कीरा संरक्षणमा चासो

१९५१ को अक्टोबर । युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ता जर्ज बर्निमिस्जा त्यहाँको विराट घाँसे मैदानतिर घुम्न निस्किए । उनी नौ महिनाअघि मात्रै पुर्ख्यौली थलो हंगेरीबाट अस्ट्रेलिया बसाइँ सरेका थिए । अस्ट्रेलियाको घाँसेमैदान युरोपको जस्तो गाईवस्तुको गोबर कुहिएर माटो भई जीवन्त थिएन, बरु नकुहिएको सुकेको गोबरले ढाकिएको थियो । कारण— गाईवस्तुको गोबर कुहाउने गोब्रेकीराका प्रजातिहरू अस्ट्रेलियामा थिएनन् । १९ औं शताब्दीमा युरोपेलीहरू अस्ट्रेलिया ‘माइग्रेट’ हुने क्रममा आफूसँगै गाईवस्तुहरू लिएर नयाँ मुलुक त गए तर गोब्रेकीरा लैजाने हेक्का उनीहरूलाई भएन । अस्ट्रेलियाका रैथाने गोब्रेकीराहरू त्यहाँका कंगारुजस्ता आदिवासी जनावरका साना, साह्रा र सुक्खा बड्कौंला कुहाउन मात्रै अभ्यस्त थिए, आगन्तुक गाईवस्तुको जस्तो ठूलो, गिलो, नरम गोबरलाई होइन । चरनभर गुइँठा थुप्रिएका कारण घाँस उम्रने जमिन प्रत्येक वर्ष घट्दो थियो । नकुहिएको गोबरले झिंगा निम्त्याउँथ्यो, जसमा उत्पन्न कीटाणुले गाईवस्तुलाई रोग लगाउँथ्यो । रोगले गाईवस्तु मर्थे । चरनमा थुप्रिएको गुइँठाले सुक्खायाममा डढेलो लगाउने इन्धनको काम गर्थ्यो । नोक्सान कम गर्न जर्जले अस्ट्रेलिया सरकारलाई गोबर खाने गोब्रेकीरा आयात गर्न सुझाव दिए, जसअनुसार अस्ट्रेलिया सरकारको प्रमुख अनुसन्धान संस्था सीएसआईआरओले सन् १९६५ मा ‘राष्ट्रिय गोब्रेकीरा परियोजना’ सुरु गर्‍यो । सुरुमा अमेरिकाको हवाईबाट गोब्रेकीरा ओसारियो । बीस वर्ष चलेको उक्त परियोजनाअन्तर्गत विभिन्न देशबाट ४३ प्रजातिका १७ लाखभन्दा बढी गोब्रेकीराले अस्ट्रेलियाको ‘भिसा’ पाए । आयातित गोब्रेकीराले त्यहाँको चरनमा थुप्रिएको गोबर कुहाइदिएपछि चरनहरूले पुनर्जीवन पाए । उत्पादकत्व बढ्यो, गाईवस्तुलाई लाग्ने रोगमा कमी भयो । केही वर्षपहिले चाल्र्स स्टुवार्ट विश्वविद्यालयले गरेको अध्ययनको निष्कर्ष थियो— आयातित गोब्रेकीराले अस्ट्रेलियाका किसानहरूलाई पुर्‍याएको सेवाको मूल्य बर्सेनि १ अर्ब डलरभन्दा बढी छ ।

कीराको मानवसेवा

मानिसले अक्सर हेला गर्ने गोब्रेकीराका केही प्रजातिले एउटा देशलाई दिएको पर्यावरणीय सेवाको मूल्य त वार्षिक अर्बौं डलर छ भने यस पृथ्वीमा भएका असंख्य कीराले दिने सेवाहरूको मूल्य कति होला ? कीराहरूले मानिसलाई दिने महत्त्वपूर्ण सेवा परागसेचन हो । संसारभरका करिब दुईतिहाइ खाद्यबाली परागसेचनका लागि कीरा जगत्मा निर्भर छन् । कृषिबालीहरूमा मानिसको आहारा अर्थात् फल लाग्नका लागि परागसेचन हुनु अनिवार्य छ । फुड सेक्युरिटी जर्नलमा प्रकाशित लेखअनुसार, कीराको परागसेचन सेवालाई मौद्रिकीकरण गर्ने हो भने त्यसको मूल्य वार्षिक १९५–३८७ अर्ब डलरसम्म पुग्छ ।

गोबरजस्ता जैविक तत्त्वलाई कुहाउने र परागसेचन गर्नेबाहेक कीराहरूले माटोको इन्जिनियरिङ गरेर मलिलो बनाउन सहयोग गर्छन् । महदेखि सिल्कसम्मको उत्पादन पनि कीराहरूकै कारण सम्भव भएको हो । नेपालमा वार्षिक अर्बौंको व्यापार हुने यार्सागुम्बु पनि झुसिलकीरा र ढुसीको मिश्रण हो । कीराहरू चरा–चमेरादेखि माछा र मानिससम्मका खाना पनि हुन् । १३० भन्दा बढी देशका २ अर्ब मानिस कीरा खाने गर्छन् । संसारभर लगभग १५०० प्रजातिका कीरा मानिसले खाने गर्छन् । नेपालमा पनि अरिंगाल, बारुलो, फट्यांग्रा, सलहजस्ता कीराहरू खाने गरिन्छ । त्यस्तै अहिले कीरापालन गरेर कुखुराको दानाका रूपमा प्रयोग गर्न थालिएको छ । कतिपय विकसित देशमा कीराहरूको व्यावसायिक उत्पादन गरेर खानाका रूपमा प्रयोग गर्न पनि थालिएको छ ।

कीराको महत्त्वपूर्ण उपयोगिता साहित्यदेखि वैज्ञानिक अनुसन्धानसम्म छ । पुतली, भमरा, झुसिलकीरा, जुनकीरीजस्ता कीराहरू साहित्यका स्रोत हुन् । तिनीहरूका बारेमा थुप्रै कथा, कविता र उपन्यास लेखिएका छन् । ड्रोसोफिला मेलानोगास्टर भनिने, फलफूलमा लाग्ने भुसुना वैज्ञानिक ज्ञानको ठूलो भण्डार हो । आनुवंशिक विज्ञान अनुसन्धानका लागि ड्रोसोफिला लगभग अपरिहार्य ‘मोडल प्राणी’ हो । कम खर्चमा चाँडै हुर्काउन सकिने, छोटो आयु भएको र अथाह आनुवंशिक स्रोत भएका कारण वैज्ञानिक अनुसन्धानहरूमा यसको व्यापक प्रयोग गरिन्छ । आधुनिक विज्ञानको उपलब्धि मानिएका जिन थेरापीदेखि ह्युमन जिनोम प्रोजेक्ट र अनुवंशको सम्पादन गर्ने क्रिस्पर प्रविधिसम्मको अनुसन्धानको मुख्य आधारशिला ड्रोसोफिलामै गरिएका अनुसन्धानहरू हुन् । वैज्ञानिक जर्नलहरूमा कुनै एउटा जीवको नाममा असंख्य कागज र मसी खर्चिइएका छन् भने त्यो ड्रोसोफिला मेलानोगास्टरकै लागि हो । ड्रोसोफिलामै आधारित अनुसन्धानहरूले हालसम्म सातवटा नोबेल पुरस्कारसमेत जितेका छन् ।

यी थुप्रै सेवाको बावजुद कतिपय कीराले मानव जीवन, अर्थतन्त्र र जीविकाका लागि अकल्पनीय चुनौती पनि थपेका छन् । बालीनाली खाएर मानिसलाई नोक्सानी पुर्‍याउनेदेखि परजीवीका रूपमा मानिसलाई दु:ख दिनेसम्मका कीराहरू पनि छन् । तर कीराहरूले पुर्‍याउने यस्ता हानिहरू मानिसले गरेको प्रकृतिदोहनका कारण सृजना भएका हुन् । औलो, डेंगी, एल्लो फिभर, जिकाजस्ता रोग फैलाउनमा कीरा अर्थात् लामखुट्टेको मुख्य भूमिका छ । मानव इतिहासमै सबैभन्दा बढी मानिसको ज्यान मानवबाहेक कुनै प्राणीले लिएको छ भने त्यो लामखुट्टेले नै लिएको छ । ‘द मस्किटो : अ ह्युमन हिस्ट्री अफ डेड्लिएस्ट प्रिडेटर’ पुस्तकका लेखक टिमोटी वाइनगार्डका अनुसार, २ लाख वर्षयता यस पृथ्वीमा जन्मेका १०८ अर्ब मानिसमध्ये आधाजसो अर्थात् ५२ अर्ब मानिसको मृत्युको कारक हो— लामखुट्टे । यति धेरै मानव प्रगतिका बावजुद लामखुट्टेजस्तो सानो कीराले अझै ठूलो संख्यामा मानिसलाई मारिरहेको छ । सन् २०१८ मा लामखुट्टेका कारण संसारमा ८ लाख ३० हजार मानिस मरेका थिए भने, मानिसबीचको आपसी द्वन्द्वमा परेर मर्नेहरूको संख्या ५ लाख ८० हजार थियो । मानिसको ज्यान लिएको मात्रै होइन, लामखुट्टे मानव इतिहासमै ठूलो सामाजिक र आर्थिक परिवर्तनको वाहक हो । नेपालको इतिहासमा पनि चन्द्रशमशेर, महेन्द्र र प्रचण्डजतिकै प्रभावशाली भूमिका कुनै गैरमानवको छ भने त्यो लामुखुट्टेकै भएको इतिहास–अध्येता टम रोबर्टसनको तर्क छ । किनभने सन् १९५० सम्म नेपालको तराईको इतिहास धेरै हदसम्म औलोको वरिपरि घुमेको छ ।

लोप हुँदै कीराहरू

कीरा यस पृथ्वीमा भएका प्राणीहरूमध्ये सबैभन्दा प्रभावशाली मात्रै होइन, सबैभन्दा धेरै विविधता र प्रचुरता भएको प्राणी समूह पनि हो । पृथ्वीमा करिब ५५ लाख प्रजातिका कीरा भएको अनुमान गरिन्छ, जसमध्ये हालसम्म करिब १० लाखको मात्रै पहिचान र नामांकन भएको ‘क्याटलग अफ लाइफ’ मा पाइन्छ । अर्थात्, यस संसारमा पाइने कुल कीराका प्रजातिमध्ये ८० प्रतिशत प्रजातिको अझै वैज्ञानिक पहिचान र नामांकन हुन बाँकी छ । पीएनएएस जर्नलमा प्रकाशित एउटा लेखअनुसार, पृथ्वीमा उपलब्ध प्राणी जगत्को कुल बायोमास अर्थात् जैविक मात्रा (जनावर वा वनस्पतिको शारीरिक संरचनाभित्र मौजुद जैविक अंश) को २.५ प्रतिशत मानिसले र ४ प्रतिशत घरपालुवा पशुपक्षीले ओगट्छन्, जबकि कीरा समूह एक्लैले प्राणी जगत्को कुल जैविक मात्राको ४२ प्रतिशत अंश ओगट्छन् । यस्तै अकल्पनीय प्रभाव, विविधता र प्रचुरताका कारण कीरा समूहलाई क्रमिक उत्पत्तिको हिसाबले पृथ्वीकै सबैभन्दा सफल जैविक समूह मानिन्छ ।

तर यतिखेर संसारभर कीराहरू लोप हुँदै छन् । गत वर्ष बायोडाइभर्सिटी कन्जर्भेसन जर्नलमा प्रकाशित लेखअनुसार, विश्वभर ४० प्रतिशत कीरा लोप हुने खतरामा छन् जसमध्ये पुतली, भमरा, गोब्रेकीरा र मौरी उपसमूहमा पर्ने कीराहरू मुख्य छन् । मौरी लगायतका कीराहरू यसरी ठूलो संख्यामा विलोप हुनुको कारण बढ्दो कीटनाशक विषादीको प्रयोग र उच्च प्रदूषण, जलवायु परिवर्तन, मिचाहा प्रजातिको फैलावट अनि कीराको बासस्थानको विनाश र फेरबदल हो । यसरी संसारभर परागसेचन गराउने उपयोगी कीराहरू मासिँदै जाँदा त्यसले मानिसको खाद्य उत्पादन प्रणालीमा ल्याउने संकट चुलिँदो छ । त्यसकारण यतिखेर संसारभर मानवसेवामा हाजिर सेवक कीराहरूको संरक्षणको चासो र चिन्ता बढिरहेको छ ।

नेपालमा कीराहरूको पछिल्लो अवस्थाबारे अद्यावधिक जानकारी छैन । विश्व संरक्षण संघ (आईयूसीएन) नेपालले सन् १९९७ मा नेपालका कीराहरूको सूची (इन्भेन्टरी) प्रकाशित गरेको थियो, जसमा ५,०५९ प्रजातिका कीराहरू सूचीकृत थिए, जुन विश्वमा पाइने कीरा समूहको प्रजातिगत विविधताको अनुपातमा र नेपालमा पाइने जैविक विविधताको तुलनामा एकदमै न्यून संख्या हो । नेपालमा विश्वमा पाइने स्तनधारी जनावरको ४ प्रतिशत, चराको ९ प्रतिशत र उभयचरको २.५ प्रतिशत, पुतलीको ४ प्रतिशत र फूल फुल्ने वनस्पतिको ३.२ प्रतिशत प्रजातिगत विविधता पाइन्छ । अन्य जैविक समूहहरूको अनुपातमा नेपालमा कीराहरू पाइने हो भने विश्वमा पाइने कीराको कम्तीमा २.५ प्रतिशत (उभयचरजतिकै) देखि बढीमा ९ प्रतिशत (चराजतिकै) सम्म कीराहरू हुन सक्छन् । त्यसकारण एकदमै अनुदार (कन्जर्भेटिभ) अनुमान गर्दा विश्वभर पत्ता लागेका कीराको १ प्रतिशत मात्रै नेपालमा पाउने हो भने पनि यहाँ कम्तीमा १० हजार प्रजातिका कीरा हुन सक्छन् । उक्त अनुमानलाई पछिल्ला तथ्यहरूले पनि भरपर्दो आधार दिन्छन् ।

नेपालमा भएका प्राणी अन्वेषण (जुलोजिकल एक्प्लोरेसन) हरूमा अन्य प्रजातिभन्दा बढी प्रजातिका नयाँ कीराहरू भेटिने गरेका छन् । त्यसको अर्थ, यहाँ थप कीराका प्रजातिहरू पत्ता लाग्न बाँकी नै छ । त्यसकारण राम्रो अध्ययन र अनुसन्धान हुने हो भने नेपालमा थुप्रै प्रजातिका नयाँ कीराहरू भेटिने सम्भावना छ । तर नेपालमा कीरासम्बन्धी विज्ञता र अनुसन्धान निकै कम छ । नयाँ पुस्ताका अनुसन्धानकर्ताहरू कीराप्रति खासै आकर्षित छैनन् । त्यसको स्पष्ट कारण नेपालमा यस्ता ‘अन्डरडग’ जैविक विविधताको अन्वेषण, अध्ययन र संरक्षणमा लगानी र उत्प्रेरणा लगभग शून्य हुनु हो ।

हाम्रा अनुसन्धान र संरक्षणका अधिकांश नीतिनियम, कार्ययोजना र कार्यक्रमहरू ठूला र आकर्षक (करिस्म्याटिक) जीवजन्तुहरूमै सीमित छन् । उदाहरणका लागि, नेपालका २६ स्तनधारी जनावर, ९ प्रजातिका चरा र ३ प्रजातिका सरीसृपलाई संरक्षित जनावरको सूचीमा राखिएको छ । त्यसै गरी साइटिस महासन्धिको सूचीमा ५७ प्रजातिका स्तनधारी जनावर, ४० चरा, १ उभयचर, १३ सरीसृप, २ पुतली र १३ वनस्पति पर्छन् । ससाना जीवजन्तुको नाम संरक्षण सूचीमा नभेटिनुको कारण तिनीहरूका बारेमा कम अनुसन्धान हुनु पनि हो ।

आईयूसीएनले पनि हालसम्म विश्वभरका १ प्रतिशत मात्रै कीराहरूको अवस्थाको मूल्यांकन गरेको छ । अध्ययनको कमीका साथै नीतिगत तहमा बाघ, गैंडा, पान्डा, हिउँचितुवा वा कस्तूरीजस्ता ठूला जनावरको संरक्षण भए त पुगिहाल्यो भन्ने सोच हावी छ । जैविक विविधता संरक्षण भनेको केही जनावरको मात्रै संरक्षण होइन । मानिसको खाद्य प्रणाली र पारिस्थितिकीय प्रणालीमा अहं भूमिका खेल्ने, नासिँदै गएका तर संरक्षणमा बेवास्ता गरिएका कीराहरूको संरक्षण यतिखेर झनै आवश्यक छ । किनभने मानवोपयोगी कीराहरू नभएमा हामीलाई अकल्पनीय संकट आउन सक्छ । त्यसकारण कीरा जोगाउनका लागि कीटनाशक औषधिको उपयोगमा नियमन, प्रदूषण नियन्त्रण र कीरा लगायतका जीवहरूको वासस्थानको संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

कान्तिपुर दैनिक । असार २, २०७८

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: