जैविक विविधता अन्वेषणको खाँचो

काठमाडौँ — सन् १८०२ अर्थात् नेपाल र बेलायती इस्ट इन्डिया कम्पनीबीचको ‘व्यापार र मैत्री सम्झौता’ भएको पछिल्लो वर्ष, बेलायती प्रकृतिप्रेमी, भूगोलवेत्ता, वनस्पतिशास्त्री र डाक्टर फ्रान्सिस बुखानन–ह्यामिल्टन नेपाल आए ।

नेपाल र बेलायतबीच शान्ति र भ्रातृत्व बढाउने उद्देश्यले गरिएको उक्त सम्झौताअन्तर्गत पहिलोपटक बेलायतले नेपालमा बेलायती ‘रेसिडेन्ट’ राख्न पाउने अधिकार पाएको थियो । सम्भवतः त्यसैको फाइदा उठाउँदै बेलायती प्रथम रेसिडेन्ट क्याप्टेन विलियम नक्ससँगै बुखानन–ह्यामिल्टनले भारतबाट दक्षिण नेपालको समथर भूभाग हुँदै भीमफेदी, चित्लाङको बाटो भएर १६ अप्रिल १८०२ मा काठमाडौंमा पाइला टेके । बुखानन–ह्यामिल्टनको नेपाल आगमनको उद्देश्य ‘नेपाली राजनीतिमा बेलायतको प्रभाव बढाउने’ क्याप्टेन नक्सको उद्देश्यभन्दा भिन्न थियो । १४ महिना नेपाल बसेका उनले नेपालबाट करिब १,५०० वनस्पतिका नमुनाहरू अनि सयौं संख्याका जीवित जडीबुटी लगायतका वनस्पति र बीउहरू कलकत्ता लगे । त्यति बेलाको कलकत्ता दक्षिणपूर्वी एसियाका विभिन्न ठाउँबाट बेलायतीहरूले संकलन गरेका वनस्पति लगायतका जैविक वस्तुहरूको नमुना संकलनको केन्द्र थियो । संकलित वस्तुहरू त्यहाँ संग्रह गरेपछि बेलायत लगिन्थे । बुखानन–ह्यामिल्टनले नेपालमा संकलन गरेका नमुनाहरूबाट लगभग १,१०० प्रजातिका नयाँ वनस्पतिहरूको पहिचान भएको थियो ।

२१८ वर्षअघि बुखानन–ह्यामिल्टनले सुरु गरेको नेपालको जैविक विविधताको अन्वेषणको वैज्ञानिक शृंखला अझै सकिएको छैन । अझै पनि नेपालमा नयाँ प्रजातिहरू पत्ता लाग्ने र तिनको पहिचान गर्ने क्रम जारी छ । पछिल्लोपटक गत वैशाखमा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ‘लहरे सर्प’ को नयाँ प्रजाति फेला परेको थियो । त्यसभन्दा अघि डोटी र पाल्पा जिल्लामा सुनाखरीका दुई नयाँ प्रजाति ‘क्यालेन्थी हिमालइका’ र ‘हेबनरिया पाल्पेन्सिस’ पाइए । त्यसले देखाउँछ, नेपालमा जैविक विविधता अन्वेषणको कार्य अपूरै छ । पर्याप्त वैज्ञानिक खोज र अन्वेषण हुने हो भने अहिले पनि नेपालमा धेरै नयाँ प्रजातिका वनस्पति, जीवजन्तु, च्याउ र सूक्ष्म जीवहरू पाइने ठूलो सम्भावना छ ।

जैविक विविधताको हटस्पट

यस पृथ्वीमा जीवनको विविधता अर्थात् जैविक विविधता (जसअन्तर्गत पारिस्थितिकीय प्रणाली, प्रजाति र आनुवंशिक गरी तीनस्तरका विविधता पर्छन्) को वितरण एकैनासको छैन । विश्वका केही स्थानमा जीवनको विविधता अकल्पनीय रूपमा प्रचुर छ । त्यस्ता ठाउँमा जैविक विविधतामाथिको मानवचाप पनि उच्च छ । क्षेत्रफलको हिसाबले पृथ्वीको मात्र २.४ प्रतिशत जमिन ओगटेका ती स्थानहरूमा विश्वमा पाइने कुल प्रजातिमध्ये लगभग आधा वनस्पति, ४३ प्रतिशतभन्दा बढी प्रजातिका स्तनधारी जीव, चराचुरुंगी, सरीसृप र उभयचर वर्गका प्राणीहरू पाइन्छन् । ती क्षेत्रमा पाइने प्रजातिहरू अन्यत्र कतै नपाइने रैथाने (इन्डेमिक) हुन्छन् । हालसम्म विश्वभर हिमालय क्षेत्र लगायतका त्यस्ता ३६ स्थानको पहिचान गरिएको छ (सुरुमा त्यो संख्या २५ थियो), जसलाई जैविक विविधताको केन्द्र (बायोडाइभर्सिटी हटस्पट) भनिन्छ । हिमालय जैविक विविधता केन्द्रमा १० हजारभन्दा बढी प्रजातिका वनस्पति, ३०० स्तनधारी जीव, ९७७ चराचुरुंगी, १७६ सरीसृप, २६९ माछा र १०५ उभयचर वर्गका जीवहरू पाइएका छन् ।

नेपालले हिमालय जैविक विविधता केन्द्रको लगभग दुईतिहाइ भूक्षेत्र ओगटेको छ । त्यसकारण नेपाल जैविक विविधताका लागि विश्वकै एउटा केन्द्र हो, जहाँ सानो भूगोलमा जीवनका अद्वितीय विविधताहरू पाइन्छन् । यद्यपि नेपालको जैविक विविधतालाई पञ्जीकरण गर्ने, तिनको प्राकृतिक जनसांख्यिकीको अध्ययन गर्ने र मानवदोहनले जैविक विविधतामा पारेको प्रभावको अवस्था बुझ्ने काममा हामीकहाँ ज्ञानको ठूलो खाडल छ । नेपालको जैविक विविधताको भरपर्दो अनुमानित र अद्यावधिक तथ्यांक एकै ठाउँमा भेट्न मुस्किल छ । यससम्बन्धी सरकारी प्रकाशनहरू नयाँ अध्ययनसँगै अद्यावधिक हुन सकेका छैनन् । उदाहरणका लागि, नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजना, २०१४–२०२० अनुसार नेपालमा १,८२२ प्रजातिका च्याउ, ११,८६१ प्रजातिका जीवजन्तु र १०,१४९ प्रजातिका वनस्पति पाइन्छन्, जसमध्ये २८४ प्रजातिका रैथाने (इन्डेमिक) वनस्पति पाइन्छन् । तर पछिल्लो अनुसन्धानले नेपालमा पाइने रैथाने प्रजातिका वनस्पतिको संख्या ३१२ देखाएको छ । नेपालमा नयाँ प्रजातिहरू पत्ता लाग्ने क्रम र अन्यत्र पनि पाइने तर यहाँ त्यसको पहिचान हुने क्रम जारी रहेकाले यो संख्या अझै उच्च हुन सक्ने सम्भावना छ । नेपालमा मात्रै होइन, विश्वभर जैविक प्रजातिहरूको अन्वेषण, नामांकन र पञ्जीकरणको सानो अंश मात्रै पूरा भएको छ ।

अन्वेषण र पञ्जीकरणको अधुरो कार्य

लगभग २५० वर्षअघि स्विडिस अध्येता कार्ल लिनियसले पृथ्वीमा भएका जीवजन्तु र वनस्पतिको जाति (जिनस) र प्रजाति (स्पेसिज इपिथेट) खुलाएर दुई शब्दमा नामांकन गर्ने (जस्तै— मानवको नाम होमो सेपियन्स) प्रणाली (बाइनोमियल नोमेक्लेचर) को सुरुआत गरेपछि संसारमा हालसम्म करिब १७ लाख प्रजातिका वनस्पति, जीवजन्तु, च्याउ र सूक्ष्म जीवहरूको पहिचान र नामांकन भइसकेको छ । तर उक्त संख्या यहाँ भएका प्रजातिगत विविधताको अनुमानित संख्याको एकदमै सानो हिस्सा मात्र हो । वैज्ञानिकहरूका अनुसार, पृथ्वीका अनुमानित ८६ प्रतिशत जीवनहरू अझै वैज्ञानिक नामांकनको पर्खाइमा छन् । अन्वेषण र पञ्जीकरणको पर्खाइमा रहेका ती जैविक विविधताहरू ठूला समुद्र, उष्णप्रदेशीय जंगल र पर्वतीय क्षेत्रहरूमा बढी हुन सक्ने वैज्ञानिकहरूको राय छ । नेपाल एक पर्वतीय देश भएको हुनाले र विश्वको ८६ प्रतिशत जैविक विविधता पहिचान र नामांकन हुन बाँकी रहेको परिप्रेक्ष्यमा अझै पनि नेपालमा पत्ता लाग्न र पहिचान हुन बाँकी भएका थुप्रै जीव रहेको अनुमान गर्न सकिन्छ ।

जैविक विविधताको अन्वेषण र पञ्जीकरणको क्षेत्रमा नेपाल लगायतका हिमाली क्षेत्रमा हाल भइरहेका सीमित अध्ययनहरूले पनि यस क्षेत्रमा पाइने जैविक विविधताहरू अझै पहिचान र पञ्जीकरणको पर्खाइमा रहेको पुष्टि गरेका छन् । पछिल्ला पन्ध्र वर्षमा भएका सीमित अध्ययनले यहाँ नयाँ प्रजाति पत्ता लाग्ने र पहिचान हुने क्रम तीव्र रहेको देखाएका छन् । विश्व वन्यजन्तु कोषले गरेको संकलनअनुसार, नेपाल लगायतका पूर्वी हिमालय क्षेत्रहरूमा सन् १९९८ देखि २००८ सम्मको एक दशकमा ३५३ नयाँ प्रजाति फेला परेका थिए, जसमध्ये २४२ वनस्पति, १६ उभयचर, १६ सरीसृप, १४ माछा, २ चरा, २ स्तनधारी र ६१ ढाड नभएका नयाँ प्रजातिका जीवहरू थिए । त्यसै गरी उक्त कोषले संग्रह गरेको पछिल्लो तथ्यांकअनुसार, सन् २००९ देखि २०१४ सम्म पाँच वर्षमा १३३ नयाँ प्रजातिका वनस्पति, ३९ ढाड नभएका जीवजन्तु, २६ प्रजातिका माछा, १० प्रजातिका उभयचर, १ सरीसृप, १ चरा र १ स्तनधारी जीव गरी कम्तीमा २११ नयाँ प्रजाति पाइएका थिए । यी दुई संग्रहका अनुसार, नेपालसहित भुटान, उत्तरपूर्वी भारत र उत्तरी बर्माका हिमाली क्षेत्रहरूमा विगत पन्ध्र वर्षमा प्रत्येक वर्ष लगभग ३७ नयाँ प्रजातिहरूको पहिचान हुँदै आएको छ । ‘बिजनेस यज युजल’ अर्थात् यथास्थितिमा भइरहेको सीमित अन्वेषण र पहिचान गर्दा पनि तीसौं नयाँ प्रजातिहरू प्रत्येक वर्ष फेला पर्छन् भने, व्यवस्थित अन्वेषण र अनुसन्धान गर्ने हो भने यस क्षेत्रबाट थुप्रै नयाँ प्रजातिहरू फेला पार्न सकिने सम्भावना छ ।

तर नेपाल र अन्यत्र पनि जैविक विविधताको अन्वेषण, पहिचान र पञ्जीकरणको कामको गति निकै सुस्त छ । अहिलेको जस्तो धिमा गतिमा जैविक विविधताको अन्वेषण र पञ्जीकरण भइरहेमा बाँकी जैविक विविधताको पहिचान गर्न वैज्ञानिकहरूलाई थप २,५०० वर्ष लाग्ने अनुमान छ । यद्यपि वैज्ञानिकहरूले पृथ्वीमा भएका स्तनधारी र चरा वर्गका प्राणीहरूको अन्वेषण र नामांकन लगभग पूरा गरिसकेका छन् । किनभने स्तनधारी ठूला जीव र चराचुरुंगी बढी अध्ययन गरिएका वर्गमा पर्छन् । तर पृथ्वीमा ठूलो संख्यामा रहेको अनुमान गरिएका सूक्ष्म जीवहरू ब्याक्टेरिया, भाइरस र ढुसीका प्रजातिहरूको पहिचान हुन सकेको छैन ।

यतिखेर विश्वभर ठूलो महामारी फैलाइरहेको सार्स कोभ–२ भाइरस पनि भर्खरै पत्ता लागेको हो । नेसनल जियोग्राफीमा प्रकाशित एक लेखका अनुसार, यस ब्रह्माण्डमा भएका ताराहरूभन्दा कैयौं गुणा बढी भाइरस पृथ्वीमा पाइन्छन् जसमध्ये अधिकांश पहिचानविहीन छन् । त्यसै गरी मानिसले आदिमकालदेखि रक्सी बनाउन प्रयोग गर्ने, पछिल्लो समयमा खाना र औषधिका रूपमा प्रयोग गरिने र कतिपय रोगका कारक ढुसी (च्याउ) वर्गका मात्रै ७ प्रतिशत प्रजातिहरूको पहिचान गरिएको छ । त्यसै गरी मानव शरीरको अभिन्न अंगका रूपमा रहेको ब्याक्टेरिया वर्गका अधिकांश प्रजाति पहिचानविहीन छन् ।

जैविक विविधताका क्षेत्रमा नेपालले बाघ, गैंडाजस्ता ठूला र प्रभावशाली (करिज्म्याटिक) जनावरको अध्ययन र संरक्षणमा हासिल गरेको उपलब्धिले एकातिर खुसी तुल्याउँछ भने थुप्रै संख्यामा भएका अन्य जीवप्रतिको अपहेलनाले दुःखी । हिमालय क्षेत्रमै स्तनधारी जीव, कीरा, चरा, वनस्पति सवैभन्दा बढी अनुसन्धान गरिएका वर्गमा पर्छन् । ढुसी, काई, लेउ, झ्याउजस्ता सूक्ष्म जीवहरू अन्यत्रजस्तै नेपालमा पनि उपेक्षित छन् । यससम्बन्धी हाम्रो अन्वेषण र अनुसन्धान मात्रै होइन, विज्ञताको अवस्था पनि निम्छरो छ । कोभिड–१९ जस्ता महामारीसँग जुध्न, नेपालमा भर्खरै देखिएको ‘मिमोसा डिप्लोट्राइका’ जस्ता नयाँ मिचाहा झारलाई व्यवस्थापन गर्न, केही वर्षयता ठूलो परिमाणमा निर्यात गरिने सेतकचिनीजस्ता जडीबुटीमार्फत आम्दानी बढाउन र घट्दो संख्यामा रहेका यार्साजस्ता प्रजातिहरूको संरक्षण गर्न पहिचान र पञ्जीकरण पहिलो आवश्यक खुड्किलो हो । तर विडम्बना, लगभग २०० वर्षअघिदेखि थालिएको नेपाली जैविक विविधता अन्वेषण, पहिचान र पञ्जीकरणको कार्य यतिखेर सरकारी र अनुसन्धानकर्ताको प्राथमिकतामा परेको छैन । उदाहरणका लागि, दस वर्षभित्र सक्ने भनेर सन् १९९९ मा सुरु गरिएको नेपालका वनस्पतिको पञ्जीकरण कार्य ‘फ्लोरा अफ नेपाल’ को प्रकाशन तोकिएको भन्दा दोब्बर समयसम्म पनि ३० प्रतिशत मात्रै सकिएको छ ।

अन्त्यमा, इसिमोडले गत वर्ष सार्वजनिक गरेको हिमालय क्षेत्रको असेसमेन्ट रिपोर्टले यो शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रका एकचौथाइ रैथाने प्रजाति र जैविक वासस्थानको ८० प्रतिशत भागसम्म नाश भएर जाने सम्भावना रहेको देखाएको छ । यस्तो नहोस्Ù हामीले पहिचान र नामांकन गर्नुअगावै यहाँबाट प्रजातिहरू लोप नहोऊन् । यतिखेर बुखानन–ह्यामिल्टनले २१८ वर्षअघि संसारसँग परिचित गराएका उपत्यकाका वनस्पतिहरूको अवस्था के होला ? त्यसपछिका सयौं अन्वेषणले पत्ता लगाउन नसकेका अन्य जीवजन्तु कति र कस्तो अवस्थामा होलान् ? ती जैविक निधिहरूको अन्वेषणका लागि पनि नयाँ पुस्ताको क्षमता वृद्घिका साथै उनीहरूलाई प्रोत्साहन र उत्प्रेरणाको जरुरी छ ।

कान्तिपुर दैनिक श्रावण २९

सामूहिक विनाशको संघार

काठमाडौँ — विक्रम संवत् २०४५ । गोरखाको पुरानो स्कुल श्री शक्ति माविको कक्षा ६ को एउटा कोठा । सामाजिक शिक्षाको पाठ्यक्रममा संलग्न ‘गर्मीमा घाँस र हिउँदमा कीरा’ हुने अनौठो जीवका बारेमा पढाइ चल्दै थियो । चीनसँग सीमा जोडिएको गोरखाको उत्तरी गाउँ छेकम्पारबाट पढ्न आएका एक विद्यार्थी आफ्नो गाउँवरपर पाइने उक्त जीवका बारेमा बढी नै जानकार रहेछन् ।

पुस्तकमा दिइएको भन्दा बढी कुरा बताएपछि उनलाई गाउँ जाँदा त्यो जीव ल्याएर साथीहरूलाई देखाउन भनियो । उनले उक्त जीव संकलन गर्नु ‘बौद्घ धर्मअनुसार पाप’ हुने भन्दै आनाकानी गरे । लगभग तीन दशकअघि ‘अध्ययनका लागि’ संकलन गर्नसम्म ‘पाप मानिने’ उक्त जीव अर्थात् यार्सागुम्बु यतिखेर संसारकै सबैभन्दा महँगो जैविक औषधिका रूपमा बेचबिखन गरिन्छ ।

सुनभन्दा महँगोमा बेचिने यार्साको अन्तर्राष्ट्रिय बजार अनुमानित ५ अर्बदेखि ११ अर्ब डलरसम्मको छ । पाँच वर्षअघि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार, २०७१ सालमा नेपालका एघार जिल्लामा ४ अर्ब ९२ करोड रुपैयाँ मूल्यको यार्सागुम्बु संकलन भएको थियो । विश्व बजारमा बढ्दो माग पूरा गर्न नेपालका उच्च पहाडी भेगका लगभग ३ लाख मानिस बर्सेनि ३,५०० मिटरभन्दा बढी उचाइका हिमाली पाटनमा ‘कीरा’ खोज्न पुग्छन् । अधिक संकलनका कारण व्यावसायिक संकलन सुरु गरिएको दुई दशक नपुग्दै यार्सा प्राकृतिक रूपमा घटेर लोपै हुने खतरा बढेको छ । त्यसैको प्रमाण हो— यस वर्षदेखि यार्सालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले अतिसंवेदनशील प्रजातिमा सूचीकृत गर्नु । आईयुसीएनले सन् १९६४ देखि मानवीय अतिक्रमणका कारण दुर्लभ र लोपोन्मुख भएका जीवहरूको ‘रातो सूची’ राख्न थालेको हो । हाल त्यसमा यार्सा लगायतका १ लाख २० हजार जीव सूचीकृत छन्, जसमध्ये ३२ हजार प्रजातिलाई लोपोन्मुख भनिएको छ । उक्त सूचीले सबै राष्ट्रलाई संरक्षणको नीति र योजना बनाउन विश्वसनीय वैज्ञानिक आधार प्रदान गर्छ । पृथ्वीमा भएका लाखौं जीवमाथि भइरहेका मानवीय दोहनको चाप मापन गर्ने भएकाले उक्त सूचीलाई ‘जीवनको ब्यारोमिटर’ पनि भन्ने गरिन्छ ।

जीवनको ब्यारोमिटरमा थेगिनसक्नु चाप

विज्ञान र प्रविधिको विकासले अकल्पनीय उपलब्धि हासिल गरेको यस समयमा पनि पृथ्वीमा भएका जीवहरूको संख्या अझै यकिन छैन, अनुमानमै सीमित छ । अनुमानबीच पनि ठूलो दरार छ, कसैले ३० लाख भन्छन् त कसैले १० करोड । प्लस वान जर्नलमा प्रकाशित एक अनुसन्धानअनुसार, यस पृथ्वीमा करिब ८१ लाख प्रजातिका वनस्पति र जनावर पाइन्छन् । तीमध्ये हालसम्म केवल १७ लाख प्रजातिको पहिचान भएको छ । मानवीय अतिक्रमणका कारण कतिपय पहिचान भइसकेका र पहिचान हुन बाँकी वनस्पति र जीवजन्तुहरू लोप हुँदै गइरहेका छन् ।

गत वर्ष प्रकाशित राष्ट्रसंघीय जैविक विविधता र वातावरणीय सेवासम्बन्धी अन्तरदेशीय विज्ञान नीति संयन्त्र (आईपीबीईएस) को प्रतिवेदनअनुसार, मानवजातिले पृथ्वीको ७५ प्रतिशत जमिन र ६६ प्रतिशत समुद्री भागको प्राकृतिक स्वरूपलाई आफूअनुकूल परिवर्तन गरिदिएको छ । सहरीकरण, पूर्वाधार निर्माण, कृषि र चरनजस्ता मानवीय गतिविधिहरूका लागि जैविक वासस्थानलाई अतिक्रमण गर्ने कार्यले गर्दा त्यहाँ बसोबास गर्ने असंख्य जीवको संख्या घटेको छ । यार्साजस्तै जंगली जीवहरूको अत्यधिक संकलन गर्ने, सिकार गर्ने, मार्नेजस्ता क्रियाकलापले पनि पृथ्वीबाट ठूलो संख्यामा जीवजन्तु लोप हुँदै गएका छन् । मानवीय क्रियाकलाप साबिक रूपमै रहिरहे आगामी केही दशकभित्रै पृथ्वीबाट १० लाख वनस्पति र जीवजन्तु सदाका लागि लोप हुनेछन्, प्रतिवेदनमा लेखिएको छ ।

त्यसो त पृथ्वीमा जन्मेको हरेकको जीवन समाप्त हुन्छ । मानिसको उत्पत्ति हुनुअगावै पृथ्वीमा जन्म–मृत्यु, उत्पत्ति–विनाशको प्रक्रिया एउटा लयमा चलिरहेकै थियो । वैज्ञानिकहरूका अनुसार, उत्पत्ति भएको ३ अर्ब ५० करोड वर्षयता पृथ्वीमा लगभग ४ अर्ब जीव उत्पत्ति भए, जसमध्ये ९९ प्रतिशत यहाँबाट लोप भए । कुनै प्रजातिको लोप हुने प्राकृतिक प्रक्रियालाई नयाँ प्रजातिको उत्पत्ति र विकास हुने प्रक्रियाले सन्तुलन गर्ने हुनाले पृथ्वीमा जीवनको अकल्पनीय विविधता पाइन्छ । यद्यपि उत्पत्ति र विनाशको उक्त सन्तुलनलाई महाविपत्तिहरूले कहिलेकाहीँ तहसनहस बनाइदिएको पाइन्छ । महाविपत्तिहरू, जस्तै : ठूला ज्वालामुखीहरू एकैपटक विस्फोट भएर, छुद्रग्रह पृथ्वीमा ठोक्किएर, पृथ्वीको वातावरणमा परिवर्तन (तापमानमा घटीबढी) भएर पृथ्वीबाट ठूलो संख्यामा जीवहरू सामूहिक रूपमा एकैपटक लोप भएका छन् ।

अवशेषहरूमा आधारित अध्ययनहरूले, पृथ्वीमा त्यस्ता सामूहिक विलोपन (मास एक्सटिङ्क्सन) पहिलोपटक ४४ करोड वर्षअघि, दोस्रो ३६ करोड वर्षअघि, तेस्रो २५ करोड वर्षअघि, चौथो २० करोड वर्षअघि र पाँचौं ६ करोड ५० लाख वर्षअघि भएको देखाएका छन् । ती पाँच महाविनाशमा पृथ्वीमा भएका ७५–९६ प्रतिशत प्रजातिहरू लोप भएको अनुमान गरिन्छ । त्यस्ता दुर्लभ परिघटनाका बावजुद पृथ्वीमा जीवन फैलने र विविधता कायम हुने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ, जसका कारण त्यस्ता सामूहिक विलोपनको करोडौं वर्षपछि नयाँ प्रजातिहरूको उत्पत्तिसँगै पृथ्वीमा जीवनको विविधता पुनः फर्केको पाइन्छ । तर पछिल्लो समयमा मानवजाति पृथ्वीमा प्रभावशाली भएयता मानवीय अतिक्रमणको द्रुतताले गर्दा प्रजातिहरूको लोप हुने दर अप्रत्याशित रूपमा बढेको छ । उक्त वृद्घिलाई वैज्ञानिकहरूले छैटौं सामूहिक विलोपन (सिक्स्थ मास एक्सटिङ्क्सन) भन्न थालेका छन् ।

सन्निकट छैटौं सामूहिक विलोपन

करोडौं वर्षपहिलेको जस्तो महाविपत्ति र वर्तमानको जस्तो मानवीय अतिक्रमण नहुँदा पनि प्रकृतिमा जीवहरूको विनाशको निश्चित गति हुन्छ, जसलाई प्राकृतिक विलोपनको दर (ब्याकग्राउन्ड एक्सटिङ्क्सन रेट) भनिन्छ । मानिस र भवितव्य नहुँदाको अवस्थामा उक्त विलोपन दर जीवजन्तुको संख्या र आयुअनुसार फरकफरक हुने गर्छ । तर गणितीय हिसाबमा प्रति १० लाख प्रजातिमा वार्षिक एक प्रजातिको लोप हुने गर्छ । यो दरअनुसार, १० हजार प्रजातिका स्तनधारी जनावरहरू यस संसारमा भएको मान्ने हो भने (यद्यपि करिब ६,५०० को मात्रै पहिचान भएको छ), एउटा स्तनधारी प्रजाति लोप हुन करिब १०० वर्ष लाग्छ । तर आईयुसीएनका अनुसार, सन् १५०० यताका ५०० वर्षमा पृथ्वीबाट स्तनधारी, चरा, सरीसृप, उभयचर वर्गका मेरुदण्डीय जीवका ६१७ प्रजातिहरू लोप भएका छन् । उक्त लोप हुने क्रम १०० वर्षयता झनै तीव्र बनेको छ । १०० वर्षयता पृथ्वीबाट मेरुदण्ड भएका ४०० प्रजाति लोप भएका छन् । यदि मानवीय अतिक्रमण नहुँदो हो त सोही संख्याका प्रजातिहरू प्राकृतिक रूपमा लोप हुनलाई ८ हजारदेखि १० हजार वर्षसम्म लाग्थ्यो ।

साइन्स जर्नलमा प्रकाशित लेखले पनि पृथ्वीमा प्रजातिहरूको लोप हुने गति साबिकको भन्दा हजारौं गुणाले बढिरहेको जनाएको छ । उक्त लेखअनुसार, मानिस र ऊसँग मिल्दोजुल्दो समूह- प्राइमेट्स- का ६० प्रतिशत प्रजाति यतिखेर लोपोन्मुख छन् । पीएनएएस जर्नलमा प्रकाशित आईयुसीएनको रातो सूचीमा आधारित अर्को लेखले हाल विश्वभर ७७ प्रजातिका स्तनधारी जीवहरूको संख्या ९४ प्रतिशतले घटेको र तिनको वासस्थानमा ८० प्रतिशतसम्मले संकुचन भएको देखाएको छ । मानवजातिले पृथ्वीको प्राकृतिक स्रोतमाथि कब्जा जमाउँदै, वन्यजन्तुको वासस्थानलाई टुक्र्याउँदै र मास्दै, मिचाहा प्रजातिका जीवजन्तु र रोगका जीवाणुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दै र कतिपयलाई मार्ने, संकलन गर्ने गरेर लोप हुने प्राकृतिक दरलाई बढाएको उक्त लेखको निष्कर्ष छ । मानवसिर्जित जलवायु परिवर्तनका कारण पनि कतिपय जीव लोपोन्मुख बन्न पुगेका छन् ।

एउटा प्रजातिलाई उत्पत्ति, विकास र फैलावटबाट स्थापित हुन लाखौं वर्ष लाग्ने वैज्ञानिकहरूको दाबी छ । तर पृथ्वीमा केवल २ लाख वर्षअघि आएको एउटा प्रजाति- मानिस- ले यहाँ करोडौं वर्षदेखि बाँचिरहेका जीवहरूको अस्तित्वलाई केही शताब्दीभित्रै सदाका लागि नामेट पार्दै छ । पृथ्वीकै इतिहासमा यसरी एउटा प्रजातिले यहाँको जीवन र जगत्लाई अकल्पनीय परिवर्तन यसअघि कहिल्यै गरेको थिएन । उदाहरणका लागि, गत पाँच दशकमा मानवीय अतिक्रमणका कारण पृथ्वीमा करोडौं वर्ष पहिलेदेखि बस्दै आएका भ्यागुताका कैयौं प्रजाति लोप भए । यतिखेर विश्वमा उभयचरको लोपदर ४५,००० गुणा बढी भएको भनिन्छ । हाम्रो मुट्ठीमा अट्ने भ्यागुताजस्ता निरीह प्राणी त भइहाले, हामीभन्दा शक्तिशाली र ठूला बाघ, गैंडाजस्ता जनावर पनि मानिसकै कारण घटेर लोप हुने अवस्थामा पुगेका छन् ।

हाल नेपाल र भारतका केही निकुञ्जमा सीमित एकसिंगे गैंडाको वासस्थान पन्ध्रौं शताब्दीतिर म्यानमारदेखि उत्तरी पाकिस्तानसम्म फैलिएको थियो । वासस्थानमा मानवीय अतिक्रमण र सिकारका कारण बीसौं शताब्दीको सुरुमा पुग्दा गैंडाको संख्या घटेर २०० मा सीमित भयो । त्यसै गरी वासस्थानमा अतिक्रमण र सिकारका कारण यतिखेर बाघको ऐतिहासिक वासस्थान ९३ प्रतिशतले खुम्चिएको छ । र, केही दशकअघि बाघको संख्या पनि घटेर केही सयमा सीमित हुन पुगेको थियो । संरक्षणमा ठूलो लगानी र प्रयासका कारण केही दशकयता नेपालमा र अन्यत्र पनि गैंडा र बाघको संख्यामा बढोत्तरी भइरहेको छ । प्राकृतिक रूपमा जनसंख्या घटेपछि त्यसलाई पुरानो अवस्थामा फर्काउन कति कठिन छ भन्ने कुराको उदाहरण हो- झन्डै लोप हुने अवस्थामा पुगेका यी जक्खु जनावरहरूको संख्या बढाउन लागेको मिहिनेत, लगानी र समय । बाघ आईयुसीएनको संकटापन्न (इन्ड्यान्जर्ड) सूचीमा र गैंडा अतिसंवेदनशील (भल्नरेबल) सूचीमा रहेका जनावर हुन् । यार्सागुम्बु पनि यस वर्षदेखि आईयुसीएनको अतिसंवेदनशील सूचीमा परेको छ । विगत पन्ध्र वर्षमा यार्साको उत्पादन ३० प्रतिशतले घटेको छ र उक्त अवस्था कायमै रहे अबका केही दशकभित्रै यार्सा लोप हुने अवस्थामा पनि पुग्न सक्छ । यद्यपि संरक्षणको प्रयासले यसको दिगो व्यवस्थापन पनि हुन सक्छ ।

अन्त्यमा, बाघ, गैंडाजस्ता जक्खु र यार्सागुम्बुजस्तो महँगो जीवको घट्दो संख्या मात्र होइन, विश्वभर प्रजातिहरूको विलोपनको शृंखला भयावह छ । कतिपय जीवजन्तु हाम्रो जानकारी र पहिचानबिना विलोप भइसकेका छन् । ‘द सिक्स्थ एक्सटिङ्क्सन: एन अनन्याचुरल हिस्ट्री’ पुस्तककी लेखक एलिजाबेथ कोल्वर्ट भन्छिन्- हामी केही शताब्दीभित्रै त्यो विनाशको चरम अवस्थामा पुग्न सक्छौं । आईपीबीईएसको १० लाख प्रजाति लोप हुन सक्ने चेतावनी र कोल्वर्टको छैटौं सामूहिक विलोपनको अनुमानलाई हाम्रै पालामा ‘संकलन गर्न पाप लाग्ने’ यार्सागुम्बुको द्रुत विनाशले बल पुर्‍याएको छ । यार्सा लगायतका ज्ञात–अज्ञात प्रजातिहरूको सन्निकट विलोफन रोक्न ढिला नगरौं ।

कान्तिपुर दैनिक साउन १५

सहरको सौन्दर्य

काठमाडौँ — सन् २००० को शरद् ऋतुको एक बिहान । पूर्वी युरोपको एउटा देश अल्बानियाको राजधानी सहर तिराना । कलाकार र पेन्टरहरूले सहरको मध्यभागमा रहेको पुरानो उराठलाग्दो भवनमा उज्यालो सुन्तले रङ पोत्न थाले । उनीहरूले के नाटक गरेका होलान् भनेर रमितेहरूको भीड लाग्यो । सवारीसाधनहरू रोकिए ।

रङ लगाउने उक्त समूह सहरका भित्तामा रङ पोत्दै हिँड्ने लहडीहरू थिएनन्, समूहमा नगरका नवनिर्वाचित मेयर एडी रामा पनि थिए । जतिखेर एडी रामा नगरप्रमुखमा चुनिएका थिए, बारम्बारको राजनीतिक संकटले थिलथिलो पारेको देशको राजधानी सहर कुरूप थियो । चोकहरूमा नउठाइएका फोहोरको थुप्रो लाग्थ्यो । चोरी, वेश्यावृत्ति लगायतका अपराध र भ्रष्टाचार दर उच्च थियो । सहरवासीहरू कर तिर्दैनथे । त्यसैले नगरको ढुकुटी लगभग रित्तै थियो । कुशल चित्रकारबाट मेयर बनेका रामासँग मान्छेलाई खुसी बनाउने ससाना सूत्रको ज्ञान थियो । त्यसैको सुरुआत थियो- पुरानो भवनलाई उज्याला रङहरूले रंगाउने काम ।

त्यसरी सोभियतकालीन, मिल्किएका भवनहरूमा रङ पोतियो । सुरुमा नगरवासीहरू सशंकित भए, त्यसपछि अचम्मित बने र समयक्रममा सहरमा थपिएका रंगीन भवन देखेर रमाउन थाले । सहरले बिस्तारै रूप फेर्दै गयो । केही समयपछि मान्छेहरूले जथाभावी फोहोर फाल्न बन्द गर्न थाले । पसले, यात्रु र सर्वसाधारणले आफूलाई सुरक्षित महसुस गर्न थाले । सहरमा नयाँ व्यवसायहरू खुल्न थाले । करदाताको संख्या तीन गुणाले बढ्यो । त्यहाँका रंगीन घरहरू हेर्न पर्यटकहरू आउन थाले । सहर बिस्तारै जीवन्त र गुलजार हुन थाल्यो । मेयर रामाले तिरानामा पैसाको खोला बगाएर भीमकाय पूर्वाधार बनाएका थिएनन् । कलाकारिताको पृष्ठभूमिले उनलाई मानिसहरूको सौन्दर्यचेत बुझ्न सहयोग गरेको थियो । त्यसैले उनले सहरका भवनहरूलाई विभिन्न रङ पोतेर सुन्दर बनाएका थिए । चार वर्षपछि सन् २००४ मा पुरानो तिरानालाई नयाँ, रंगीन र खुसीयालीपूर्ण बनाउने पूर्वाधार र संस्कृति निर्माणमा उल्लेख्य भूमिका खेलेकामा एडी रामा विश्वको सर्वोत्कृष्ट मेयर घोषित भए ।

सौन्दर्यप्रतिको मानवीय आकर्षण

सौन्दर्यसम्बन्धी प्लेटोको प्रसिद्ध भनाइ छ, ‘सुन्दरता हेर्ने आँखामा भर पर्छ ।’ त्यसैले कुनै चीज सुन्दर हो या होइन, वस्तुगत विशेषताले नभई व्यक्तिगत दृष्टिकोणले निर्धारण गर्छ भन्ने आमधारणा छ । तर, केही सार्वभौम वस्तुनिष्ठ गुणहरू नभई कुनै पनि चीज सुन्दर हुँदैन । सुन्दर वस्तुले हामीलाई आकर्षित गर्छ, सोचमग्न तुल्याउँछ र आनन्दित गराउँछ । त्यसैले हेर्दा, सुन्दा र सुँघ्दा आनन्दित तुल्याउने फूलदेखि फेससम्म, गीतदेखि गन्धसम्मका चीजहरू हामीलाई सुन्दर लाग्छन् । यसरी हेर्दा मानिसको सौन्दर्यचेतना भावनात्मक विषयजस्तो लाग्छ, तर यो जैविक गुण हो जसको नाता हाम्रो उत्पत्ति र विकाससँग जोडिन्छ ।

मानवीय सौन्दर्यचेतनाको उत्पत्ति र विकासले प्रकृति छनोटको सिद्घान्तका प्रतिपादक चार्ल्स डार्विनलाई निकै पिरोलेको थियो । प्रकृति छनोटका अनुसार, कुनै जीवमा बाँच्ने संघर्षका क्रममा विभिन्न गुण देखा पर्छन् (जसको कारण अनुवंशमा हुने फेरबदल अर्थात् जिनेटिक म्युटेसन हो भनी डार्विनलाई त्यो समय थाहा थिएन) । बाँच्नका लागि सहयोगी गुणहरू नयाँ पिँढीमा सर्दै जान्छन् र बाँच्नका लागि असहयोगी गुणहरू बिलाउँछन् । अर्थात्, प्रकृतिले वातावरणमा अनुकूल हुन सहयोगी जैविक गुणलाई छनोट गर्छ । उदाहरणका लागि, तराईका थारू जातिको शरीरमा मलेरियासँग जुध्ने क्षमता भएको वंशानुगत विशेषता (जिन) पाइन्छ । उच्च हिमाली भागमा बस्ने शेर्पा जातिको शरीरमा अक्सिजनलाई दोहन गर्न सक्ने क्षमतायुक्त जिन पाइन्छ । डार्विनका अनुसार, सुरुमा त्यस्ता गुणहरू साना हुन्छन् । कालान्तरमा बढ्दै गएर त्यसबाट नितान्त भिन्न जीवको उत्पत्ति हुन्छ । डाइनोसर फेरिएर चरा बन्छ, चारखुट्टे आदिमानव दुईखुट्टे मानवमा फेरिन्छ ।

उड्नमा अप्ठ्यारो पारिदिने, सिकारी जनावरको आक्रमण हुँदा भाग्न असजिलो बनाइदिने अनि त्यसलाई बनाउन र व्यवस्थापन गर्न शरीरले ठूलो ऊर्जा खर्च गर्नुपर्ने भाले मयूरको पुच्छरलाई डार्विनको उक्त सिद्घान्तले व्याख्या गर्न सक्दैनथ्यो । प्रकृति छनोटका अनुसार, बाँच्नका लागि प्रतिकूल हुने भाले मयूरको पुच्छर पोथी मयूरको जस्तै हुनुपर्थ्यो । आफ्नो सिद्घान्तसँग बाझिने भाले मयूरको विशेषता देखेर डार्विन आश्चर्यचकित र हैरान थिए । त्यसैले अमेरिकी वनस्पतिशास्त्री आसा ग्रेसँग उनको गुनासो थियो, ‘जब म भाले मयूरको पुच्छरलाई एकतमासले हेर्छु, त्यसमा जडित प्वाँखहरूले मलाई पागल बनाउँछन् ।’

भाले मयूरको अकल्पनीय सुन्दर पुच्छरको रहस्यलाई डार्विनले ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ भन्ने पुस्तकमा खोतलेका छन् । उनका अनुसार, पोथी मयूरले संसर्ग गर्नका लागि ठूलो र आकर्षक पुच्छर भएको भाले मयूर रोज्छ । त्यसैले ठूलो र आकर्षक पुच्छर भएको भाले मयूरले अन्य समकक्षीका तुलनामा धेरै पोथीसँग संसर्गको अवसर पाउँछ । पुच्छरको सुन्दरतामा लुकेको संसर्गको यौनिक उत्प्रेरणाले भाले मयूरहरूमा पुच्छर आकर्षण बनाउने जिन सर्दै जान्छ । सँगै पोथी मयूरमा पनि ठूलो र सुन्दर पुच्छर भएको भालेप्रति आकर्षित हुने दिमागी गुणको विकास (कोइभल्भ) हुन्छ । आकर्षक पुच्छर भएको भालेले बढी संसर्गको अवसर पाउने हुनाले प्रकृतिमा त्यस्ता पुच्छर भएका भालेका सन्तानहरू र तिनलाई मन पराउने पोथीको संख्या बढ्दै जान्छ । डार्विनका अनुसार, यस्ता यौनिक छनोट (सेक्सुअल सेलेक्सन) का कारण थुप्रै जनावरका भाले र पोथी जातिको साइज, आवाज, नाच, बानी व्यवहारमा प्रशस्त भिन्नता देखिन्छ ।

मानवमा अन्य जनावर (मयूर, सामुद्रिक सिल, चिम्पान्जी) मा जस्तो भाले र पोथीबीच ठूलो भिन्नता पाइँदैन । मानिस एकल पति/पत्नी हुने (मोनोग्यामी) जनावर भएकाले विशेष गुणका आधारमा पुरुषलाई महिलाले वा महिलालाई पुरुषले संसर्गका लागि छनोट गर्ने भन्ने हुँदैन । तथापि अनुसन्धानहरूले मिलेको (सिमेट्रिकल) र बेदाग अनुहार मानवजातिमा यौनिक छनोटका आधार हुन् भनी देखाएका छन् । आकर्षक अनुहारले हाम्रो मस्तिष्कको भिज्युअल कर्टेक्स (जसको काम अनुहार र वस्तुहरू छुट्याउने हुन्छ) लाई क्रियाशील गराउँछ । सँगसँगै त्यसले मस्तिष्कको पुलकित र आनन्दित तुल्याउने भागलाई पनि उद्वेलित गर्छ । त्यसकारण मिलेको, सुन्दर आकृतिले हामीलाई आकर्षित मात्रै गर्दैन, कौतूहल थप्छ र आनन्दित तुल्याउँछ । त्यसैले सुन्दरता आँखामा होइन, हाम्रो मस्तिष्कमा हुन्छ ।

उत्पत्तिका क्रममा आर्जित त्यस्ता जैविक गुणका कारण मानिसले आफूलाई खुसी पार्ने सुन्दर वस्तुहरूको निर्माणमा ठूलो धन, ऊर्जा, शक्ति, समय खर्च गर्ने गरेको छ, चाहे ती वस्तुहरू हामीलाई बाँच्ने संघर्षमा बाधक नै किन नबनून् । सुन्दर वस्तुप्रतिको आकर्षणका कारण त्यस्ता वस्तुहरूलाई प्रतीक बनाएर, त्यसमा कथा जोडेर मानिसहरूले सांस्कृतिक अंगका रूपमा तिनलाई अंगीकार गर्दै आइरहेका हुन्छन् । त्यसैले मानव समुदायमा हस्तकला, वास्तुकला, चित्रकला, फेसन, गहनाजस्ता सुन्दरतासँग जोडिएका वस्तुहरूले ठूलो महत्त्व राख्छन्, यद्यपि ती चीजले हामीलाई प्रकृतिमा बाँच्ने संघर्षमा खासै मद्दत गर्दैनन् । सयौं वर्षपहिले बनेका मन्दिर, मस्जिद, चर्चहरूमा समय, पुँजी, श्रम लगाएर कुँदिएका सुन्दर बुट्टाहरू हाम्रो सौन्दर्यप्रतिको आकर्षणका प्रतिफल हुन् । प्राचीन समयमा ससाना गहना बनाउनेदेखि अहिले मिलाएर सहरहरू बनाउने उत्प्रेरणाको कारक तत्त्व मानवमस्तिष्कमा जडित सौन्दर्यप्रतिको आकर्षण नै हो । सुन्दर वस्तुले आफूलाई खुसी पार्ने र सन्तुष्टि दिने भएकाले सायद मानिस अस्पतालको ठाउँमा पहिले धरहरा ठड्याउन उद्यत हुन्छ ।

सहरको सौन्दर्यको मापन

केही वर्षपहिले ‘द स्कुल अफ लाइफ’ संस्थाले सुन्दर सहरमा हुनुपर्ने विशेषताहरू सार्वजनिक गरेको थियो । उक्त घोषणापत्रका अनुसार, सुन्दर सहर बन्नका लागि घरहरूको विन्यासमा एकरूपता, बस्तीमा सघनता, जीवन देखिने तत्त्व, छिनमै भुलिने साँघुरा गल्ली र छिनमै भेटिने फराकिला बाटाहरूको संयोजन, कसैलाई नबिझाउने अग्ला संरचना र स्थानीय स्वादजस्ता छवटा गुण हुनुपर्छ । संसारका सुन्दर भनिने सहरहरू पेरिस, आमस्टरडम, लन्डन, भेनिस, बार्सिलोना, मेलबर्न आदिमा यी गुण भेटिने उक्त संस्थाको दाबी छ । केही दशकपहिले काठमाडौंको केन्द्रका नयाँ सडक, धर्मपथ र बागबजारका घरहरूमा एकरूपता थियो । न्युरोडजस्ता ठूला सडक र असनभित्रका ससाना गल्लीको सम्मिश्रण, सबैले माया गर्ने धरहरा, नौतले दरबार, तलेजु भवानी, स्वयम्भूजस्ता अग्ला संरचना, चोकहरूमा देखिने आम जनजीवन (पेसागत काम गरिरहेका मानिस, घाम तापिरहेका वृद्घवृद्घा, खेल्दै गरेका बच्चाहरू) को जीवन्त तस्बिर र स्थानीय स्वाद, कला, संस्कृति थिए । अर्थात्, सुन्दर सहरमा हुनुपर्ने सबै गुण थिए ।

यदि न्यातपोलको सट्टा अमूक बैंकको भवन, स्वयम्भू चैत्यको ठाउँमा पाँचतारे होटल र धरहराको ठाउँमा व्यापारिक भ्युटावर बनेर आम मानिसको अधिकार लाग्ने आकाश र परिदृश्यमा व्यापारिक समूहले कब्जा जमाएको भए ती ठाउँलाई हेर्दा हाम्रा आँखा बिझाउँथे । केही दशकपहिले सातदोबाटोबाट गोदावरी जाँदा बाटामा पर्ने नेवारी बस्ती हरिसिद्घि, ठेचोहरूको जीवन्तता र तिनले हाम्रो मस्तिष्कमा पैदा गर्ने कौतूहल रिङरोडको फराकिलो सडकमा यतिखेर हुइँकिँदा भेट्न मुस्किल छ । बहुदलीय प्रजातन्त्रपछि उपत्यका निरन्तर फैलिरहेको छ । दक्षिण एसियामै छिटो फैलिएको सहर काठमाडौंमा अपवादबाहेकका नयाँ संरचनाहरूले हामीलाई आकर्षित गर्ने, सोचमग्न तुल्याउने र पुलकित बनाउने सामर्थ्य राख्दैनन्, जति पुरानो उपत्यकाका गल्ली, चोक, बस्ती र सम्पदाजस्ता सहरी अवयवहरू र त्यहाँभित्रका जीवन्त संस्कृतिले आनन्दित तुल्याउने सामर्थ्य राख्थे ।

अन्त्यमा, पन्ध्र वर्षको विदेशबसाइ र ६ वटै महादेशका पचासौं सहर चहारेपछि मैले गत हप्ता पाटन टेकेको थिएँ । कृष्ण मन्दिर लगायतका सम्पदाहरूको फोटो खिच्दा फ्रेममा देखिएको फोहोर फाल्ने बिनले मन कुचुक्क पार्‍यो । पाटनका गल्लीहरू भेनिस, आमस्टरडम वा मेड्रिडका भन्दा कम रोमाञ्चक र रहस्यमय छैनन् । पछिल्लो समयमा त्यहाँका गल्लीहरूमा नयाँ बन्दै गरेका कलात्मक घरहरूले उत्साह त थपेका छन्, तर तीसँगै झाँगिएका तार, फ्लेक्सका बोर्डहरूका नमिलेका बान्कीले उत्साहमा तुरुन्तै पानी खन्याउँछन् । हामीले संसारमै उत्कृष्ट कालीगडीको नमुना मानिने मन्दिरको ढोकैमा प्लास्टिकले बनेको फोहोरको बिन राखेका छौं । कलकल बग्ने झरनासँगै जोडेर दोलखामा टिनको पाइखाना बनाएका छौं । लाखौं वर्षअगाडि बनेका मुस्ताङका रहस्यमय ऐतिहासिक गुफाहरूमा सिमेन्टको भर्‍याङ ठड्याएका छौं । कुनै सहर वा वस्तुको सुन्दरता नाप्न ठूलो मापदण्ड चाहिँदैन, न त त्यसको बखानमा ठूला साहित्य र कथा नै लेख्नुपर्छ । सौन्दर्य के हो भनेर छुट्याउन हामीले जन्मजात लिएको जैविक गुण नै काफी छ । सहरमा बन्दै गरेका र बन्ने भनिएका संरचनाहरूले तपाईंको ध्यान खिच्न सफल भए ? तिनले आकर्षित गरे ? सन्तुष्टि दिए ? पुलकित बनाए ? ठ्याक्कै भन्दा, झन्डै पौडी पोखरी बन्नबाट जोगिएको रानीपोखरीको बन्दै गरेको संरचनाले ओठमा विजयीभावको मुस्कान ल्यायो ? हामी बसिरहेको सहरको सौन्दर्य यसरी नापौं ।

कान्तिपुर दैनिकमा प्रकाशित

विद्युतीय सवारीमा प्रतिगामी कदम

१७ मंसिर २०७५, पोल्यान्डको क्याटोविस । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ विश्व सम्मेलन अर्थात् कोप-२४ । विश्वका लगभग दुई सय देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधि, नीति निर्माता, विज्ञ र सहभागी गरी करिब २४ हजारले भाग लिएको भव्य कार्यक्रम । नेपालका राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले आफ्नो सम्बोधनको क्रममा आफ्नो देशले कार्बनलगायत हरितगृह ग्यास उत्सर्जन कम गरेता पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी पिल्सिएको बताउँदै नेपालले पृथ्वीको तापमान घटाउन योगदान पुर्‍याएको दाबी गर्नुभयो ।

राष्ट्रपतिको थप कथन थियो- हामी पृथ्वीको तापमान घटाउन गरिएको पेरिस सम्झौताप्रति प्रतिबद्ध छौँ । त्यसका लागि नेपालले आफ्नो नीतिलाई अनुकूल बनाउँदै लग्नेछ र राष्ट्रिय योगदानको निर्धारित प्रतिबद्धता (इन्टेन्डेड नेसनल्ली डिटरमाइन्ड कन्ट्रिब्युसन)लाई अध्यावधिक गर्नेछ । त्यस यात्रामा नेपाल लागेको प्रमाण दिँदै उहाँले भन्नुभयो– ‘हामीले राष्ट्रपति कार्यालयमा विद्युतीय सवारीसाधनको प्रयोग सुरु गरिसकेका छौँ र यसलाई क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गरिँदै लगिनेछ ।’ राष्ट्रपति भण्डारी यतिखेर चीनमा निर्मित ‘विवाइडी इसिक्सएस’ मोडलको विद्युतीय सवारी चढ्नुहुन्छ ।

नेपालका विकास साझेदार देशहरू र संसारभरका जलवायु परिवर्तनका उच्चस्तरका विज्ञहरू सम्मिलित उक्त कार्यक्रममा राष्ट्रपतिको उक्त भनाइ विनायोजना हचुवामा बोलिएको कुरा थिएन । त्यसअघिको घरेलु तयारी र सरकारी कदमहरू हेर्दा पनि त्यस्तै आभास भएको थियो । त्यस सम्मेलनको एक महिनाअघि कात्तिकमा वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रूपमा विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना बनाएर सार्वजनिक गरेका थिए । त्यसभन्दा पहिले सन् २०१६ मा नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनको महासन्धि निकाय (युएनएफसिसी)लाई पेस गरेको राष्ट्रिय योगदानको निर्धारित प्रतिबद्धतामा विद्युतीय सवारी साधनको प्रयोग बढाएर उत्सर्जन कटौती गर्ने लक्ष्य पेस गरेको थियो ।

एउटा विद्युतीय कारले प्रतिवर्ष ११ हजार बिजुली खपत गरेर ८० हजार बिदेसिनबाट बचाउँछ । २० वर्षमा सोझो हिसाबले पनि २ लाख १६ हजारको बिजुली खपत गरेर १६ लाख नेपाली पैसा जोगाउँछ।

सन् २०१५ मा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका १९७ पक्षराष्ट्रहरूको पेरिसमा भएको सम्मेलनले गरेको पृथ्वीको तापमान वृद्धिलाई औद्योगिक युगभन्दा पूर्वको तुलनामा २ डिग्रीभन्दा तल राख्ने र सकेसम्म १.५ डिग्रीभन्दा बढ्न नदिने संझौता गरेको थियो । उक्त पेरिस सम्झौताअनुसार, पक्षराष्ट्रहरूले उत्सर्जन कटौती गर्ने राष्ट्रिय योगदानको निर्धारित प्रतिबद्धता पेस गर्नुपर्ने हुन्थ्यो । नेपालले पेस गरेको प्रतिबद्धताअनुसार सन् २०२० सम्ममा विद्युतीय गाडीको अंशलाई २० प्रतिशतमा पुर्‍याउने, सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने जैविक इन्धनलाई ५० प्रतिशतमा झार्ने र पुराना गाडीको प्रयोग घटाएर वायु प्रदूषण घटाउने थियो । त्यसअघि सन् २०१४ मा नेपालले वातावरण-मैत्री यातायात नीति बनाएको थियो । जसमा विद्युतीय गाडीलाई सहुलियत दिने कुरा उल्लेख थियो ।

राष्ट्रपतिले अन्तर्राष्ट्रिय मञ्चमा बोलेर आएपछि त्यसपछिको बजेटमा विद्युतीय गाडीको आयातमा लाग्ने भन्सारलाई १० प्रतिशतमा झारेर र अन्तःशुल्क मिनाह गरेर सहुलियतको व्यवस्था गरियो । फलस्वरूप नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्न पनि थालेको थियो । तर, सरकारले यसपटकको बजेटमा विद्युतीय गाडीमा दिएको उक्त सहुलियत कटौती गर्दै भन्सार र अन्तःशुल्क जोडेर ७० प्रतिशत बढायो । विद्युतीय सवारीमा दिइने सहुलियत विश्वभर बढिरहँदा हामी भने त्यसलाई खारेज गरेर उल्टो यात्रामा लागेका छौँ । तर, विद्युतीय सवारीमा हाम्रो प्रतिगमनकारी दृष्टिकोण नयाँचाहिँ होइन ।

नेपालमा विद्युतीय गाडीको गर्विलो इतिहास :

नेपालमा विद्युतीय गाडीलाई सार्वजनिक यातायातको रूपमा प्रयोग सुरु गरिँदा विश्वकै सबैभन्दा उत्कृष्ट मानिने अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला कम्पनीका एक संस्थापक अलन मस्क युनिभर्सिटी अफ पेन्सिलभेनियामा बिए पढ्दै थिए । आजभन्दा २७ वर्षअघि अमेरिकी नियोग युएसएआइडी र एन्जियोग्लोबल रिसर्च इन्स्टिच्युटको सहयोगमा काठमाडौंमा विद्युतीय सवारी सफा टेम्पो सुरु गरिएको थियो । सन् २००० सम्म विद्युतीय सफा टेम्पोले करिब १ हजारजति मान्छेलाई रोजगारी दिन्थ्यो र दैनिक १ लाख यात्रु ओसाथ्र्यो । त्यतिवेलासम्म हाल विश्वको विद्युतीय कारको उत्पादन र खपतमा अग्रणी मानिने देश चीनमा विद्युतीय कार उत्पादनको एसोसियसनसम्म पनि थिएन ।

काठमाडौंमा धुवाँ फाल्ने विक्रम टेम्पोको सामान्य ब्याट्री भर्सन सफा टेम्पो एउटा सम्भावनायुक्त ‘जुगाड इनोभेसन’ थियो । जसको ब्याट्री प्रत्येक दुई वर्षमा फेर्नुपर्ने र अमेरिकाबाट ल्याउनुपर्ने भएकाले महँगो पथ्र्यो । तर, हरेक इनोभेसन सुरुमा महँगो र प्राविधिक रूपमा कमजोर नै हुन्छ । अहिले प्रत्येकको हातमा हुने मोबाइल फोन सुरुमा आउँदा एक केजी तौल भएको, एकपटक चार्ज गर्दा आधी घन्टा मात्र बोल्न मिल्ने, चार हजार डलर पर्ने, इँटा साइजको ‘व्रिकफोन’ थियो । समयक्रममा यस्ता इनोभेसनहरू आममानिसका लागि सहज, सस्तो, भरपर्दो र सुरक्षित बनेपछि मात्रै त्यो आमसाधनको रूपमा परिणत हुन्छ ।

व्रिकफोन स्मार्टफोन बनेर हातहातमा पुग्यो । तर, हाम्रो सफा टेम्पो आममानिसले प्रयोग गर्ने साधन बनिसकेर पनि स्मार्ट बन्न सकेन । यसको विकासमा लगभग पूर्णविराम लाग्यो । जलविद्युत्को सम्भावना बोकेको भूपरिवेष्टित मुलुक, जसको विदेशी मुद्राको ठूलो हिस्सा पेट्रोल, डिजेलजस्ता इन्धनको आयातमा खर्च हुन्छ, त्यस्तो देशमा सायद भिजनरी नेतृत्व भएको भए यतिखेर हाम्रो त्यो ‘जुगाड इनोभेसन’लाई परिष्कृत बनाएर विद्युतीय टेम्पो र स्कुटरका नयाँ भर्सन चलाइरहेका हुन्थ्यौँ होला । तर, हाम्रा सरकारी नीति-नियमहरू यति अदूरदर्शी भइदिए कि हाम्रो आफ्ना इनोभेसनलाई परिष्कृत गर्ने, सुधार्ने, लागत कम गराउने, फैलाउनेतिर लाग्नेहरूलाई उत्प्रेरणा नै भएन । अदूरदर्शिताको पछिल्लो प्रमाण केही दशकसम्म लोडसेडिङ भोगेर आएको मुलुक बिजुली खेर जाने वर्तमान अवस्थासम्ममा आइपुग्दासमेत बिजुली खपत बढाउने साधानलाई प्रत्सोहन दिएर जनताको जीवनलाई सहज गराइदिनेभन्दा निरुत्साहित गर्न हामी लागिरहेका छौँ ।

सहुलियतको प्रश्न :

विद्युतीय गाडीको इतिहास लगभग डिजेल, पेट्रोलबाट चल्ने गाडीजत्तिकै पुरानो भएता पनि यो विकासको दौडमा पछि पर्नुको कारण यसको उच्च लागत, यसलाई चाहिने पूर्वाधारको कमी, अहिलेजस्तो ब्याट्री प्रविधिको विकास नहुनु थियो । तर, यतिखेर बढ्दो कार्बन उत्सर्जनले सिर्जित जलवायु परिवर्तनको कारण पृथ्वीको तापमान वृद्धि मात्रै होइन, मानवजातिको भविष्य संकटमा पर्ने भएपछि त्यसलाई कम गर्ने उपायस्वरूप यातायातको क्षेत्रमा जैविक इन्धनको प्रयोगलाई घटाउने हिसाबले विद्युतीय गाडीको पुनरोदय विश्वभर भयो । त्यसलाई सहज बनाउन ब्याट्री प्रविधिमा भएको विकासले उल्लेख्य भूमिका खेल्यो ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायू प्रदूषणको कारण बर्सेनि लगभग ९ हजार मानिसले ज्यान गुमाउँछन् भने २.८ बिलियन डलरबराबरको सामाजिक घाटा हुने गर्छ।

यतिखेर विद्युतीय गाडीहरू पेट्रोल, डिजेलका गाडीभन्दा सुरुमा किन्दा महँगो परे पनि यसको कम सञ्चालन खर्च, यसले पु¥याउने कम वातावरणीय क्षति, जसले गर्दा जनस्वास्थ्य र पृथ्वीको पर्यावरणमा हुने लाभको कारण यसको प्रयोग विश्वव्यापी रूपमा बढ्दो छ । तर, सयौँ वर्षपहिलेदेखि मानिसले चलाउँदै आएको र विश्वास गरेको सवारीसाधनलाई बदल्न त्यति सहज छैन । नयाँ प्रविधि भएको र यसका पूर्वाधार (रिचार्जिङ स्टेसनहरू) बनिनसकेकाले उपभोक्ताले हत्पती यसमाथि विश्वास गर्न सकेका छैनन् । त्यसकारण यसलाई बढावा दिने उत्प्रेरणास्वरूप विद्युतीय गाडी किन्नेलाई सरकारी सहुलियत दिने चलन विश्वभर अपनाइएको हो ।

विद्युतीय गाडीलाई सहुलियत दिनुको अर्थ दीर्घकालीन रूपमा वातावरणीय स्वास्थ्यलाई ध्यानमा राख्नु हो । एक हिसाबमा कम प्रदूषण गर्ने कार्यलाई प्रत्सोहन गरेको हो । त्यही भएर विद्युतीय सवारीमा सरकारी सहुलियत संसारभर दिइँदै आइएको छ । देशअनुसार भ्याट छुट, मूल्यमा छुटदेखि पार्किङ सुविधासम्म दिनेजस्ता फरक-फरक सहुलियतका प्रावधान प्रचलनमा छन् । तर, देख्दा राज्यले सहुलियत दिएर अदृश्य फाइदा (वातावरणीय ह्रासबाट जोगाउने, जनस्वास्थ्यको असर कम गर्ने)मा लगानी गरेको देखिए पनि विद्युतीय गाडीको सहुलियतको अर्को पाटो पनि छ । त्यो भनेको जैविक इन्धन किन्दा हुने विदेशी मुद्राको बचत ।

उदाहरणका लागि प्रति १०० किमिमा चार्ज गर्नुपर्ने विद्युतीय कारले एकपल्ट चार्ज गर्दा १० युनिट बिजुली खपत गर्दा वर्षको १२ हजार किमि गुड्यो भने १२ सय युनिट बिजुली खर्च गर्छ । ९ रुपैयाँ प्रतियुनिटको दरले उक्त कारले नेपालको विद्युत् प्राधिकरणलाई वार्षिक १० हजार ८०० तिर्छ । तर, १२ हजार किमि गुडाउँदा प्रतिलिटर १५ किमिको माइलेज दिने कारले ८०० लिटरको इन्धन खान्छ, जसको मूल्य प्रतिलिटर १०० को दरमा पनि सरदर ८० हजार पर्न आउँछ । यसरी हेर्दा भन्सार र अन्तःशुल्कमा सहुलियत पाएको एउटा विद्युतीय कारले प्रतिवर्ष ११ हजार बिजुली खपत गरेर ८० हजार बिदेसिनबाट बचाउँछ । नेपालमा कारको आयु सरदर २० वर्ष मान्ने हो भने सोझो हिसाबले पनि २ लाख १६ हजारको बिजुली खपत गरेर १६ लाख नेपाली पैसा बचाउँछ ।

फाइदाको अर्को पाटो पनि छ । एक अध्ययनअनुसार १२ हजार किमि गुडेको कारले प्रतिकिमि १३७ ग्राम कार्बन उत्सर्जन गर्दा वायुमण्डलमा प्रतिवर्ष १.६ टन कार्बनडाइअक्साइड उत्सर्जन गर्छ । त्यसबाहेक त्यस्ता गाडीले सल्फर–डाइअक्साड, नाइट्रोजन-डाइअक्साइडजस्ता हानिकारक ग्यास पनि उत्सर्जन गर्छ । इसिमोडले गरेको एक अध्ययनअनुसार नेपालमा सन् २०१५ मा यातायात क्षेत्रबाट २.७४ मिलियन टन हरितगृह ग्यास उत्सर्जन भएको थियो । यातायात क्षेत्रले नेपालको कुल उत्सर्जनको २६ प्रतिशत हिस्सा ओगट्छ ।

त्यसका साथै काठमाडौं उपत्यका र नेपाल संसारकै सबैभन्दा प्रदूषित सहर र देशको रूपमा परिचित छ । येल विश्व विद्यालयको सूचकांकअनुसार हाम्रो वायुको गुणस्तर पाकिस्तान र भारतपछिको विश्वमै तेस्रो खराबमा पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि लगभग ९ हजार मानिसले ज्यान गुमाउँछन् । यसले लगभग २.८ बिलियन डलरबराबरको सामाजिक घाटा हुने गर्छ । त्यसकारण विद्युतीय गाडीमा सहुलियत दिनुको अर्थ झट्ट हेर्दा धनीहरूको चढ्ने बिलासिताको वस्तुमा सहुलियत दिएकोजस्तो देखिन्छ । तर, यसले डिजेल, पेट्रोलबाट चल्ने सवारीसाधन चढेर गाडीमालिकले वातावरणमा पुर्‍याएको असरबापत कर लगाउनुभन्दा बरु वातावरण र जनस्वास्थ्यमा असर नपार्ने कामका लागि प्रत्सोहन दिएको हो ।

अन्त्यमा, नीतिगत कमजोरीका कारण हामी हाम्रो देशमा भएको जुगाड इनोभेसनलाई परिष्कृत गर्ने र प्रत्सोहन गर्न सक्ने पहिलो अवसरबाट चुक्यौँ । फलस्वरूप देशलाई आर्थिक घाटा त भयो नै, हामीले वातावरणलाई पनि थप बिगार्‍यौँ । जनस्वास्थ्यलाई थप हानि पुर्‍याउने कार्य गर्‍यौँ । अक्सफोर्ड विश्वविद्यालय संलग्न वान वल्र्ड डाटाका अनुसार नेपालको प्रतिव्यक्ति कार्बनडाइअक्साइड उत्सर्जन विश्वमै कम छ । तर, त्यसको वृद्धिदर दक्षिण एसियामा नै सबैभन्दा बढी छ । प्रजातन्त्र आएपछि सन् १९९१ देखि २०१७ सम्म नेपालमा प्रतिव्यक्ति कार्बनडाइअक्साइड उत्सर्जन ५२५ प्रतिशतले बढेको छ । सोही समयमा प्रतिव्यक्ति कार्बनडाइअक्साइड उत्सर्जनको वृद्धि श्रीलंकामा ३६९ प्रतिशत, बंगलादेशमा २६५ प्रतिशत र भारतमा १५० प्रतिशतले भएको थियो ।

कार्बन उत्सर्जनलाई जलवायु परिवर्तनको प्रमुख कारक मानिन्छ । नेपाल विश्वमा कुल कार्बन उत्सर्जन गर्नेमा निकै कम योगदान गर्ने मुलुक भए पनि र हाम्रो प्रतिव्यक्ति कार्बन उत्सर्जन न्यून भए पनि हाम्रो उत्सर्जनको वृद्धिदर तीव्र छ । जसको अर्थ हो, हामी एकातिर विकसित देशलाई तिमीहरूले गरेको कार्बन उत्सर्जनबाट सिर्जित जलवायु परिवर्तनको मारमा परेर सजाय भोग्न बाध्य भयौँ भनिरहेका छौँ, अर्कातिर हाम्रो यात्रा पनि उत्सर्जन वृद्धितिर बढ्दो छ । कोभिड-१९ ले जनतामा असर पार्‍यो भन्दै जर्मनीमा विद्युतीय गाडी किन्नेलाई हाल दिइँदै आएको सहुलियत दोब्बर पारिएको समाचार पढिरहँदा नेपालमा कोभिड-१९ को निहुँ पारेर विद्युतीय गाडीमा दिइँदै आएको सहुलियत खोस्ने कार्य प्रतिगमनको यात्रा भन्नलायक छ ।

नयाँ पत्रिका दैनिक २०७७ जेठ ३० शुक्रबार

लकडाउनमा लिसेन्कोको सम्झना

पुस २० गते वुहानबाट आएका एक नेपाली विद्यार्थीमा कोभिड-१९ को सामान्य लक्षण देखियो । उनलाई कोरोना भाइरसको जाँच गर्नका लागि देशकै ठूलो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण, प्रविधि र जनशक्ति थिए तर रियजेन्ट थिएन । त्यसैले कोभिड-१९ को पहिलो केस जाँच्न स्याम्पल हङकङ पठाइयो । नेपालको दोस्रो कोभिड-१९ केस जाँच्न निजीस्तरको सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन) नामक प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रियजेन्ट दिएपछि मात्रै सम्भव भयो । फागुन २८ गते विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई वैश्विक महामारी घोषणा गरिरहँदा नेपालको विज्ञान र प्रविधि क्षेत्रको अनुसन्धान र विकासको जिम्मा पाएको सबैभन्दा उपल्लो निकाय नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) घरेलु मदिराबाट स्यानिटाइजर बनाउने तालिम दिँदै थियो ।

चैत २६ मा विश्वभर कोरोना संक्रमितको संख्याले १५ लाख नाघ्दा नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले विश्वविद्यालयका चार विभागलाई ‘कोरोना अनुसन्धानको आदेश दिएको’ समाचार बाहिरियो । यतिखेर विश्वका प्रतिष्ठित अध्येताहरूले कोरोना भाइरसबारे धेरै वैज्ञानिक जानकारी नभइसकेकाले यसको भ्याक्सिन र औषधि पत्ता लगाउन चुनौती भएको बताइरहेका छन् । तर नेपालको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम भन्दै ‘होमियोप्याथिक औषधि आर्सेनिकम एल्बम ३० सी’ २ लाखभन्दा बढी डोज वितरण गरिसकेको छ । हाम्रा माथिल्लो तहका सार्वजनिक संस्थाहरू किन यति सुस्त, आदेशमुखी, निकम्मा र अप्रमाणित विज्ञानलाई प्रोत्साहित गर्ने भए ? देशका अनुसन्धान संस्थाहरू र समग्रमा देशको विज्ञान तथा प्रविधिको विकास किन हुन सकेन ? नेपालको जैविक विविधता क्षेत्रमा अनुसन्धान गरेर नीतिनिर्माण तहमा पनि काम गरिसक्नुभएका मेरा एक गुरुको सहज उत्तर थियो- लिसेन्कोवाद ।

लिसेन्कोवादको उत्पत्ति

सन् १९२७ मा रुसी कम्युनिस्ट पार्टीको मुखपत्र ‘प्राभ्दा’ मा अजरबैजानको ग्रामीण भेगमा कृषि अनुसन्धान गरिरहेका एक ‘अध्येता’ बारे फिचर छापियो । लेखमा उक्त वैज्ञानिकले जाडोमा रोपिने गहुँको बीउलाई निश्चित समयसम्म ढड्याएर चिसो तापक्रममा राख्दा उक्त गहुँ गर्मीमा रोप्न मिल्ने बालीमा परिणत हुने विधि (भर्नलाइजेसन) आफूले विकास गरेको दाबी गरेका थिए । तीन वर्षपछि ‘प्राभ्दा’ मा त्यसका दुइटा फलोअप स्टोरी छापिए । सन् १९३० मा छापिएको पछिल्लो लेखमा भनिएको थियो- ‘रुसी कृषि वैज्ञानिकले जाडोमा रोपिने गहुँको परिभाषा बदलिदिएका छन् । उनको आविष्कारले सोभियत कृषि उत्पादनलाई बढाउने मात्रै होइन, सोभियत साम्यवाद प्राप्तिको गतिलाई पनि द्रुत बनाउनेछ’ (पिटर पिंगल, द मर्डर अफ निकोलाई भ्याभिलोभ, पृ. १४९) । बर्सेनिजसो भोकमरीले लाखौं मानिसको ज्यान लिने सोभियत संघमा त्यहाँका वैज्ञानिकले आविष्कार गरेको उक्त ‘क्रान्तिकारी विधि’ ले धेरैको ध्यान खिच्न सफल भयो, रुसका तत्कालीन राष्ट्रपति जोसेफ स्टालिनको पनि ।

शक्तिशाली स्टालिनको ढाडस र कम्युनिस्ट पार्टीको सहयोग पाएपछि लेनिनग्रादको प्राज्ञिक वृत्तमा खासै नचिनिएका उक्त व्यक्तिको भाग्य एकाएक चम्कियो । उनी सोभियत संघको जैविक अनुसन्धानका क्षेत्रमा अगाडि बढ्दै गए । र, ‘प्राभ्दा’ मा पहिलो फिचर छापिएको तीन वर्ष नपुग्दै उक्त व्यक्ति सोभियत संघको लेनिन अल युनियन एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसको निर्देशक बने । ‘प्राभ्दा’ को लेखमा कृषकको आँगनमा बसेर अनुसन्धान गर्ने ‘खालीखुट्टे वैज्ञानिक’ का रूपमा वर्णित व्यक्ति थिए- ट्रफिम डोनिसोभिक लिसेन्को ।

लिसेन्को डार्बिनको प्रकृति छनोटको सिद्धान्तको खिल्ली उडाउँथे । ग्रेगर मेन्डल (जसलाई आधुनिक आनुवंशिक सिद्धान्तको पिता पनि भनिन्छ) को आनुवंशिक विज्ञानलाई लफ्फाजी भन्थे । तर वैज्ञानिक जगत्मा अप्रमाणित भएको लेमार्कको ‘जीवले ग्रहण गरेको गुण पछिल्लो वंशमा सर्छ’ भन्ने सिद्धान्तलाई शिरोधार्य गर्थे । उनको विश्वास थियो- वनस्पतिहरूले जीवनमा प्राप्त गरेका गुण वा चरित्रहरूलाई अर्को पुस्तामा सार्न सकिन्छ । उदाहरणका लागि, कुनै वनस्पतिको सम्पूर्ण पात हटाइदिएर त्यसको बीउ रोप्ने हो भने उक्त बीउबाट उम्रने वनस्पति पातविहीन हुन्छ । उनका यस्ता मान्यता अप्रमाणित त थिए नै, स्थापित अनुवंशको सिद्धान्तसँग पनि बाझिने खालका थिए । यद्यपि लिसेन्कोको छद्म विज्ञानलाई सत्य साबित गर्न उनी मात्रै होइन, स्टालिन र उनको प्रोपोगान्डा संयन्त्र पनि लागेका थिए ।

त्यसैले त्यति बेला तथ्यांकलाई तोडमरोड गरेर लिसेन्कोको विचारसँग मिल्दोजुल्दो नतिजा ल्याउने वैज्ञानिकहरूलाई सरकारबाट अनुसन्धान सहायता र पुरस्कार दिइन्थ्यो । लिसेन्कोको उक्त छद्म विज्ञानसँग आनुवंशिक अनुसन्धान गर्ने थुप्रै रुसी वैज्ञानिकको विमति थियो । लिसेन्को आफूसँग असहमत वैज्ञानिकहरूलाई मार्क्सवादविरोधीको बिल्ला भिराउँथे र सार्वजनिक रूपमै गर्जन्थे, ‘वर्गशत्रु भनेको वर्गशत्रु नै हुन्छ, चाहे त्यो वैज्ञानिक होस् या अन्य ।’ लिसेन्कोको त्यस्तो भनाइले स्टालिनको जोडदार वाहवाही पाउँथ्यो । स्टालिनले सबैका अगाडि भन्थे, ‘वाह कमरेड लिसेन्को, वाह !’

स्टालिनको सहयोगले उदाएका लिसेन्कोको दबदबा स्टालिनको मृत्युपछि ओरालो लाग्दै गयो । अत्याचारले सीमा नाघेपछि लिसेन्कोलाई हटाउन सन् १९५५ मा तीन सय वैज्ञानिकले रुसी कम्युनिस्ट पार्टीलाई पत्र लेखे । तर पनि केही समय स्टालिनका उत्तराधिकारी ख्रुस्चेभको सहयोगले लिसेन्को रुसी वैज्ञानिक नेतृत्वमा रहिरहन सफल भए । ख्रुस्चेभपछि ब्रेजनेभका पालामा सन् १९६५ मा लिसेन्को इन्स्टिच्युट अफ जेनेटिक्स अफ द एकेडेमी अफ साइन्सेसको निर्देशक पदबाट हट्न बाध्य भए ।

लेखक स्याम किनका अनुसार, लिसेन्कोको समयमा रुसको वैज्ञानिक अनुसन्धान ५० वर्ष पछि धकेलियो । अहिले संसारभर छद्म विज्ञानलाई उकास्ने, पार्टी शक्तिको आडमा विरोधी अध्येताहरू सिद्ध्याउने र भएका अनुसन्धान संस्था तहसनहस पार्ने चारित्रिक विशेषतालाई लिसेन्कोवाद भनिन्छ । भनिन्छ, रुसी जैविक विज्ञानका क्षेत्रमा ३५ वर्षसम्म दबदबा गरेका लिसेन्कोको समयमा ३ हजारभन्दा बढी रुसी वैज्ञानिकलाई बरखास्त, जेल सजाय र हत्या गरिएको थियो । तीमध्येका एक प्रमुख व्यक्ति थिए- निकोलाई भाभिलोभ ।

भाभिलोभको दु:खान्त

त्यति बेला निकोलाई भाभिलोभ रुसका प्रसिद्ध वनस्पतिशास्त्री, कृषिविज्ञ र लेनिन अल युनियन एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका निर्देशक थिए ।

आज पनि भाभिलोभलाई उनले पत्ता लगाएको ‘खाद्यान्नको उत्पत्ति केन्द्र’ को अनुसन्धानका लागि विश्वभर चिनिन्छ । उनले भ्लादिमिर लेनिनको मातहतमा पनि काम गरेका थिए । लेनिनले सन् १९२१ को गृहयुद्ध र लगत्तैको खडेरीका कारण खाद्य उत्पादन घटेर भोकमरीको अवस्था आएपछि खाद्य उत्पादन बढाउन वैज्ञानिक अनुसन्धानमा जोड दिने नीति ल्याए । त्यति बेला अहिलेजस्तो एउटा वनस्पतिको जिन अर्कोमा प्रसारण गर्ने बायोटेक्नोलोजीको विकास भइसकेको थिएन । बढी उत्पादन दिने बालीको बीउ निकाल्न विभिन्न जातका बालीलाई क्रस गराउनुपर्थ्यो । उक्त कामका लागि धेरै जातका बीउ चाहिन्छन् भन्ने ज्ञान भाभिलोभलाई थियो । त्यसैले उनले संसारभरबाट बीउ संकलन गरेर विश्वकै पहिलो बीउ बैंक रुसमा स्थापना गरेका थिए ।

बालीका बीउ संकलन र अनुसन्धानका क्रममा लेनिनले भाभिलोभलाई अमेरिकासम्म पठाए । भाभिलोभका जीवनी लेखक पिटर पिंगलका अनुसार, त्यति बेला अमेरिका प्रवेश गर्ने प्रत्येक यात्रुसँग ३०० डलर साथमा हुनुपर्थ्यो । तर रुसमा लेनिनसँग डलर थिएन । लेनिनले भाभिलोभलाई डलरको साटो सुन र प्लाटिनियम दिएर अमेरिका पठाए । तर न्युयोर्क हार्बरको अध्यागमनमा भाभिलोभले डलर देखाउन सकेनन् । सुन र प्लाटिनियम देखाउँदा उनी अमेरिका छिर्नबाट रोकिए । पछि एक अमेरिकी साथीले ३०० डलर तिरिदिएपछि उनले अमेरिका प्रवेश पाए । भाभिलोभले अमेरिकाबाट हजारौं वनस्पतिका बीउ संकलन गरेर रुस लगेका थिए । उनी संसारभरबाट संकलन गरिएका विभिन्न जातका गहुँ, जौका बीउहरूको क्रस गराएर खडेरीमा फस्टाउने र रोग नलाग्ने गहुँका बीउ उत्पादन गर्ने अनुसन्धानका इन्चार्ज थिए ।

लेनिनको मृत्युपछि सत्तामा आएका स्टालिनले रुसमा निजी जमिन कब्जा गरेर सामूहिक खेती प्रणाली लागू गरे, जसका कारण जमिनको उत्पादकत्व पहिलेभन्दा घट्यो । भोकमरीको अवस्था आएपछि त्यसको दोष स्टालिनले वैज्ञानिकहरूको कमजोर अनुसन्धानलाई दिए । स्टालिनले भाभिलोभ लगायतका वैज्ञानिकलाई अनुसन्धान गरेर दुई वर्षभित्रै बढी उब्जनी हुने गहुँको बीउ निकाल्न आदेश दिए । तर भाभिलोभले त्यसका लागि कम्तीमा १०-१२ वर्ष लाग्ने बताए । एकातिर लिसेन्कोको चाँडै उत्पादन गर्ने छद्म विज्ञानको धार र अर्कातिर भाभिलोभको प्रक्रियासंगत विज्ञानमा आधारित अलि लामो समय लाग्ने धारमध्ये स्टालिनको समर्थनमा लिसेन्कोको धारले जित्यो । अनि सुरु भयो भाभिलोभको दुर्दिन ।

१९३४ को मेमा भाभिलोभसँग दुई वर्षमा हुने कामलाई १२ वर्ष किन लगाउने भनेर स्पष्टीकरण सोधियो । केही महिनामै उनको अनुसन्धानलाई निकम्मा करार गरियो । र, एक वर्षमा भाभिलोभले आफू संलग्न १५ संस्थाको जिम्मेवारीबाट हात धुनुपर्‍यो । विदेशीको इसारामा राज्यविरुद्ध अपराध गरेको आरोपमा उनलाई फिल्डमा काम गर्दैगर्दा गिरफ्तार गरियो । सन् १९४३ जनवरी २६ मा कुपोषणका कारण जेलभित्रै उनको मृत्यु भएको घोषणा गरियो ।’ उनी १९४१ मा मस्काेकाे जेलमा देखिएका थिए भनिन्छ।

यतिखेर संसारभर वैज्ञानिक अनुसन्धानमा अप्रमाणित र छद्म विज्ञानलाई प्रोत्साहित गर्ने, विषयगत विज्ञतामा कमजोर तर पार्टी र नेताप्रति वफादारहरूलाई प्राज्ञिक संस्थाहरूमा नियुक्त गर्ने, राजनीतिक आडमा विरोधीहरूको हुर्मत लिने र अनुसन्धानमा तुरुन्तै नतिजा खोज्ने प्रवृत्तिलाई लिसेन्कोवादको उपमा दिइन्छ । लिसेन्को रुसमा पढे-लेखेका, विदेशी जर्नलहरूमा लेख प्रकाशित गर्ने, विदेशमा राम्रो नेटवर्क भएका भाभिलोभजस्ता वैज्ञानिकहरूलाई खिसी गर्दै भन्थे, ‘अनुसन्धान प्रकाशन गरेर के हुन्छ ? जनताका लागि काम गर्नुपर्छ ।’ लगभग लिसेन्कोको समयको रुसको जस्तै अवस्था नेपालमा देख्न सकिन्छ । बहुदलीय प्रजातन्त्र स्थापना भएको तीन दशकमा हाम्रा विश्वविद्यालय, अनुसन्धान संस्थाहरूका अधिकांश नियुक्ति उत्कृष्टता, क्षमता, दक्षता, पारदर्शिता नभई राजनीतिक भागबन्डाका आधारमा भएका छन्, जसका कारण यस अवधिमा देशभित्रका उत्कृष्ट प्राज्ञिक, वैज्ञानिक र अनुसन्धान क्षेत्रमा काम गरेका हजारौं व्यक्ति पलायन भएका छन् । राज्यको विज्ञान, प्रविधि र अनुसन्धानसहित ज्ञान-विज्ञानको क्षेत्र धराशायी हुन पुगेको छ । त्यसैले महामारीजस्ता संकटमा ती संस्था किंकर्तव्यविमूढ बनिरहेका छन् ।

भूकम्पको संकट होस् या कोरोनाको महामारी, नीतिनिर्माण तहमा स्वतन्त्र विज्ञ र अध्येताको प्रवेश लोकरिझ्याइँका लागि हुने तर निर्णय, नियुक्ति र कार्यान्वयनको तहमा नेतासँग राम्रो सम्बन्ध भएकाहरूको हालीमुहाली हुने प्रचलन विद्यमान छ । कोरोना संकटले फेरि पनि हाम्रा सार्वजनिक शैक्षिक, प्राज्ञिक र अनुसन्धान संस्थाहरूको निकम्मापनलाई ऐना देखाइदिएको छ । तर हामी विगतका गल्तीबाट सिक्ने होइन, कमजोरी दोहोर्‍याइरहेका छौं । देशको राष्ट्रिय प्रयोगशालालाई रियजेन्ट सापटी दिने सीएमडीएनका संस्थापक डा. समीरमणि दीक्षितले वैशाख २४ गते ट्वीट गरे, ‘यो देशमा कार्यदल बनाइन्छ, सुझाव लिइन्छ, अन्तत: राजनीतिसँग जोडिएका सीमित व्यक्तिहरू अघि सर्छन् । हामीजस्ता तटस्थ नागरिकहरू ट्वाँ !’

कान्तिपुर दैनिक । जेष्ठ ५, २०७७ 

Contact

Uttam Babu Shrestha

Global Institute for Interdisciplinary Studies (GIIS)

PO Box 3084, Kathmandu, Nepal

Email: ubshrestha@yahoo.com|Phone: +9779840728150|Skype: ubshrestha

 

About

My name is Uttam Babu Shrestha. I am a director/research fellow of the Global Institute for Interdisciplinary Studies (GIIS), Nepal. I have completed a Ph.D. in Environmental Science from the University of Massachusetts Boston, USA under the supervision of Prof. Kamal Bawa and have two masters’ degrees, one in Geographic Information Technology from Northeastern University, USA and the other in Botany from Tribhuvan University, Nepal. After working at Harvard University, University of Massachusetts Boston, University of Maine, USA, Technical University of Munich, Germany and University of Southern Queensland, Australia, I returned my home country Nepal and co-founded GIIS, a Kathmandu based research institution.

I was awarded by Outstanding Graduate Student Award for my Ph.D. at the University of Massachusetts Boston in 2014 and the Graduate Academic Excellence Award for my Master’s degree at Northeastern University in 2008. In my research career, I have received several research grants including grants from USAID, National Geographic Society’s Explorer Grant (2019), National Geographic Society’s Conservation Trust Grant, USA (2012), Rufford Foundation Grant, UK (2013, 2014, 2015), and research grants from the Queensland Government and New South Wales Government, Australia. So far, I have published more than 55 peer-reviewed papers, one book, two book chapters, and several articles in popular press. My research was also featured in the Journal Nature and covered by several international and national media outlets including Atlantic, New York Times, National Geographic, and Scientific American. My research interests are climate change and its impact on ecosystems and speciesbiodiversity conservation, land-use change, and human use of natural resources.

I am a member of the Global Young Academy—a global organization of young scien­tists around the world where I co-lead a working group—Science Diplomacy in South Asia. I was a fellow for the global assessments of Biodiversity at the Intergovernmental Panel for Biodiversity and Ecosystem Services (IPBES) from 2016-2019 and lead author for the assessments of sustainable use of wild species at IPBES from 2018-2021. I am an avid traveler and an enthusiast photographer. I also received some awards in photography. I write op-eds in Nepali newspapers.

शासकीय अक्षमताको मूल्य

२०७५ जेठ १० । भृकुटीमण्डपको शैक्षिक मेला । सम्भवतः नेपालकै सबैभन्दा पढैया, बुद्धिजीवी, लेखक, पाठक, शिक्षक, विद्यार्थी र ज्ञानका भोका उत्सुक मानिसहरूको जमघट र अन्तरक्रिया हुने थलोको औपचारिक कार्यक्रम । आफ्ना पुर्खाहरूको बढाइचढाइ गर्ने क्रममा प्रमुख वक्ताले त्यहाँ दाबी गरे- राइट दाजुभाइले जहाज बनाउनुभन्दा धेरैअघि नेपालमा एयरबस बनेको थियो ।

‘हाम्रा पुर्खा यति भिजिनरी, सन् १९०३ मा राइट ब्रदरले प्लेन बनाउन सुरु गरे, हाम्रा पुर्खाले काल्पनिक होस् या जेसुकै होस्, तर पुष्पक विमानबाट राम र सीतालाई लंकाबाट लिएर अयोध्या फर्केका थिए ।’ दाबीकर्ताको थप कथन थियो, ‘त्यो पुष्पक विमान भनेको एयरबस नै रहेछ ।’ वक्ता त्यतिमा रोकिएनन्, उनले जोसिँदै थपे, ‘नौ ग्रह नेपाली ज्योतिषीले पहिले पत्ता लगाएपछि मात्र वैज्ञानिकले पुष्टि गरेका हुन् ।’

सत्य ठहरिएमा उड्डयन र खगोल विज्ञानको विश्वइतिहासलाई फेरबदल गर्न सक्ने उक्त दाबी गर्ने व्यक्ति कुनै खगोलशास्त्री, उड्डयन वैज्ञानिक वा इतिहासकार थिएनन् । उनी नेपालका बहालवाला प्रधानमन्त्री खड्गप्रसाद ओली थिए, जसले केही दिनअघि कोरोना भाइरसबारे मुख्यमन्त्रीहरूलाई प्रवचन दिए । प्रधानमन्त्रीको दाबी थियो, ‘भाइरसमा फ्याट्टीय तत्त्व हुन्छ … तातोपानीले धुनेबित्तिकै त्यो समाप्त हुन्छ ।’ कोरोना भाइरससम्बन्धी उनको पछिल्लो भनाइलाई तथ्य-जाँचकीहरूले असत्य र भ्रमपूर्ण भनेका छन् ।

प्रधानमन्त्री ओलीमा एयरबसको यथार्थ (फ्याक्ट) र पुष्पक विमानको कथा (फिक्सन) लाई एउटै ठान्ने भ्रम विद्यमान छ । गैंडादेखि ग्रहसम्मका, एयरबसदेखि भाइरससम्मका उनका फरकफरक अभिव्यक्ति सुन्दा लाग्छ, उनी ती विषयका विज्ञभन्दा बढी जानकार र विश्वविद्यालयका प्राध्यापकभन्दा बढी सूचित छन् । उनका भनाइहरू गलत भएको विज्ञहरूले बारम्बार बताइरहँदा पनि उनमा आफ्नो (अ)ज्ञानप्रतिको विश्वास घटेको देखिँदैन । बरु उनको आत्मविश्वासको उचाइ चुलिँदो छ ।

अक्षमको अहम्

सन् १९९९ मा ‘जर्नल अफ पर्सनालिटी एन्ड सोसियल साइकोलोजी’ को ७७ औं अंकमा जस्टिन क्रुगर र डेभिड डनिङको अनुसन्धानात्मक लेख छापियो । अनुसन्धानमा कर्नेल विश्वविद्यालय, अमेरिकाका ६५ विद्यार्थीलाई विभिन्न ठट्यौली (जोक्स) हरूको हाँसोउठ्दोपनको मूल्यांकन गर्न दिइएको थियो । विद्यार्थीहरूले हाँस्न मन नलाग्ने जोक्सलाई घटीमा १ अंकदेखि एकदमै हँसाउने जोक्सलाई बढीमा ११ अंकसम्म दिन सक्थे ।

त्यसपछि विद्यार्थीहरूलाई सहपाठीका तुलनामा जोक्सको हाँसोउठ्दोपनको जाँच गर्न सक्ने आफ्नै क्षमताको स्वमूल्यांकन गर्न लगाइयो । उनीहरूले अरूका तुलनामा ‘म उत्कृष्ट, मध्यम वा कमजोर छु’ मध्ये एउटा रोज्नुपर्थ्यो । अध्येताहरूले विद्यार्थीहरूलाई दिएकै ठ्ट्यौली आठ हास्यकलाकारलाई पनि दिए र त्यसरी १ देखि ११ अंकसम्मको रेटिङमा जोक्सको मूल्यांकन गर्न भने । हास्यकलाकारहरूले जोक्सलाई दिएको मूल्यांकन आपसमा मिल्दोजुल्दो थियो । त्यसपछि हास्यकलाकारहरूले गरेका जोक्सका मूल्यांकनलाई आधार मानेर विद्यार्थीको मूल्यांकनलाई जाँचियो ।

अध्येताले हास्यकलाकारको मूल्यांकनसँग मिलाउने विद्यार्थीलाई सक्षम र नमिलाउनेलाई अक्षमका रूपमा वर्गीकरण गरे । जब अक्षम विद्यार्थीहरूले अन्य विद्यार्थीका तुलनामा गरेको

आफ्नो मूल्यांकन र उनीहरूले गरेका जोक्सको मूल्यांकन हेरियो, तब पत्ता लाग्यो- जोक्सको वास्तविक मूल्यांकनमा अक्षम ठहरिएका विद्यार्थीहरूले स्वमूल्यांकनमा भने आफूलाई अरूका तुलनामा बढी जान्ने ठान्ने रहेछन् ।

ती अध्येताहरूले विभिन्न विषयमा उक्त अनुसन्धानहरूलाई दोहोर्‍याए । नतिजा सधैं एउटै निस्कियो- अक्षम मानिसहरूको कार्यनिष्पादन निम्छरो मात्र हुँदैन, उनीहरू आफ्नो ज्ञान, सीप र क्षमताको वास्तविक मूल्यांकन गर्न पनि असफल हुन्छन् । उनीहरू आफ्नो कमजोरी देख्न असमर्थ हुन्छन् । त्यसकारण परीक्षामा कम नम्बर ल्याउने विद्यार्थीहरूलाई लाग्छ, मैले योभन्दा धेरै नम्बर ल्याउनुपर्ने हो । उक्त खोजमा आधारित अक्षम मानिसहरूमा विद्यमान आफूलाई अरूभन्दा बढी क्षमतावान् ठान्ने आग्रहयुक्त मानव मनोविज्ञानलाई ‘डनिङ-क्रुगर इफेक्ट’ भनिन्छ ।

अक्षम मानिसहरूमा देखिने त्यस्तो अहम्बारे डेभिड डनिङ थप्छन्, ‘अक्षमताले धेरैजसो मानिसहरूलाई दिशाहीन, व्याकुल, सतर्क तुल्याउनुको साटो उनीहरूमा आफ्नो ज्ञान, क्षमता र सीपप्रतिको अस्वाभाविक भरोसा थपिदिन्छ ।’

इतिहासकै शक्तिशालीमध्ये एक ठानिएका प्रधानमन्त्री ओलीले अहिलेसम्म आफ्नो शासकीय नेतृत्व क्षमता खासै देखाउन नसक्नु, धेरैजसो निर्णयबाट पछि हट्नु तर हरेक विधामा आफूलाई ज्ञानी, सूचित र बुझक्कड सम्झनुलाई उनी ‘डनिङ-क्रुगर इफेक्ट’ को सिकार भएको मान्न सकिन्छ । प्रधानमन्त्री ओलीमा मात्रै होइन, आफ्नो अज्ञानताको आयतन र ज्ञानको सीमाको महसुस नहुनु स्वाभाविक मानवीय गुण नै हो । जुन धेरैथोरै, प्रकट-अप्रकट रूपमा सबै मानिसमा हुन्छ । तर यस्तो संज्ञानात्मक आग्रह (कग्नेटिभ बायस) बाट मुक्त हुने उपाय छ त ?

मनोवैज्ञानिकहरू भन्छन्- सिकाइ । निरन्तर सिकाइले त्यसबाट मुक्ति दिन्छ । तर सिक्नका लागि उत्सुकता हुन जरुरी छ । जान्नेहरूको कुरा सुन्ने धैर्य सिकाइको दोस्रो सर्त हो । तर प्रधानमन्त्रीको व्यक्तित्वमा यी कुराहरू गयल छन् ।

विज्ञ र नेता सम्बन्ध

मानव विकासक्रमसँगै वस्तु र सेवाको विशिष्टीकरण पनि सुरु भयो । यतिखेर ज्ञानको फैलावट र विकासले गर्दा व्यक्तिविशेष सबै कुरामा जानिफकार र निपुण हुन सक्ने अवस्था पनि छैन ।

त्यसैले, विशिष्ट काम गर्नका लागि समाजलाई निश्चित विषयमा सामान्यजनभन्दा फराकिलो र गहिरो ज्ञान भएका ‘जान्ने’ मानिसहरूको अर्थात् विज्ञहरूको आवश्यकता पर्‍यो । हामीले अपनाएको उदार लोकतन्त्रमा विज्ञहरूको भूमिका शासकीय निर्णयलाई सघाउन नेताहरूलाई सल्लाह दिने र जनतालाई सुसूचित गराउने हुन्छ ।

विज्ञहरूले दिएका प्रमाणमा आधारित सुझावका आधारमा राजनीतिक जनप्रतिनिधिले निर्णय गर्छ र जनताले त्यस्ता निर्णय गर्ने जनप्रतिनिधि अर्थात् नेताहरूलाई चुन्छन् । नेताहरूले गरेका निर्णयप्रति निरन्तर खबरदारी गरेर सञ्चारमाध्यम र नागरिक समाजले घुमाउरो हिसाबले सरकारलाई सही निर्णयका लागि सघाएका हुन्छन् । यस्तो फरक अंगहरूको सामूहिक छलफल, बहस र खबरदारीले निर्णयकर्तामा हुने संज्ञानात्मक आग्रहजस्ता मानवीय कमजोरीहरूलाई पहिचान गर्न र त्यसलाई हटाउन मदत गर्छ । बहुविज्ञहरूको सल्लाहले निर्णय गर्दा हुने ज्ञानको अभाव र सीमिततालाई परिपूर्ति गराउन सक्छ ।

सञ्चारमाध्यमको खबरदारीले नेतृत्वलाई आफूले गरेको निर्णयको अनुगमन गर्न सघाउँछ । समग्रमा शासकीय निर्णयमा संलग्न यस्ता व्यक्ति र संस्थाहरूको सहभागिता र भूमिकाले शासकीय निर्णयलाई तर्कसंगत बनाउन सहयोग गर्छ । अहिलेसम्मको मानव प्रगति तर्कमा आधारित सामूहिक निर्णयको प्रतिफल हो, जुन अहिले संसारले भोगिरहेको कोरोना महाव्याधिसँग लड्नका लागि पनि आवश्यक छ ।

तर यतिखेर कोरोना महामारी लगायतका थुप्रै विषयमा गरिएका ओली नेतृत्वका शासकीय निर्णयहरू तर्कसंगत लाग्दैनन् । किनभने वर्तमान नेपालमा विज्ञ र नेताबीचको सम्बन्ध माथि उल्लेख गरेको जस्तो आदर्श छैन । वर्तमानमा अधिकांश विज्ञहरू माग्ने र नेताहरू दिनेको हैसियतमा छन् ।

जब लामो समयको शैक्षिक साधनामार्फत कुनै विषयमा विज्ञता हासिल गरेका मानिसहरू माग्नेमा रूपान्तरित हुन्छन्, जब विज्ञहरूलाई आफ्नो शिक्षा, सीप र क्षमतामा भन्दा बढी विश्वास नेताको फेरो र पार्टीको टहरोमा लाग्छ, तब उनीहरूको भूमिका नीतिगत निर्णयमा सल्लाह दिने सल्लाहकारको होइन, निर्णय भइसकेका कुराहरूलाई कार्यान्वयन गर्ने कारिन्दामा फेरिन्छ । पद र नियुक्तिका लागि पार्टीको तल्लो कमिटीमा बसेर निरन्तर लेभी बुझाउन राजी भएपछि विज्ञको भूमिका कार्यकर्तामा खुम्चिन्छ र विज्ञ पनि नेताजस्तै आग्रहको सिकार हुन्छ ।

विज्ञहरू कारिन्दा र कार्यकर्तामा फेरिएकै कारण प्रधानमन्त्री लगायतका नेताहरूले राज्यको तलब-सुविधा दिएर राखेका सल्लाहकारहरूलाई पीएकै व्यवहार गर्न पुग्छन्, जुन कुरा पूर्वप्रधानमन्त्रीहरूका सल्लाहकार भइसकेका ठूला प्राध्यापकहरूको अन्तर्वार्ता पढ्दा प्रस्ट हुन्छ । यस्तो परिपाटीभित्र हुर्किएका विज्ञहरूले नेतालाई सम्झाउने, उनीहरू अस्पष्ट भएका ठाउँमा (ब्लाडन्ड स्पट) स्पष्ट पार्ने र नेताहरूले नदेखेका कमजोरीहरू औंल्याउन सक्ने हैसियत राख्दैनन् ।

वर्तमान प्रधानमन्त्रीका सल्लाहकारहरूको हैसियतबारे कान्तिपुरमा प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘उनीहरू प्रधानमन्त्रीले हप्काउन सक्ने हैसियतका छन् ।’

देशका महत्त्वपूर्ण नीतिगत निर्णयमा सघाउनुपर्ने विज्ञसमूहहरूको शासन व्यवस्थामा यस्तो टिठलाग्दो उपस्थितिको असर प्रधानमन्त्रीहरूका निर्णय, व्यवहार र बोलीमा झल्कन्छ । यसैका कारण प्रधानमन्त्रीले लिएका निर्णयहरू केही समय पनि नटिक्ने (भर्खरै जारी/फिर्ता अध्यादेश), कामकारबाहीमा ढंग नपुग्ने (शेरबहादुर पुनलाई कारबाही) र उनका बोलीहरू (कोरोना भाइरसको प्रवचन) भ्रमपूर्ण हुने अवस्था सिर्जना भएका छन् । फलस्वरूप प्रधानमन्त्री प्रतिक्रियात्मक बन्न पुगेका छन् । उनले ठूलो त्याग र मिहिनेतले आर्जन गरेको राजनीतिक पुँजी सकिँदै गएको छ । र, निर्वाचनमा आर्जन गरेको ठूलो जनमत साँघुरिएको छ ।

रेल र पानीजहाज ल्याउने ठूला सपना देखाउँदै शासन सम्हालेको साढे दुई वर्षमा विवेक नपुगेकै कारण प्रधानमन्त्री ओली करारमा कार्यरत एउटा डाक्टरलाई सरुवा गर्नसम्म नसक्ने हैसियतमा खुम्चिएका छन् । तर विडम्बना, आफूमा भएको ‘डनिङ क्रुगर इफेक्ट’ को उपचार गर्नुको साटो परीक्षामा कम नम्बर ल्याएको विद्यार्थीले शिक्षकलाई गाली गरेजस्तो उनी स्वतन्त्र बौद्धिक लेखक, पत्रकार, सञ्चारमाध्यमहरूलाई सम्बोधनैपिच्छे गाली गरिरहेका देखिन्छन् । उनी जनतालाई सुसूचित तुल्याउने पुनजस्ता विज्ञहरूमाथि बेमौसममा कारबाहीको डन्डा बर्साएर मुख थुन्न खोज्छन् । अर्कातिर, पुनजस्ता विज्ञहरूले बोल्नुपर्ने भाइरससम्बन्धी कुराहरू आफू बोल्दै हिँड्छन् ।

प्रधानमन्त्री ओली यतिखेर नीतिनिमार्णको शीर्ष स्थानमा छन् । त्यसैले देशको समस्याप्रतिको उनको यस्तो गलत बुझाइ र त्यसको आडमा गरिने निर्णयहरूको मूल्य चर्को छ । सम्पूर्ण मानवजाति यतिखेर कोरोना भाइरससँगको लडाइँमा छ तर प्रधानमन्त्री त्योसँग जुध्ने रणनीति तय गर्नुभन्दा राजनीतिक दाउपेचमा व्यस्त छन् ।

अन्त्यमा, राष्ट्रको महत्त्वपूर्ण निर्णय गर्ने व्यक्तिहरूमा यस्तो संक्रामक रोगप्रतिको अज्ञानताको मूल्य कति महँगो पर्न सक्छ भन्ने हेर्न धेरै लामो इतिहास पल्टाउनु पर्दैन ।

दक्षिण अफ्रिकालाई हेरे पुग्छ । सन् २००० तिर त्यहाँका राष्ट्रपति तबोम्बेकीले वैज्ञानिक प्रमाण र विज्ञको सुझावलाई नकार्दै भन्थे- एड्स भाइरसले होइन, गरिबी, कुपोषण र कमजोर स्वास्थ्यका कारणले लाग्ने रोग हो ।

उनको त्यो गलत विश्वासका कारण एचआईभी रोकथामका लागि सिफारिस गरिएका औषधि र उपचारलाई रोकियो । विज्ञान रविज्ञप्रति उनको विरागले देशले ठूलोमुल्य चुकाउनुपर्‍यो । यतिखेर दक्षिण अफ्रिकालाई नेल्सन मन्डेलाको देश मात्रै भनेर चिनिँदैन, संसारमा सबभन्दा बढी एड्स संक्रमितको देश भनेर चिनिन्छ, जहाँ अहिले ७२ लाख एड्स संक्रमित छन् । त्यहाँ एड्सको महामारी बढ्नमा तबोम्बेकीको गलत विश्वास र अक्षमता प्रमुख कारण थियो । सन् २००८ मा हार्वर्ड विश्वविद्यालयले गरेको अध्ययनले भन्छ- उनले एड्सलाई विज्ञानसम्मत बुझेका भए ३ लाख मान्छेको ज्यान र ३५ हजार बालबालिकालाई एचआईभी संक्रमणबाट बचाउन सकिन्थ्यो । भविष्यमा कुनै दिन शासकहरूको यस्तो अक्षमताको मूल्य यसरी नै कुनै विदेशी विश्वविद्यालयले सगरमाथाको देशबारे पनि लेख्ला ?

कान्तिपुर दैनिक |  वैशाख १६, २०७७

कोरोना महाव्याधीमा कुसमाचार

ग्लोबल जर्नल अफ मेडिकल रिसर्च : के इन्टरडिसिप्लिनरीको डिसेम्बर २०१५ अंकमा ‘बढी कोका भएको चक्लेटले वजन घटाउँछ’ शीर्षकमा एउटा वैज्ञानिक लेख छापियो । सो शोधमा आधारित ‘स्लिम हुन चक्लेट’ शीर्षकको समाचार युरोपको सबैभन्दा बढी बिक्री हुने जर्मन ट्याब्ल्वोइड ‘विल्ड’ को पहिलो पृष्ठमा छापियो । समाचारमा भनिएको थियो– जर्मन अध्येताहरूले गरेको अनुसन्धानअनुसार शरीरको तौल घटाउन कम कार्बोहाइड्रेटयुक्त खाना खानेले दैनिक चकलेट सेवन गरे वजन १० प्रतिशतले चाँडै घट्छ । ‘राम्रो कुरा यो छ कि चकलेट सर्वत्र पाइन्छ’ सो अध्ययनका प्रमुख अध्येता जोह्नेस वानोनको भनाइ समाचारमा ‘कोट’ गरिएको थियो । समाचारअनुसार डा. वानोन इन्स्टिच्युट अफ डाइट एन्ड हेल्थका निर्देशक थिए ।

विल्डले समाचार ब्रेक गरेपछि त्यसलाई अमेरिकाको हपिंmग्टन पोस्ट, बेलायतको डेली मेल र भारतको टाइम्स अफ इन्डियालगायत सञ्चारमाध्यमले पछ्याउँदै समाचार प्रकाशित गरे । दसौँ लाखले समाचार पढे, सञ्जालमा सेयर गरे । पंक्तिकारले सो अध्ययनबारे गुगल गर्दा ३० हजार ८ सय पेज देखायो । सो अनुसन्धान छाप्ने जर्नल, समाचार बनाउने सञ्चारमाध्यम सबै साँचा थिए र अझै पनि अस्तित्वमा छन् । तर, अध्येता जोह्नेस वानोन र उनको अनुसन्धान संस्था इन्स्टिच्युट अफ डाइट एन्ड हेल्थ संसारभर कतै अस्तित्वमा थिएन । त्यो सबै एउटा योजनामुताबिकको प्रपञ्च मात्र थियो । फेक अर्थात् झुटो थियो, जसले दसौँ लाखलाई एकैपटक झुक्यायो ।

१७ मार्च २०२० कभेरी गनपथे अनुजाले कभेरी ट्विटर ह्यान्डलबाट केही फोटो राखेर यसरी ट्विट गरिन्– महाव्याधीको अकल्पनीय असर, भेनिस (इटाली) का नहरहरू सधैँभन्दा सफा छन् । माछा देखिएका छन् । पानीहाँस फर्किएको छ । इटालीमा कोभिड–१९ महाव्याधी फैलिएर त्यसले सधैँ पर्यटकले खचाखच हुने भेनिस सहरलाई लकडाउनको अवस्थामा पु-याएपछि गरिएको सो ट्विटले केही दिनमै दश लाखभन्दा बढी लाइक र करिब तीन लाख रिट्विट पायो ।

त्यसको केहीपछि अर्को व्यक्तिले भेनिसका नहरहरू सफा भएको मात्रै होइन, डल्फिनसमेत देखिन थाले भनेर भिडियो ट्विट गरे । सो फोटो र भिडियोलाई लिएर संसारभरका समाचार माध्यमले समाचार बनाए, जसमध्ये प्रसिद्ध बेलायती दैनिक गार्जियन पनि थियो । वन्यजन्तुको विषयमा विश्वसनीय मानिने नेसनल जियोग्राफिक म्यागेजिनले अनुसन्धान रिपोर्ट प्रकाशित गरेपछि थाहा लाग्यो, ती लाखौँ सेयर भएको डल्फिनको भिडियो
भेनिसको थिएन ।

झुटो समाचारको फैलावट 

अमेरिकी लेखक मार्क ट्वेनको भन्ने ठानिएको एउटा प्रसिद्ध उक्ति छ– सत्यले जुत्ता लगाउन नपाउँदै झुटले आधि संसारको फन्को मारिसकेको हुन्छ । मार्क ट्वेनले इन्टरनेट देख्न पाएनन् । फेसबुक र ट्विटर पनि चलाएनन् । तैपनि, इन्टरनेट र सामाजिक सञ्जालको जमानामा झुटो समाचार फैलने गतिको भने सही पूर्वानुुमान गरेका रहेछन् । दुई वर्षअघि गरिएको एक वैज्ञानिक अनुसन्धानका अनुसार झुटो समाचारको फैलावटको गति सत्य समाचारभन्दा कैयौँ गुणा तीव्र हुन्छ ।

साइन्स जर्नलमा सन् २०१८ मा प्रकाशित सो अनुसन्धानमा अध्येताहरूले सन् २००७ देखि २०१२ सम्म प्रकाशित र ३० लाख मान्छेले ट्विट गरेका १ लाख २६ हजार समाचारलाई केलाएका थिए । ती समाचारलाई ६ वटा सत्य जाँच्ने संस्थाले सुरुमा सत्य र झुटमा वर्गीकरण गरेका थिए र त्यसको फैलने गति (रिट्विट) को विश्लेषण गरिएको थियो । उनीहरूका अनुसार असत्य समाचार १ लाख मान्छेसम्म फैलँदा सत्य समाचार १ हजारसम्म पनि पुगेको हुँदैन । सामाजिक सञ्जाल ट्विटरमा झुटो समाचार सत्य समाचारभन्दा ७० प्रतिशत बढि रिट्विट हुन्छ । असत्य समाचार तीव्र गतिमा र धेरै मान्छेबीच फैलने मात्र होइन, त्यसले पार्ने प्रभाव पनि दीर्घकालसम्म रहने सो अनुसन्धानको निष्कर्ष थियो ।

मानव अवधानको व्यापार

यतिखेर संसारमा पौने दुई अर्ब वेबसाइट सञ्चालनमा रहेको विश्वास गरिन्छ । सूचनाको युग भनिने यो समयमा ती वेबसाइटमा विभिन्न सूचना र समाचार पाइन्छन् । सूचना विभागका अनुसार, नेपालजस्तो गरिब देशमा समेत १८ सय ४५ समाचार–वेबसाइट दर्ता छन् । त्यहाँ दर्ता नभएका कैयौँ वेबसाइट होलान् । तिनले प्रत्येक क्षणजस्तो उत्पादन गर्ने सूचना हेर्दा हामी साँच्चै सूचनाको बमबारीमा बाँचिरहेका छौँ जस्तो लाग्छ । कुनै कुराको प्रचुरताले त्यसप्रतिको वास्ता स्वाभाविक रूपमा घटाउँछ । जसरी औजार उपलब्ध हुनासाथ मान्छेले त्यसलाई प्रयोग गरिहाल्दैन, त्यसरी नै समाचार–माध्यम जन्माउँदैमा त्यसमा झुम्मिनेहरू पाइहालिन्छन् भन्ने हुँदैन । त्यसकारण जसरी आपूर्ति बढेपछि माग स्वतः घट्छ, त्यसरी नै सूचनाको बाढीले सूचनाका उपभोक्ताको माग घटाएको छ ।

यतिखेर सञ्चार–माध्यमका समाचार पढेर, फेसबुक, ट्विटर चलाएर, गुगलमा सूचना हेरेर हामीले आफ्नो समय र ध्यान त्यसलाई दिइरहेका हुन्छौँ । अर्थशास्त्रको भाषामा भन्दा सूचनाको बजारमा मानिसले आफूसँग भएको मानव अवधान (अटेन्सन) को विनिमय गरिरहेको हुन्छ उपलब्ध सूचनासँग । त्यस्तो बजारमा उत्पादित वस्तु (समाचार) को उत्पादन बढी भएपछि त्यसका उपभोक्ताको आवश्यकता पर्छ । त्यसैले यतिखेर सूचना होइन, त्यसलाई उपभोग गर्ने मान्छे वा बजारको खाँचो छ ।

सूचना र समाचारको समृद्धिले अवधानको अभाव निम्त्याएपछि मानिसको ध्यान खिचिराख्नु चुनौतीपूर्ण हुँदै गएको छ । त्यसैले मानव अवधान (अटेन्सन) लाई अहिलेको शताब्दीको सबैभन्दा दुर्लभ तर अमूल्य उपभोग्य वस्तु (कमोडिटी) मानिन्छ । त्यस्तो उपभोग्य वस्तुलाई मुद्रीकरण (मनिटाइज) गरेर सूचनाका उत्पादक र व्यवस्थापकले अकुत नाफा कमाइरहेका छन् । त्यही नाफाका लागि मानव अवधानका व्यापारीले झुट, अर्धसत्य, प्रपोगान्डाको सहारा लिएका हुन्छन् ।

कुसमाचारको पासो

उल्लिखित चकलेटको अनुसन्धानदेखि भेनिसको नहरमा डल्फिन आएकोसम्म र यतिखेर भाइरल भइरहेको इटालीको प्रमले आत्मसमर्पण गरेकोदेखि पुटिनले सडकमा सिंह छाडेकोसम्मका समाचारमा ठूलो समानता छ । ती समाचार मूलधारमा दिइने समाचारभन्दा पृथक् छन् । त्यसमा नवीनता छ । नयाँ र फरक कुराले मान्छेको भावनालाई चाँडै उद्वेलित गराउने तागत राख्छन्, जसको कारण त्यस्ता समाचार क्षणभरमा फैलन्छन् वा अहिलेको प्रचलित भाषामा भन्दा ‘भाइरल’ हुन्छ ।

नयाँ र फरक विषयले मान्छेको भावनालाई चाँडै उद्वेलित गराउने तागत राख्ने हुनाले कुसमाचार क्षणभरमा फैलन्छन् वा अहिलेको प्रचलित भाषामा भन्दा ‘भाइरल’ हुन्छन् ।

वैज्ञानिकहरूका अनुसार त्यस्तो नयाँ सूचनासँगको हाम्रो प्रेम मानव उत्पत्तिसँग जोडिएको छ । नयाँ सूचनाले हामीलाई निर्णय गर्न सघाउँछ । बसिरहेको कुर्सीको खुट्टामा सर्प भएको थाहा पाउनासाथ त्यसले हामीलाई तुरुन्तै भाग्ने निर्णय गर्न सघाउँछ । हामीले त्यस्तो निमेषभरमै निर्णय गर्ने क्षमता विकासक्रममा बाँच्नका लागि हासिल गरेको एउटा गुण हो ।

स्नायु अध्येताका अनुसार, मानिसको दिमागको एक भागले नवीन कुरालाई तुरुन्तै विश्लेषण गर्ने क्षमता राख्छ । त्यसकारण नयाँ कुरा, चाहे त्यो हामी जंगली अवस्थामा हुँदा अफ्रिकाको जंगलमा नयाँ जनावर देखेर भाग्दाको अवस्थामा होस् या कम्प्युटरको स्क्रिनमा देखिएको नयाँ सूचनामा होस्, त्यसले दिमागको त्यस्तो भागलाई निमेषमै उद्वेलित गराउँछ र दिमागमै रहेको अर्को विवेकपूर्ण क्षमता भएको भागलाई छायामा पार्छ । दिमागको यस्तो बनोटले गर्दा हामी त्यस्तो समाचार साँचो, झुटो नछुट्याई तुरुन्तै सेयर गरिहाल्ने निर्णय गरिहाल्छौँ । यो प्रक्रिया एकदमै चाँडो हुन्छ । त्यसो त मानव मस्तिष्कले शरीरको ऊर्जा कम खपत गर्न पनि निर्णय गर्दा सोचेर विचार गरेर गर्नेभन्दा यस्ता छोटा बाटाहरू बनाएको हुन्छ ।

दोस्रो, नवीन कुरा थाहा पाएर आफ्नो कविला वा झुन्डमा सेयर गर्दा अफ्रिकाको जंगलमा बसेको मानिसले समाजबाट एक किसिमको पुरस्कार पाउँथ्यो । जानकार रहेछ भन्ने हिसाबले अन्य सदस्यले हेर्थे । त्यसकारण सामाजिक प्राणी मानिसले त्यस्तो कुरा आफ्ना वरिपरि सेयर गर्न मन पराउँछ । यतिखेर त्यस्तो नयाँ कुरा सेयर गर्दा फेसबुकमा लाइक, कमेन्ट र सेयर पाउँछ, जसले उसको दिमागको डोपोमिन (खुसी पार्ने हर्मोन) लाई बढाउँछ । त्यसकारण मानिस नयाँ र फरक कुरा देख्नासाथ सेयर गरिहाल्छन् ।

तेस्रो, मानिसमा आफू र आफ्नाले गरेको कुरा ठीक भन्ने पूर्वाग्रह हुन्छ । चुरोट खाने मान्छेले आफूले चुरोट खाएको राम्रो भन्न समाजमा चुरोट खाएर बढी वर्ष बाँचेको मान्छेको उदाहरण दिइरहेको हुन्छ । जब कि त्यस्तो उदाहरण अपवाद हुन् भन्ने उसले बिर्सेको हुन्छ । मानिसमा आफ्नाले भनेको ठीक हो भन्ने गुणको साइनो पनि प्राचीन नै हो । अफ्रिकाको जंगलमा १०, १२ जनाको झुन्डमा बसेका वेला झुन्डका सदस्यको कुरा नमान्दा आफ्नो ज्यानका लागि खतरा हुन सक्थ्यो । हामीले अझै पनि त्यो गुणलाई फाल्न सकेका छैनौँ । यस्तो गुणका कारण विश्वास, विचारलाई अरूले चुनौती नदेओस् भनेर मान्छेले आफूलाई मनपर्ने विचारका, उस्तै आस्था बोकेका मान्छेको झुन्ड बनाएर बस्छ, चाहे त्यो छरछिमेकमा होस्, फेसबुक या ट्विटर नै किन नहोस् ।

अफ्रिकाको जंगलमा बस्दाको त्यो प्राचीन गुणलाई फेसबुक र ट्विरका एल्गोरिदमले झनै बढाएका हुन्छन् । ती एल्गोरिदमले मान्छेको रुचि लाइक, कमेन्ट र सेयरका आधारमा चिनेर उसको रुचिअनुसारका सामग्री बारम्बार देखाउँछन् । भनिन्छ, फेसबुकमा गरिएको १५० लाइकको विश्लेषण फेसबुकले मान्छेलाई उसको श्रीमान् या श्रीमतीले भन्दा बढी र ३०० लाइकको विश्लेषणले मान्छेले आफूले आफूलाई बुझेको भन्दा बढी बुझेको हुन्छ । त्यसरी मान्छेको आस्था, विचार र सोच बुझेको फेसबुकले ऊसँग मिल्ने उस्तै सूचनाको बमबारी टाइमलाइनमा पठाएर मान्छेलाई एकपछि अर्का त्यस्तै पोस्टको सेयर गर्ने एकांकी र मुर्ख बनाउँछ । अर्को अध्ययनअनुसार पूर्वाग्रही मान्छे असत्य वा कुसमाचारको जालोमा पर्ने जोखिम बढी हुन्छ ।

अन्त्यमा, अहिले चल्तीमा आएको जोडी शब्द ‘फेक न्युज’को न्वारन इबोला महामारीका वेला गरिएको थियो । यसको न्वारन गर्ने पण्डित बजफिडका सम्पादक क्रेग सिल्भरम्यानको परिभाषामा फेक न्युज नाफाका लागि उत्पादित पूर्ण रूपमा गलत सूचना हो । यस्तै संकटका वेला लिइने निर्णयका लागि मानिस नयाँ सूचनाको खोजीमा अधैर्य भएका हुन्छन् । कुसमाचारका बानियाँहरूले यसलाई मौकाका रूपमा लिन्छन् । अतिरञ्जना, भावनात्मक र आत्मपरक सूचनाहरूले मान्छेको अवधान लुटेर नाफा कमाउन खोज्छन् । त्यसैले लकडाउनको यस मौकामा कोरोनाबाट मात्रै होइन, कुसमाचारको भाइरसबाट पनि बचौँ ।

नयाँ पत्रिका दैनिक । २०७६ चैत १४ शुक्रबार

संक्रामक रोग र जलवायु परिवर्तनबीच पक्कै सम्बन्ध छ : उत्तमबाबु श्रेष्ठ [अन्तर्वार्ता]

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमएस्सी, अमेरिकाको नर्थस्टर्न विश्वविद्यालयबाट भौगोलिक सूचना प्रविधिमा मास्टर्स र युनिभर्सिटी अफ म्यासेचुसेट्सबाट वातावरण विज्ञानमा पिएचडी गरेका उत्तमबाबु श्रेष्ठ ६ बर्षयता अष्ट्रेलियाको एक विश्वविद्यालयमा रिसर्च फेलो र सिनियर रिसर्च फेलोको रुपमा काम गर्दै थिए। त्यसलाई छोडेर नेपालमा नै स्थायी रुपमा बस्ने गरेर पाँच हप्ताअघि नेपाल फर्किएका हुन्।

श्रेष्ठसँग उनको क्वारेन्टाइन दैनिकी, वातावरण विनाश, जलवायु परिवर्तन र रोगहरुको सम्बन्धबारे नेपाल लाइभका लागि प्रजु पन्तले गरेको कुराकानीः

लकडाउनमा दिनहरु कसरी बित्दैछन्?
घरमा नै बसेर लेख्ने, पढ्ने, बच्चाहरुसँग खेल्ने र अनुसन्धानका कामहरु गरिरहेको छु। कोरोनालाई रोकथामको लागि संसारभर लकडाउन हुन थालेपछि विश्वका ४० प्रमुख सहरहरुको लकडाउनले वायु प्रदुषणको अवस्थामा कस्तो फेरबदल ल्यायो भन्ने एउटा अनुसन्धान सकायौं। त्यसको नतिजा प्रकाशोन्मुख छ।

त्यसको लागि हाम्रो संस्थाका तीन जना र अष्ट्रेलिया र जर्मनीका तीन जना अनुसन्धानकर्ताले तीन हप्तायता लगभग २४ सै घन्टा पालैपालो काम गर्‍यौं।

कस्ताकस्ता पुस्तकहरु पढिरहनुभएको छ?
यस्तो घरै बस्न पाएको समयमा पनि एउटा दूर्भाग्य हो कि यतिखेर मैले अनुसन्धान बाहेकका अन्य रुचीका किताबहरु पढ्ने मौका मिलेको छैन। कोभिड—१९ सुरु भएपछि हामीले आफ्नो ठाँउबाट यसै सम्बन्धी र हाम्रो विषयका अनुसन्धानका विषयवस्तुहरुको खोजी गर्न लाग्यौं र त्यसतर्फ ध्यान केन्द्रित गर्न थाल्यौं।

म जनस्वास्थ्यको विषयको अध्येता नभए पनि जनस्वास्थ्यसँग जोडिएका थुप्रै आयामहरुमा अनुसन्धान गर्न सकिन्छ कि भनेर हेर्न थालें। लकडाउन र वायु प्रदुषणको अनुसन्धानले पनि समय खायो। अखबारी लेखनले थप व्यस्त बनायो। तर लेख लेख्ने क्रममा David Quammen को पुस्तक Spillover: Animal Infections and the Next Human Pandemic पढियो। वन्यजन्तुबाट मानिसमा सर्ने रोगका बारेमा लेखिएको पुस्तक यतिखेर धेरै सान्दर्भिक छ।

लामो समय विदेशमा बसेर किन यतिबेला नेपाल फर्किनुभयो?
विदेशिने सबैमा स्वदेश फर्कने अतृप्त चाहना हुँदोरहेछ तर कतिले त्यसलाई व्यवहारमा रुपान्तरण गर्छन्, कतिले गर्दैनन्। म त्यो चाहनालाई व्यवहारमा उर्तानसक्ने थोरै भाग्यमानीहरु मध्येमा परें। पारिवारिक कारण र आफ्नो रुचीले (बुढेसकालमा किन पहिल्यै नेपाल नफर्किए हुँला भनेर नपछुताउन) नेपाल फर्किए।

तर एक हिसाबले भन्दा म विदेशमा छु जस्तो खासै लाग्दैन थियो। किनभने १५ बर्ष विदेश बस्दा लगभग बर्षैपिच्छे नेपाल आइरहें। विदेशमा कमाएर उतै कर तिरे पनि मेरो अनुसन्धानका विषयहरु नेपालसँग नै सम्बन्धित थियो। यतिखेर नेपाल फर्किए पनि काम हिजो गरेको जस्तै गर्ने हो। यहाँ आइसकेपछि काम गर्नको लागि भनेर पोहर म जस्तै विदेशमा पढेर फर्किएकाहरु मिलेर खोलेको अनुसन्धान संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिज’को डाइरेक्टरको रुपमा हाल कार्यरत छु।

यस संस्थामा हाल १५ जना रिसर्च फेलोहरु जोडिनुभएको छ। हामीले बहुविधागत (multi-disciplinary) र अन्तरविधागत (interdisciplinary) अनुसन्धानहरुलाई नेपालमा बढाउने र अन्तरविधागत विज्ञान जस्तै सस्टेनेविलिटि साइन्स (sustainability science) को क्षेत्रमा नयाँ पुस्ताका अगुवाहरु जन्माउने र हुर्काउने उद्देश्य राखेका छौं।

मेरो चाहना नेपालमा अन्तर्राष्ट्रियस्तरको विश्वसनीय अनुसन्धान संस्थाहरु होस् जसले अन्तर्राष्ट्रिय समस्या र विश्वस्तरको अनुसन्धान गरेर ज्ञान उत्पादनमा भूमिका खेल्न सकोस् भन्ने छ। हामीले खोलेको संस्था पनि त्यस्तैमा परिदेओस् भन्ने अपेक्षा छ। स्थापनाको एकबर्ष भित्र नै यस संस्थामा कार्यरत हामीहरुले विश्वप्रसिद्ध जर्नलहरु साइन्स, नेचर जस्ता प्रकाशनहरुमा आफ्नो अनुसन्धानहरु प्रकाशित गर्न सफल भएका छौं।

विश्वस्तरका अनुसन्धान कोषहरुमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल भएर अनुसन्धान सहायताहरु जुटाउन सफल पनि भएका छौं। भर्खरै लकडाउनपछिको विश्वभरको वायु प्रदुषणको अवस्था हेर्ने सानै भएता पनि विश्वस्तरको अनुसन्धानको काम सकायौं। समग्रमा अहिलेसम्मको यात्रामा यसमा संलग्न साथीहरुको रुची, लगाब र स्वंयसेवी भावनाबाट र यस बाहिरका मानिसहरुबाट पाएको सल्लाह, सुझाब र प्रतिक्रियाबाट उत्साहित छु र भविष्यप्रति आशावादी पनि।

तपाई लामो समय अध्ययन अनुसन्धानको लागि विदेश बस्नुभयो। त्यसको लागि त यहाँभन्दा बाहिरै सुविधा हुन्थ्यो होला नि, होइन?
अनुसन्धानको लागि चाहिने आर्थिक, उपकरण, पुस्तकालय लगायतका स्रोत सामाग्रीहरुको उपलब्धता, अध्येताहरु बीचको नेटवर्क, सिनियर अध्येताहरुले दिने प्रवचनहरुमा सामेल हुन पाइने जस्ता विविध कारणहरुले गर्दा नेपालमा भन्दा अनुसन्धानको लागि विदेशमा सहजता हुन्छ। साथै, विदेशमा संलग्न संस्थाको विश्वसनीयता, जसले अनुसन्धानको लागि चाहिने सहयोग जुटाउनको लागि मद्त पनि गर्दछ।

तथापी, हामीले गर्न लागेको अनुसन्धानको लागि ठूला, महंगा उपकरण तत्कालै आवश्यक पर्दैनन्। ठूला तथ्यांकहरु विश्लेषण गर्न परे त्यस्ता कम्प्युटरहरु भाडामा लिन पनि सकिन्छ। त्यसकारण नेपालमा बसेर पनि मैले यसअघि विदेशमा हुँदा गरिरहेका कामहरुलाई बढाउन सकिन्छ जस्तो लाग्यो र त्यसको लागि प्रयास त गरौं भनेर कम्फोर्ट ट्रयापबाट बाहिर निस्कने कोसिस गरेको हो। हेरौं कतिसम्म सकिन्छ।

अमेरिकी सहरहरुमा गरिएको पछिल्लो अनुसन्धानले वायु प्रदुषण बढी भएका ठाँउमा कोरोना भाइरसबाट मर्ने दर पनि उच्च पाइएको देखिएको छ।

कतिपय मान्छेहरुले कोरोना महामारीलाई प्रकृतिले मानव जातिलाई लिएको बदला पनि भनिरारहेका छन्। तपाईंले हालसालै विभिन्न पत्रपत्रिकामा वन्यजन्तु र प्रकृतिसँगको हाम्रो सम्बन्धको बिग्रेकोले महामारी फैलिएको भन्ने कोणबाट लेखहरु पनि लेख्नुभयो। के प्रकृतिले मानवजातिलाई बदला लिएकै हो त? 
मलाई पृथ्वीले बदला लिन्छ जस्तो लाग्दैन। पृथ्वी कुनै दैविक शक्ति होइन, बदला लिनको लागि। यो एउटा ग्रह हो, जहाँको वातावरणको कारण जीवन सम्भव भयो। पृथ्वीको लागि नदेखिने भाइरस, ब्याक्टेरियादेखि मानिससम्मको सबै जीवन उस्तै हो। प्रकृतिको त को आफ्नो, को पराई? को ठूलो को सानो? बलियो—निर्धा सबै समान। मानव जाति पनि त्यसको अपवाद होइन।

प्रकृतिमा सबैलाई लाग्ने एउटा नियम छ, जसलाई हामी प्रकृति छनौटको सिद्धान्त भन्छौं। त्यो भनेको प्रकृति प्रदत्त रुपमा जन्मने, बाँच्ने र आफ्नो अनुवंश प्रसारण गर्ने क्रमको संघर्ष, आफ्नै प्रजाति र अन्य प्रजातिका बीचमा। यस पृथ्वीमा रहेका मानिस लगायतका वनस्पति, जनावर, ब्याक्टेरिया, भाइरसले सबैले गर्ने त्यही हो, अर्थात् जन्मने, बाँच्ने र आफ्नो अनुवंश प्रसारण गर्ने हो।

हामीले ब्याक्टेरियाबाट बच्न एन्टिबायोटिक बनायौं। ब्याक्टेरियाले एन्टिबायोटिकले नमर्ने अनुवंशको विकास गर्‍यो। यी सबै बाँच्ने र आफ्नो अनुवंश प्रसारण गर्ने आआफ्नो तरिका वा कला हो। त्यसकारण विहंगम प्रकृतिको दृष्टिकोणबाट हेर्ने हो भने, अहिलेको कोरोना भाइरसले हामी मानिसले जे गरिरहेका छौं, त्यहि गरेको छ— जन्मने, बाँच्ने र फैलने। मनुष्यको कोणबाट पो यो महामारी, हानिकारक, नराम्रो, बिषाणु आदि इत्यादि। प्रकृतिको लागि त यसमा असल—खराब, राम्रो—नराम्रो के छ र?

जहाँसम्म हाम्रो र प्रकृतिसँगको सम्बन्धको कुरा छ, हामी स्वस्थ हुनको लागि बस्ने घर स्वास्थ्य हुन पर्दछ। तर, औद्योगिक क्रान्तिपछि विशेष गरेर विगत ५० वर्षयता हाम्रो साझा घर पृथ्वीको स्वास्थ्य बिग्रिएको छ। मानिसको कारण पृथ्वीको जैविक अजैविक संरचनामा व्यापक परिवर्तन भएको छ।

मानिससँग दोस्ती राख्ने र उसलाई राम्रो लाग्ने बाहेकका जंगल, जल, जलचर, जीवजन्तु घटेका छन्। हामीले उत्पादन गरेका विकारहरु प्लाष्टिक, हरितगृह ग्यास बढेका छन्। हाम्रै कारण यहाँ निकै छोटो समयमा मौसम परिवर्तन भएको छ। त्यसैले पृथ्वीको जुन प्राकृतिक क्षमता छ, जसमा हाम्रो खाना, औषधि, औद्यागिक कच्चा पदार्थका साथै स्वच्छ पानी, सफा हावा र प्रकोपसँग जुद्ने क्षमतासम्म निर्भर छ, त्यो बिग्रेको छ। त्यस क्षमतामा ह्रास आएको छ।

एक अर्थमा भन्दा हामीले लटरम्म फलेको रुखको फेदलाई हल्लाएका छौं र त्यसबाट थुप्रै फल झरेको छ, त्यो फल कस्तो हुन्छ? त्यसले के हुन्छ भन्ने निकै कम जानकारी हामीलाई छ। हामीसँग भएको जानकारीले विश्वमा ६० प्रतिशत संक्रमण रोग र ७५ प्रतिशत नयाँ बिषाणुको उत्पत्ति स्रोत जंगली जनावरहरु हुन् भन्छ।

पछिल्लो पटक देखिएका महामारी इबोला, मर्स, सार्स, एड्सदेखि नेपालमा धेरै मानिसहरुको लाग्ने रेबिज, इन्फ्लुन्जा, डेंगीको स्रोत पनि जनावर नै हो। यस्ता रोगहरुको संख्या र यसले पार्ने असरको मात्रा बढ्दो छ।

वन्यजन्तुबाट मानिसमा रोग सर्ने के कारणले भइरहेको छ त?
एउटा त माथि नै भनियो। हामीले पृथ्वी नामक रुख हल्लायौं। दोश्रो, वन्यजन्तुसँगको हाम्रो सामिप्यता बढ्यो। तेश्रो, हाम्रो बसाई, व्यापार, यात्रा सबैमा सघनता आयो, जसलाई हामी भूमण्डलीकरण पनि भन्छौं। त्यसको कारण मानिसहरुको संयुक्तता बढ्यो, जसले गर्दा रोग चाँडै फैलने वातावरण बन्न पुग्यो।

यतिखेर विचित्र (एक्जोटिक) का जंगल जनावरहरु प्रयोगशालामा अनुसन्धानको लागि, घरपालुवा साथी (पेट) को रुपमा वा खानाको रुपमा हामीसँग नजिकिने वातावरण बनेको छ। सन् १९३२ ताका न्यूयोर्क विश्वविद्यालयमा पोलियो खोपको बाँदरमाथि अनुसन्धान गर्ने क्रममा बाँदरले टोकेर हप्र्स वि भन्ने भाइरस अनुसन्धानकर्तालाई सर्‍यो। त्यस्तै घरमा पालेको सुगाबाट सिटकोसिस (सुगाज्वर), घोडाबाट हेन्ड्रा भाइरस सरे। संसारमा मानिसलाई लामो समय दुःख दिएको प्लेग मुसाबाट सरेको हो।

जंगली जनावारको मासु खाँदा सरेको भनिएको इबोला र चिम्पान्जीसँगको सम्पर्कबाट सरेको भनिएको एड्स त्यसका केही उदाहरण हुन्। त्यसकारण हामीलाई कम जानकारी भएका यस्ता जनावरको किनबेच, मासु खाने, पाल्ने गर्दा उनीहरुको भाइरस हामीमा सर्ने वातावरण बन्यो। अर्को मानिसहरु वनजंगल फडानी गरेर वन्यजन्तुको नजिकै गएर बस्न जान थाले।

ब्राजिलको एम्याजोन क्षेत्रमा १३ बर्षको तथ्यांक केलाएर गरिएको अनुसन्धानले वन फडानीसँगै संक्रमण रोग पनि बढ्ने देखाएको थियो। वनको नजिकै भएका समुदायमा लामखुट्टेबाट सर्ने रोगहरु बढी मात्रामा पाइएको थियो। यस्ता विविध मानवीय गतिविधिका कारण यसअघि कहिले नदेखिएको मानव—वन्यजन्तुको सामिप्यता रोग सर्ने पुल बनेको अनुसन्धानहरुले देखाएका छन्। पछिल्लो समयमा देखिएका महामारी सार्स, मर्स र कोभिड १९ को स्रोत चीनको आलो मासु बजार भएको भन्ने देखिनु त्यसको एउटा ठूलो प्रमाण हो।

त्यतिमात्रै होइन अमेरिकी सहरहरुमा गरिएको पछिल्लो अनुसन्धानले वायु प्रदुषण बढी भएका ठाँउमा कोरोना भाइरसबाट मर्ने दर पनि उच्च पाइएको देखिएको छ। त्यसले रोग लाग्न नदिन मात्रै होइन, रोग लागेपछि बच्न पनि स्वास्थ्य वातावरण हुन जरुरी छ भन्ने देखाँउछ।

विनाश नभई विकास हुँदैन भन्ने मानसिकताले विकासको नाममा हामीले विगतको ५० बर्षमा बागमती नदीमात्रै होइन, त्यहाँको सभ्यता, पहिचान, त्यहाँको जलचर सबैको विनाश गर्‍यौं। अब बागमतीलाई पुरानो अवस्थामा फर्काउन भनेर विभिन्न आयोजनाहरुमा कति खर्च लागेको छ भन्नुस् त?

वन्यजन्तुको सामिप्यता र प्रकृतिको विनास बाहेक जलवायु परिवर्तनसँग यस्ता महामारीको के सम्बन्ध छ?
वायु प्रदुषण जुन जलवायु परिवर्तनको कारक पनि हो, त्यसले कोरोनाबाट मृत्यु बढाउने कुरा बाहेक अहिले कोरोना भाइरससँग जलवायु परिवर्तनको सम्बन्धको बारेमा त खासै जानकारी भएको छैन। त्यस सम्बन्धी कुराहरु पढ्न पाएको छैन। यसका अनुसन्धानहरु भइरहेका पनि होलान्। तर संक्रमण रोग र जलवायु परिवर्तनको पक्कै सम्बन्ध छ। त्यसको सबैभन्दा राम्रो उदाहरण त औलो वा डेंगी हो।

जलवायू परिवर्तनको कारण लामखुट्टे केही दशक पहिला नपाइने उच्च हिमाली क्षेत्रमा पनि पाइन थालेका छन्। लामखुट्टेसँगै त्यस्ता ठाँउहरुमा लामखुट्टेबाट सर्ने रोगहरु पनि बढेको छन्। त्यसकारण जलवायु परिवर्तनसँग संक्रमण रोगको फैलाहट पनि बढेको देखिन्छ। त्यस्तै मिचाह प्रजातिका वनस्पति र जनावर पनि जलवायु परिवर्तनसँग फैलिएका छन्। तर पनि यो क्षेत्र अझै बढि अनुसन्धान गर्नुपर्ने क्षेत्र हो।

जलवायु परिवर्तनले ल्याउने जोखिममा पर्ने देशहरुमध्ये नेपाल उच्च स्थानमा छ। यसको अहिले प्रभाव कस्तो छ र भविष्यमा कस्तो संकटहरु ल्याउने देख्नुहुन्छ?
मुख्यतः जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा (कम उब्जाउ हुने, बालीनाली नफल्ने, किरा र रोगको प्रकोप बढ्ने), खडेरीको कारण पानीको समस्या, अतिवृष्टिले गर्दा बाढी, पहिरो जाने जसले गर्दा मानवीय जीवन, भौतिक पूर्वाधारमा क्षति पुग्ने। वन, वातावरणमा जलवायु परिवर्तनको कारण विभिन्न प्रजातिका जीवजन्तुहरु लोप हुने र मानव स्वास्थ्यलाई प्रभाव पार्ने आदि हुन्।

हामीले गरेका अनुसन्धानहरुमा जुन मोडलिङमा आधारित थिए, त्यसले पनि जलवायु परिर्वतनको कारण भविष्यमा महत्वपूर्ण वनस्पतिहरु लोप हुनसक्ने तर मिचाहा प्रजातिहरु बढ्ने देखाएका छन्। यिनै समस्याहरुको कारण मानिसहरु बसाई सर्न बाध्य हुने, थप गरिब हुने आदि छन् र समग्रमा यसले हाम्रो आर्थिक सामाजिक वातावरणीय अवस्थालाई असर पुर्‍याउनेछ।

कतिपय कुराहरु देखिइसकेका छन्। कति हामीलाई थाहै नभई परिवर्तन भइरहेका होलान्। तर जलवायु परिवर्तनसँग जोडिएका कतिपय जोखिम हामीले बुझ्न बाँकी नै छ। यस सम्बन्धि धेरै हल्लाखल्ला भएतापनि अलि विश्वसनिय संश्लेषण हुन बाँकी छ जुन जरुरी छ।

हामीले यत्रो ठूलो आयोजना बनाउँदै छौं तर यसका बारेमा उठेका विविध सवालहरुलाई जवाफ दिंदा र त्यसलाई सम्बोधन गर्दा आयोजनालाई फाइदा नै हुन्छ तर विकास विरोधी भनिदियो, प्रश्नको जवाफ दिन पनि परेन।

नेपालमा एउटा भनाई नै छ- विनाश नगरी विकास आउन्न। साँच्चै यस्तो हो?
तपाईंले विनाश भनेर वातावरण विनाश भन्न खोज्नुभएको होला। नेपाल र सम्भवत संसारभर पनि आर्थिक विकास र वातावरणलाई एक अर्काको विरोधीको रुपमा प्रस्तुत गर्ने एउटा दृष्टिकोण छ, जुन आफैंमा घातक छ।

मेरो बुझाईमा यी दुवै एक अर्काका परिपुरक हुन्। वास्तवमा वातावरण मानव विकासको बाधक होइन, सहयोगी हो। हाम्रो खाना, नाना, औषधि, उद्योगका कच्चा पदार्थ, हावा, पानी सबैको स्रोत वातावरण हो भने यो मानव प्रगतिको बाधक कि साधक?

तर विद्यमानको आर्थिक प्रणालीले श्रम र पुँजीको योगदानमात्रै गणना गर्दछ, आर्थिक वृद्धिलाई मात्रै विकास मान्छ। तर यो फेरिएको छ। दिगो विकासको लक्ष्य हेर्दा पनि थाह हुन्छ विकास भनेको बहुआयामिक कुरा हो भनेर। तथापि चलिआएको आर्थिक प्रणालीले अर्थतन्त्रमा टेवा पुर्‍याउने जल, जमिन, जंगल, जीवजन्तु, हावाको प्रत्यक्ष अप्रत्यक्ष योगदानको गणना गर्दैन। किनभने ती सम्पदाहरु कसैको निजी होइन, सबैको सार्वजनिक सम्पत्ति हो।

तपाईंसँग केही छैन भने बाँच्नको लागि के गर्नु हुन्छ? जंगलको कन्दमुल, फलफूल, नदीको माछा मार्ने त हो किनभने त्यो गर्दा तपाईंलाई कसैले रोकतोक गर्दैन नि। त्यस्ता प्रकृतिका सेवा सुविधाको वा योगदानको हिसाब निकाल्न पनि चुनौतिपूर्ण नै छ। थप उद्योगबाट उत्सर्जित हुने प्लाष्टिक, दुषित पानी, ग्यास जस्ता विकारहरु, जसले वातावरण र मानव स्वास्थ्यलाई नकारात्मक प्रभाव परिरहेको हुन्छ। त्यस्तो घाटाको हिसाब न त कम्पनीले राखेको हुन्छ न त राज्यले गरेको छ।

औद्योगिक विकारको वातावरणमा परेको असरको हिसाब त परै जाओस्, प्रदुषणले जनस्वास्थ्यमा पार्ने असर र त्यसको आर्थिक भारका हिसाब समेत पनि अहिलेको तपाईंले भन्नुभएको विकासको वासलातमा जोडिएको हुँदैन। यस्तो मोडल तात्कालीन रुपमा फाइदाजनक जस्तो देखिए पनि दीर्घकालिन रुपमा घाटाको मोडल हो।

उदाहरणको लागि विनाश नभई विकास हुँदैन भन्ने मानसिकताले विकासको नाममा हामीले विगतको ५० बर्षमा बागमती नदीमात्रै होइन, त्यहाँको सभ्यता, पहिचान, त्यहाँको जलचर सबैको विनाश गर्‍यौं। अब बागमतीलाई पुरानो अवस्थामा फर्काउन भनेर विभिन्न आयोजनाहरुमा कति खर्च लागेको छ भन्नुस् त? सुरुमा नै विकासको मोडल बनाउँदा बागमतीको स्वास्थ्य पनि जोडिने दृष्टिकोण बनाएको भए, यसका सकारात्मक र नकारात्मक प्रभावलाई मिहिन ढंगले केलाएको भए विनाश हुँदैन थियो।

त्यसको लागि विकासप्रतिको बुझाइलाई अग्ला भवन, चौडा सडक, भीमकाय संरचना मात्रै हो भन्ने साँगुरो दृष्टिकोणबाट बाहिर निकाल्न जरुरी छ। जब विकासको परिभाषालाई हामीले फराकिलो बनाउन थाल्दछौं, हामीले विनाश नगरी कसरी विकास हुन्छ भनेर भन्न छोड्छौं।

विकास र वातावरणीय विनासको कुरा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा पनि बहसमा आएको थियो। लाखौँ रुखहरु काटिन्छन् भनेर यसको विरोध पनि भइरहेको छ। यस्ता कुराले त प्रत्येक आयोजना नबढ्ने भयो त?
मेरो बुझाई अनुसार, निजगढको एकतर्फी नबनाउने भनेर कसैले पनि विरोध गरेका छैनन्। म आफू विभिन्न देशका साठीभन्दा बढी अन्तर्राष्ट्रिय एयरपोर्टहरु देखेको छु, पुगेको छु। नेपाललाई अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट चाहिन्छ र बनाउनुपर्छ भन्ने कुरामा मेरो असहमति छैन। वातावरणको पक्षमा तर्क गर्नेहरुले निजगढको लाभ हानीको कुरा गर्दा जसरी यसले यथास्थितिमा वातावरणीय हानीको पक्षलाई बेवास्ता गरिएको छ, त्यसलाई लाभहानीको हिसाबमा समेट्न पर्‍यो र त्यसको आधारमा विकल्पका ठाउँ र उपाय खोज्न सुझाएका हुन्।

तर यो निर्विकल्प हो भन्दै रुख काट्न हतारो गरेपछि बहस गर्ने ठाँउ नै भएन। मानिलिऔं, यसको विकल्पमा अन्य ठाँउमा, नभए कमभन्दा कम वातावरणीय, सामाजिक क्षति कसरी पुराउने भन्ने उपायको खोजी दोस्रो पक्ष हो। त्यसमा यसले पुर्‍याएको वातावरणीय क्षतिलाई अन्यत्र अपसेटिङ (यसको हानीलाई अर्को ठाँउबाट पूरा गर्ने) कुरा पनि पर्दछ।

यसलाई वातावरणमैत्री हिसाबले निर्माण गर्ने कुरा पनि हो। ठूलो घना जंगल मासेर बनाएपछि त्यसको नतिजास्वरुप जलजन्य प्रकोपबाट यति ठूलो लगानीको प्रोजेक्ट कसरी बचाउने भन्ने प्रश्न पनि हो। जुन नाजायज प्रश्नहरु होइन। हामीले यत्रो ठूलो आयोजना बनाउँदै छौं तर यसका बारेमा उठेका विविध सवालहरुलाई जवाफ दिंदा र त्यसलाई सम्बोधन गर्दा आयोजनालाई फाइदा नै हुन्छ तर विकास विरोधी भनिदियो, प्रश्नको जवाफ दिन पनि परेन।

रुख काटौं, भोलि बन्ला नबन्ला देखा जाएगा भन्ने सोचले आयोजना बढाएर हुन्छ? यस्तो हचुवा पारा हाम्रो विकासको हरेक आयोजनामा देख्न सकिन्छ। एयरपोर्टकै कुरा गर्दा बन्दै गरेको गौतमबुद्ध विमानस्थलको सुरुको डिजाइनमा विमानस्थलको गेटबाट प्लेनको ढोकासम्म सिधै पुग्ने प्यासेन्जर बोर्डिङ ब्रिज पनि रहेनछ।

त्यसको लागि बजेट बढाइएको समाचार पढ्दा म आश्चर्यमा परें। हरे! हामी कुन शताब्दीमा एयरपोर्ट बनाउँदै छौं जस्तो लाग्यो। त्यस्ता पूर्वाधार निर्माण देखिने अल्पकालीन सोच हामीले बनाएका आकाशे पुलदेखि सडक सबैमा देखिन्छ। दुई तीन दशक अघि बागमती जोगाऔं भन्ने मान्छेहरुलाई यस्तै विकास विरोधी बिल्ला भिराइन्थ्यो। त्यतिबेला सामाजिक सन्जाल नभएकोले त्यो आवाज कम सुनिन्थ्यो। अहिलेको अवस्था तपाईंले देख्नुभएकै छ।

काठमाडौंको सडक धुलाम्मे पार्ने ठेकदारलाई धुलो उडाएको भनेर कतै कारबाही भएको मैले सुनेको छैन। जबकि त्यो धुलोको कारण हजारौं मान्छे मरेका छन्, दिर्घरोगी बनेका छन्। समाजलाई ठूलो आर्थिक र जनस्वास्थ्यको भार बोकाएको छ। त्यसलाई कारबाही गर्न थाल्ने भने प्रदुषण घट्थ्यो। धुलो नउडाइकन बाटो बनाउन सकिन्छ त। अन्यत्र गरिरहेका छन्।

त्यसो भए वातावरण विनाश बिना पनि विकास सम्भव छ? 
यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। मलाई त्यस्तो सम्भावना छ जस्तो लाग्छ। मानव जातिको बृहत्तर भलाईको लागि पनि त्यस्तो आर्थिक प्रणालीको खोजी हुन आवश्यक छ जस्तो लाग्दछ। हरेक चिजको सीमाना भएजस्तै पृथ्वीको पनि छ। प्रयोगशालामा एउटा पेट्री डिस (सानो सिसाको भाँडो) मा पानी, खाना राखेर ब्याक्टेरिया राखिदिनुभयो भने के हुन्छ?

ब्याक्टेरिया यति द्रुत गतिले जन्मन्छ र फैलन्छ कि कुरै नगरौं। त्यसपछि ब्याक्टेरियाको सन्तानले त्यो भाँडोको डाँडाकाडाँ सबै ढाक्छ। त्यसरी जन्मने बाँच्ने र फैलने प्रजातिलाई प्रकृति छनौटको हिसाबले सफल भनिन्छ, त्यसो गर्न नसक्नेलाई असफल। अनि के हुन्छ थाह छ? त्यहाँ खाना, पानीको अभाव भएर सबै ब्याक्टेरिया मर्छन्।

यो पृथ्वी त्यो प्रयोगशालाको काँचको भाँडो र त्यो ब्याक्टेरियालाई मानिस हो भन्न सक्नुहुन्छ। ब्याक्टेरियामा मात्र होइन, पृथ्वीमा सबैभन्दा सफल भनिएका प्रजातिहरुको दुखान्त त्यस्तै लोप हुने हो। यसको सीमितता हामीले बुझ्न जरुरी छ। यसले असीमति ‘ब्ल्यांक चेक’ दिँदैन।

सन्तुलनको लागि चारवटा फेरबदल आवश्यक छन्। प्रकृतिको योगदानलाई विकासमा समेटन सक्ने दृष्टिकोणको निर्माण, व्यक्तिगत उपभोगमा फेरबदल, व्यवसायको काम गर्ने तरिकामा फेरबदल, सरकारको उत्प्रेरणा र दण्डको व्यवस्थामा फेरबदल आवश्यक छ।

मैले माथि नै भनिसकेको छु, प्रकृतिले मानव भलाईको लागि गरेको योगदानलाई अहिलेको आर्थिक प्रणालीमा आत्मासात् गर्ने। अहिलेको उत्पादन सम्बन्धले प्रकृतिको दोहनलाई सघाउने हिसाबले उत्प्रेरणा (incentive) दिइरहेको छ।

हिजो मानव जनसंख्या कम हुँदा त्यस्तो दोहनको प्रभाव ठूलो हुन्थेन किनभने प्रकृतिको पुनः पुरानै अवस्थामा फर्कने गुण (जस्तै जंगल फडानी भएको ठाँउमा फेरी नयाँ उम्रने, नदीमा कम परिमाणका फोहर पानी मिसाउँदा, पानी आफै संग्लो हुने गुण) को कारण दोहनको असर देखिँदैन थियो। तर अहिले जनसंख्या वृद्धि, हाम्रा आवश्यकतामा आएको फराकिलोपनले गर्दा प्रकृतिको दोहन यति द्रुत र घनीभूत भएको छ कि प्रकृतिले पुरानै अवस्थामा फर्कनसक्ने गुण गुमाइसकेको छ। त्यसकारण अब दोहनलाई उत्प्रेरणा दिने प्रणालीको ठाउँमा संरक्षणलाई सघाउने दिने निति राज्य, व्यवसायले ल्याउन जरुरी छ।

म सानै हुँदा ८ वटा रारा चाउचाउको खालि खोल फिर्ता गरेमा कलम, कचौरा उपहार दिने गर्थ्यो। हिजो आज छैन। अहिलेसम्म त्यस्तो भएको भए, हाम्रा डाँडाकाँडा, नदीनाला प्लाष्टिकले भरिदैन थियो या कम पक्कै हुन्थ्यो।

तेश्रो, सरकारले वातावरण संरक्षणका कानुन जसको उद्देश्य आर्थिक विकाससँगै वातावरणलाई कम हानी गर्ने वा संरक्षण गर्ने छ, त्यसको कडाईका साथ लागू गर्ने हो। काठमाडौंको सडक धुलाम्मे पार्ने ठेकदारलाई धुलो उडाएको भनेर कतै कारबाही भएको मैले सुनेको छैन। जबकि त्यो धुलोको कारण हजारौं मान्छे मरेका छन्, दिर्घरोगी बनेका छन्। समाजलाई ठूलो आर्थिक र जनस्वास्थ्यको भार बोकाएको छ। त्यसलाई कारबाही गर्न थाल्ने भने प्रदुषण घट्थ्यो। धुलो नउडाइकन बाटो बनाउन सकिन्छ त। अन्यत्र गरिरहेका छन्।

चौथो, मानवीय उपभोगमा परिवर्तन ल्याउने। हामीले प्रकृतिको दोहन कम भएका, वातावरणलाई हानी नहुने किसिमका वस्तुहरुको उपभोग गर्ने। यी कामहरु सुरुमा सानो हुन्छ, यो विस्तारै बढाउँदै लग्नुपर्छ।

कस्तो अवस्थालाई वातावरण विनाश मान्ने? 
मैले माथि पनि भनिसके प्रकृतिको दोहन त्यो लेवलमा गर्ने जुन लेवलमा पुगेपछि प्रकृतिले पुरानै अवस्था वा लयमा फर्किने क्षमता गुमाउँछ, त्यसलाई विनाश भन्ने हो कि?

देश बनाउँछु भन्ने भावनामा बगेर नेपाल फर्कनुभन्दा आफ्नो क्षेत्रमा आफ्नो क्षमताले सकेको योगदान दिन्छु र असल नागरिक बन्छु भन्ने सोचले फर्किने हो भने सायद फ्रस्टेसन हुँदैन।

तपाईले केही समय पहिले वातावरण सम्बन्धी संयुक्त राष्टसंघीय प्रतिवेदन पनि सहलेखन गर्नुभयो। विश्वको अहिलेको वातावरण विनाशको अवस्था कस्तो देख्नुहुन्छ?
मैले गत वर्ष प्रकाशित वातावरणीय सेवा र जैविक विविधता सम्बन्धी महत्त्वपूर्ण प्रतिवेदनमा सहलेखनको साथै विश्वमा ठूला वैज्ञानिक नीतिहरु कसरी बन्ने रहेछ, सरकारहरुले कसरी निर्णय गर्ने रहेछन् भनेर सिक्ने मौका पाएको थिए।

म लगायतका विश्वका १६० भन्दा बढी विज्ञहरुले मिलेर ३ बर्ष लगाएर लेखिएको १८०० पृष्ठ लामो उक्त प्रतिवेदन त्यस विषयको अहिलेसम्म कै सबैभन्दा ठूलो, अध्यावधिक र विश्वसनीय प्रतिवेदन हो। उक्त प्रतिवेदनले उठाएका तथ्यको आधारमा अबको १० वर्षको विश्वको जैविक विविधता संरक्षणको रणनीति बन्ने हो।

तर कोभिडको कारण चीनमा हुने भनिएको उक्त रणनीति बनाउने दुई सय जति राष्ट्रको सम्मेलन रोकियो। हामीले उक्त प्रतिवेदनमा पाएको तथ्यले पृथ्वीको अवस्थाको दुरुह चित्र प्रस्तुत गरेको छ। पृथ्वीको वातावरणीय स्वास्थ्य नराम्रोसँग खलबलिएको छ। मानिसको लागि चाहिने खाद्यान्न, बालीनाली, औद्योगिक उत्पादनमा व्यापक वृद्धि भए पनि प्रकृतिले दिने अन्य सेवा र सुविधाहरुमा व्यापक कमी आएको छ। पृथ्वीको दुई तिहाईभन्दा बढी क्षेत्रफल मानव चपेटामा परेका छन्।

यहाँको फोक्सो मानिने उष्णवन क्षेत्रको १ अर्ब हेक्टर वन फडानी भएको छ। पृथ्वीको मृगौला भनिने सिमसार क्षेत्रको ८५ प्रतिशत भूभाग नासिएको छ। पृथ्वीबाट थुप्रै जीवजन्तु लोप भएका छन्। यस्तै दोहन कायम रहे अबको दश बर्षभित्रमा १० लाख जीवजन्तु लोपहुने प्रक्षेपण छ।

वायू, प्लाष्टिक प्रदुषण बढ्दो छ। मिचाह प्रजातिका वनस्पतिहरु फैलिँदो छ। समग्रमा पृथ्वीको वातावरण बिग्रदो छ र दुर्भाग्यवश त्यसको कारक हामी सबैभन्दा बुद्धिमान भनिएको मानव जाति बन्न पुगेका छौं।

अन्त्यमा, तपाई नेपाल फर्कनुभयो। तपाईं जस्तै विदेशमा पढेका, काम गरेका र नेपाल फर्कन चाहनेहरुलाई के भन्न चाहनुहुन्छ?
विदेशिने मध्ये नेपाल फर्किएको न त म पहिलो हुँ, न त अन्तिम। यो प्रकृया हो। कतिपय मानिसहरु नेपाल बनाउने भन्दै नेपाल फर्किएका छन्। कतिपय हल्लाखल्ला नगरी सुटुक्क आएर काम गरिरहेका छन्।

सायद पत्रिकाहरुमा लेखिरहने भएकोले होला मैले यसरी आफ्नो कुरा राख्ने मौका पाए। म देश बनाउँछु भन्ने ठूलो महत्त्वाकांक्षा राखेर फर्किएको होइन। मैले मेरो सीमितता बुझेको छु। मेरा निश्चित योजनाहरु छन् जुनबारे माथि नै भनिसकें। म कसैको आशा गरेर फर्किएको पनि होइन।

मेरो अनुभवमा आधारित सल्लाह दिन सक्ने स्थानमा छु भने मैले भन्ने त्यही हो। आफ्नो सीमितता बुझ्नुस्। धेरैसँग अपेक्षा नर्गनुस्। आफ्नो बालबच्चा पढाउने, सामान्य सहज जीवन कसरी बिताउने, के र कहाँ काम गर्ने भन्ने कम्तिमा पाँच बर्षको राम्रो योजना बनाउनुस् र त्यसको तयारी गर्नुस्।

फर्कनुभन्दा एक बर्ष पहिले अलिकता गृहकार्य गर्नुस्। देश बनाउँछु भन्ने भावनामा बगेर नेपाल फर्कनुभन्दा आफ्नो क्षेत्रमा आफ्नो क्षमताले सकेको योगदान दिन्छु र असल नागरिक बन्छु भन्ने सोचले फर्किने हो भने सायद फ्रस्टेसन हुँदैन।