संस्थानहरू प्रभावशाली भएको समयमा धर्म र संस्कृतिको नाममा सदियौंदेखि वातावरण संरक्षण गर्दै आएको देश हो, नेपाल । पृथ्वीलाई माता भन्ने, नदीलाई पुज्ने, विभिन्न जनावरलाई देवताको वहान मान्ने, चाडवाडमा विभिन्न फूल र फल चाहिने देशमा वातावरण संरक्षण विशुद्ध स्थानीय मुद्दा हो । काठमाडौं उपत्यकाको राजकुलो र बसाइको स्थितिलाई हेर्दा यहाँको प्राचीन सभ्यतामा वातावरणीय संवेदनशीलता प्रस्टसँग देखिन्छ ।

पछिल्लो समय जब धार्मिक र सांस्कृतिक संस्थाको ठाउँमा नयाँ संस्थाहरू (राज्य संयन्त्र) प्रभावशाली हुनथाले वातावरणप्रतिको संवेदनशीलता कम हुँदै गयो । राणाहरूले सत्ता जोगाउन विदेशीलाई वनसम्पदा सुम्पिए । हिन्दु राजाहरूले सोही धर्म अनुसार पुजिने जनावरहरूको सिकार खेल्ने सौख पाल्न थाले । वातावरणीय ह्रासको शृङखला सुरु भयो । जनसंख्या वृद्धि र गरिबीले त्यसलाई थप मलजल गर्‍यो ।

७० को दशकतिर नेपालको वातावरण विनाशलाई जोडेर हिमालयन डिग्रिडेसन (पतन) को सिद्घान्त नै अगाडि सारियो । प्राचीन मानव सभ्यता पतनको कारक वातावरणीय विनाश हो भन्ने निष्कर्ष निकालिएको चर्चित पुस्तक ‘कोल्याप्स’का लेखक जारेड डाइमन्डले पतन हुने सम्भावित मुलुकको सूचीमा नेपाललाई जोडे । तर विगतको वातावरणीय विनाशले निरन्तरता पाएन । सामुदायिक वन र संरक्षणका कार्यक्रमले त्यसलाई कम गर्‍यो । सँगै विदेशी दातृ निकायले नेपालमा संरक्षणका कार्यक्रमलाई सघाउन थाले । विदेशी सहयोग हुँदैमा विदेशीको कार्यसूची भन्ने तर्क गर्ने हो भने नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र विदेशी सहयोगमा बनेका थुप्रै भौतिक पूर्वाधारलाई समेत विदेशी कार्यसूचीको भन्नुपर्छ । त्यसैले संरक्षणको लामो इतिहास र संस्कृति भएको देशमा वातावरण हाम्रो मौलिक कार्यसूची हो ।

नेपाललाई धनी मान्ने क्षेत्र कुनै बाँकी छ भने त्यो जैविक विविधता मात्रै हो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै पुरै जर्मनीमा पाइनेभन्दा बढी प्रजातिका चराहरू पाइन्छन् । नेपालमा बेलायतको भन्दा ४ गुणा बढी फूल फुल्ने वनस्पति छन् भने उत्तर अमेरिकी महादेशभरमा पाइनेभन्दा बेसी प्रजातिका उन्यु । यतिखेर अन्तर्राष्ट्रिय मिडियामा नेपालसँग जोडिएर आउने राम्रा समाचारमा धेरै हिस्सा नेपालले संरक्षणको क्षेत्रमा हासिल गरेको उपलब्धिले ओगट्ने गरेको छ । जुन पर्यटन उद्योगलाई देखाएर विमानस्थल बनाउने भनिँदैछ, त्यसको मुख्य आधार वातावरण नै हो । नेपालमा पर्यटक हिमाल चढ्न, वनपाखा डुल्न, वन्यजन्तु र चरा हेर्न आउने हुन् । संरक्षणको फाइदा लिने वा विनाशको भागिदार हुने हामी आफै हो । त्यसैले वातावरण संरक्षण हाम्रो आवश्यकता हो । विदेशीले विकास गर्दा वातावरण विनाश गरे, हामीले पनि सोही अनुसार गर्नुपर्छ भन्ने सोचमा खोट छ ।

संसारमा विगतमा भएका भौतिक विकासलाई हेर्दा मोटामोटी ४ चरण (गरिबी, प्रदूषण, समृद्घि र संरक्षण) देख्न सकिन्छ । गरिबीबाट उम्कने क्रममा वातावरणीय प्रदूषण थुपार्ने र समृद्घिमा फड्को मारेपछि स्वच्छ वातावरणको खोजीमा त्यसको संरक्षणतिर लाग्ने विकास मोडललाई अहिलेका विकसित देशहरूले अपनाएका हुन् । जसको कारण पृथ्वीमा वातावरणीय संकट गहिरिँदै गएको छ । विकास प्रक्रियामा नेपाल पछिल्लो आगन्तुक भएकाले गरिबीबाट समृद्धितिरको यात्रा गर्दा हुने वातावरणीय विनाशको पासोबाट उम्कने उपायको खोजी अहिलेको आवश्यकता हो । पर्यावरणमा आधारित पर्यटन उद्योगबाट अर्थतन्त्रको कायापलट गराउने सोच भएको देशले अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बनाउनैपर्छ । तर त्यो विश्वमा विस्तार हुँदै गरेको वातावरण मैत्री मोडलमा ।

अहिले वातावरणलाई विकासको बाधक होइन, सहयोगी र उत्प्रेरकको रूपमा हेर्ने प्रणालीको विकास भएको छ । व्यवसायीहरूले वातावरणप्रति सचेत भएको देखाएर आफ्नो ब्रान्डिङ गर्दै व्यापार बढाएका छन् । विमान निर्माताहरूले कम इन्धन खपत गर्ने विमानहरू निर्माण गर्दैछन् । वायुसेवा कम्पनीहरूबीच सबैभन्दा हरित (कम वातावरणीय प्रभाव भएको) कम्पनी बन्ने होड छ । विमानस्थल बनाउँदा हरित विमानस्थल बनाउने लहर बढ्दो छ । भारतको केरलामा हालै डुबानमा परेको अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै पहिलो सौर्य ऊर्जाबाट चल्ने विमानस्थल हो । सिंगापुर विमानस्थलको मुख्य विशेषता त्यहाँको हरियालीयुक्त वातावरण हो । पर्यटन उद्योगको ब्रान्डिङ गर्दा हामीले पनि वातावरणीय पक्षलाई उत्प्रेरकको रूपमा उपयोग गर्नेतर्फ सोचौं ।

कान्तिपुर दैनिक ।आश्विन ११, २०७५

युरोपमा भेटिएका बाबुराम

जर्मनी फ्र्यांकफर्टको एक होटलमा बिहानै पुग्दा डा. बाबुराम भट्टराई र हिसिला यमि आफ्ना प्लेटमा बफेट ब्रेकफास्ट हाल्दै थिए । एउटा वैज्ञानिक मिटिङमा भाग लिने सिलसिलामा म फ्र्यांकफर्टकै अर्को होटलमा पाँच दिनदेखि बसिरहेको थिएँ । आफ्ना जिल्लावासी सांसदसँग त्यस प्रकारको भेट आकस्मिक थियो । ‘तपाईं फ्र्यांकफर्ट आउनुभएको ट्वीट पढेको थिएँ । कसरी भेट्न सकिएला भएको थियो । तपाईंं आउनुभयो, राम्रो भयो,’ बाबुरामले मेरो अभिवादन फर्काउँदै भने । खैरो पाइन्टमाथि सेतो पोलो टिर्सट लगाएका उनी फ्रेस र छुट्टी मनाउन हिँडेको मुडमा देखिन्थे । गाढा रातो रङको म्याक्सी ड्रेस लगाएकी हिसिला यमिको पहिरन उनीहरूको भ्रमणलाई अनौपचारिक बनाउन पर्याप्त थियो।

‘अनि किन यहाँ आउनुभएको ?’ बाबुरामले मेरो यात्रासम्बन्धी जिज्ञासा राखे । जैविक विविधता र वातावरणीय सेवाका लागि अन्तरसरकारी संस्था (आइपिविइएस) ले तयार पार्दै गरेको विश्व स्तरीय जैविक विविधता र वातावरणीय अवस्थाको प्रतिवेदन लेख्ने सिलसिलाको एक मिटिङमा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । त्यो संस्थाले सन् २०१६ मा संसारभरबाट छानेका १६ जना युवा फेलोका रूपमा म छनौट भएको थिएँ।

बाबुराम दम्पत्तीसँगै रहेका त्यस होटलका सञ्चालक जीवा लामिछाने र कुमार पन्तसँग पनि परिचय भयो । एनआरएनका उपाध्यक्ष गोरखाली पन्तसँग फेसबुकमा कुराकानी भए तापनि त्यो पहिलो प्रत्यक्ष भेटघाट थियो । ब्रेकफास्ट खाँदै पछिल्लो पटक म नेपाल जाँदा लगिदिएको युभल नोह हरारीको ‘सेपियन्स’ र ‘होमो दिअस’ पुस्तकबारे कुरा भयो । ‘यसरी नै नयाँ विचारोत्तेजक पुस्तकहरू सिफारिस गरिरहनुस् है,’ धन्यवाद शैलीमा बाबुरामले भने ।

केही घन्टामा नै उनीहरू रेलबाट जर्मनीको राजधानी बर्लिन जाने कार्यक्रम रहेछ । मलाई पनि त्यहाँको मूल ट्रेन स्टेसन (ह्फ्टवानोभ) पुगेर मिटिङस्थल ज्याकन्वर्ग प्राकृतिक संग्रहालय पुग्न मेट्रो समात्नु थियो । होटलबाट ट्रेन स्टेसनसम्म पुग्न गाडीको व्यवस्था रहेछ । गाडी चढ्नुअघि संयुक्त फोटो खिच्ने सल्लाह भयो । फोटो खिच्न हामी उभिएको स्थान बाबुरामलाई मन परेन । ‘होइन यहाँबाट त पछाडि घरबाहेक केही  पनि देखिन्न, फोटोमा कुनै आइकन त हुनपर्याे । कि त हामी बसेको होटल आउनुपर्याे,’ यताउति हेर्दै उनी बोले ।

समृद्धिका लागि विभिन्न विचार, ज्ञान, सीप र क्षमताबीच मैथुन अर्थात् सेक्स हुन आवश्यक छ।

जीवाले बाबुराम दम्पतीलाई बिदाइ गरे । ‘सबैभन्दा धेरै धन्यवाद त मैले भन्नुपर्छ । बाबुरामलाई मात्रै बोलाउन खोज्नुभएको थियो । म बीचैमा आएँ,’ हिसिलाले थपिन् । ‘म्याडमलाई बोलाउनु त झन् मेरो सौभाग्य हो,’ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हिसिलाको विद्यार्थी रहेका जीवाले प्रतिउत्तरमा भने । गुरुचेलाको रमाइलो ठट्टापछि हामी गाडी चढेर ट्रेन स्टेसनतिर लाग्यौँ।

‘तपाईंंको श्रीमती के गर्नुहुन्छ ?’ हिसिलाले मेरो परिवारप्रति जिज्ञासा राखिन् । ‘हामी सहपाठी हौँ, सँगै पिएचडी सकाएपछि बच्चा भयो, दुई साना बच्चाहरू छन् । हाल उनी काम गर्दिनन्,’ मैले भनेँ । ‘बच्चा हुर्काउनु, घरको काम गर्नु पनि त काम हो नि । झनै ठूलो काम,’ हिसिलाले भनिन् । बच्चा हेर्ने र घरायसी कामलाई ‘काम’ नमान्ने मेरो सोच !
म आफूलाई लैंगिक रूपमा संवेदनशील नै ठान्छु । घरको काम र बच्चाको हेरचाह गर्नमा उत्तिकै सहभागी हुन्छु।

अनुसन्धानका विषयमा हामी दम्पतीको पारस्परिक सहकार्य हुन्छ । अनुसन्धानमा महिलाहरूको कम सहभागिताबारे आवाज उठाइरहन्छु । नारीप्रति हुने भेदभावका घटनाहरूको प्रतिवाद गर्दै सोसल मिडियाहरूमा लेखिरहन्छु । मेरी छोरी कुनै छोरा भन्दा कम हुनु हुँदैन भन्ने लाग्छ । तर मेरी श्रीमतीले गर्ने कामप्रति भने संवेदनशील हुन सकेको रहेनछु ।
आफ्नो बोलीप्रति पश्चात्ताप गर्दै मैले मेरी गृहिणी आमा सम्झिएँ । आफ्नो सिंगो जीवनलाई चुलोचौकामा सीमित पारेर संसार डुल्न सक्ने छोरो जन्माउने आमा । आफूसँगै अमेरिकामा पिएचडी सकाएकी मेरी श्रीमती जसले घरै बसेर बच्चाको स्याहार गरेको हुनाले आफू यसरी निष्फिक्री घुम्न पाएको कुरा सम्झिएँ । मलाई आफ्नो अज्ञानताप्रति दया लाग्यो । अब श्रीमतीले काम गरेको छैन भनेर कहिल्यै भन्दिनँ, मनमनै भनेँ।

हाम्रो गाडी ट्रेन स्टेसन नजिकै रोकियो । गाडीबाट ठूलो सुटकेट कुमारजीले तान्नुभयो । मैले मेरो ह्यान्डक्यारी समाएँ । बाबुराम र हिसिलाले आफ्नो आफ्नो हाते ब्याग र ह्यान्डक्यारी ताने । मेरो बुबाभन्दा जेठो मान्छेले सुटकेस तानेको हेर्दा मलाई अप्ठ्यारो लाग्यो । ‘के म तपाईंंहरूलाई मद्दत गर्न सक्छु ? म तपाईंको ह्यान्डक्यारी तानिदिँऊ ?’ मैले अंग्रेजीमा सोधँे । ‘पर्दैन पर्दैन, हामी आफैँ गरिहाल्छौँ’ भन्दै बाबुराम र हिसिला आआफ्नो सुटकेस घिसार्दै अघि बढे । एक हातमा खैरो ब्याग बोक्दै अर्को हातले सुटकेस घिसार्दै गरेको यात्री बाबुरामलाई देख्दा, मैले २०४८ सालतिर गोरखामा पहिलो पटक देखेको बाबुराम सम्झिएँ । त्यतिबेला र अहिलेको बाबुराममा खासै फरक लागेन । उ बेला बाबुराम कालो झोला बोकेर त्यसैगरी हिँड्थे । बाक्लो दारी पालेका थिए, गाढा खैरो सर्ट लगाउँथे । यदाकदा खरानी रङको गलबन्दी भिर्थे । गोरखातिर उनलाई कतिले आदर्श मान्थे । कतिले बुद्घि बिग्रेर दुःख पाएको भन्थे।

‘बच्चा हुर्काउनु, घरको काम गर्नु पनि त काम हो नि । झनै ठूलो काम,’ हिसिलाले भनिन् । बच्चा हेर्ने र घरायसी कामलाई ‘काम’ नमान्ने मेरो सोच !

नेपालको पूर्वप्रधानमन्त्री र बहालवाला सांसद सामान्य यात्री बनेर जर्मनीको रेल स्टेसनमा हिँडिरहेको फोटो खिचौँ, मनले भन्यो । मोबाइल झिकेर फोटो खिच्न लागेँ । म उनीहरूले क्यामेरातिर नहेरेको बखतको स्वाभाविक फोटो खिच्न चाहन्थेँ । तर पाँचवटा फोटो खिच्दा पनि यमिले भने क्यामेरातिरै हेरेको फोटो आएछ।

उनीहरूसँग बिदावारी भएर आफ्नो मिटिङस्थल पुग्न मेट्रो चढ्दै गर्दा मनमा मिश्रित भावना आए— गरिब देश भएर त होला, हाम्रा पूर्वप्रधानमन्त्रीको समेत यहाँ कुनै महत्व छैन । पूर्वप्रम वा मन्त्रीको कुरै छाडौँ, अन्य देशका अधिकृतस्तरको कर्मचारी वा सेनाका पूर्वअफिसर आउँदा नेपालमा महत्वसाथ हेरिन्छ । मिडियाले अन्तर्वार्ता गर्छन् ।  नेताहरू उनीहरूलाई भेट्न होटलमै धाउँछन् । तर हाम्रो देशको पूर्वप्रधानमन्त्री यो देशमा गुमनाम छन् । हामी पनि विकसित भएको भए, धनी र शक्तिशाली भइदिएको भए…।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाउले ट्रेन स्टेसनमा सर्वसाधारणसँग हात मिलाएको, बेलायती प्रम डेविड क्यामेरुनले लन्डनको ट्युब (त्यहाँको भूमिगत रेललाई ट्युब भनिन्छ) चढेको, नेदरल्यान्डको प्रमले साइकल चढेको दृश्यहरूसँग कताकता मिल्दोजुल्दो । सायद हाम्रो देशमा त्यसरी निष्फिक्री हिँड्ने वातावरण नभएर हो कि नेताहरू विलासीजस्ता देखिने ?

उनीहरू बर्लिनमा केही दिन बिताएर रोम जाने तालिका रहेछ । इटालीको रोममा मौका मिले फेरि भेट्ने सल्लाह गर्दै हामी छुट्टियौँ । मोबाइलमा खिचेका फोटो हेर्दै म मिटिङस्थल पुगेँ । जाकेन्वर्ग संग्रहालयको वाइफाइले इन्टरनेटको ढोका खोलिदियो । छुट्टिएको करिब २० मिनेट नहुँदै बाबुरामले अघि खिचेको फोटोसहित ट्वीट गरिसकेका रहेछन् । मिलियनभन्दा बढी ट्वीटर फलोअर्स भएका बाबुरामको सामाजिक सन्जालमा सक्रियता प्रभावशाली रहेको प्रत्यक्ष देखेँ।

इटालीको रोममा म एकदिन अगावै पुगेको थिएँ । भोलिपल्ट एनआरएन इटालीले बाबुराम भट्टराईसँग अन्तक्र्रियाको कार्यक्रम राखेको रहेछ । हामी कार्यक्रम स्थल पुग्दा कार्यक्रम समाप्त भइसकेको थियो । ‘ल राम्रो भयो एक–दुई घन्टा बसेर गफ गरौँ तपाईंंहरू जस्ता युवा र अलि पढेलेखेका साथीहरूको गफ सुन्न म यहाँ आएको हो । ल जाऔँ, कतै बसौँ,’ उनले भने । अन्य सहभागीसँग एउटा सानो टोली छुट्टियो । इटालीमा त्यहाँको मौलिक पिज्जा खाने कार्यक्रम बनेको रहेछ।

नजिकैको इटालियन रेन्टुरेन्टको आगँनमा राखिएको कुर्सीमा हामी लहरै बस्यौँ । इटालीमा कार्यरत नेपाली पेसाकर्मीसमेत हामी दशजना ग्राहक । विश्व खाद्य तथा वन संगठन (एफएओ) हेडक्वाटरमा कार्यरत समीर कार्कीले इटालियन भाषामा लेखिएको मेनु पढ्दै खानाको वर्णन गरे । उनलाई इटालीको पिज्जाको मात्रै होइन, त्यहाँको वाइन र जैतुन (अलिव) को बारेमा राम्रो जानकारी रहेछ।

हामीले ६ वटा पिज्जा मगायौँ । साथमा एक बोतल ह्वाइट र एक बोतल रेड वाइन । हिसिला र मैले थोरै रेड वाइन लियौँ । बाबुरामले पानी । पिज्जा खाँदै बाबुरामले  भने, ‘युरोपका यी देश किन समृद्ध भए, हामी किन भएनौँ ? हाम्रो देशलाई समृद्ध बनाउन के गर्नुपर्ला भन्ने जान्न र सिक्न आएको हुँ ।’ उनले सबैलाई पालैपालो आफ्नो कुरा राख्न अनुरोध गरेर खल्तीबाट सानो डायरी निकालेर आफू भने टिपोट गर्नतिर लागे।

बाबुरामसँग मेरो औपचारिक भेट सन् २००८ मा हार्वर्ड विश्वविद्यालयमा भएको थियो । त्यो बेला उनी अर्थमन्त्री थिए । म हार्वर्डमा रिर्सच असोसिएट । हार्वर्डको ‘गरिबीबाट समृद्धितर्फ : नेपालको आर्थिक भविष्य’ भन्ने कार्यक्रममा प्रवचन दिन उनी त्यहाँ पुगेका थिए । विश्व बैंकको मिटिङमा भाग लिन अमेरिका पुगेका बेला । उनीसँगै अर्थ मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली पनि । ‘तपाईंंहरू जस्ता उत्कृष्ट र देशलाई केही गरौँ भन्ने युवाहरूको छनौट गर्न र उनीहरूलाई देशको आर्थिक विकाससँग जोड्न म यहाँ आएको,’ उनले त्यो बेला भनेको कुरा याद छ । तर यसपटक आफूले युवा छनौट गर्ने भन्दा युवाको कुरा सुन्न आएको बताए । दश वर्षपछि उनलाई सुनिरहँदा उनमा समृद्धिको तिर्खा नमेटिएको पाएँ । शक्तिशाली अवस्थामा होस् या शक्तिविहीन अहिलेको जस्तो अवस्थामा।

आफ्नो विषयगत दक्षता, अनुभव, अध्ययनको आधारमा सहभागीहरूले नेपाल गरिब हुनुका कारण राखे, समृद्घिको मार्गचित्र प्रस्तुत गरे । समीरले नेपालमा बिस्तारै सकारात्मक परिवर्तन हुँदैछ भन्ने तर्क गरे । ‘हामीले केही वर्षअघिसम्म विकसित देशमा मात्र देख्ने एभोकाडो हाल नेपालले बंगलादेश निर्यात गरिरहेकोे छ,’ उनले भने । समृद्धिका लागि कृषि क्षेत्रलाई जोड दिनुपर्ने कुरा उठ्यो । तर नेपालमा कृषि क्षेत्रतर्फ मान्छेको घट्दो आकर्षण छ, मानिसहरू कृषिबाट विस्थापित हुँदै छन्,’ एक सहभागीले भने । बाबुरामले त्यसमा तुरुन्तै असहमति जनाउँदै भने, ‘कृषि त छाड्दै जानैपर्छ । धेरै मान्छेले कृषि नछोडी समृद्धि सम्भव छैन ।’ उनले विकसित देशमा २÷३ प्रतिशत जनसंख्या मात्रै कृषिमा आश्रित भएकोदेखि गाउँघरमा परम्परागत कृषि छोडेर जागीर वा अन्य पेसा अपनाउनेहरू चाँडै समृद्ध भएको उदाहरण पेस गरे।

मेरो पालो आयो । २६ सय वर्षयता नेपालमा बुद्धपछि कुनै पनि मौलिक विचारक जन्मन सकेका छैनन् । मौलिक विचार राख्ने र पुरानामा खोट पत्ता लगाएर नवप्रर्वतन गर्न खोज्नेहरूलाई हुर्काउन र संरक्षण गर्न हामी पूर्णतः असफल भएका छौँ । नयाँ मौलिक ज्ञान उत्पादन नभई मुलुक समृद्ध हुन सक्दैन । जातपातको अनुक्रमले पनि समृद्धिलाई रोक्यो । समृद्धिका लागि समाजमा विद्यमान विभिन्न विचार, ज्ञान, सीप र क्षमताबीच मैथुन अर्थात् सेक्स हुन आवश्यक छ । जसरी जीव विज्ञानमा फरक गुणबीचको मैथुनले उच्च गुणस्तरको जीन वा वंशको उत्पादन गर्छ त्यसरी नै मानवजातिको प्रगतिमा भिन्न विचारबीचको मैथुनले उच्चस्तरको ज्ञान उत्पादन गर्छ र त्यो ज्ञानले समाजलाई समृद्ध बनाउन मद्दत गर्छ।

जातीय प्रणालीले उत्पादन गर्ने किसानलाई शुद्र, उत्पादित वस्तु बेच्ने व्यापारीलाई वैश्य, उत्पादन प्रणालीको नियमन गर्ने–सुरक्षा दिनेलाई क्षत्री र ती सबैको अनुसन्धान गरेर सिद्धान्त लेख्ने पण्डितलाई ब्राह्मण बनाइदियो । ती समूहबीच छुवाछूतको पर्खाल बनाइदिएर फरक विचार र ज्ञानको अन्तर्घुलन हुन पाएन । हाम्रो अविकासको एक कारण जातपात रहेको मेरो तर्कमा बाबुराम सहमत भए।

युरोप, अमेरिकामा १८–१९ औँ शताब्दीका ठूला अन्वेषक, नवप्रवर्तक, वैज्ञानिकहरू नेपालमा तथाकथित तल्ला जातिले गर्ने भनिएका काम गर्ने समूहका मानिस थिए । धातुका काम गर्ने, रसायन घोल्ने, घन ठोक्ने । पहिलो पटक प्लेन उडाउने अमेरिकी राइट दाजुभाइ साइकल बनाउँथे । प्लास्टिकको आविष्कारक अलेक्जेन्डर पाक्र्स चरेसको ताला बनाउने काम गर्थे भने वाष्प इन्जिनका आविष्कारकमध्येका एक थोमस न्युकोमन फलाम पिट्थे । कल्पना गरौँ, साइकल बनाउनेलाई तल्लो स्तरको भनेर हेला गरिएको भए, फलाम ठोक्नेलाई कामी भन्दै राज्यले छोइछिटो गरेर उनीहरूमा हिनताबोध भरिदिएको भए के हुन्थ्यो ? सायद न त राइट दाजुभाइले प्लेन उडाउने सपना देख्न सक्थे, न त औद्योगिक क्रान्तिको जग बसाल्ने वाष्प इन्जिन बन्न सक्थ्यो । काठमाडौँ उपत्यकामा पनि सोही समयमा उच्च स्तरमा पुगेको कला, संस्कृति, आर्किटेक्टर, धातु प्रविधिजस्ता विधाहरूले मौलिक आविष्कारक, वैज्ञानिक, इन्जिनियर, नवप्रर्वतक जन्माउन नसक्नुमा जातपातको पनि रोल छ कि ?

बहससँगै पिज्जा सकिँदै गयो । अन्तिममा एउटा टुक्रा (लोफ) पिज्जा बाँकी भयो । आफू अघाएको भन्दै सबैले एक अर्कालाई त्यो बाँकी टुक्रा खान अनुरोध गर्दै थिए । कोही तयार नभएपछि खाना फाल्न हुँदैन भन्दै टेबलमा बसेका सबैभन्दा पाका ६५ वर्षीय व्यक्तिले पिज्जा हातमा लिएर कपाकप खान लागे । ती व्यक्ति अर्थात् बाबुराम । पूर्वप्रधानमन्त्रीको त्यो तहको विनयशीलता साँच्चै लोभलाग्दो थियो।

बाबुरामलाई यसपालि युरोपमा भेट्दा ससाना कुराहरू ध्यान दिने, सहज व्यक्तिका रूपमा पाएँ । अन्तमा प्रश्न सोध्ने पालो मेरो थियो । ‘तपाईं प्रधानमन्त्री भइसकेको मान्छे, हामीलाई भन्दा बढी तपाईंलाई थाह छ, भनिदिनुस् नेपाल किन समृद्ध बन्न सकेन ? तपाईंहरूले देश किन समृद्ध बनाउन सक्नुभएन ?’

‘कुराहरू मोटामोटी रूपमा अघि भनिएजस्तै हो’ भनेर उनले आफूले लेखिरहेका समृद्धि केन्द्रित लेख पढ्न सुझाए।

नयाँ पुस्तक भन्छ: मानिस झूटको पुलिन्दा हो

आवश्यकता अनुसार श्रीमती, श्रीमान्, साथी, हाकिम, छोराछोरी, बुबाआमा र डाक्टरसँग झूट बोल्ने मानिसले डिजिटल यूगमा एउटा ठाउँमा मात्रै सत्य कुरा बोल्दछ। त्यो कहाँ होला?

मानिसले पलपलमा झुट बोलिरहेको हुन्छ। आफूले किनेको जुत्ताको मुल्यदेखि गर्दै नगरेको जिमसम्म, पढेको पुस्तकदेखि पिएको रक्सीसम्म। स्वास्थ्य भए पनि बिरामी थिएँ भनेर, सम्पर्कमा रहन्छु भन्दै बेपत्ता भएर, दुःखमा पनि खुशीको अभिनय गरेर, मनमा नश्लवाद/जातिवाद भए तापनि बाहिर नदेखाएर, समलिंगीप्रतिको आकर्षण लुकाएर, रोग भए तापनि निरोगी छु भन्दै हामी ढाँटिरहेका हुन्छौं। श्रीमतीसँग, श्रीमानसँग, साथीसँग, हाकिमसँग, छोराछोरीसँग, बुबाआमासँग, डाक्टरसँग, अनि विभिन्न सर्वेक्षणहरुसँग र सायद आफैसँग पनि मान्छेले झूट बोलिरहेको हुन्छ। तर इन्टरनेटको यो युगमा मान्छेले एउटा मात्रै ठाउँमा सत्य बोल्दछ। जहाँ उसले आफूलाई भएको, आफूले चाहेको, गरेको, मनलागेको अति गोप्य स्वभाव, आनीबानी, आचरण र रोग सबै खोल्दछ। त्यो ठाउँ अर्थात संसारमा सबैभन्दा बढी हेरिने एक वेबपेज बीचमा भएको आयताकार कोठा— जसलाई हामी गुगल नामले चिन्दछौं।

अरुसँग झुटो बोल्दा लाभ हुनसक्छ तर गुगलसँग झुट बोलेमा आफूले खोजेको भन्दा भिन्न कुरा पाउने भएकोले त्यो चार इन्च लामो बक्समा मानिसले सत्य कुरा टाइप गर्न बाध्य हुन्छ बदलामा आफूले चाहे वा खोजे अनूरुप सूचना प्राप्त गर्दछ। गुगलसँग मानिसले बाँच्न मन नलाग्दा आत्महत्या गर्ने तरिकादेखि रोग लाग्दा निदानको उपायसम्म, कुनै जाति विशेषलाई होच्याउने जोकदेखि यौन चलचित्रको भोकसम्म, गर्भवती हुने तरिकादेखि गर्भपतन गर्ने उपायसम्म, घुम्नजाने ठाउँदेखि बस्ने होटलसम्म, प्लेन टिकटदेखि ट्याक्सीको भाडासम्म, किताबदेखि रक्सीको समीक्षासम्म के मात्रै खोज्दैन्। जब धेरै मानिसहरुले उही शब्द वा वाक्य गुगलमा खोज्न थाल्दछन्, दोहरिएका त्यस्ता लाखौं शब्दहरुको कोलाहलबाट एउटा बुझिने स्वर निस्कन्छ। मानिसहरुले गुगल, फेसबुक, पोर्नहब (सबैभन्दा धेरै हेरिने पोर्नसाइट) र विकिपेडिया लगायतका विभिन्न वेबपेजहरुमा क्रमशः खोजेका, पोष्ट गरेका, हेरेका र अपलोड गरेका कुराहरुबाट अहिलेको संसारलाई चियाउन खोजेका छन्, अमेरिकी लेखक सेथ स्टेफेन डेभिडोभिचका अनुसार।

उनको सन् २०१७ मा प्रकाशित गैह्रआख्यान ‘एभ्रिबडी लाइजः बिग डेटा, न्यू डेटा, एन्ड ह्वाट इन्टरनेट क्यान टेल अस अवाउट हू उइ रियल्ली आर?’ मानवीय झुटको संसारलाई पर्दाफास गर्ने एउटा प्रयत्न हो। यो लेख इकोनोमिष्ट लगायतका पत्रिकाहरुले वर्ष पुस्तकको उपमा दिएको, न्यूयोर्क टाइम्समा ‘वेस्ट सेलर’ भएको साेही पुस्तकको समिक्षा हो।

परिचय बाहेक तीन भागमा विभाजित ३५२ पृष्ठको पुस्तकमा सेथले जल्दोबल्दो सामाजिक, मनोवैज्ञानिक, आर्थिक लगायत यौन, खेलकुद, स्वास्थ्य, शिक्षा र पत्रकारितासँग सम्बन्धित प्रश्नहरु—अमेरिकाभर समलिंगीको संख्या कति छ, शेयर बजारलाई जित्न सकिन्छ, कसले ट्याक्स छलि गर्छन्, के मिडिया पूर्वाग्रही हुन्छ, कुन शहर बच्चा हुर्काउनका लागि उपयुक्त छ, के कुरा भाइरल हुन्छ जस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयत्न गरेका छन्। लेखकले थुप्रै स्थापित मान्यताहरुलाई नयाँ तथ्यांकको माध्यमले भत्काइदिएका छन्। उनले अमेरिकाको नाभीमा गढेको जातिवादले राष्ट्रपतीय निर्वाचनमा पारेको असरदेखि भारतमा गर्भवती महिलाले इन्टरनेटमा खोज्ने भित्री कुरासम्म खोतलेका छन्। एउटा विल्कुल नयाँ तथ्यांकको स्रोत अर्थात इन्टरनेटमा खोजी गरिएका शब्दहरुबाट बनेका तथ्यांक मार्फत जसलाई हिजोआज चल्तीको भाषामा बिग डेटा (विशाल तथ्यांक) पनि भनिन्छ।

पुस्तकमा अमेरिकाको उदाहरण धेरै प्रयोग गरिएको भए तापनि उनले प्रयोग गरेका सामाग्री र विधिहरु संसारभरका लागि काम लाग्नेछन्। यस्तो लाग्छ लेखकले पुस्तकमा विशाल तथ्यांकको महासागरबाट उठाएको एकमुठी पानीको मात्रै विश्लेषण गरेका छन्, त्यस्ता विशाल तथ्यांक विश्लेषणको अथाह संभावनाको ढोका खोलेर। किनभने गुगल खोजीमा संकलित तर निशुल्क र खुल्ला रुपमा उपलब्ध तथ्यांक मानव इतिहासको अहिलेसम्म कै सबैभन्दा अथाह तथ्यांकको स्रोत हो। जसको सचेत विश्लेषणबाट असंख्य प्रश्नहरुको उत्तर खोज्न सकिन्छ।

पुस्तक कतिलाई विशाल तथ्यांक भन्ने परिचयबाट शुरु हुन्छ। जहाँ लेखकले तथ्यांक भनेको संख्यामात्रै होइन, व्यक्तिगत अनुभव पनि हो जसले कुनै कुराको निर्णय गर्न सहयोग गर्दछ भन्ने प्रष्ट पारेका छन्। परिचयात्मक भागमा अनुसन्धानमा समेटिएका केही उदारणीय विषयहरुलाई टिपेर तथ्यांक विज्ञानको नालिबेली केलाएका छन्, सरल र सहज भाषामा।

पुस्तकको दोश्रो भाग जुन पाँच अंशमा बाँडिएको छ, पहिलो अंशमा लेखकले विशाल तथ्यांकको शक्तिको बारेमा शब्द खर्चेका छन् भने दोश्रो अंशमा फ्रायडले सत्य भनेका थिए भन्ने यौन मनोवैज्ञानिक प्रश्नलाई उधिनेका छन्। तेश्रो अंशमा लेखकले शरीर, शब्द र तस्वीरलाई तथ्यांकको स्रोत मानेर विभिन्न रोचक उदाहरण पेश गरेका छन्। ‘अमेरिकन परोहा’ नामको अमेरिकी विलक्षण घोडाको शरिरका अंगहरु केलाएर त्यस घोडामा त्यस्तो के थियो जसले उसलाई अमेरिकाको घोडादौड प्रतियोगिताको चारवटै उपाधी जित्ने संसारको पहिलो र एकमात्र घोडा बनायो, ऐतिहासिक पुस्तकहरुमा लेखिएका शब्दका आधारमा पिज्जा र ससेज कहिलेदेखि धेरै लोकप्रिय बन्यो, हाइस्कूलका विद्यार्थीहरुको हजारौं तस्वीरमा आधारित भएर मानिसहरु कहिलेदेखि फोटो खिच्दा मुस्कुराउन थाले जस्ता नसोचिएका तर रोचक प्रश्नहरुको उत्तर र कारण लेखकले खोतलेका छन्। चौथो अंश लामो र महत्वपूर्ण छ, जसमा डिजिटल सत्यको रस (डिजिटल ट्रुथ सेरम) को विश्लेषण छ। यसमा मानविय यौनको बारेमा, घृणा र पक्षधरताको बारेमा, इन्टरनेटको बारेमा, बालशोषण र गर्भपतनको बारेमा, फेसवुकका साथीको बारेमा र ग्राहकको बारेमा थुप्रै तथ्यांकहरु लेखकले पेश गरेका छन् । दोश्रो भागको पाँचौं अंश तथ्यांकको मिहिन विश्लेषणमा केन्द्रित छ जसले अमेरिकी शहर, नगर र गाँउका ढुकढुकी बताउँछ । दोश्रो भागको अन्तिम अंशमा इन्टरनेटको प्रयोगले बराक ओवामाले कसरी आफ्नो व्यक्तिगत वेभसाइटको डिजाइन गरेदेखि गुगल एड र फेसवुकले आफ्ना प्रायोगकर्ताहरु माझ गर्ने गोप्य इन्टरनेट सर्वेक्षणको विस्तृत कुरा छ।

पुस्तकको तेश्रो तथा अन्तिम भागको पहिको अंश विशाल तथ्यांकको सीमितताको वर्णनमा केन्द्रित छ। दोश्रो अंशमा विशाल तथ्यांकले धेरै संभावना मात्रै होइन, प्रसस्त चुनौती थपेको छ भन्दै उनले विशाल तथ्यांक प्रयोगले सरकार र ठूला कर्पोरेशनहरुको प्रभाव झनै बढ्ने र त्यसको खतराबारेमा औंलाएका छन्। अन्तिम भागलाई कति मानिसले यो किताब पूरै पढ्छन् भनेर चित्ताकर्षक ढंगले समापन गरिएको छ। संसारको सबैभन्दा ठूलो डिजिटल पुस्तक भन्डार एम्याजोनको किन्डलमा पाठकले छोडेका पदचिन्हहरुको विश्लेषण गरेर मानिसले पुस्तकका अघिल्ला केही अंश पढ्ने र पूरै पढें भनेर झूट बोल्ने गरेको दलिल पेश गरेका छन्। लाग्छ, लेखकले पुस्तकको अन्त्यसम्म पनि पुस्तकको शीर्षक ‘हरेकले झूट बोल्छन्’ लाई सार्थक पार्न कुनै कसर बाँकी राखेका छैनन्। तथ्यांक भन्छ, थोमस पिकेटीको बहुचर्चित पुस्तक ‘क्यापिटल अफ ट्वान्टी फष्ट सेन्चुरी’ जम्मा ३ प्रतिशतले मात्रै पूरै पढेका थिए भने नोवेल पुरस्कार विजेता ड्यानियल काहेमानको ‘थिंकिंग फास्ट एन्ड स्लो’ जम्मा ९ प्रतिशतले।

बलात्कारको भिडियो महिलाले किन हेर्छन्? 
अमेरिकामा कालाहरुप्रति गरिने भेदभावको उन्मुलन भएको आधा शताब्दी भइसक्यो। त्यहाँ अश्वेत व्यक्ति राष्ट्रपति पनि बनिसके तर त्यहाँको नाभि गढेको जातिवाद जस्ताको तस्तै छ, गुगल खोजीको तथ्यांकले यही देखाउँछ। त्यही जातिवादको वा स्वेत राष्ट्रवादको कारण बराक ओवामाले सोचेभन्दा कम भोट ल्याए (उनको ठाउँमा स्वेत उम्मेदवार हुन्थे भने उनले झन् बढी मत ल्याउँथे) भने डोनाल्ड ट्रम्पले जिते। जब अश्वेत राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्छन् तब गुगलमा कालाजाति लक्षित भद्दा जोक खोज्नेको संख्या बढ्ने गर्छ। बिडम्बना, जातीय भेदभावलाई उन्मुलन गर्ने आन्दोलनका नायक अश्वेत नेता मार्टिन लुथर किंगको जन्मजयन्तीको दिनमा कालामाथि गरिने भद्दा जोक अन्य दिनहरुमाभन्दा सरदर ३० प्रतिशत बढीले गुगलमा खोज्ने गर्छन्। बाइबल वा गड (भगवान) को खोजी चर्चमा प्राथना गर्ने दिन आइतबार बढी हुन्छ। विभिन्न जाती, समुदायहरुको पछाडि होच्याउने कस्ता विश्लेषण जोडिन्छ भन्ने कुरा गुगल सर्चले देखाउँछ। मुस्लिमलाई दुष्ट, कृश्चियनलाई मुर्ख, एसियनलाई कुरुप, अफ्रिकन अमेरिकनलाई अशिष्ट भन्दै मानिसहरुले गुगलमा खोज्दछन् तर बाहिर भने आफू जातिवादी नभएको दाबी गर्छन्।

यौनको कुरा मानिसले हत्पति खुलारुपमा गर्न चाहँदैनन् तर इन्टरनेटमा खोजिने यौनसम्बन्धी तथ्यांकले मानिसको झूटको पुलिन्दालाई छरपष्ट पारिदिन्छ। लेखकले प्रस्तुत गरेका यौनसँग सम्बन्धित कतिपय कुराहरु रोचक र मार्मिक मात्रै होइन, निराशाजनक छन्। अमेरिकीहरु इन्टरनेटमा मौषम भन्दा ज्यादा यौन खोज्छन्। त्यसो त भारत पनि कम छैन। लेखकको विधि प्रयोग गरेर मैले गरेको खोजको प्रारम्भिक तथ्यांकले नेपालमा इन्टरनेटमा यौनको खोजी झनै बढी भएको देखाउँछ। गुगल ट्रेन्डको विगत १२ महिनाको तथ्यांकअनुसार यौनजन्य भिडियो वेबसाइट पोर्नहवप्रति धेरै आकर्षण भएका मुलुकहरूमा विश्वभरमा नेपाल दोस्रो नम्बरमा छ। गुगल ट्रेन्ड सूचांकमा १०० भनेको धेरै आकर्षण र ० भनेको मापनको लागि पर्याप्त तथ्यांक नभएको मानिन्छ। हेर्नुहाेस् विवरण:

पाेर्नहब अधिक हेर्ने देशहरू माथिबाट तल

पाेर्नहब अधिक हेर्ने देशहरू माथिबाट तल

लेखक भन्छन्, भारत र बंगलादेशमा पतिले आफ्नो स्तनपान गर्न चाहेको कुरा अन्य देशको तुलनामा चौगुणा बढी खोजिन्छ। त्यसैगरी गर्भवती हुँदा यौनसम्पर्क गर्न हुने नहुनेको बारेमा गरिने गुगल खोजीमा पनि भारत अग्रिणीमा पर्छ। यौनका यस्ता थुप्रै नयाँ पुराना तथ्यहरु जुन मानिसले अरुसँग लुकाएका वा ढाँटेका हुन्छन्, त्यसलाई सार्वजनिक गरिदिएका छन् लेखकले। धेरै पुरुषहरु आफ्नो जनइन्द्रियको साइजको बारेमा चिन्तित हुन्छन् (लेखकले पुस्तकको नाम नै मेरो लिंगको आकार कत्रो छ– राख्न खोजेका थिए, पछि सम्पादकको सल्लाहमा शीर्षक परिवर्तन गरिएको रहेछ)। जुन स्थापित कुरा हो, उनको तथ्यांकले त्यसलाई पुनःपुष्टि गरेको छ। तर पुरुषको तुलनामा महिलाहरु आफ्ना गोप्य यौनांगबारे चिन्तित हुँदैनन् भन्ने पुरानो मान्यतालाई उनको तथ्यांकले खारेज गरेको छ। उनका अनुसार, महिलाहरु विशेषत आफ्नो यौन अंगको गन्धबाट चिन्तित हुन्छन्, गुगल खोजीले त्यस्तै भन्छ। त्यसैगरी अमेरिकामा स्तन बढाउने सर्जरीबारेमा प्रतिवर्ष ७० लाख गुगल खोज गरिन्छ। पोर्न साइटमा महिलालाई प्रताडित गरेर सम्पर्क गरिएको भिडियो, बलात्कृत भिडियोको खोजी महिलाहरुले उल्लेख्य संख्यामा गर्दछन् भनेर लेखकले समाजको निराशाजनक पाटो सार्वजनिक गरिदिएका छन्। बलात्कार महिला हिंसाको चरम रुप हो। त्यस्ता भिडियो महिलाले नै किन हेर्न खोज्छन् मानवीय झुटको यो मनोवैज्ञानिक पक्ष आश्चर्यजनक छ।

मानिसको सामाजिक सन्जालमा गरिने पोष्ट र लाइक तथा उसको वास्तविक जीवन फरक हुने लेखकले तथ्यसहित प्रस्तुत गरेका छन्। जसको कारण राम्रो देखिने अभिलाषा (सोसल डिजायरिटी वायस) हो। सन्जालमा राम्रो देखिन मानिसले राम्रा राम्रा साइटहरु लाइक गर्ने, सेयर गर्ने तर इन्टरनेटमा भने नराम्रा कुराहरु पनि उत्तिकै पढ्ने लेखकको ठम्माई छ। उनी भन्छन्, जुन ठाउँमा फेसबुकमा आफ्ना पतिको बारेमा राम्रा कुराहरु (मलाई औधी माया गर्छ, असल छ आदि) को पोष्ट भएको हुन्छ, त्यही ठाउँमा आफ्नो पतिका नराम्रा कुराहरु (पतिलाई छुच्चो, कष्टप्रद, घटिया आदि) बारे गुगलमा बढी खोजिएकोे हुन्छ। बेरोजगारी बढ्यो भने बच्चाहरुलाई बाबुआमाले पिट्नेक्रम पनि बढ्ने कुरा गुगल खोजीको तथ्यांकले देखाउँछ। ‘मेरो अभिभावकले मलाई पिट्यो’ भन्ने गुगल खोजी अमेरिकामा आर्थिक मन्दी भएको बेला उत्कर्षमा पुगेको थियो। मानिसहरुले आफ्नो वैवाहिक सम्बन्धको बारेमा बाहिर राम्रो कुरा बताए तापनि गुगलमा सुखी दाम्पत्य (ह्याप्पी म्यारिज) भन्दा संभोगरहित दाम्पत्य (सेक्सलेस म्यारिज) धेरै खोजी हुने शब्दमा पर्दछ।

नेताहरुले कस्ता भाषण गर्दा ठिक हुन्छ? 
त्यसो त निराशाजनक मात्रै होइन, अपराध नियन्त्रणलाई ठूला तथ्यांकको विश्लेषणले कसरी सहयोग गर्छ भन्ने कुरा लेखकले देखाएका छन्। महिलाले यौनांग गन्हाएको धेरै खोजी गरेको स्थान पत्ता लगाएर उनीहरुलाई आफ्नो यौनांग सरसफाइको बारेमा अभियान चलाउन सकिन्छ। गुगलमा खोजिने रोगहरुको लक्षणको आधारमा पनि त्यस्ता ठाउँहरुमा रोगको बारेमा जनचेतना अभियान चलाउन सकिन्छ। त्यस्तै आत्महत्या कसरी गर्ने भन्ने गुगल खोजीको आधारमा त्यस्ता ठाउँ पत्ता लगाएर डिप्रेसनको बारेमा चेतना फैलाउन सकिन्छ। सरकारले कर छल्ने ठाउँ पत्ता लगाएर करछली गर्नेहरुलाई कारबाही थाल्न सक्छ। कमजोर शैक्षिक अवस्था भएका स्कूलहरुको स्थिती सुधारमा यस्ता विशाल तथ्यांकहरुलाई प्रयोग गर्न सकिन्छ। समाजमा कुनै समुदाय वा जातिप्रतिको घृणालाई घटाउन नेताहरुले कस्ता कुरा भाषणमा समेट्दा ठीक हुन्छ भन्ने विवरण रोचक र उपयोगी छ।

पुस्तकमा तथ्यांकमा आधारित एउटा रमाइलो कुरा छ, जुन धेरैको व्यक्तिगत जीवनसँग मिल्दछ। जुन मानिसहरुले अरुसँग पैसा माग्दा ‘भगवान कसम’, ‘म जसरी पनि तिर्छु’ वा ‘मेरो आफन्त विरामी छ’ भन्ने शब्दहरु प्रयोग गरेर पैसा माग्छन् तिनीहरुले ऋण फिर्ता गर्ने संभावना न्यून हुन्छ। त्यसको विपरित आफ्नो आम्दानीको स्रोत देखाएर, व्याजको कुरा स्पष्टसँग गरेर पैसा माग्नेले ऋण तिर्ने संभावना बढी हुन्छ। अमेरिकालाई अवसरको मुलुक भनेपनि त्यहाँ अन्यत्र भन्दा कम अवसर छ भन्नेदेखि बोष्टनमा हुर्कने बच्चाहरुको बैज्ञानिक बन्ने संभावना किन अन्यत्र हुर्किएका बच्चाको भन्दा बढी हुन्छ, अश्वेत मध्यम परिवारमा जन्मिएको परिवारको केटाको कति उचाई भएमा उसले बास्केटवल खेलाडी बन्ने संभावना बढ्न सक्छ सम्मका थुप्रै रोचक कुराहरु छन् पुस्तकभित्र। इन्टरनेटले उपलब्ध गराउने तथ्यांकको विश्लेषणबाट लेखकले परम्परागत माध्यामले तथ्यांक संकलन गर्ने जस्तै सर्वेक्षण विधिमाथि प्रश्न उठाएका छन्, कन्डोम प्रयोगको मिथ्यांक प्रस्तुत गरेर। लेखकले सामाजिक विज्ञानमा सर्वाधिक प्रयोग हुने सर्वेक्षण जस्ता तथ्यांक संकलन विधि वा मनोविज्ञानमा प्रयोग गरिने अवलोकन विधिको आफ्नै महत्व भएता पनि डिटिजल यूगमा तथ्यांक संकलनको नयाँ विधिलाई प्रयोग गर्न उपयुक्त हुने सुझाएका छन्। उनका अनुसार मानिसले व्यक्तिगत विवरणहरु गोप्य राखिने सर्वेक्षणहरुमा पनि झुट बोलिरहेका हुन्छन्।

कतिपय हाम्रो मनमा भएका सुसुप्त कुराहरु गुगल सर्च वा त्यस्तै ठाउँहरुमा उजागार गरिरहेका हुन्छौं, त्यो कुरा हामीले बिर्सन्छौं वा वास्ता गर्दैनौं। उदाहरणका लागि यूट्यूबमा खोजेका भिडियोहरु, किन्डल जस्ता इलेक्ट्रोनिक बुक रिडरमा पढ्दा अन्डरलाइन गरेका कुराहरु। तर एल्गोरिदमले त्यसलाई सम्झने, विश्लेषण गर्ने र चाहेको बेला उपलब्ध गराइदिन गर्छ। गुगल वा किन्डल पनि त्यस्तै एल्गोरिदम हो। त्यसले हामीले खोजेका, पढेका, चाहेका, हेरेका सबै कुराको ‘शब्द कोलाहल’ जम्मा पारेर राख्दछ जसको विश्लेषणबाट मानिसको स्वभाव, आचरण, चाहना र मनोविज्ञान बुझ्ने ध्वनि निकाल्न सकिन्छ। पुस्तकमा यस्तै डिटिजल स्पेशमा भएका तथ्यांकहरु केलाएर, प्रविधि संसारको बहुचर्चित भनाई ‘हिजोआज मानिसले आफूले आफूलाई बुझेको भन्दा एल्गोरिदमले बढी उसलाई बुझ्दछ’ लाई पुष्टि गरिएको छ।

नेपाल खबर अनलाइन| साउन २५ २०७५

शिक्षाको बहसमा छुटेका पाटा

मानव जीवनमा गाँस, वास र कपासको आपूर्ति सहज हुन थालेपछि शिक्षा अपरिहार्य आवश्यकता बन्न पुग्यो । त्यससँगै यसका विविध पाटामा बहस हुन थाल्यो, जुन अहिले पनि जारी छ । प्राचीन ग्रिसमा केटाकेटीलाई शिक्षा दिन हुने कि नहुने भन्नेमा बहस हुन्थ्यो । नेपालमा पछिल्लो समयमा डा. गोविन्द केसीले अनशनमार्फत उठाएका शिक्षा र स्वास्थ्यका मुद्दामा बढ्दो चासोका कारण यस विषयले सार्वजनिक बहसमा जबर्जस्त स्थान पायो ।

बहुदलपछिका विगत तीन दशकमा नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकृतिलाई हामीले कार्पेटमुनि थुपारेर राखेका थियौँ । अहिले त्यो फोहोर यति धेरै भयो कि त्यसले हामीलाई कोठामा बस्नसमेत अप्ठ्यारो बनायो । अर्को शब्दमा भन्दा नागरिक जीवनसँग प्रत्यक्ष जोडिएको शिक्षा र स्वास्थ्य महँगो मात्रै होइन, गुणस्तरहीन र अविश्वसनीय हुँदै गयो । त्यसले आममानिसको चासो बढायो ।

यतिखेर देशमा प्रमुख राजनीतिक मुद्दा लगभग थिग्रिएको छ । दुईतिहाइको स्थिर सरकार छ । सबै दलले समृद्घिलाई प्रमुख मुद्दा बनाएका छन् । गत वर्ष वल्र्ड इकोनोमिक फोरमको एउटा प्रतिवेदनले प्राथमिक तहमा पढिरहेका बच्चामध्ये ६५ प्रतिशतले अहिले उपलब्ध नभएका रोजगारीका क्षेत्रमा काम गर्नेछन् भनेको सन्दर्भमा पनि अहिले शिक्षाको बहसका लागि उपयुक्त समय हो । यस लेखमा उच्च शिक्षाको बहसमा छुटेका केही पक्षमाथि चर्चा गरिनेछ ।

बहसमा छुटेका प्रश्न : यतिखेर बहसको केन्द्रमा स्वास्थ्य शिक्षा छ । पढाइको गुणस्तर, शिक्षालयको संख्या र सिट, शिक्षालय खोल्ने स्थान र समयान्तरजस्ता विषय बहसमा केन्द्रित छन् । त्यससँगै नेपालका विश्वविद्यालयभित्रका विकृति, थेसिस किनबेच, बौद्घिक चोरी, विश्वविद्यालयभित्रको दलीय भागबन्डाका विषय पनि उठेका छन् । बहसमा उठेका यी विषय धेरै व्यवस्थापनसँग सम्बन्धित छन् ।

कानुन र कर्तव्यको सही पालना हुन्थ्यो भने यस्ता विषयले नीतिगत बहसमा प्रवेश नै पाउँदैनथे । विश्वविद्यालयभित्र प्राध्यापकले कक्षा लिँदैन, राजनीति गर्छ, थेसिस किनबेच हुन्छ, बौद्घिक चोरी हुन्छ भने त्यो विश्वविद्यालयले भित्रै हल गर्ने विषय हो । विद्यार्थी सिट संख्या निर्धारण, माग आपूर्ति सन्तुलनको विषय हो । त्यस्ता विषयमा देशको मन्त्री, विपक्षी दलका नेता, नागरिक समाज, प्राज्ञिक व्यक्तिले बहस गरेर समय, ऊर्जा र स्रोत खर्चनु नपर्ने हो ।

देशले फड्को मार्न थालेको भनिएको वेला हामीले शिक्षाको बहसमा सोध्नुपर्ने प्रश्न त अब हाम्रो उच्च शिक्षालाई कस्तो बनाउने ? शिक्षामा गुणस्तर र पहुँच कसरी सुनिश्चित गर्ने ? आगामी वर्षमा हामीलाई कस्ता क्षमता, दक्षता, सीप भएका जनशक्ति चाहिन्छ र तिनलाई उत्पादन कसरी गर्ने ? उच्च शिक्षामार्फत उत्पादित जनशक्तिलाई कसरी आर्थिक उत्पादनको हिस्सा बनाउने ?

देशको शिक्षालाई कसरी विश्वमा प्रतिस्पर्धी बनाउने ? देशभित्र उच्च शिक्षाप्रति विद्यार्थीको घट्दो आर्कषण र प्रतिभा पलायनलाई कसरी समाधान गर्ने ? ज्ञान उत्पादनलाई सघाउन अध्ययन, अनुसन्धानलाई कसरी बढाउने ? छिमेकी मुलुकका उत्कृष्ट केन्द्रहरूसँग कसरी सहकार्य गर्ने ?

विश्वभर ‘रोबोट’ र ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता प्रविधिको विकास र बढ्दो प्रयोगले ल्याएको चुनौतीलाई हामीले हाम्रो शिक्षामार्फत कसरी सम्बोधन गर्ने ? यतिखेरको नीतिगत बहस त त्यस्ता विषयमा केन्द्रित हुनुपथ्र्यो । तर, विडम्बना हाम्रो व्यवस्थापकीय क्षमता र राज्य सञ्चालन प्रणाली यति कमजोर र निकम्मा भइसकेको छ कि विश्वविद्यालयभित्रको फ्याकल्टी मिटिङले सुल्झाउन सक्ने कतिपय विषयलाई राष्ट्रिय बहसमा ल्याइरहेका छौँ ।

कसैका छोराछोरीलाई इन्जिनियर वा वकिल बनाउन मजदुर वा किसानले राज्यमार्फत किन उसको शुल्क तिरिदिने ?

बहसमा आएको अर्को विषय उच्च शिक्षा आर्जनमा लाग्ने दायित्व शिक्षा लिने व्यक्ति स्वयंले व्यहोर्ने कि राज्यले भन्ने हो । यो निकै जटिल प्रश्न हो, जसलाई दार्शनिक, सामाजिक न्याय र आर्थिक कोणबाट हेर्न सकिन्छ । विश्वभर हाल भइरहेको प्रयोगको हिसाबले पनि कुनै एक विधिलाई नै पूर्ण ठीक वा बेठीक भन्ने अवस्था छैन ।

रोचक के छ भने उच्च शिक्षामा राज्यको पूर्ण लगानी भएका नर्वे, डेनमार्क, स्विडेनजस्ता स्केन्डिनेभिएन राष्ट्रमा उच्च शिक्षामा शुल्क लगाउने कि भन्ने बहस भइरहेको छ भने अमेरिकाजस्तो उच्च शिक्षाका लागि विद्यार्थीले चर्को शुल्क तिर्नुपर्ने देशमा उच्च शिक्षा निःशुल्क हुनुपर्छ भन्ने आवाज उठिरहेको छ । गत राष्ट्रपतीय निर्वाचनमा निःशुल्क उच्च शिक्षाको मुद्दालाई डेमोक्र्याटिक पार्टीभित्रका बर्नी स्यान्डर्सले चर्को रूपमा उठाएका थिए ।

निःशुल्क उच्च शिक्षाबारेका भ्रम ः नेपालमा निःशुल्क उच्च शिक्षा भन्ने शब्दावलीले भ्रम पैदा गरेको छ । संसारमा निःशुल्क भन्ने केही हुँदैन । अहिले विश्वभर लागत बढ्दै गएको उच्च शिक्षा त झनै निःशुल्क हुँदैन । यसको लागत कसले तिर्ने, जनताबाट कर उठाएर राज्यले या शिक्षा आर्जन गर्ने व्यक्तिले भन्ने मात्र हो ।

यो आधारभूत रूपमा राज्यको दार्शनिक मान्यतासँग जोडिएको विषय हो । लोककल्याणकारी र समाजवादी राज्यको मान्यतामा शिक्षालाई सार्वजनिक सम्पत्ति र उच्च शिक्षा हासिल गरेका व्यक्तिलाई राज्यको पुँजीका रूपमा हेरिन्छ । त्यसकारण राज्यले त्यसमा सम्पूर्ण लगानी गर्न आवश्यक ठान्छ ।

तर, नवउदारवादी दृष्टिकोणमा उच्च शिक्षा प्राप्तिसँगै व्यक्तिको आय र सामाजिक प्रतिष्ठा बढ्छ, त्यसकारण उच्च शिक्षाले व्यक्तिको हित हुने भएकाले शिक्षा हासिल गर्ने व्यक्तिले त्यसको शुल्क तिर्नुपर्छ । यस दृष्टिकोणमा शिक्षा पनि अन्य वस्तुजस्तै विनिमयको साधन हो । वास्तवमा यो नवउदारवादी दृष्टिकोणलाई सामाजिक न्यायका हिसाबले यसरी पनि हेर्न सकिन्छ– कसैका छोराछोरीलाई इन्जिनियर वा वकिल बनाउन मजदुर वा किसानले राज्यमार्फत किन उसको शुल्क तिरिदिने ? जुन अनुचित प्रश्न होइन ।

व्यावहारिक रूपमा उच्च शिक्षाको प्रभावमाथि उल्लेख गरेजस्तो व्यक्ति भर्सेस राज्य भन्ने हुँदैन । त्यहाँ ’ग्रे एरिया’ पनि हुन्छ । उच्च शिक्षा पहिलेजस्तो ज्ञान उत्पादन गर्ने वा विद्वता निर्माण गर्ने मात्र नभई रोजगारीसँग पनि जोडिएको विषय हो । तर, उच्च शिक्षाले व्यक्तिको जीवनमा मात्रै होइन, समग्र अर्थतन्त्र र समाजमा पनि योगदान पु-याएको हुन्छ । व्यक्तिले रोजगारीमार्फत सरकारलाई कर तिर्छ, अपराधजन्य घटनामा संलग्न हुँदैन, स्वस्थ बन्न खोज्छ, सामाजिक सद्भाव राख्छ । त्यसबाट राज्यले अपराध नियन्त्रण वा स्वास्थ्य क्षेत्रमा गर्ने लगानी कम गर्न अप्रत्यक्ष सहयोग पुग्छ ।

यतिखेर जानेर वा नजानेर हामी नवउदारवादी अर्थतन्त्रको एक हिस्सा बनिसकेका छौँ । गुगल गर्दा होस् या फेसबुक चलाउँदा, हामी त्यसका मालिकको उत्पादनका साधन बनिरहेका छौँ । अहिले परम्परागत उत्पादनका साधनभन्दा नदेखिने ‘ब्रान्ड भ्यालु’, साख, ग्राहक संख्याजस्ता पक्षले पुँजी उत्पादन र नाफा निर्धारण गरेको हुन्छ । त्यसकारण समाजवादी गन्तव्य भने पनि नवउदारवादी व्यवस्थाका कतिपय पाटालाई अस्वीकार गरेर बढ्ने उपाय हाललाई उपलब्ध छैन । भोलि परिवर्तन होला, त्यो बेग्लै हो । त्यसैले शिक्षामा निजी वा पूर्ण राष्ट्रियकरणको दुई चिरामा भन्दा मिश्रित मोडल अर्थात् सार्वजनिक शिक्षाको मोडल प्रचलित छ, नवउदारवादी व्यवस्थामा समेत ।

विद्यार्थीले शुल्क तिर्छन्, त्यो शुल्क संस्थागत विकासको लागि खर्च हुन्छ, गुठी वा ट्रस्टमार्फत लगानीकर्ताले नेपालमा जस्तो व्यक्तिगत मुनाफा कमाउन पाउँदैनन् । नेपालमा पनि कतिपय मानिस अहिले यसैको पक्षमा वकालत गरिरहेका छन् । अमेरिकाका हार्वर्ड, येलजस्ता निजी विश्वविद्यालय त्यसरी नै चलेका छन् । तर, त्यो प्रणालीमा ठूलो समस्या पनि छ भनिन्छ । किनभने हार्वर्ड, येलजस्ता विश्वविद्यालयको कोषमा सम्पत्ति अथाह सञ्चित हुँदा पनि उनीहरूले विद्यार्थीबाट ढाडै भाँच्चिने गरी शुल्क लिन छाडेका छैनन् ।

उठाइएको सम्पत्ति विद्यार्थीका लागि विशेष शुल्क घटाउन वा छात्रवृत्ति बढाउन प्रयोग हुनुपर्छ भन्ने आवाज त्यहाँ उठेको छ । त्यसकारण उच्च शिक्षा पूर्ण रूपमा राष्ट्रियकरण गरेर सरकारले त्यसको लागत व्यहोर्नुभन्दा पनि पढ्ने व्यक्तिबाट शुल्क लिने, प्रतिष्ठानमा कोष बढ्दै गएमा शुल्क पनि स्वतः घट्ने वा नाफाको अवस्था नै नआउने गरी शुल्क निर्धारण विधि अपनाउँदा पो व्यावहारिक हुन्छ कि ? त्यसका लागि आर्थिक पारदर्शिता पहिलो सर्त हुन्छ, जसमा हामी निकै कमजोर छौँ ।

उच्च शिक्षाका थप केही मिहिन पक्ष पनि छन् । उच्च शिक्षाका सबै विधा पढेर मानिसले उच्च रोजगारीका अवसर पाउँछन् भन्ने ग्यारेन्टी छैन । कतिपय विधामा उच्च शिक्षा हासिल गर्दा मानिसले रोजगारीको अवसर नै नपाउने वा पाए पनि त्यसले दिने आर्थिक लाभ निकै कम हुने, तर त्यसले उत्पादन गरेको ज्ञान समाजको बृहत्तर हितमा उपयोगी हुने हुन सक्छ । जस्तै– इतिहास, दर्शनशास्त्र, कला, भाषा, साहित्यजस्ता उच्च शिक्षाका विधामा प्राविधिक विषयमा जस्तो तत्काल ठूलो संख्यामा रोजगारी नपाइने वा पाइए पनि उच्च आय नहुन सक्छ ।

त्यसैले त्यस्ता विधा पहिचान गरी राज्यले तत्विषय पढ्ने विद्यार्थीका लागि निःशुल्क व्यवस्था गर्न सक्छ । कतिपय विषयमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई थप आर्थिक लाभ दिनुपर्ने पनि हुन सक्छ । त्यसकारण शुल्क, सशुल्क र निःशुल्क भन्ने पक्षको मिहिन विश्लेषण आवश्यक छ । उच्च शिक्षापछिको अवसर विश्लेषणले यो निर्धारण गर्न सकिन्छ ।

निःशुल्क शिक्षाको पक्षमा वकालत गर्दा संविधानले शिक्षालाई मौलिक हक भनेकाले अब सबैका लागि शिक्षा भन्ने मोडलमा जानुपर्छ भन्ने तर्क पनि छ । तर, माध्यमिक र उच्च शिक्षा फरक विषय हुन् । अहिलेको संसारमा माध्यमिक तहको शिक्षा सबैका लागि हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो ।

त्यसमा बहस गरेर समय खर्च गर्ने होइन, त्यो तुरुन्त लागू गर्ने विषय हो । जहाँसम्म उच्च शिक्षा आर्जनबाट सिर्जित आर्थिक लाभका कारण शिक्षा पाएका र नपाएका व्यक्तिबीचको आर्थिक असमानता हल गर्न पनि राज्यले उच्च शिक्षाको दायित्व लिनुपर्छ र राष्ट्रियकरण गर्नुपर्छ भन्ने तर्क छ, त्यो अलि सतही छ । किनभने, आर्थिक असमानता उच्च शिक्षा पाएका वा नपाएकाबीच मात्र छैन । महिला र पुरुष, विभिन्न जाति, समुदाय र क्षेत्रबीच पनि आर्थिक असमानता छ । त्यो यसकारण छ कि यहाँ धेरै पढेका र कम पढेका, महिला र पुरुषबीच ज्यालादरको विशाल खाडल छ ।

कम्पनीमा काम गर्ने सामान्य कर्मचारी र त्यहाँको उच्च कार्यकारी अधिकृतबीच, महिला र पुरुषबीच, सुगम र दुर्गमबीच तलब सुविधामा भीमकाय अन्तरले त्यस्तो असमान परिस्थिति सिर्जित भएको हो, शिक्षाको अवसरको कारण मात्रै होइन । त्यसकारण त्यस्तो असमानता हटाउन ‘पे ग्याप’लाई कम गराउन नीति र सबै किसिमको श्रमलाई सम्मानित रूपमा हेर्ने सामाजिक दृष्टिकोण निर्माण आवश्यक छ ।

अहिले देशले कोल्टे फेर्न लागेको वेला शिक्षाको बहसको आह्वान त सरकारी पक्षबाट हुनुपथ्र्यो । त्यो नभए पनि त्यसका लागि सरकार सहयोगी वा सहजकर्ता बन्नुपथ्र्यो । तर, दुर्भाग्यवश गोविन्द केसीको अनशनकै कारण मात्र शिक्षा र स्वास्थ्यबारे छलफल, बहस गर्ने वातावरण बनेको छ । अक्सर हामी जटिल प्रश्नको सहज उत्तर खोजिरहेका हुन्छौँ । जटिल प्रश्नको उत्तर समाधानको विधि पनि जटिल नै हुन्छ । जसका लागि मिहिन विश्लेषण र गहन चिन्तन आवश्यक हुन्छ ।

शिक्षाजस्तो जटिल, बहुआयामिक र गतिशील विषयको बहसमा समाधानको अचुक अस्त्र एकैचोटि निकाल्न सम्भव छैन । वर्तमानमा भइरहेको शिक्षाको बहस निकै साँघुरा प्रश्नमा केन्द्रित छ । माथि उल्लेख गरेअनुरूप कतिपय प्रश्न नीतिगत बहसका लागि उपयुक्तसमेत छैनन् । अनुपयुक्त प्रश्नबाट सुरु हुने बहस निरर्थक हुन्छ । अब नेपालको शिक्षा क्षेत्रले उपयुक्त प्रश्न पहिल्याउने वेला आएको छ ।

नयाँपत्रिका दैनिक । साउन १५ २०७५

अग्लो देशकाहोचा नेपाली

हालै इथियोपियन एयरलाइन्सले उड्ययन क्षेत्रकै अत्याधुनिक मानिने र जहाज निर्माता बोइङ कम्पनीको नवीनतम उत्पादन बोइङ ७८७—९ ड्रिमलाइनरलाई १०० औँ जहाजका रूपमा भित्रायो। इथियोपियन केहीसमयपहिलेसम्म नेपालसँगै गरिब राष्ट्रका रूपमा तुलना गरिने अफ्रिकी मुलुक इथियोपियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी हो। यतिखेर इथियोपियनलाई वायुसेवा क्षेत्रको विश्वमै सबैभन्दा उच्च वृद्घिदर भएको र अफ्रिका महादेशको सबैभन्दा ठूलो वायुसेवा कम्पनीका रूपमा हेरिन्छ। नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमभन्दा मात्रै १३ वर्षले जेठो यो एयरलाइन्सले द्रुत प्रगति गरिरहँदा नेपाली वायुसेवा निगम भने संकटबाट माथि उठ्न सकेको छैन।

वायुसेवा क्षेत्रमा मात्रै होइन, गएको दुई दशकयता जलविद्युत क्षेत्रमा पनि इथियोपियाको प्रगति चामत्कारिक मान्न सकिन्छ । सन् १९९० मा नेपालमा कुल विद्युत् उत्पादन २३५ मेगावाट हुँदा इथियोपियाको ४०८ मेवामात्रै थियो । त्यसपछिका १० वर्षमा नेपालले २६ मेवा थप गर्दा इथियोपियाको विद्युत् उत्पादन भने स्थिर रह्यो । पछिल्ला १५ वर्षमा इथियोपियाको कुल विद्युत् उत्पादन ३७१५ मेवा नाघिसकेको छ तर नेपालको भने ७६६ मेवामा सीमित छ । नेपालको विकासमा सबैभन्दा ठूलो सम्भावना भनिएका क्षेत्र पर्यटन र जलविद्युत्को विकासको गति यस्तो छ भने अन्य क्षेत्रको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।

हामीसँगैका मुलुकहरूको प्रगतिको ग्राफ बढ्दै गर्दा नेपालको उचाइ यथास्थितिमा नै छ वा घट्दैछ। समग्रमा हिमालबाहेक अन्य क्षेत्रमा नेपाल र नेपालीको उचाइविश्वमै पुड्को छ।

नेपालको अवस्थाको यो तुलना युरोप, अमेरिकाका कुनै विकसित देशसँग गरिएको होइन, केही दशकअघिसम्म पनि नेपाल जस्तै वा नेपालभन्दा पनि गए/गुज्रेकोअवस्थामा भएका मुलुकसँगको हो । जसले विश्व मानचित्रमा हाम्रो वास्तविक उचाइ मापन गर्छ । यसरी हामीसँगैका मुलुकहरूको प्रगतिको ग्राफ बढ्दै गर्दा नेपालको उचाइयथास्थितिमा नै छ वा घट्दैछ । समग्रमा यतिखेर हिमालबाहेक अन्य क्षेत्रमा नेपाल र नेपालीको उचाइविश्वमै पुड्कोछ।

विश्वका आठ हजारभन्दा अग्ला १४ मध्ये ८ वटा हिमशिखर नेपालमा पर्छ । नेपालमा पर्ने पृथ्वीको सबैभन्दा अग्लो शिखर सगरमाथाप्रति हामी नेपाली ठूलो गर्व गर्ने गर्छौँ भलै हाम्रो हिमालसम्बन्धी ज्ञानको आयतन निकै साँघुरो किन नहोस् । हामीलाई सगरमाथाको देशको बासिन्दा भनेर चिनाउन पाउँदा खुसी लाग्छ । विश्वलाई देखाइदिने भन्दै हामी सगरमाथाको फेदीमा गएर मन्त्रिपरिषद् बैठक गर्छौँ । त्यसले पनि चुचुरोसँगको हाम्रो अथाह प्रेमलाई प्रतिविम्बित गर्छ। तर हामीले हामीसँग भएका प्राकृतिक चुचुरोका उचाइलाई जति नै प्रेम र त्यसमा गर्व गरेतापनि मानव निर्मित चुचुरामाभने हामी विश्वमै निकै होचोमामानिन्छौँ।विश्वका अन्य देशका तुलनामा खेलकुद जस्ता शारीरिक क्षमता देखाउने क्षेत्रमा होस् या कला, साहित्य, चलचित्र, विज्ञान, प्रविधि जस्ता प्राज्ञिक क्षमता देखाउने क्षेत्रमाहोस्, हामी हाम्रो हिमाल जस्तो अग्लो कतै पनि देखिँदैनौँ । त्यस्ता क्षेत्रमा हाम्रो उचाइ अन्य देशकोतुलनामा हिमाल र महाभारत पर्वत जस्तो अग्लो होइन, चुरे जत्तिको पनि छैन्, पूरा समथर तराईजस्तो छ।

खेलकुददेखि प्रज्ञासम्म
यतिखेर सहरिया नेपालीहरूलाई विश्वकपको ज्वरोले समातेकोे छ ।सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्ममा विभिन्न राष्ट्रिय टोलीका पक्षधरनेपालीबीच एउटा भर्चुवल भिडन्त देख्न सकिन्छ । यस्ता भर्चुवल भिडन्त विश्वमा खेलिने क्रिकेटदेखि फुटबलसम्मकोखेल महोत्सवहरूमा देख्न सकिन्छ । तर विश्वस्तरका यस्ता प्रतिस्पर्धामा नेपाली टोलीले वास्तविक भिडन्त अझै गर्न पाएको छैन् । आफ्नो मुलुकको कुनै सहभागिता नहुँदापनि खेलप्रति सर्वसाधारणको यति उच्च क्रेज भएको नेपालको खेलकुदको अवस्था भने अन्य देशको तुलनामा होचोछ।

भर्ना संख्या हेर्दा त्रिभुवन विश्वविद्यालय विश्वको ठूला विश्वविद्यालयमध्ये ११ औँ स्थानमा पर्छ तर गुणस्तर मापनको सूचीमा भने विश्वका उच्च दुई हजार विश्वविद्यालयभित्र पनि पर्दैन्।

फुटबलमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट लगातार बाहिरिएको धेरै भयो । त्यसैगरीसन् १९६४ को जापान ओलम्पिकदेखि सहभागिता जनाउँदै आएको नेपालले सन् १९८८ को सोल ओलम्पिकमा कास्य पदक जित्नेबाहेक अन्य उपलब्धि हासिल गर्न सकेको छैन् । अध्ययनहरूले विश्व खेलकुदमा पदक संख्या र धनको ठूलो अन्तरसम्बन्ध रहेको देखाएको छ । सरसर्ती हेर्दा पदकहरू अधिकांश धनी देशहरूले नै बटुल्छन् । यद्यपि नेपाल जस्तै आर्थिक हैसियत भएका देशहरूले पनि रित्तो हात नफर्किएका उदाहरण पनि प्रशस्त छन् ।जमैका जस्ता उच्चमध्यम आय भएका देशको कुरा छोडौँओलम्पिकमा नेपालभन्दा ३२ वर्षपछिसहभागिता जनाएको लगभग उस्तै आर्थिक अवस्था भएका बुरुन्डीले नेपालभन्दाबढी पदक जितिसक्दा खेलकुदमा हाम्रो अवस्था अग्लो हुन सकेको छैन्।

शारीरिक क्षमता र सामथ्र्यका साथै लगनशीलता र धैर्यजस्ता कौशलहरूको पनि उच्च प्रदर्शन हुने खेलकुद जस्ता विधामा मात्रै होइन, मानसिक क्षमता, सिर्जनशीलता र विद्वता प्रदर्शन हुने प्राज्ञिक क्षेत्रहरूमा पनि नेपालको त्यस्तो कुनै उचाइदेखिएको छैन् । इथियोपियाले वायुसेवा उद्योगमा बनाएको हिमालजस्तो उचाइ हामीले अझैपनि कुनै पनि क्षेत्रमा बनाउन सकेका रहेनछौँ । नेपालका पूर्वाधारका योजनादेखि सेवा र उत्पादकमूलक उद्योगसम्मको उचाइ विश्वको औसतभन्दा धेरै तल छ।

केही दशकयता नेपालको शिक्षा क्षेत्र खासगरीप्राथमिक शिक्षामा भर्नाबढाउने र साक्षरता बढाउने लक्ष्यहरूमा प्रगति देखिएको भएतापनि नेपालको उच्च शिक्षाको गुणस्तरको अवस्था विगतभन्दा पनि खस्किएको छ ।विश्वका उत्कृष्ट विश्वविद्यालयसँगको कुरा छाडौँ, हाम्राविश्वविद्यालयहरूको शैक्षिक गुणस्तर यस क्षेत्रका सामान्य विश्वविद्यालयहरूको भन्दा पनि कमसल छ । भर्ना संख्या हेर्दा त्रिभुवन विश्वविद्यालय विश्वको ठूला विश्वविद्यालयमध्ये ११ औँस्थानमा पर्छ तर गुणस्तर मापनको सूचीमा भने विश्वका उच्च दुई हजार विश्वविद्यालयभित्र पनिपर्दैन्।

उच्च शिक्षालयहरूको अवस्थामात्रै होइन,ज्ञान÷विज्ञानका अन्य क्षेत्रमा समेत नेपालको अवस्था दयनीय छ । नेपालमा लेखिएका पुस्तकले, बनेका चलचित्रले, निर्मित कलाकृति र संगीतले अझैसम्म पनि विश्वस्तरमा एउटा उचाइ बनाउन सकेका छैनन् । यद्यपि खेलकुदमा जस्तो पुस्तक, संगीत र चलचित्रमा उत्कृष्टताको मापन सहजैगर्न सम्भव हुँदैन । एउटालाई अब्बल लागेको पुस्तक वा चलचित्र अर्को व्यक्तिलाई झुर लाग्नसक्छ । तर पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित पुरस्कार जित्नुुलाई गुणस्तरको एउटा मानक मान्ने हो भने नेपाली सिर्जनाले त्यस्तोगुणस्तरीय स्थान पाउन सकेका छैनन् । अमेरिकामा चलचित्र क्षेत्रमा दिइने अस्कर अवार्ड सुरु भएको बीस वर्षपछि बन्न थालेको नेपाली चलचित्रले हालसम्म अस्कर जित्नेमात्रै होइन,त्यसमा मनोनीतसम्म पनि हुन सकेको छैन । ओस्कारमात्रै होइन, विश्वस्तरका त्यस्ता पुरस्कारमा नेपाली चलचित्रको नाम परेको सुनिएको छैन् । कलासाहित्यको अवस्था पनि चलचित्र जस्तै छ । नेपाली साहित्यले नोवल, म्यान वुकरवा त्यस्तै किसिमका अन्तर्राष्ट्रिय पुरस्कार जित्न सकेको छैन् । नेपालीसंगीतको पनि अवस्था लगभग उस्तै नै छ।

व्यक्तिगत उचाइ पनि उस्तै
ज्ञानविज्ञानका विभिन्न विधामा नेपाली सिर्जनाका उचाइहोचोमात्रै होइन,त्यस क्षेत्रमा लागेका नेपालका प्राज्ञिक व्यक्तित्व, अन्वेषक, अनुसन्धानकर्ता, साहित्यकार, कलाकार, संगीतकार, चलचित्रकर्मीले पनि नेपाली सीमाभन्दा बाहिर गएर आफ्नो उत्कृष्टता देखाउन सकेका छैनन्। विभिन्न विधामानोवल पुरस्कारजित्ने नाममा छिमेकी देशपाकिस्तान, भारत र बंगलादेशका नागरिक परिसकेका छन् तर हालसम्म एकजना नेपालीलेपनि त्यो उचाइ हासिल गर्न सकेको छैन् ।अस्कर वा नोवल जस्तो हिमाली उचाइ होइन,मनीषा कोइरालालाई अपवाद छाडिदिने हो भने नेपाली चलचित्रकर्मी वा कलाकारले नेपालबाहिर आफ्नो परिचयको सानो चुरे पनि बनाउन सकेका छैनन्।

खस्कँदो उचाइ
हामीले संस्थागतरूपमा विकास, प्रगति र समृद्घिको कुरा गर्न थालेको पनि छ दशकभन्दा बढी भइसकेको छ । देशको प्राथमिकतामा कृषि, पर्यटन, जलविद्युत्, शिक्षा र स्वास्थ्यलाई राखेर बजेटको ठूलो अंश खर्च गर्ने पनि गरिएकोछ । तर त्यसको प्रतिफल भने उत्साहजनक छैन् । कृषिलाई प्रधान मानिने नेपालको कृषि क्षेत्र अझै निर्वाहमुखी नै छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार कृषि उत्पादकत्वमा नेपाल विश्वका १५५ देशमध्ये १४४ औँमा पर्छ । नेपालभन्दा थोरै कम कृषि उत्पादकत्व भएका मुलुकमा रुवान्डा, जिम्बाब्वे, मलावी, बुक्रिना फासो, कंगो, गाम्विया, बुरुन्डी जस्ता देश पर्छन् । यो सूचकांकको उपल्लो स्थानमा नेताहरूले नेपाललाई बनाउने भनेको देश सिंगापुरलगायत स्लोभानिय, फ्रान्स, क्यानडा, नर्वे आदि पर्छन् । कृषिमा कम उत्पादकत्व भएकाले नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नै नसक्ने भएका छन् । विदेशमा उत्पादित सस्ता सामानको आयात ह्वात्तै बढेको छ।

२०२८/२९ सालतिर नेपालले ३० रुपियाँ बराबरको सामान आयात गर्दा ७० रुपियाँको सामान निर्यात गथ्र्याे तर हाल आयात ९३ प्रतिशतमा पुगेर निर्यात ७ प्रतिशतमा खुम्चिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामादेशमा एक खर्बभन्दा बढीको कृषिजन्यउत्पादन आयात भएको छ । जसमध्ये १८ अर्बको चामल, ७ अर्बको मकै, १४ अर्बको तरकारी, ६ अर्बको फलफूल आदि छन् ।यसले हाम्रो कृषिको खस्कँदो उचाइ चित्रण गर्छ।

हिजोआज विश्वमा देशहरूको तुलनात्मक अवस्था देखाउन विभिन्न संस्थाले विभिन्न विधागत सूचकांक बर्सेनि प्रकाशित गर्ने गर्छन् । त्यस्ता सूचकांक हेर्दा नेपालको उचाइनकारात्मक दिशातर्फ बढ्दैछ । ती सूचकांकको सार नेपाल भ्रष्टाचार बढी हुनेकमसल वातावरणीय स्वस्थ भएको नवप्रवर्तन नहुने एक दरिद्रतममुलुक हो । ट्रान्सपेरेन्सी इन्टरनेसनले बर्सेनि प्रकाशित गर्ने भ्रष्ट मुलुकको सूचीमा नेपाल १८० मध्ये १२२ औँ नम्बरमा छ भने विश्व इनोभेसन इन्डेक्समा विश्वका १२७ देशमध्ये नेपालको अवस्था १०९ औँ नम्बरमा पर्छ । अहिले विश्वमा नवप्रवर्तन अर्थात इनोभेसनलाई आर्थिक विकासको इन्जिनका रूपमा लिइन्छ । जैविक विविधता संरक्षणमा विगतमा केही प्रगतिगरेतापनि समग्रवातावरणीय स्वास्थ्यमा नेपाल पुछारमा पुगेको छ ।अमेरिकाको येल विश्वविद्यालयले बर्सेनि प्रकाशन गर्ने स्वच्छ वातावरण मापनको सूचकांक वातावरण निष्पादन सूचकांकमा विश्वका १८० देशमध्येमा नेपाल १७६ औँ नम्बरमा पर्छ। यी उदाहरणले विगतमा केही प्रगतिभएका क्षेत्रमा समेत हामी अहिले अधोगतितिर लागेको स्पष्ट संकेत मिल्छ।

देशमा यतिखेर समृद्घिको भाष्य चर्चामा छ । वास्तविक समृद्घि भनेको माथि उल्लिखित हाम्रो होचोपनकोउपचार हो । यो होचोपनबाट मुक्त पाउने पहिलो प्रयास भनेको हामी होचो छौँ भन्ने इमान्दार स्वीकारोक्ति हो । तर विडम्बना, जुन अझैपनि हामी धेरै नेपालीले गर्न सकेका छैनौँ।

नागरिक दैनिक । आइतबार, १० असार २०७५

ज्ञान विज्ञान विरोधी बजेट

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ कोे बजेटमा अनुसन्धान शब्द दश ठाउँमा प्रयोग गरिएको छ। जुन गतवर्षको बजेटमा भन्दा दुई पटकले बढी होे। यसपालिको बजेटमा पोहोरको भन्दा अनुसन्धान शब्दको बढोत्तरी मात्रै भएको छैन,बरू ज्ञान विज्ञानको क्षेत्रमा व्यक्तिगत र संस्थागत क्षमता अभिवृद्घि, नयाँ संस्थाहरूको स्थापना र विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउने नयाँ कार्यक्रमहरू पनि थपिएका छन्। यसैगरी ज्ञान विज्ञानको क्षेत्रमा बजेटको उल्लेख्य बढोत्तरी यसअघि डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि भएको थियो।

यसपालिको बजेटमा उच्च शिक्षालाई अन्वेषणमुखी र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन उत्कृष्ट शैक्षिक केन्द्रकारूपमा विश्वविद्यालयहरूलाई विकास गर्ने, मदन भण्डारी राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना गर्ने, योगमाया आयुर्वेद विश्वविद्यालयको स्थापना गर्ने, नवीन सोचलाई प्रवद्र्वन गर्न ‘च्यालेन्ज फन्ड’को स्थापना गर्ने जस्ता कार्यक्रमहरू ज्ञान विज्ञानको क्षेत्रमा उल्लेख्य हुन्। विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउन विश्वविद्यालय अनुदान आयोगको बजेट गतवर्षको भन्दा करिब ४० प्रतिशतले वृद्घि गरिएको छ। यति हुँदाहुँदै पनि बजेटको प्राथमिकता र ज्ञान–विज्ञानको क्षेत्रमा भएका कार्यक्रमहरूबीच खासै संगति देखिँदैन।

अँध्यारोमा ढुंगा हान्ने काम
विज्ञान प्रविधिको विकास र प्रयोगले मानवजातिले हालसम्म सामना गरेका थुप्रै चुनौतीहरूलाई पार लगाएको छ। यतिखेर मानिसहरू आफ्ना अग्रजहरूभन्दा बढी बाँच्ने, स्वास्थ्यकर र आधुनिक बनेको छ। मानव विकास, प्रगति र समृद्घिको यात्रामा विज्ञान प्रविधिले नेतृत्वदायी भूमिका खेलेको भए तापनि यसको मद्दतले अल्पविकसित मुलुकबाट विकसित मुलुकमा फड्को मार्ने काम सहज छैन। किनभने विज्ञान प्रविधिको योगदानका अनुभवहरू देशअनुसार भिन्न छन्। त्यसकारण हाम्रो जस्तो अल्पविकसित मुलुकले आर्थिक लगायतका अन्य क्षेत्रहरू जस्तैः ज्ञान विज्ञानको क्षेत्रमा पनि प्राथमिकता निर्धारण गर्न र विशेष पकडका क्षेत्रहरू पहिल्याउन जरुरी छ। जुन हाम्रा प्रतिस्पर्धी देशहरूका भन्दा फरक तर सहज र सस्तो हुन सकून्। अहिलेसम्मका नेपालका बजेटहरूले ज्ञान विज्ञान क्षेत्रको त्यो नेपाली विशिष्टतालाई पहिल्याउन सकेका छैनन्। यस क्षेत्रका लागि छुट्याइएको सानो अंश बजेटले अँध्यारोमा ढुंगा हान्ने काम मात्रै गरेको छ। त्यसो हुनमा राजनैतिक नेतृत्व मात्रै होइन, ज्ञान विज्ञान क्षेत्रका नेतृत्व वर्ग पनि उत्तिकै दोषी छन्।

हरेक वर्षजसो यसपटक पनि बजेट ज्ञान–विज्ञान क्षेत्रका प्राथमिकता चयनमा चुकेको छ।

२०४६ सालको परिवर्तनपछिका तीन दशकका वार्षिक बजेटहरू हेर्दा बजेटमा उल्लिखित प्राथमिकता लगभग उस्तै छन्। केहीवर्ष अपवादमा प्रजातन्त्रको सशक्तीकरण, आमनिर्वाचन, शान्ति, संविधान र भूकम्प प्राथमिकतामा परेतापनि प्रायः बजेटको प्राथमिकतामा कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत्को विकास, यातायात सिँचाइजस्ता पूर्वाधार निर्माण र जडिबुटी तथा पर्यटन विकासका कुराहरू नै छन्।

यद्यपि यसरी हरेक वर्ष बजेट प्राथमिकतामा परेका साथै नेपालको विकास र समृद्घिको मूल आधार भनिएका क्षेत्रहरूमा गरिएको लगानीको प्रतिफल सोचेजस्तो छैन, कतिपय अवस्थामा उल्टो छ। जस्तैः कृषि क्षेत्रमा निरन्तर बजेट बढेपनि कृषि उत्पादकत्व वर्षेनि घट्दो छ र कृषिजन्य आयात निरन्तर चुलिँदो छ। दशकौँदेखि जलविद्युत्को गाथा गाएतापनि देशलाई चाहिने बिजुली विदेशबाट आयात गर्न परिरहेको छ । पूर्वाधार विकासका थुप्रै कुराहरू गरेको भएतापनि यसलाई चाहिने दक्ष जनशक्ति देशमा उत्पादन भएको छैन । ठूला आयोजना बनाउने व्यक्तिगत र संस्थागत दक्षता र क्षमताको विकास अझै भएको छैन। अहिलेसम्म नेपालमा बनेका ठूला पूर्वाधार आयोजनाहरू, एयरपोर्टदेखि फराकिला सडकसम्मका निर्माणहरूमा विदेशी परामर्शदाता, प्राविधिक र ठेकेदारहरूको भर पर्नुपर्ने अवस्था छ। हिमाली पर्यटनको ठूलो सम्भावना बोकेको र विश्वका थुप्रै अग्ला हिमालहरू भएको देशको हिमाली वातावरणको अध्ययन अनुसन्धानमा हाम्रा विश्वविद्यालयहरूको अवस्था निम्छरो छ। लामो प्रयासपछि देशमा एउटा कृषि विश्वविद्यालयको स्थापना त भएको छ तर त्यसले देशलाई आवश्यक ज्ञान उत्पादन गर्न सकेको छैन। बरू पछिल्लो समयमा नाम चलेका र सम्भावना बोकेका थुप्रै प्राविधिक, विज्ञ र अनुसन्धानकर्ताहरूले नेपाल छाडेका छन्।

निरन्तरताको खाँचो  
नेपालमा राजनैतिक नेताहरू क्रमभंग गर्न रुचाउँछन्, त्यसमा गर्व गर्ने गर्छन्। तर ज्ञान विज्ञानको क्षेत्रमा क्रमभंगता भन्दा निरन्तरताको जरुरी हुन्छ। ज्ञान विज्ञानको क्षेत्र भनेको तुरुन्तै प्रतिफल नआउने, पट्यारलाग्दो अनुसन्धान प्रक्रियाबाट गुज्रनुपर्ने, खर्चालु क्षेत्र हो। उदाहरणका लागि हातेफोनले स्मार्ट फोन बन्नलाई चार दशक कुर्नुप-यो। फोटो भोल्टिक सेललाई सौर्य उर्जाको वर्तमान स्वरूपमा आउन लगभग २०० वर्ष लाग्यो भने प्रयोगशालाको रसायनलाई रासायनिक मल बनेर कृषकको हातमा पुग्न करिब १०० वर्ष लाग्यो। त्यसैले वैज्ञानिक अनुसन्धानले निरन्तर लगानी, अथक प्रयास र अविचलित मेहनतको माग गर्छ। तर नेपालका बजेटहरूमा ज्ञान विज्ञान क्षेत्रको विकासका कार्यक्रमहरूको सूची हेर्दा त्यसमा पुराना राम्रा कार्यक्रमलाई निरन्तरता दिने र विगतका गल्ती कमजोरीबाट सिक्ने परिपाटी देखिँदैन। बरू विगतमा गरिएको लगानीको प्रतिफलको मूल्यांकन र समीक्षा नगरी हरेकवर्ष नयाँ कार्यक्रम थप्ने होड देखिन्छ। पाँच अर्ब खर्चेर बनाइएको तर बनेको दुई दशकसम्म पनि काममा आउन नसकेको सूचना प्रविधि पार्क त्यसैको उदाहरण हो। अर्थमन्त्री डा. खतिवडाले पनि त्यसै प्रवृत्तिलाई निरन्तरता दिनुभएको छ।

विश्वविद्यालयहरूलाई अनुसन्धानमूलक बनाउन विश्वविद्यालय अनुदान आयोगको बजेट गत वर्षको भन्दा करिब ४० प्रतिशतले वृद्घि गरिएको छ । यति हुँदाहुँदै पनि बजेटको प्राथमिकता र ज्ञान–विज्ञानको क्षेत्रमा भएका कार्यक्रमहरूबीच खासै संगति देखिँदैन ।

यसवर्षको बजेटमा उल्लिखित ‘च्यालेज फन्ड’ र डा. रामशरण महतले प्रस्तुत गर्नुभएको २०७०/७१ को बजेटमा उल्लिखित पाँच करोडको ‘स्टार्ट अप फन्ड’को उद्देश्य एउटै हो, नवीन सोच भएका व्यक्तिहरूलाई सहयोग गर्नेे। त्यसैगरी डा. भट्टराईको पालामा स्थापना गर्ने भनिएको कृषिजीन (अनुवंशिक) बैंक, नास्टभित्र बनाउने भनिएकोे राष्ट्रिय ल्याब र जलवायु परिर्वतन अनुसन्धान केन्द्रको स्थापना कार्यले पछिल्ला बजेटहरूमा निरन्तरता पाएन । कृष्णबहादुर महराको पालामा विदेशका कार्यरत नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्काउन नास्टअन्तर्गत ल्याइएको कार्यक्रम मात्र दुई वैज्ञानिकलाई रोजगारी दिएर तुइयो। उनकै बजेटमा उल्लिखित भूकम्पको अध्ययन अनुसन्धान बढाउने कार्यक्रमलाई पनि यस बजेटमा निरन्तरता दिइएन। यसरी भिन्नभिन्न समयमा सुरु गर्ने भनिएका राम्रै कार्यक्रमहरूलाई निरन्तरता नदिई नयाँ कार्यक्रम सुरु गर्नु भनेको खेलाडीसँगै गोलपोस्ट सार्ने काम मात्रै हो। त्यसरी गोलपोस्ट सारेपछि सहजै गोल हुँदैन।

अबको प्राथमिकता
जब हरेक कुरालाई महत्वपूर्ण मानिन्छ, तब महत्वपूर्ण कुरा नै बाँकी हुँदैनन्। हाललाई कृषि क्षेत्रको अनुसन्धानमार्फत उत्पादकत्व बढाउने र खाद्यान्न आयात घटाउने काम महत्वपूर्ण हो या हाल बजेटमा उल्लिखित पारमाणविक प्रविधि र आयनीकृत विकिरणको कानुन बनाउने? वर्तमानमा सधैँ बजेट अभाव झेल्ने, कुशल नेतृत्व र क्षमताविहीन नास्टको संरचनागत/नीतिगत सुधार र यथेष्ट बजेटको व्यवस्था हो या बजेटमा उल्लिखित त्यस्तै किसिमको मदन भण्डारी राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको गठन? त्यसैले हरेक वर्षजसो यसपटक पनि बजेटले ज्ञान विज्ञान क्षेत्रका प्राथमिकता चयनमा चुकेको छ।

जसरी हामी आर्थिक रूपमा लो ह्यागिङ फ्रुट (तल लत्रिएका फल) टिपेर अगाडि बढ्न खोजिरहेका छौँ, ज्ञान विज्ञानको क्षेत्रमा पनि हाललाई त्यस्ता फलहरू नै टिप्नुपर्छ । त्यसरी लत्रिएका फल टिप्ने क्रममा बिस्तारै ठूला रुखका फल टिप्ने क्षमताको विकास गर्दै अगाडि बढ्ने हो। हाललाई विकसित देशहरूले जस्तो नानोटेक्नोलोजी, नवीकरणीय ऊर्जा, खगोल विज्ञान, इलेक्ट्रोनिक्स, फार्मास्युटिकल्स जस्ता ठूला लगानी र अनुसन्धान पूर्वाधार चाहिने क्षेत्रहरूमा नेपालले केही गर्न सक्दैन । वर्तमान नेपालमा विज्ञान प्रविधिको क्षेत्रले तीन मुख्य समस्या भोगिरहेको छ। समाज उपयोगी ज्ञान उत्पादनको कमी, उद्यमशीलताको अभाव र दक्ष जनशक्तिको अभाव र प्रतिभा पलायन । यसक्षेत्रको बजेट त्यसको समाधानमा केन्द्रित हुनुपर्छ।

अहिले नेपालमा गरिने अनुसन्धान समाज उपयोगी ज्ञान उत्पादन गर्न चुकेको छ। बुझ्ने भाषामा भन्दा त्यसले कृषकको हलो फेर्न सकेको छैन। हालका लागि ज्ञान विज्ञानको क्षेत्रमा गरिने लगानीको उद्देश्य गरिबी निवारण, असमानता घटाउने, जनताको आय बढाउने र उनीहरूलाई स्वस्थ बनाउन सघाउने हुनुपर्छ । जुन कुरा दिगो विकासको लक्ष्य पनि हो। सामान्य भाषामा भन्दा विज्ञान प्रविधिमार्फत हलो जोत्ने किसानले त्यो भन्दा आधुनिक र उत्पादनशील प्रविधि प्रयोग गर्न सकून्। मुरी फल्ने खेतमा दुई तीन मुरी बढी फलोस् । कुहिएर जाने कृषकका बालीहरूलाई बजारीकरण गर्न र अतिरिक्त मूल्य थप्न (भ्यालु एड) सकियोस्। जसले कृषकको आय आर्जनमा वृद्घि गरोस्। कृषि, जैविक प्रविधि, जैविक इन्जिनियरिङमा लगानी बढाएर त्यसबाट समाज उपयोगी ज्ञान उत्पादन गर्ने स्पष्ट लक्ष्य बजेटमा हुनुपर्छ। विश्वविद्यालयहरूमा त्यस्ता विषयमा अध्ययन र अनुसन्धानको अनुसन्धानवृत्ति (पिएचडी, पोस्टडक्टरल लगायतमा) को संख्या बढाउने, विदेशी संस्थाहरूसँगको सहकार्य बढाउने, त्यससम्बन्धी उच्चस्तरका स्वदेशी÷विदेशी विज्ञहरूलाई रोजगारीमा लगाउने कार्यक्रम तुरुन्तै सुरु गर्नुपर्छ।

दोस्रो, हाल भइरहेका वैज्ञानिक अनुसन्धानहरूमा उद्यमशीलताको चरम अभाव छ। हाम्रा अनुसन्धानशाला र विश्वविद्यालयका अनुसन्धानहरूलाई औद्योगिक उत्पादनसँग जोड्न सकिएको छैन। उद्योग र अनुसन्धान संस्थाबीच ठूलो खाडल छ । दुवै एकअर्काका परिपूरक हुन सकेका छैनन्। बजेटका कार्यक्रमले त्यस खाडललाई पुर्न र उद्योग र अनुसन्धान संस्थाबीच पुल निर्माण गर्न केन्द्रित हुनुपर्छ।

तेस्रो, आधुनिक प्रविधि र अनुसन्धानमा आधारित नीतिमार्फत सार्वजनिक सेवा प्रवाहको गुणस्तर अभिवृद्घिमा बजेटको जोड हुनुपर्छ। हामी विकासमा पछिपरेको एउटा फाइदॉलेटकमर एडभान्टेज’ हो । त्यो भनेको विकसित देशहरूले ठूलो समय र पुँजी लगाएर विकास गरेको प्रविधिको सजिलै प्रयोग गर्न पाउनु हो। जस्तैः अहिले हामीलाई हातेफोनमा अनुसन्धान गर्नुपर्दैन, हाम्रो आवश्यकता अनुसारका नयाँ एप मात्रै बनाए पुग्छ । त्यसकारण पहिले नै विकास भइसकेका प्रविधि र ज्ञानको स्थानीयकरण गर्ने र त्यसलाई सहज र सस्तो बनाएर आफू अनुकूल प्रयोग गर्ने स्पष्ट कार्यक्रम सुरु गर्न आवश्यक छ।

चौथो, विज्ञान प्रविधिका नयाँ नयाँ विषयलाई पाठ्यक्रममा समावेश गर्ने र नयाँ विषयमा दक्ष र क्षमतावान् जनशक्ति उत्पादनमा जोड दिने र तिनीहरूलाई देशभित्रै रोजगारीको सुनिश्चिता गर्ने कार्यक्रमको सुरुवात हुन आवश्यक छ। नेपालको समृद्घिका लागि देशभित्रै उच्च क्षमताका अनुसन्धान संस्था, विषयगत विज्ञ र गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था नभई हुँदैन। त्यस अनुसारको संस्था र जनशक्ति तयार पार्नकालागि यो उपयुक्त समय हो। त्यसका लागि विगतमा कुनै बेला उत्कृष्टताका केन्द्र मानिएका अमृत कलेज, पुल्चोक इन्जिनियरिङ संस्थानजस्ता संस्थाहरूलाई उल्लेख्य बजेट दिएर, नयाँ प्राध्यापकहरूको नियुक्ति र संस्थागत सुधारका कार्यक्रम बजेटमा नै ल्याउन आवश्यक छ। समग्रमा अबको बजेट कार्यक्रम ज्ञान विज्ञानको क्षेत्रमा गोलपोस्ट सार्न होइन, गोल गर्न केन्द्रित हुनुपर्छ।

नागरिक दैनिक | बुधबार, २३ जेठ २०७५,

जो डार्विन बन्न सकेनन्

चार्ल्स डार्विनलाई बेलायती हुलाकमार्फत पठाइएको एउटा पत्र थमाइयो, १८५८ जुन १८ को बिहान । उक्त चिठी कुनै सन्चो–बिसन्चोको सोधनी वा घटनाक्रमको वर्णन नभएर एउटा उत्कृष्ट वैज्ञानिक लेख थियो । त्यो समयमा अहिलेजस्तो पिअर रिभ्यु (लेखको सहकर्मी समीक्षा) को चलन थिएन । आफूले लेखेका वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ व्यक्ति वा सहकर्मीलाई पत्रको रूपमा पठाइन्थ्यो । त्यस्ता पत्रलाई पछि वैज्ञानिक छलफल वा सम्मेलनमा प्रस्तुत गरिन्थ्यो वा वैज्ञानिक लेखको रूपमा जर्नलमा छापिन्थ्यो । त्यस्तो लेखरूपी पत्र हात परेपछि एकछिन त डार्विन तिलमिलाए ।

पत्रमा वर्णित कुरा डार्विनले पत्याउनै सकेनन् । आफू एक्लैले निर्णय लिन नसक्ने भएपछि उनले ‘मैले यो हदको विचित्रको संयोग कहिल्यै देखेको थिइनँ, मेरो विचारधाराको मौलिकता सबै सखाप भयो’ भन्दै आफ्ना मिल्ने साथीहरू वनस्पतिविद् जेडी हुकर र भूगर्भविद् चाल्र्स लायललाई गुहारे । पत्रमा लेखिएको थियो, ‘जंगली जनावरको जीवन भनेको बाँच्नका लागि संघर्ष रहेछ, जहाँ निर्धा र कम निपुणहरू सधैँ हार्छन् ।’ जुन कुरा डार्विनको दिमागमा करिब १५ वर्ष अघिदेखि जरो गाडेर बसेको प्रकृति छनोटको सिद्धान्तको निष्कर्षसँग हुबहु मिल्थ्यो ।

त्यतिबेला डार्विन विभिन्न समुद्री यात्राका क्रममा देखेका र संकलन गरेका चराचुरुंगी र कीराहरूको अवलोकनबाट जीव उत्पत्तिको प्रकृति छनोटको सिद्धान्तलाई लिपिबद्ध गर्ने कोसिसमा थिए । सोही समय हजारौँ माइल टाढा इन्डोनेसियाको टापुमा जीवहरू संकलन गरिरहेका एक व्यक्ति जसलाई डार्विनको अनुसन्धानबारे खासै ज्ञान थिएन, उसले स्वतन्त्र रूपमा डार्विनको सोचसँगै ठ्याक्कै मिल्दो आफ्नो निचोडलाई उक्त पत्रमा लेखेर पठाएका थिए । जुन आफैँमा आश्चर्यजनक परिघटना थियो । इतिहासको त्यो अनौठो संयोगबारे डार्विन लेख्छन्, ‘हामी कसरी एउटै विचारधाराको नजिक पुग्यौँ, त्यो रहस्यमय छ ।’ पत्रमा अनुरोध थियो, त्यो विचारधारा डार्विनलाई उपयुक्त लागेमा कुनै जर्नलमा छापिदिन सहयोग गरिदिनु– अल्फ्रेड रसेल वालेस ।

‘विज्ञानको इतिहासमा रसेल वालेस जतिको प्रशंसनीय पात्र सायद बिरलै होला’ भन्छन्, अहिलेका चर्चित टेलिभिजन व्यक्तित्व (वन्यजन्तुसम्बन्धी वृत्तचित्रमा स्वर दिने) र पाका प्रकृतिविद् सर डेभिड अटनवरो । तर, संसार हल्लाउने उत्पत्तिको सिद्धान्तका सहअन्वेषक डार्विनको हाइहाई हुँदा अर्का सहअन्वेषक वालेस भने गुमनामजस्तै छन् । हाल उत्पत्तिको प्रकृति छनोटको सिद्धान्तलाई जीव विज्ञानको जननी मानिन्छ । विज्ञानमा मात्रै होइन, राजनीतिदेखि सामाजशास्त्र र व्यापारसम्म ‘सर्भाइभल अफ दी फिटेस्ट’को उदाहरण दिइन्छ । तर, उक्त सिद्धान्तको एक अन्वेषकको नाम बूढा बच्चाको मुखमा झुन्डिँदा, उनको तस्बिर बेलायतको पैसामा, विभिन्न देशको हुलाक टिकटमा अंकित हुँदा, उनको सालिक विश्वका सयौँ ठाउँमा ठडिँदा, उक्त सिद्धान्तको सह–आविष्कारक वालेसको भने कतै गुन्जायस छैन । डार्विनको लोकप्रियताको छायामा परेका १९औँ शताब्दीका यी महान् वैज्ञानिकको नाम इतिहासको कम्बलले किन र कसरी छोपिदियो?

डार्विन र वालेस दुवैलाई अध्ययन गर्ने अध्येता भन्छन्– सायद प्रारब्धले र वालेस स्वयंको स्वभावले । वालेसले प्रकृति छनोटको सिद्धान्तको आफ्नो लेखको पाण्डुलिपि त्यस्ता मानिसलाई पठाएका थिए, जो व्यक्ति त्यही सिद्धान्तको वरिपरि वर्षौंदेखि सोचमग्न र अनुसन्धानरत थिए । एक अर्थमा भन्दा त्यो व्यक्तिको स्वार्थ आफूभन्दा पहिले कसैले पनि उक्त सिद्धान्तको स्वामित्व नलेओस् भन्ने थियो । तर, इतिहासको क्रूर संयोग वालेसले त्यो पाण्डुलिपि सीधै जर्नलमा नपठाईकन डार्विनलाई पठाएका थिए । त्यो जर्नलमा पठाएर छापिएको भए सायद अहिले पढिने डार्विनवाद वालेसवाद हुन सक्थ्यो । त्यस अर्थमा डार्विन र वालेस एकअर्काका नजानिँदा प्रतिस्पर्धी थिए, तर दुवैले एक अर्काप्रति कहिल्यै वैरभाव लिएनन् । त्यो नै डार्विनको जीवनको ठूलो सन्तुष्टि थियो । डार्विन लेख्छन्, ‘वालेस र म एक हिसाबले प्रतिस्पर्धी भए पनि हामीबीच इष्र्या भाव कहिल्यै जागेन । जीवनमा मैले सन्तुष्टि पाएका थोरै कुरामध्ये यो एक हो ।’

वालेसको यात्रा
डार्विनको जस्तो सम्भ्रान्त परिवार र उच्च शिक्षाको अवसर वालेसले पाएनन् । त्यतिखेरको समाजमा अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालयमा प्रवेश पाउने प्रायः धनी र सम्भ्रान्त परिवारका सदस्य हुन्थे । तेह्र वर्षको उमेरमा स्कुलबाट जबर्जस्ती निकालिएका वालेस औपचारिक शिक्षाविनै रुचि, लगाव र स्वअध्ययनले प्रकृतिविद् बनेका थिए ।

जीविकाको खोजीमा विभिन्न काम गर्ने क्रममा उनको भेट कीरा विशेषज्ञ हेनरी वेट्ससँग भयो । त्यतिबेला डार्विनको ‘विगलको समुद्री यात्रा’ नामक पुस्तक प्रकाशित भइसकेको थियो । चाल्र्स डार्विन र अलेक्जेन्डर भोन हम्बल्ट जस्ता प्रकृतिविद्को प्रभावले उनीहरू पनि उष्ण तापिए क्षेत्रको समुद्री यात्रा गर्न चाहन्न्थे । केही अनुसन्धान गरेर सम्भ्रान्त बौद्धिकको क्लबमा सामेल हुन चाहन्थे । यद्यपि उनीहरूसँग यात्राका लागि चाहिने पैसा थिएन । तर पनि यात्राका क्रममा भेटिएका जीवजन्तुहरू संकलन गर्ने र त्यसलाई बेचेर पैसा कमाउने भन्दै सन् १८४८ मा उनीहरू अमेजन क्षेत्रको यात्रामा निस्किए ।दक्षिण अमेरिकाका विभिन्न ठाउँमा चार वर्ष बिताएपछि बेलायत फर्कने क्रममा उनीहरूको पहिलो यात्रा भयानक दुर्घटनामा टुंगियो । एट्लान्टिक सागरबीच पुग्दा उनीहरूको जहाजमा आगो लाग्यो । संकलन गरेका जीवजन्तुका नमुना सबै ध्वस्त भए । उनी बालबाल बाँचेर लन्डन फर्किए ।

अमेजन यात्राको दुई वर्षपछि सन् १८५४ मा वालेस सिंगापुर पुगे । त्यसपछि उनले दक्षिण पूर्वी एसियाका न्युगिनी, मलेसिया, इन्डोनेसियाजस्ता उष्ण तापीय टापुका जंगलमा घुमे । त्यहाँका टापुहरू चहार्ने क्रममा उनले आठ वर्षमा २२ हजार किलोमिटरको यात्रा तय गरेर विभिन्न जीवजन्तुका एक लाख २६ हजार भन्दा बढी नमुना संकलन गरे । जसमध्ये पाँच हजारभन्दा बढी जीवजन्तुहरू वैज्ञानिक जगत्का लागि नै नयाँ प्रजाति थिए ।

डार्विन समुद्री यात्राका क्रम भेटिएका जीवजन्तुका अवलोकनले प्रकृति छनोटको सिद्धान्तको नजिक पुगेका थिए । वालेस भने एक प्रजातिबाट अर्को प्रजाति उत्पत्ति हुन्छ भन्ने १९औँ शताब्दीको उत्पत्तिसम्बन्धी लेमार्कजस्ता वैज्ञानिकको निष्कर्षबाट प्रभावित थिए । जसले वालेसले प्रजातिको उत्पत्ति कसरी हुन्छ ? भन्ने प्रश्नलाई यात्राका क्रममा आफ्नो अनुसन्धानको प्रस्थान बिन्दु बनाएका थिए । यात्रामा उनले निष्कर्ष निकाले, ‘प्रजातिको उत्पत्ति समय र स्थानको संयोग साथै अन्य सम्बन्धित प्रजातिको उपस्थितिले निर्धारण गर्छ । एक अर्कासँग सम्बन्धित प्रजाति एकै भूगोल र समयमा पाइन्छन् ।’

उक्त निचोड ‘सावारक ल’ भन्ने शीर्षकमा सन् १८५५ मा जर्नलमा छापियो । उक्त लेख त्रुटिपूर्ण र अपुरो हुँदाहुँदै पनि त्यसले उत्पत्तिको सिद्धान्तको जग हाल्ने काम गरेको थियो । त्यसैले लेखले खासै ठूलो प्रभाव नपारे पनि एउटा सर्कलमा भने त्यसले चिसो पस्यो । जसमध्ये थिए, डार्विनका साथी भूगर्भविद् चाल्र्स लायल र कोलकातामा रहेका वनस्पतिविद् एडवार्ड ब्लेथ । दुवैजना प्रकृति छनोटको सिद्धान्तमा अनुसन्धानरत डार्विनबारे जानकार थिए । वालेसले डार्विनको सोचसँग मिल्ने लेख लेखेको थाह पाएर उनीहरूले डार्विनलाई सचेत गराए । तर, डार्विनले सो लेखमा ‘खासै नयाँपन नभएको’ भनेर ठप्पा लगाइदिए । पछि डार्विनले वालेसलाई उनको लेख आफूले लायलमार्फत पढ्न पाएको र लेखको निचोडमा आफू सहमत भएको कुरा बताउँदै पत्र लेखे ।

वालेसको पत्र
१८५८ को फेब्रुअरीमा वालेस ज्वरोका कारण बिरामी भएर इन्डोनेसियाको दुर्गम गाउँमा थलिए । जसकारण उनको थप यात्रा र नमुना संकलन कार्य रोकियो, आराम गर्नुपर्ने भयो । त्यहीवेला उनले आफूले तीन वर्षपहिले प्रकाशित गरेको लेखमाथि थप विश्लेषण गरेर प्रकृति छनोटको सिद्धान्तलाई पूर्णता दिने काम गर्ने अवसर पाए । ‘कसरी एक प्रजाति अर्को प्रजातिबाट फरक बन्छ’ भन्ने निचोडसहितको लेख तयार पारे । तर, यसपटक उनले त्यो लेख अघिल्लोपटक जस्तो सीधै जर्नलमा नपठाईकन डार्विनलाई पठाए । किन भने उनको अघिल्लो लेखमा रुचि देखाएर उनलाई प्रतिक्रिया डार्विनबाहेक अन्य कसैले पठाएका थिएनन् । अघिल्लो लेखमा डार्विनको प्रतिक्रिया पाएर वैज्ञानिक संस्थापनसँग आफू जोडिन पाएको भन्दै वालेस यसै पनि दंग थिए । डार्विनले पत्रमा भनेका चाल्र्स लायल त्यति बेलाका निकै सम्मानित वैज्ञानिकमा गनिन्थे।

डार्विनलाई पठाउनुको साटो त्यो लेख सीधै जर्नलमा पठाइएको भए सायद जीव विज्ञानको हामीले पढ्ने इतिहास अर्कै हुन्थ्यो । तर, त्यो पत्र डार्विनलाई पहिले पुग्यो, जसलाई पाएर डार्विन झस्किएका थिए र लायल र हुकर आत्तिएका थिए । जसको चर्चा अघि नै गरिसकिएको छ । वास्तवमा त्यतिखेर पनि समयमै लेख छापिनु अहिलेजस्तै महŒवपूर्ण कुरा थियो । लायल र हुकरले वालेसको पत्र डार्विनमार्फत हेरिसकेपछि उनीहरूलाई डार्विनको वर्षौंको मेहनत कसैले क्षणभरमै छिनेको जस्तो भयो र उनीहरूले एउटा ‘नाटक’ रचना गरे । उनीहरूले डार्विनलाई प्रकृति छनोटको सिद्धान्तबारे उनको अनुसन्धानको निचोडको पाण्डुलिपि हतारमा लेख्न लगाएर आफूहरूलाई उपलब्ध गराउन भने । जसले उक्त सिद्धान्त प्रतिपादनको जस दुवैलाई दिन सकियोस् ।

लायल र हुकरको योजनाअनुसार, १८५८ जुलाई १ मा प्रतिष्ठित लिनियन सोसाइटीको बैठकमा हतारमा तयार पारिएको डार्विनको पाण्डुलिपि, वालेसले डार्विनलाई पठाएको पाण्डुलिपि र अमेरिकी वनस्पतिविद् आसा ग्रेको पाण्डुलिपि प्रस्तुत गरियो । तर, जीव विज्ञानमा अहिलेसम्मकै सबैभन्दा महŒवपूर्ण सिद्धान्त सार्वजनिक गर्ने त्यो ऐतिहासिक क्षणमा दुवै अन्वेषक डार्विन र वालेस नै अनुपस्थित भए । बैठकभन्दा दुई दिनअघि मात्रै कान्छो सन्तानको मृत्यु भएकाले डार्विन उपस्थित हुन सकेनन् भने वालेस त्यतिवेला न्युगिनीमा बिरामी अवस्थामै थिए ।

एक महिनापछि दुवै पाण्डुलिपि लिनियन सोसाइटीले प्रकाशित गर्ने जर्नलको अगस्ट अंकमा छापियो । जसमा डार्विनलाई पहिले र वालेसलाई दोस्रो क्रममा ‘नियतवश’ नै राखिएको थियो । लेख छापिँदासम्म वालेसलाई डार्विनले पनि प्रकृति छनोटको सिद्धान्तमा अनुसन्धान गर्दै छन् भन्ने कुराको भेउ थिएन । उनलाई डार्विन उत्पत्तिको सिद्धान्तमा रुचि राख्ने वैज्ञानिक हुन् भन्ने मात्रै जानकारी थियो । महान् दिमागहरूको सोच्ने तरिका एउटै हुन्छ भनेझैँ इतिहासमा यसरी एकै कुरा दुई व्यक्तिले फरक ठाउँमा बसेर स्वतन्त्र रूपमा सोचेका थिए । उक्त सोच जर्नलमा दुवैको नाममा छापिएपछि उक्त सिद्धान्त प्रतिपादन गरेको स्वामित्व दुवैले लिन मिल्ने भयो । डार्विनलाई आफूले एक दशकभन्दा बढी समय लगाएर अनुसन्धान गरिएको सिद्धान्तको पहिलो हकदार बन्नु थियो भने वालेसलाई वैज्ञानिक सर्कलमा प्रवेश पाउनु थियो । त्यसकारण लायल र हुकरको योजना मुताबिक त्यो दुवैका लागि जित–जितकै अवस्था थियो।

सेलर अन द ओरिजिन अफ स्पेसिज
जर्नलमा लेख छापिएरभन्दा उत्पत्तिको प्रकृति छनोटको सिद्धान्तले त्यतिवेला बढी जनमत बटुल्यो, जतिवेला डार्विनको पुस्तक अन द ओरिजिन अफ स्पेसिज छापियो । यो छापिनु अघिसम्म बाह्य जगत्का लागि डार्विन खासै परिचित नाम थिएन । पुस्तकको पाण्डुलिपि बोकेर डार्विन त्यो बेलाको प्रतिष्ठित बेलायती जर्नल क्वार्टर्ली रिभ्युको सम्पादक ह्वाइवेल एल्विनसमक्ष पुगे । सम्पादकले उक्त किताब हेरिसकेपछि डार्विनलाई सल्लाह दिए, किताब ठीकै छ, तर यस्तो किताबले धेरै पाठक पाउँदैन, बरु परेवाबारे एउटा किताब लेख, परेवामाथि सबैको उत्सुकता र रुचि छ । डार्विनले उक्त सम्पादकको कुरा मानेनन् । अर्काे प्रकाशकमार्फत नोभेम्बर २४, १८५९ मा पुस्तक प्रकाशन गरे ।

अनौठो के भइदियो भने प्रकाशन भएको दिन नै छापिएको सबै एक हजार दुई सय ५० प्रति पुस्तक मात्रै बिक्री भएन, प्रकाशकले थप एक हजार पाँच सय  प्रति पुस्तकको अग्रिम अर्डर पनि पाए । सन् १९०१ मा पुस्तक प्रकाशनको अधिकार सकिँदासम्म त्यो पुस्तक एक लाख प्रतिभन्दा बढी बिक्री भएको थियो । सन् २०१५ मा विश्वभर अहिलेसम्म प्रकाशित सबैभन्दा महत्वपूर्ण प्राज्ञिक किताबका लागि विश्वभर भोटिङ भएको थियो । जसमा संसार बदल्ने २० पुस्तकजस्तै प्लेटोको ‘द रिपब्लिक’, माक्र्स ऐंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’, आइन्सटाइनको ‘द मिनिङ अफ रिलेटिभिटी’, इम्यानुल कान्टको ‘क्रिटिक अफ पिओर रिजन’, स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’, देखि एडेम स्मिथको ‘द वेल्थ अफ नेसन’सम्म सूचीकृत थियो । ती पुस्तक सबैलाइपछि पार्दै चाल्र्स डार्विनको अन द ओरिजिन अफ स्पेसिजले अहिलेसम्म लेखिएको सबैभन्दा प्रभावशाली पुस्तकको एक नम्बरमा रहन सफल भयो ।

प्रकृति छनोटको सिद्धान्तमा आधारित डार्विनको अन द ओरिजिन अफ स्पेसिजले तहल्का मच्चाएको समय उक्त सिद्धान्तका सहअन्वेषक वालेस भने गुमनाम दक्षिणपूर्वी एसियामा बसिरहेका थिए । सन् १९६२ मा वालेस बेलायत फर्किए । त्यसपछि उनले प्रकृति छनोटको सिद्धान्तलाई थप बल पुग्ने लेख छपाए । डार्विनजस्तो उनको कुनै एउटै कुरामा मात्रै लागिरहने स्वभाव थिएन । अभियान चलाउनेदेखि, अध्यात्मसम्म, साम्यवाददेखि कवितासम्म उनको रुचि थियो । वालेस दयालु र सादगी स्वभावका थिए, उनमा खासै ठूलो महŒवाकांक्षा थिएन । त्यसैले उनले आफू उक्त सिद्धान्तको सहअन्वेषक भएको दाबी गरेर बस्नभन्दा पनि त्यसको सबै स्वामित्व डार्विनको पोल्टामा हालिदिए । यतिसम्म कि प्रकृति छनोटको सिद्धान्तलाई डार्विनवाद भनेर पहिलोपटक लेख्ने पनि वालेस नै थिए ।

पुरस्कारबाट वाक्क वालेस
प्रचारबाट टाढा भाग्दा र नचाहँदानचाहँदै पनि वालेसले त्यतिवेला थुप्रै सम्मान पाए । भनिन्छ, वालेसको मृत्यु भएको बेलासम्म उनलाई सबैभन्दा प्रतिष्ठित वैज्ञानिकका रुपमा मानिन्थ्यो । उनले रोयल सोसाइटीबाट पाउने प्रायः सबै मेडल पाएका थिए । बेलायतको राजसंस्थाबाट नागरिकलाई प्रदान गरिने सबैभन्दा उच्च सम्मान उनलाई दिइएको थियो । तर, उनी त्यस्ता पुरस्कार थाप्दा थाप्दै वाक्क भएका थिए । त्यसैले उनी राजसंस्थाबाट दिइएको पुरस्कार थाप्न बकिङघम प्यालेस नै नगई बसे । उक्त पुरस्कार लिन जान नयाँ सुट लगाउनुपर्ने थियो । नयाँ सुट किन्न झ्याउ लागेकाले पुरस्कार ग्रहण गर्न जान नै इन्कार गरिदिए, यद्यपि उक्त पुरस्कारपछि उनको घरमै पुर्याइएको थियो ।उनको मृत्युपछि उनको शरीरलाई डार्विनको समाधिसँगै गाड्न खोजियो ।

तर, उनको छोराले बुबा लोकप्रियताबाट टाढा हुन खोज्ने र अनावश्यक तामझाम मननपराउने भएकाले सामान्य मानिसलाई जसरी समाधिस्थ गरियोस् भनेर अनुरोध गरे । त्यसपछि उनलाई सामान्य नागरिकसँगै अन्यत्र समाधिस्थ गरियो । जीवनभर मैन भएर डार्विनलाई ज्योति दिएका वालेसले मरेपछि पनि डार्विनसँगै बसेर डार्विनको ज्योति कम गर्न वा आफू चहकिलो हुन खोजेनन्, गुमनामीको बाटो रोजे ।

अहिले डार्विनजस्तै नोट, टिकट, पोस्टर र पम्प्लेटमा सजिएर भित्तामा र सालिक भएर गल्लीमा नसजिए पनि बिस्तारै मानिसले वालेसको सादगी र विनम्रतालाई सम्झन थालेका छन् । जीव वैज्ञानिक र विज्ञान इतिहासकारले वालेसको नाम डार्विनको छायामा बिलाउन दिन हुन्न भन्न थालेका छन् ।

अहिले वैज्ञानिकहरू उत्पत्तिको सिद्धान्तमा चाल्र्स डार्विनको मात्रै नाम जोडिएकामा बेखुस देखिन्छन् । इतिहासले अन्याय गरेका वालेसको नाम पनि डार्विनसँगै जोडिनुपर्छ भन्न थालिएको छ । डार्विन–वालेस सम्बन्धका नयाँ प्रमाण आउन थालेपछि डार्विन–वालेसको प्रकृति छनोटको सिद्धान्त भन्नुपर्छ भन्नेमा धेरै मत देखापर्न थालेका छन् । विज्ञानको सुन्दरता भनेको यसको गतिशीलतामा छ । अन्य विधाजस्तो यो जड हुँदैन । भविष्यमा कुनै दिन इतिहासले तपसिलमा झुन्डाएको वालेसलाई न्याय देला ?

नागरिक दैनिक |  शनिबार, १३ माघ २०७४