प्रिडेटरी जर्नलको पसल

सेप्टेम्बर २०१३, अमेरिकन जर्नल अफ मोडर्न फिजिक्स (वर्ष २, अंक ५, पृष्ठ २५५–२६३) मा टेक्निकल स्कुल सेन्टर, स्लोभेनियाका एल मरेक क्रेन्जेकको एउटा ‘वैज्ञानिक लेख’ छापियो । ‘मोडिफिकेसन अफ ई इक्वल एमसी स्क्वायर’ शीर्षक उक्त लेखमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको प्रख्यात पिण्ड र ऊर्जासम्बन्धी सूत्र ‘ई=एमसी स्क्वायर’ गलत रहेको भन्दै त्यसलाई सच्याएर ‘ई=१/२२ एमसी’ बनाइएको थियो । लेखका अनुसार, इजिप्टका सैद्घान्तिक भौतिकशास्त्रका वैज्ञानिक तथा इन्जिनियर मोहम्मद एल नास्चीले आइन्स्टाइनको उक्त सूत्रमा त्रुटि भेटेका थिए । भौतिकशास्त्रमै सबैभन्दा माथिल्लो स्थान बनाएका आइन्स्टाइनको सापेक्षतावादको सिद्घान्तमा ‘खोट पत्ता लगाएको’ उक्त वैज्ञानिक लेखबारे यस पंक्तिकारले ‘गुगल स्कलर’ मा खोज्दा त्यो हालसम्म २७ पटक ‘साइटेड’ (सन्दर्भ लिइएको) भएको रहेछ । इन्टरनेट सर्च इन्जिन गुगलअन्तर्गतको गुगल स्कलरले प्राज्ञिक जर्नल, रिपोर्ट, पुस्तक आदिमा प्रकाशित लेख–रचनाहरू सन्दर्भ सामग्रीका रूपमा कतिपटक लिइए भनेर तिनको संख्या देखाउँछ । जति बढी सन्दर्भ सामग्रीका रूपमा कुनै पनि वैज्ञानिक लेखलाई लिइयो, त्यसलाई त्यति नै बढी विश्वसनीय ठानिन्छ र धेरै ‘साइटेसन’ हुने लेखक/अध्येताहरूलाई वरिष्ठ मानिन्छ । त्यसकारण प्राज्ञिक जगत्मा उत्कृष्टता मापन गर्ने सूचकांकमध्ये गुगल स्कलर साइटेसन पनि एक हो । तर क्रेन्जेकको उक्त लेखलाई २७ पटक सन्दर्भ लिनेहरू (साइटेसन गर्नेहरू) अन्य वैज्ञानिक/अध्येता थिएनन्, मात्र एल नास्ची र एल मरेक क्रेन्जेक नै थिए । जर्नलमा पेस गरेको २२ दिनमै प्रकाशित उक्त लेख समकक्षी समीक्षा (पियर रिभ्यु) बिना प्रकाशित भएको अनुमान गर्न सकिन्थ्यो । लेखमा व्याकरणीय त्रुटिहरू थिए । सुन्दै गजब लाग्ने नाम अमेरिकन जर्नल अफ मोडर्न फिजिक्समा वैज्ञानिक लेख प्रकाशित गरेबापत लेखकले ५७० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । अर्थात्, उक्त जर्नलमा ‘प्रिडेटरी जर्नल’ भनिनलायक सबै विशेषता थिए ।

प्रिडेटरी जर्नलको जन्म

सन् १६६५ मा ‘फिलोसोफिकल ट्रान्जेक्सन्स अफ द रोयल सोसाइटी’ शीर्षक वैज्ञानिक जर्नल प्रकाशित भएयताका ३५६ वर्षमा अन्यत्रजस्तै वैज्ञानिक जर्नल प्रकाशनका क्षेत्रमा पनि अकल्पनीय प्रगतिहरू भएका छन् । प्रकाशनका विधि, माध्यम र पहुँचहरू फेरिएका छन् । तथापि वैज्ञानिक जर्नलको गरिमा र गुणस्तर राख्न प्रमुख भूमिका खेल्ने समकक्षी समीक्षाको परम्परा अझै कायम छ । त्यही विषयका अन्य अध्येताबाट गराइने समीक्षाले जर्नलमा प्रकाशन हुने लेखको वैधतालाई जाँच गरेर त्यसलाई थप विश्वसनीय बनाउन मद्दत गर्छ । प्रतिष्ठित जर्नलहरूको पियर रिभ्यु प्रणाली कठोर हुन्छ, त्यसकारण त्यसमा लेख प्रकाशन गर्नु पनि फलामको चिउरा चपाएसरह मानिन्छ ।

इन्टरनेटले व्यापकता पाउनुअघि जर्नलहरू छापाखानामा छापिन्थे । पुस्तकालय, शैक्षिक संस्था वा अध्येताहरू त्यसका ग्राहक हुन्थे । जर्नलमा कमसल सामग्री छापिएमा आफ्ना ग्राहक भड्किने डरले लेखहरूको गुणस्तरमा ध्यान दिइन्थ्यो । प्रकाशकले पाउने त्यही आर्थिक उत्पेरणा (इन्सेटिभ) का कारण वैज्ञानिक जर्नलमा छापिने लेखहरू नवीन, गुणस्तरीय र महत्त्वपूर्ण वैज्ञानिक खोजसँग सम्बन्धित हुन्थे, जसले ज्ञान उत्पादन र वितरणलाई सहयोग गर्थे । इन्टरनेटको विस्तार र त्यसमाथिको आम पहुँचले जर्नलहरू सुरुमा प्रिन्ट र अनलाइन दुवै मोडलमा रूपान्तरित भए अनि बिस्तारै प्रिन्ट संस्करण बन्द गर्दै अनलाइनमै सीमित भए । यतिखेर अनलाइन जर्नल वैज्ञानिक प्रकाशनको मूलधार बन्न पुगेको छ ।

जर्नलहरू अनलाइन भएपछि तिनको उत्पादन लागत मात्रै घटेन, वितरणको विधि पनि फरक हुन थाल्यो । अनलाइन जर्नलका सामग्रीहरू पैसा तिरेर पढ्ने मोडलसँगै कतिपय जर्नलले अनलाइनमार्फत नि:शुल्क पढ्न सकिने प्रणालीको विकास गरे । अर्थात्, ओपन एक्सेस जर्नल जन्मियो । उत्पादित वस्तु सित्तैंमा बेचेपछि जर्नल चलाउने खर्चका लागि त्यस्ता जर्नलहरूले उत्पादन मूल्य भन्दै त्यसमा लेख छपाउने लेखक/अध्येताहरूबाट शुल्क उठाउन सुरु गरे । यसरी छापिएको लेख नि:शुल्क पढ्न पाइने तर लेखकहरूबाट छापिएबापत शुल्क लिने विधि अध्येता र प्रकाशकका लागि ‘विनविन’ हुन पुग्यो । ओपन एक्सेस जर्नलमा छापिएका लेखहरू बढी पढिने भएकाले अध्येताहरूका लागि त्यस्ता साइटेसन बढ्ने उत्प्रेरणा प्राप्त हुने भयो र प्रकाशकका लागि लेखकसँग उठाइएको शुल्क आम्दानी । ओपन एक्सेसका कारण जर्नलका लेखक, प्रकाशक र पाठकबीचको फेरिएको सम्बन्धभित्र बढी नाफा कमाउन सकिने उपायको खोजीस्वरूप जन्मिए— प्रिडेटरी जर्नल र त्यसका प्रकाशक ।

फैलावट र व्यापकता

सन् २००८ मा पाकिस्तानमा सुरु भएको मानिने यस्ता जर्नल प्रकाशन गर्नेहरू सुरुमा सानो संख्यामा थिए । र, यसमा धेरैको ध्यान पनि थिएन । जब कोलोराडो विश्वविद्यालय, अमेरिकाका लाइब्रेरियन थोमस बेलले सन् २०१२ मा नेचर जर्नलमा लेख लेखेर यसबारे सबैलाई सचेत गराए, त्यसपछि यस्ता जर्नलहरूप्रति सम्पूर्ण प्राज्ञिक जगत् चनाखो हुन थाल्यो । सुरुमा प्रिडेटरी प्रकाशक र जर्नल भनेर (प्रारम्भमा उनले शंकालु प्रकाशक भनेका थिए) नामांकन गर्ने पनि बेल थिए । प्राज्ञिक जर्नलले गर्नुपर्ने मुख्य काम कुनै नगर्ने तर बुझाएका लेखहरू अनलाइनमा राखिदिने र त्यसबाट महँगो शुल्क उठाएर मनग्य नाफा कमाउन सकिने भएपछि पछिल्लो समयमा यस्ता जर्नलको फैलावट विश्वभर तीव्र गतिमा बढिरहेको छ । उदाहरणका लागि, सापेक्षतावादमा त्रुटि भेट्टाइएको दाबी गरिएको लेख छाप्ने जर्नलको प्रकाशक साइन्स पब्लिसिङ ग्रुपका सुरुमा ५२ जर्नल थिए, हाल ३२० भन्दा बढी छन् । यस्ता जर्नलको बढोत्तरीसँगै तिनमा छापिने लेखको संख्या पनि अकासिएको छ । अमेरिकाको टेक्सासस्थित कावेल्स इन्टरनेसनलका अनुसार, अहिले त्यस्ता जर्नलको संख्या विश्वभर १३ हजारभन्दा माथि हुन सक्छ । सन् २०१५ मा बीएमसी मेडिसिन जर्नलमा प्रकाशित लेखका अनुसार, सन् २०१० मा करिब ५३ हजार लेख प्रिडेटरी जर्नलहरूमा प्रकाशित भएका थिए । सन् २०१४ मा त्यो संख्या ४ लाख २० हजार पुगेको थियो । त्यस्ता जर्नलहरूले प्रकाशन शुल्कबापत बर्सेनि ७ करोड ५० लाख डलरभन्दा बढी कमाउने गर्छन् ।

विश्वभर प्रिडेटरी जर्नलको व्यापकतामा वृद्घि भए पनि वैज्ञानिक जगत्मा यसको बुझाइ र परिभाषामा एकरूपता छैन् । सन् २०१९ मा १० राष्ट्रका ३५ प्राज्ञ र प्रकाशकहरू मिलेर प्रिडेटरी जर्नललाई परिभाषित गर्ने प्रयास गरेका थिए । लामो छलफलपछि नेचर जर्नलमा छापिएको उनीहरूको निष्कर्ष थियो— प्राज्ञिक सेवाभन्दा आफ्नो निहित स्वार्थका लागि सम्पादकीय मूल्य र मान्यता छलेर गलत र भ्रामक सूचनाहरू पस्कने, अपारदर्शी प्रणाली भएका लेखकहरूसँग पैसा उठाउने र अन्धाधुन्ध लेख–रचना माग्ने जर्नललाई प्रिडेटरी जर्नलको परिभाषामा राख्न सकिन्छ । विज्ञ सम्पादक नहुने र समकक्षी समीक्षा नगरिने भएकाले त्यस्ता जर्नलहरूमा पठाएका जुनकुनै लेख पनि अस्वीकृत (रिजेक्ट) हुँदैनन्, पठाएजति सबै नै छापिन्छन् । एक अध्ययनअनुसार, करिब ७३ प्रतिशत त्यस्ता जर्नलहरूका सम्पादक वा सम्पादकमण्डल को हुन् भन्ने थाहा हुँदैन । कतिपयले अध्येताहरूलाई थाहै नदिई बिनास्वीकृति उनीहरूका नाम देखावटी सम्पादकका रूपमा राखेका हुन्छन् । अक्सर त्यस्ता जर्नलका वेबसाइटहरू अव्यावसायिक, कमसल र व्याकरणीय त्रुटिले भरिएका हुन्छन् ।

प्रिडेटरी जर्नल र प्रकाशक वेबसाइट हेर्दा सजिलै छुट्टिने भए पनि अध्येताहरूले जानेर वा झुक्किएर त्यस्ता जर्नलहरूमा लेख–रचनाहरू पठाएका हुन्छन् । अहिलेको प्राज्ञिक जगत्मा जागिर खान र बचाउन, बढुवा पाउन, अनुसन्धानवृत्ति हात पार्न वा पीएचडी लिन पनि जर्नलमा लेख छपाउनुपर्ने भएकाले कतिपय अध्येताहरू प्रिडेटरी जर्नलमा जानीबुझी लेख छपाइरहेका हुन्छन् । त्यसैले त्यस्ता जर्नलमा लेख–रचना छाप्नेहरूमा अनुसन्धान सिक्दै गरेका पीएचडी शोधकर्तादेखि वरिष्ठ प्राध्यापकसम्म पर्छन् । यस्ता जर्नलहरूमा लेख प्रकाशन गर्नेहरूमा कम विकसित देशका अध्येताहरूको संख्या धेरै भए पनि अमेरिका, युरोप र अस्ट्ेरलियाजस्ता विकसित देशका वैज्ञानिकहरूले समेत यस्ता जर्नलमा उल्लेख्य रूपमा लेख छपाउने गरेका छन् । कतिपय त त्यस्ता जर्नलहरूका सम्पादक पनि भएर बसेका देखिन्छन् । माइक डाउन्सले गरेको अनुसन्धानले अस्ट्रेलियाका शैक्षिक संस्थाहरूका ४ हजार (करिब ७ प्रतिशत) प्राध्यापकहरूको प्रिडेटरी जर्नलसँग आबद्धता देखाएको थियो ।

कम विकसित देशहरूको प्राज्ञिक उत्कृष्टता मापनको विधि कच्चा भएकाले त्यस्ता देशका प्राज्ञिक जगत्मा यसको प्रकोप बढ्दो छ, जसबाट नेपालको प्राज्ञिक र अनुसन्धान जगत् पनि अछुतो छैन । प्रकाश पौडेल, वसन्त गिरी र शान्ता ढकालले नेपालको विश्वविद्यालय अनुसन्धान आयोगले सन् २००८ देखि २०१८ सम्म अनुसन्धानका लागि आर्थिक सहयोग दिएका अनुसन्धान परियोजनाहरूको अध्ययन गरेका थिए । त्यस्ता १,८५३ वटा अनुसन्धान परियोजनाअन्तर्गत प्रकाशित ३२५ लेख केलाउँदा उनीहरूले ७४ प्रतिशत लेखहरू कमसल जर्नलमा प्रकाशित भएका पाएका थिए, जसमध्ये १० प्रतिशत लेखहरू प्रिडेटरी भनिने जर्नलहरूमा प्रकाशित थिए । उक्त अनुसन्धानमा नेपालमा वरिष्ठ प्राध्यापकलाई दिइएकोभन्दा पीएचडी र मास्टर्स तहका विद्यार्थीलाई दिइएको शोधवृत्तिले गुणस्तरीय प्रकाशन गर्ने गरेको पाइएको थियो ।

कमजोर प्रभाव

प्रिडेटरी जर्नलमा ठूलो संख्यामा लेखहरू छापिने भए पनि तिनको प्रभाव भने निकै कमजोर देखिन्छ । नेचर जर्नलमै प्रकाशित अर्को अध्ययनअनुसार, प्रिडेटरी जर्नलमा प्रकाशित हुने ६० प्रतिशत लेखहरूले साइटेसन पाउँदैनन् । करिब ३८ प्रतिशतले १० पटक र ३ प्रतिशतभन्दा कमले १० भन्दा बढी र कुनैले पनि ३२ भन्दा बढी साइटेसन संख्या कटाएका थिएनन् । त्यसकारण यस्ता जर्नलमा प्रकाशित गर्नु भनेको भुस खाए बराबर हो— पेट भरिने तर त्यसले शरीरलाई कुनै पनि पोषण तत्त्व नदिने बरु हानि गर्ने । यसमा छापिने लेखहरूले प्राज्ञिक जगत्मा प्रतिष्ठा होइन, बरु शंसय पैदा गर्छन् । झुक्किएर लेख छाप्ने कतिपयले त यस्ता लेखहरूका कारण करिअरमा दाग लागेको पनि ठान्छन् ।

अन्त्यमा, प्रिडेटरी जर्नलको ठग्ने पसलका ग्राहकहरू हाम्रोजस्तो देशका भर्खरै अनुसन्धान सिक्दै गरेका, प्रज्ञिक निष्ठाको कमी भएका, अनुसन्धानको पद्धति बस्दै गरेका देशका अध्येताहरू हुन् । चाँडै प्रकाशन गर्ने ध्याउन्नमा, सजिलो बाटाको खोजीमा र तथाकथित विदेशीले प्रकाशन गर्ने गरेको जर्नलमा लेख छपाउने लोभमा जानी–नजानी यस्ता पसलको ग्राहक बन्नबाट हाम्रा अध्येताहरूलाई रोक्न आवश्यक छ । त्यसका लागि नियमनकारी निकायले जर्नल प्रकाशनको स्पष्ट निर्देशिका जारी गर्नुपर्छ । भारतको विश्वविद्यालय अनुसन्धान आयोगले भर्खरै त्यस्तो कदम चालेको छ । नियमनसँगै प्राज्ञिक उत्प्रेरणा (छनोट, बढुवा, अनुसन्धानवृत्ति) दिँदा जर्नलको गुणस्तर र लेखको प्रभावलाई मूल्यांकनको आधार बनाउनु जरुरी छ । थप, सिकारु अध्येताहरूलाई त्यस्ता जर्नलबारे यथेस्ट जानकारी दिने हो भने हाम्रा अध्येताहरूलाई प्राज्ञिक ठगी धन्दाबाट जोगाउन सकिन्छ ।

कान्तिपुर दैनिक । चैत्र ११, २०७७

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: