बौद्धिक विनयशीलताको अभाव

जुलाई १९९१ मा प्रसिद्ध वैज्ञानिक जर्नल ‘नेचर’ (अंक ३५२, पृष्ठ ३११–३१३) मा युनिभर्सिटी अफ मेनचेस्टर, बेलायतका तीन खगोलवेत्ता एन्ड्रयु लिन, म्याथ्यु बेली र एसएल स्यामरको अनुसन्धानात्मक लेख छापियो । उक्त लेखमा ती अध्येताहरूले हाम्रो सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको दाबी गरेका थिए । उक्त अध्ययनको विल्कुलै नयाँ पक्ष के थियो भने, नयाँ पत्ता लागेको भनिएको ग्रहले अन्य ग्रहले जस्तै सूर्यलाई होइन, पल्सर (पीएसआर १८२९–१०) भनिने फरक प्रकारको गाढा घुम्ने तारालाई परिक्रमा गथ्र्यो । थप, उक्त अध्ययनले ब्रह्माण्डमा हाम्रो बाहेक अन्य सौर्यमण्डल पनि अस्तित्वमा रहेको महत्त्वपूर्ण तथ्य उजागर गरेको थियो । लेख छापिएको केही महिनापछि अमेरिकी खगोल विज्ञान समाज (अमेरिकन एस्ट्रोनोमिकल सोसाइटी) को वैज्ञानिक सम्मेलनमा प्राध्यापक एन्ड्रयु लिन वक्ताका रूपमा बोलाइए । त्यहाँ आफ्नो वैज्ञानिक प्रवचनका लागि पोडियम सम्हालेका प्राध्यापक लिनले सहभागी सबैलाई आश्चर्यचकित तुल्याउँदै ‘नेचर’ मा प्रकाशित उक्त अनुसन्धानमा आफूहरूले गल्ती गरेको स्विकारे । भएको के रहेछ भने, उक्त पल्सरबाट जोड्रेल ब्यांक रेडियो अब्जरभेटरीमा प्राप्त रेडियोधर्मी संकेत (जसलाई तारा भएको प्रमाण मानिएको थियो) लाई हिसाब गर्दा उनीहरूले पृथ्वीको कक्ष अण्डाकार होइन, पूर्ण वृत्ताकार भनेर गरेका रहेछन् । उनले भने, “जब हामीले उक्त तथ्यांकलाई पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने सही कक्ष (अण्डाकार) मानेर पुन: विश्लेषण गर्‍यौं, उक्त ‘देखिएको ग्रह’ एक्कासि बिलायो ।” आफूबाट भएको गल्ती आफ्ना सहकर्मीहरूलाई इमानदारीका साथ सुनाइसकेपछि सम्मेलनमा उनीप्रति कसैले कटाक्ष गरेन, कसैले उनको हुस्सुपनलाई हाँसोमा उडाएन, बरु सबै सहभागीले मिनेटौंसम्म उठेर करतल ध्वनि (स्टान्डिङ ओवेसन) ले उनको त्यो गल्ती स्विकार्ने साहसको प्रशंसा गरे । सम्मेलनका एक सहभागीको टिप्पणी थियो, ‘मैले कुनै व्यक्तिलाई यति विघ्न सम्मान गरिएको यसअघि देखेको थिइनँ ।’

गल्तीको ढाकछोप

यो साता नेपालको त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापक र विद्यावारिधि शोधार्थीहरू बौद्धिक चोरी (प्लेजारिजम) मा संलग्न रहेको समाचार बाहिरियो । उनीहरूले फ्रान्सका एक प्राध्यापकले पहिल्यै प्रकाशित गरेका अनुसन्धानको नतिजालाई आफ्नो नाममा अन्य जर्नलमा प्रकाशन गरेका थिए । त्यो पनि लगभग दर्जनौंपटक र फरकफरक जर्नलहरूमा । त्यस्तै बौद्धिक चोरीको आरोप दुई साताअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का एक अध्येतामाथि पनि लागेको थियो । नेपालका ठूला भनिएका प्राज्ञिक स्थलहरूमा भएका यस्ता घटनाका समाचार एक हप्ताको फरकमै सार्वजनिक भए पनि यी नौला घटनाहरू भने होइनन् । केही वर्षअघि खोज पत्रकारिता केन्द्रले त्रिविमा हुने थेसिस खरिद–विक्रीलगायतका थुप्रै बौद्धिक चोरीका घटनासम्बन्धी खोजमूलक रिपोर्ट प्रकाशित गरेको थियो । त्यसभन्दा अघि पनि त्रिविका प्राध्यापकहरूमाथि बौद्धिक चोरीका आरोपहरू सार्वजनिक भएका थिए । त्यसो त त्रिविका पूर्वउपकुलपति तीर्थ खनियाँले टर्कीका एक प्राध्यापकको लेख उनलाई श्रेय (क्रेडिट) नै नदिई हुबहु एक नेपाली जर्नलमा आफ्नो नाममा छपाएका समाचारहरू सप्रमाण सञ्चारमाध्यममा छापिएका थिए ।

तर यी घटनाहरू सार्वजनिक भएपछि ‘बौद्धिक चोरी’ गर्नेहरूमाथि अनुसन्धान र कारबाही गरिएको समाचार भने सार्वजनिक भएको छैन । जबकि गत वर्ष त्रिविकै एक प्राध्यापकलाई बौद्धिक चोरीको कसुरमा कारबाही गर्न त्रिविले फाइल अख्तियार पठाएको थियो । यद्यपि उक्त फाइल अख्तियारमै थन्किइरहेको छ । बौद्धिक चोरीको परीक्षण गर्ने, त्यो नियतवश हो या अनजानमा भनी निराकरण गर्ने अनि बौद्धिक चोरीलाई प्राज्ञिक अनियमितता र अनुचित करार गर्दै कस्तो कारबाही गर्ने भन्ने नियम र छानबिन गर्ने निकाय हाम्रा प्राज्ञिक संस्थाहरूमा नहुनु विडम्बना हो । त्यस्ता समस्या निदानका लागि संस्थाभित्र आन्तरिक प्रयास गर्नुभन्दा पनि प्रचारका लागि सञ्चारमाध्यम धाउनु र कारबाहीका लागि अख्तियारसम्म पुग्नु भनेको झनै उदेकलाग्दो कुरा हो ।

विस्मयकारी विषय, त्यस्ता कर्ममा संलग्न भनिएका बौद्धिकहरू आफ्नो त्रुटि वा गल्तीलाई स्विकार्नुभन्दा पनि आफूले गरेको कामको बचाउ गर्न मरिमेटेर लाग्नु हो । आफूबाट भएको त्रुटिप्रति आत्मालोचित हुनु त परै जाओस्, आफ्नो गल्ती अरूले सप्रमाण औंल्याउँदा पनि क्षमाशील नहुनु भनेको बौद्धिक विनयशीलता (इन्टेलेक्चुअल ह्युमिलिटी) को खडेरी हो। ज्ञानको खोजीमा निरन्तर लागेका वैज्ञानिक खोजलाई पेसा बनाएका मान्छेहरूमा विद्यमान बौद्धिक विनयशीलताको अभावले समग्रमा हाम्रो सिकाइमाथि नै प्रश्न खडा गर्छ । हालै प्रकाशित ‘थिंक अगेन : द पावर अफ नोइङ ह्वाट यु डोन्ट नो’ पुस्तकमा एडम ग्रान्ट लेख्छन्, ‘वैज्ञानिक हुनका लागि सीमित ज्ञानमा घमन्ड गर्ने होइन, आफ्नो अज्ञानताप्रति जानकार भएर नयाँ कुरा सिक्न उत्सुक बौद्धिक विनयशीलता जरुरी हुन्छ ।’

संसारमै बढ्दो बौद्धिक चोरी

अंग्रेजी शब्द ‘प्लेजारिजम’ जरो ल्याटिन शब्द ‘प्लाजिरे’ हो जसको अर्थ ‘चोर्नु वा अपहरण गर्नु’ हुन्छ । प्राज्ञिक क्षेत्रमा अरूले गरेका काम, लेख, रचना, उत्पादनहरूलाई विनाश्रेय आफ्नो नाममा प्रकाशित गर्नुलाई बौद्धिक चोरी मानिन्छ । कतिपय अवस्थामा अरूका विचारको नक्कल र आफ्नै लेख–रचनालाई समेत स्रोत नखुलाई पुन: प्रकाशन गर्नुलाई पनि बौद्धिक चोरी भनिन्छ । यतिखेर संसारभर बौद्धिक चोरी परीक्षण गर्ने उत्कृष्ट विधि र साधनहरू उपलब्ध छन् । त्यस्ता सफ्टवेयर वा अनलाइन टुलहरूले बौद्धिक चोरीको सजिलै परीक्षण गरिदिने भएकाले बौद्धिक चोरी सजिलै पत्ता लाग्न थालेको छ । सम्भवत: त्यसैले होला, नेपालमा र अन्यत्र पनि पछिल्लो समयमा बौद्धिक चोरीका घटनाहरू सार्वजनिक हुने क्रम बढ्दो छ ।

अन्तर्राष्ट्रिय प्रचलनमा बौद्धिक चोरी प्रमाणित लेख–रचनाहरूलाई खारेजी (रिट्रयाक्सन) गरिन्छ । ‘रिट्रयाक्सन वाच’ भन्ने वेबसाइटले विश्वभर खारेजीमा परेका लेखहरूको संग्रह गर्छ । ‘साइन्स’ जर्नलमा प्रकाशित एउटा लेखअनुसार, विश्वमा गत दस वर्षमा बौद्धिक चोरीलगायतका अनियमितता र त्रुटिका कारण रिट्रयाक्सन हुने लेखहरूको संख्या दस गुणा बढेको छ । बौद्धिक चोरी गर्ने लेखकहरू धेरैजसो बारम्बार दोहोरिएको उक्त लेखमा उल्लेख छ । त्यस्ता देशहरू पनि निश्चित छन्। उदाहरणका लागि, संसारमै वैज्ञानिक लेखहरू उच्च रिट्रयाक्सन हुने दस देशमा इरान, रोमानिया, सिंगापुर, भारत, मलेसिया, दक्षिण कोरिया, चीन, टर्की, दक्षिण अफ्रिका र नेदरल्यान्ड पर्छन् । नेपालको अवस्था अझै अज्ञात छ ।

यसले पनि के देखाउँछ भने, धेरैजसो अध्येताले जानीबुझी उत्प्रेरणा (इन्सेन्टिभ) को लोभमा यस्ता अनैतिक र अनुचित कार्य गरिरहेका छन् । र, कतिपय देशको प्रणालीको अनुगमनको राडारमा त्यो परेको छैन । तर उल्लेख्य संख्याका लेखहरू तथ्यांक विश्लेषणका क्रममा हुनेजस्ता त्रुटिहरूका कारण पनि रिट्रयाक्सन हुने गरेका छन्। माथि उल्लिखित एन्ड्रयु लिनको लेख आफैंले त्रुटि भेट्टाएपछि उनीहरूकै अनुरोधमा रिट्रयाक्सन गरिएको थियो ।

क्षमा माग्नु कमजोरी होइन

नेपालीमा बौद्धिक चोरी भनेर सीधै आपराधिक शब्दावली प्रयोग गरिने भएकाले यसको आरोप लाग्नसाथ मानिसहरू कलंकको टीका लगाए जस्तो गर्छन् । तर कतिपय अवस्थामा यस्ता घटनाहरू अनजानवश पनि हुने गरेको पाइन्छ । हेलचेक्रयाइँका कारण लेखकले अन्य लेख–रचनालाई श्रेय दिन छुटाएको पनि हुन सक्छ । सिकारु अध्येताले अन्यत्रका कुरा हुबहु नक्कल (कपी–पेस्ट) गरेको तथ्य लेखकीय टिमका वरिष्ठ अध्येताले थाहा नपाउँदा पनि यस्तो समस्या हुन सक्छ । अंग्रेजीमा भाषागत दक्षता कमी भएका कारण गैरअंग्रेजीभाषीहरूका लागि लेख लेख्दा पहिले प्रकाशित भएका लेखहरूसँग वाक्यांशहरू मिलेका पनि हुन सक्छन् । त्यसकारण सबै प्रकारका बौद्धिक चोरीलाई एकै घानमा राख्नुभन्दा त्यसको स्तर निर्धारण र नियतको परीक्षण महत्त्वपूर्ण हुन आउँछ ।

तर आरोपित भइसकेपछि अध्येता/लेखकले त्रुटि हेरेर क्षमाशील हुनु घटनालाई सच्याउने पहिलो खुड्किलो हो । उदाहरणका लागि, भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहका सल्लाहकारसमेत रहेका सम्मानित वैज्ञानिक सीएनआर रावमाथि उनीहरूको एउटा वैज्ञानिक लेखका तीन हरफ अन्य लेखसँग मिलेकाले बौद्धिक चोरीको आरोप लाग्यो । आरोप लाग्नसाथ उनले ‘साइन्स’ जर्नलमा एउटा टिप्पणी लेखेर सार्वजनिक रूपमा क्षमा मागे । उनले लेखे, ‘यस लेखका लेखकहरू सम्पूर्ण पाठक, सहपाठी समीक्षक, सम्पादकहरूसँग हामीबाट भूलवश हुन गएको त्रुटिका लागि गम्भीर क्षमा याचना गर्छौं ।’ पछि पत्ता लाग्यो— उक्त लेखका एक कनिष्ठ लेखकले प्रारम्भिक पाण्डुलिपि तयार पार्ने क्रममा अन्यत्रबाट कपी–पेस्ट गर्दा उक्त समस्या भएको रहेछ । तथापि रावले उक्त त्रुटिका लागि क्षमा मागे । उक्त घटनापछि रावको सम्मानमा कमी आएको छैन ।

नेपालमा पनि ‘सेतोपाटी’ अनलाइनमा ‘किताब चर्चा’ का स्तम्भकार हरि शर्मालाई उनको नाममा प्रकाशित ‘सनसनी मच्चाएको एन्ड अफ हिस्ट्री’ भन्ने लेखका कतिपय अनुच्छेद ‘न्युयोर्कर’ मा पहिल्यै छापिएको लेखसँग मिल्न गएको भनेर बौद्धिक चोरीको आरोप लाग्यो । त्यसपछि लेखक शर्माले उक्त लेखमा मात्रै होइन, आफ्ना अन्य कतिपय लेखमा पनि सन्दर्भस्रोत उद्धृत नभएको स्विकार्दै त्यसका निम्ति आत्मालोचना गर्न आफूलाई कुनै संकोच छैन भन्दै सोही अनलाइनमा लेख लेखे । उनले लेखे, ‘प्रबुद्ध पाठकहरूले आफ्नो तीक्ष्ण दृष्टिबाट औंल्याउनुभएको कुराले मलाई आफ्नो कमजोरी चिन्ने अवसर दिएको छ । यसले मलाई आगामी दिनमा थप बलियो बनाउनेछ । पाठकहरूले औंल्याउनुभएका कमीकमजोरी र टीकाटिप्पणीलाई नयाँ सिकाइका रूपमा ग्रहण गर्छु ।’

बेलायतका लिन, भारतका रावदेखि नेपालका शर्मासम्मले जान–अनजानमा भएका आफ्ना प्राज्ञिक त्रुटिप्रति गरेका यस्ता क्षमाशील स्वीकारोक्तिले, शर्माकै भाषामा भन्दा, उनीहरूलाई थप बलियो र सजग तुल्याएका छन् । यदि उनीहरूले आफूमाथि लागिसकेको आरोपलाई तीर्थ खनियाँले जस्तै बेवास्ता गरेका भए सम्भवत: त्यो आरोपले उनीहरूलाई जिन्दगीभर पछ्याइरहने थियो जसरी खनियाँलाई अहिलेसम्म पछ्याइरहेको छ । त्यसकारण, माफी माग्न अस्वीकार गर्नु भनेको बलशाली हुनु होइन, अभिमान वा दम्भको प्रदर्शन गर्नु हो । दम्भले मानिसलाई थप कमजोर तुल्याउँछ ।

अन्त्यमा, कसैको पनि वैज्ञानिक अनुसन्धान वा प्राज्ञिक यात्रा धर्सो कोरेजस्तो सपाट र त्रुटिरहित हुँदैन । यो निरन्तर प्रयास गर्दै, गल्तीबाट सिक्दै जाने थुप्रै मोड र घुम्तीहरू भएको यात्रा हो । यस यात्रामा गरिने त्रुटिहरूले ज्ञानको उच्चता प्राप्त गर्न मद्दत गर्छन् । यस्ता त्रुटि सिकारुदेखि ठूला र अनुभवी प्राज्ञसमेतले गर्ने गर्छन् । तर गल्तीबाट सिक्न र त्रुटि सच्याउन सदैव तत्पर रहनु अध्येताको न्यूनतम धर्म हो । नेपालका वैज्ञानिक संस्थाहरूले आफ्ना अध्येताहरूलाई आफ्नो स्खलित आस्थामा दृढ रहन उनीहरूको गल्ती ढाकछोप गरेर प्रेरित गर्नेभन्दा आफू गलत पनि हुन सक्छु भनेर सिकाउने बौद्धिक विनयशीलताको अभ्यास गराउन ढिला भइसकेको छ ।

कान्तिपुर दैनिक । फाल्गुन २७, २०७७

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: