कोभिडकालमा डार्बिन

सन् १८५९ को शरद् याम । प्रतिष्ठित बेलायती जर्नल ‘क्वाटर्ली रिभ्यु’ का सम्पादक ह्वाइटवेल एल्विनको हातमा जर्नलका प्रकाशकमार्फत एउटा पुस्तकको पाण्डुलिपि पुगेछ । सम्पादक महोदयले त्यो पाण्डुलिपि पढिसकेपछि प्रकाशकलाई भनेछन्—पुस्तकको हरेक पृष्ठ कष्टकर, अप्रमाणित र काल्पनिक छ’ त्यसैले यस्तो ‘विद्रोही’ पुस्तक नछापेकै बेस । उनले लेखकलाई अर्ती दिएछन्, ‘यस्तो किताबले पाठक पाउँदैन । बरु परेवाका बारेमा किताब लेख, परेवामा सबैको उत्सुकता र रुचि छ । परेवासम्बन्धी पुस्तक लेख्यौ भने बेलायतका सबै जर्नलले समीक्षा पनि छाप्छन् ।’ सम्पादकको सल्लाह लत्त्याउँदै प्रकाशक जोन मरेले उक्त पुस्तक छाप्ने निर्णय गरे र २४ नोभेम्बर१८५९ मा पुस्तक प्रकाशित भयो । अनौठो के भइदियो भने,पुस्तक प्रकाशित भएकै दिन छापिएका सबै १,२५० प्रति बिक्री मात्रै भएनन्, बरु प्रकाशकले थप १,५०० पुस्तकको अग्रिम अर्डर पनि पाए । सन् १९०१ मा प्रकाशकीय अधिकार सकिँदासम्म उक्त पुस्तक १ लाखप्रतिभन्दा बढी बिक्री भयो । सन् २०१४ मा बेलायतको फोलियो सोसाइटीले हालसम्मकै प्रभावशाली पुस्तकका लागि भोटिङ गरायो । उक्त सूचीमा संसार बदल्ने बीस पुस्तक, जस्तै ः प्लेटोको ‘द रिपब्लिक’, मार्क्स र एंगेल्सको ‘कम्युनिस्ट मेनिफेस्टो’, आइन्सटाइनको ‘रिलेटिभिटी’, इम्यानुल कान्टको ‘क्रिटिक अफ पिओर रिजन’ र एडम स्मिथको ‘द वेल्थ अफ नेसन‘ देखि स्टेफन हकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सम्मका नयाँ–पुरानापुस्तकहरू समाविष्ट थिए । तर, सबैलाई पछि पार्दै सम्पादकले ‘छाप्नु हुँदैन’ भनेको पुस्तक अहिलेसम्म लेखिएको सबैभन्दा प्रभावशाली पुस्तकको माथिल्लो सूचीमा रहन सफल भयो । पुस्तकको शीर्षक थियो ‘अन द ओरिजिन अफ स्पेसिज,’ जसका लेखक थिए— चार्ल्स डार्बिन । उनको जन्मदिन फेब्रुअरी १२ (आगामी शुक्रबार) लाई विश्वभर ‘डार्बिन जयन्ती’का रूपमा मनाउने गरिन्छ ।

बेलायतका सबैभन्दा खतरनाक मानिस

छापिएकै दिन हातहातै बिक्री भएर ‘बेस्ट सेलर’भएपनि ‘अन द ओरिजिन अफ स्पेसिज’ मा लेखिएका कुराहरूले तत्कालीन बेलायती समाजमा ठूलो तरंग ल्याइदिए र पुस्तक विवादको भुमरीमा फस्न पुग्यो । पुस्तकमा वर्णित कुराहरू डार्बिनको दशकौं लामो अवलोकनजन्य प्रमाणमा आधारित थिए, तथापि ती तत्कालीन समाजमा प्रबल क्रिस्चियन धार्मिक मान्यताविपरीत थिए । त्यतिबेलाको संसारमा जीवहरूको सिर्जना ईश्वरीय देनका कारण सम्भव भएको आमधारणा थियो । दैविक सिर्जनाको उक्त सिद्घान्तमा मानिस सृष्टिको केन्द्रविन्दुमा पर्थ्यो । तर डार्बिनले ‘अन द ओरिजिन अफ स्पेसिज’ मार्फत मानिससमेतका जीवहरूको उत्पत्ति एकै झोक्कामा चामत्कारिक रूपले भएको होइन, बरु पुराना प्रजातिहरूबाट समयक्रममा नयाँ प्रजातिहरूको क्रमिक विकास भएको हो भन्दै उत्पत्तिको सिद्घान्तलाई अघि सारे । उनको थप मत थियो—पृथ्वीका सबै जीव एउटै साझा पुर्खारूपी ‘रूख’बाट हाँगाहरू पलाएजसरी क्रमिक रूपमा विकसित हुँदै आएका हुन् ।

डार्बिनको उत्पत्तिको सिद्घान्त जीवनरचनालाई ईश्वरीय वा अदृश्य शक्तिको देन मान्ने र मानिसलाई उपल्लो दर्जामा राख्ने मतलाई खारेज गर्ने खालको थियो । त्यसकारण उनको पुस्तक प्रकाशित भएपछि धार्मिक रूढिवादी क्रिस्चियन समूह, चर्च अफ इङ्ल्यान्डको विज्ञान समितिदेखि तिनका वैज्ञानिक साथीहरूसम्म उनीमाथि खनिए । डार्बिनको सिद्घान्तको खिल्ली उडाइयो, त्यसलाई मानवताकै लागि ‘खतरनाक विचार’ भनियो, र उनलाई ‘बेलायतकै सबैभन्दा खतरनाक मान्छे’ को उपाधि दिइयो ।

डार्बिनमा प्रजातिको उत्पत्तिसम्बन्धी ज्ञानको बीजारोपण सन् १८३१–३६ सम्म एचएमएस बिगल नामको समुद्री जहाजको पाँचवर्षे लामो यात्राका क्रममा देखेका, संकलन गरेका जीवजन्तु, वनस्पति र जीवावशेषहरूको अवलोकन र अध्ययनबाट प्राप्त भएको थियो । समुद्री यात्राका क्रममा भूमध्यरेखामा अवस्थित ग्यालापोगसका नामक स–साना समुद्री टापुहरूमा पाइएका २५ प्रजातिका भँगेरा (फिन्चेज) का ठुँडहरूमा पाइएको विविधता नै उत्पत्तिको सिद्घान्तको जननी थियो ।

टापुका भँगेराहरू नजिकैको मूलभूमि (मेनल्यान्ड) मा पाइने भँगेराहरूसँग अरू कुरामा दुरुस्तभएपनिठुँडको बनोटमा भने टापु र त्यहाँ पाइने खाना र हावापानीअनुसार भिन्न थिए । उदाहरणका लागि, कडा बोक्रा भएका फल खाने भँगेराहरूको ठुँड ठूलो, सिउँडी खानेको ठुँड धारिलो र कीरा खानेको ठुँड लामो थियो । यसका आधारमा डार्बिनले लेखे—एउटै प्रजातिका पुर्खाहरूबीच सुरुआतमा साँघुरो भिन्नता हुन्छ । जब त्यस्ता भिन्न गुणहरू बाँच्न र प्रजननका लागि उपयोगी हुन्छन्, त्यो विशिष्ट गुण बनेर नयाँ पुस्ताहरूमा सर्दै जान्छ अनि बाँच्न र प्रजननका लागि अनुपयोगी गुण हराएर जान्छ । जस्तै: कडा ठुँड भएको समूहका चराहरूको गुण कडा बोक्रा भएको फल खानका लागि उपयोगी भएमा उक्त गुण पछिल्ला पुस्ताहरूमा सर्दै जान्छ र त्यो अटल रहिरहन्छ । अर्थात्, प्रकृतिले जीवमा भएको बाँच्नका लागि सहयोगी गुणलाई छनोट गर्छ । जीवको कुनै विशिष्ट गुणमाथिको प्रकृति छनोट सुरुमा थाहा नहुने सूक्ष्म हुन्छ तर कालान्तरमा बाँच्न सहयोगी विशिष्ट गुण छनोट हुँदै जाँदा एउटै प्रजातिका समूहहरूबीचको जैविक दूरी फराकिलो हुन्छ । अन्ततोगत्वा एउटै प्रजातिबाट उत्पन्न भएका फरक समूहहरूबीच संसर्ग भएमा पनि सन्तानोत्पादन हुन सक्दैन अर्थात् उनीहरू फरक प्रजातिमा रूपान्तरित हुन्छन् । यसरी एउटा प्रजातिबाट क्रमिक रूपमा नयाँ विशेषता बोकेको फरक प्रजातिको उत्पत्ति हुन्छ जसको चालक शक्तिकारूपमा प्राकृतिक छनोटले काम गर्छ ।

रसेल वालेसको पत्रले त्रसित

डार्बिन अध्ययनका क्रममा आफूले निकालेको जीव उत्पत्तिको निष्कर्ष स्थापित धार्मिक मान्यताविपरीत भएकामा जानकार थिए । उक्त कुरा सार्वजनिक भएपछि त्यसले खडा गर्नसक्ने विवादप्रति सचेत भएकै कारण उनले, उत्पत्तिको सिद्घान्तको पहिलो ड्राफ्ट सन् १८३८ मै लेखेका भए पनि, त्यसलाई २० वर्षसम्म अधुरै छोडेका थिए ।

प्रजातिको उत्पत्तिको उनको निष्कर्षले समाजलाई विभाजित नतुल्याओस् भनेर २० वर्ष अलमलिएका डार्बिनको हातमा १८ जुन १८५८ मा एउटा पत्र पर्‍यो । बेलायती हुलाकमार्फत उक्त पत्र पठाएका थिए—इन्डोनेसियाको टापुमा जीवहरू संकलन गरिरहेकासाथी/प्रशंसक अल्फ्रेड रसेल वालेसले ।सन्चो–बिसन्चो लेखिएको/सोधिएको सामान्य चिठी थिएन त्यो, वालेसले फिल्ड अवलोकनका क्रममा पत्ता लगाएका निष्कर्षहरूको पाण्डुलिपि थियो । त्यतिखेर अहिलेको जस्तो समकक्षी समीक्षा (पियर रिभ्यु)को चलन हुन्थेन, वैज्ञानिकहरू आफ्नो पाण्डुलिपि प्रकाशित गर्नुअघि आफूभन्दा वरिष्ठ वासमकक्षीलाई राय–सुझावका लागि पठाउँथे। पत्र पढेपछि डार्बिन आश्चर्यचकित बने । वालेसले लेखेका थिए, ‘जंगली जनावरको जीवन भनेको बाँच्नका लागि संघर्ष रहेछ जहाँ कम निपुणहरू सधैं हार्छन् ।’यो कुरा उनले प्रकाशित गर्न डराएर राखेको प्राकृतिक छनोटको सिद्घान्तको निष्कर्षसँग हुबहु मिल्थ्यो । रसेलको पत्रले डार्बिन आफ्नो अनवरत अवलोकन रसंकलनबाट जन्मेको मौलिक सिद्घान्त अरू (रसेल) का नाममा प्रकाशित हुनसक्ने भन्दै त्रसित भए । र, ‘अन द ओरिजिन अफ स्पेसिज’ प्रकाशित गर्न हतारिए ।

कोरोनाकालमा डार्बिनको महत्त्व

एउटै प्रजातिका समूहहरूमा भिन्न गुण/विषेशता के कारणले उत्पन्न हुन्छ भनी डार्बिनलाई थाहा थिएन । यतिखेर आनुवंशिक विज्ञानको विकासका कारण प्रजातिगत भिन्नताको कारक जीवको अनुवंश (डीएनए) मा हुने उत्परिवर्तन (म्युटेसन) हो भन्न सकिन्छ । त्यस्ता उत्परिवर्तनमार्फत देखापर्ने बाँच्न र प्रजननलाई उपयोगी गुणलाई प्रकृतिले छनोट गर्ने कुरा योजनामुताबिक चलेको जस्तो देखिन्छ । तर जीवमा हुने उत्परिवर्तन नियति (र्‍यान्डम) हो, निर्धारित होइन । तथापि बाँच्ने क्रममाआइलाग्ने प्राकृतिक अवस्थाहरू, जस्तैः आफ्ना र अन्य समूहका सदस्यसँग खाना र प्रजननका लागि प्रतिस्पर्धा, सिकार, रोगव्याधि, जलवायु परिवर्तन, बासस्थानमा आउने परिवर्तन, तापक्रममा हुने फेरबदल आदिले जीवहरूमा उत्परिवर्तनले ल्याउने नयाँ गुणहरूको छनोटका लागि निरन्तर दबाब (सेलेक्सन प्रेसर) पारिरहेको हुन्छ । जस्तैः ग्यालापोगस टापुका भँगेराहरूबीच खानाको प्रतिस्पर्धा र उपलब्धताले ठुँडको आकार फेरिँदै गएका समूहहरूलाई प्राकृतिक छनोटका लागि दबाबको काम गरेको थियो । यस्ता दबाबहरूले जीवलाई नवीन परिस्थितिमा अनुकूलन हुनसघाई क्रमिक विकासको प्रक्रियालाई चलाइरहेका हुन्छन् ।

यतिखेर विश्व कोरोनाभाइरसबाट लाग्ने कोभिड–१९ रोगका कारण आक्रान्त बनेको छ । डार्बिनलाई मान्ने हो भने, पृथ्वीमा ठूला–साना, बलिया–निर्धा, मानिस–भाइरस/ब्याक्टेरिया सबैका लागि एउटै नियम छ—प्राकृतिक छनोटको । त्यसकारण मानिसले बाँच्न, फैलन र अनुवंश सञ्चरणका लागि जस्तो संघर्ष गर्छ, कोरोनाभाइरसले पनि त्यही गरिरहेको छ । मानिसले बाँच्नका लागि औषधि, विशेषतः एन्टिबायोटिक र भ्याक्सिनको निर्माण गर्‍यो । ६० वर्षयता संसारभर त्यसको अत्यधिक उपयोग, दुरुपयोग र न्यूनोपयोग भइरहेको छ । जब एन्टिबायोटिकसँग ब्याक्टेरिया र एन्टिभाइरल औषधिसँग भाइरसको लडाइँ हुन्छ तब हामीले त्यस्ता ब्याक्टेरिया र भाइरसका लागि प्राकृतिक छनोटको जस्तै कृत्रिम तर निरन्तर दबाबको अवस्था सिर्जना गराएका हुन्छौं ।

एन्टिबायोटिक मानिसका लागि रोग निको पार्ने माध्यम हो भने ब्याक्टेरियाका लागि जीवन–मरणको परिस्थिति । अधिकांश अवस्थामा एन्टिबायोटिकले जित्छ र ब्याक्टेरिया मर्छ । तर कहिलेकाहीँ असंख्य ब्याक्टेरियाको कुनै समूहमा उत्परिवर्तन भएर ब्याक्टेरियाको शरीरको विशेष भाग जहाँ एन्टिबायोटिक गएर टाँसिन्छ, त्यो नै हराउँछ । ब्याक्टेरियाको शरीरको खास भागबाट पसेर त्यसमाथि धावा बोल्ने एन्टिबायोटिकको चरित्र ब्याक्टेरियामा टाँसिन मिल्ने भाग नै हराएपछि बेकामे बन्छ र एन्टिबायोटिकले काम गर्न सक्दैन । सिद्घान्ततः ब्याक्टेरियाका लागि जीवन–मरण बनेको एन्टिबायोटिकबाट बचाउने उक्त गुणलाई प्रकृतिले छनोट गर्छ र नयाँ पुस्ताका ब्याक्टेरियाहरू प्रसारित भएपछि एन्टिबायोटिक–प्रतिरोधी नयाँ प्रजातिको उत्पत्ति हुन्छ ।

ब्याक्टेरिया र भाइरसजस्ता अत्यन्त द्रुत गतिमा प्रजनन हुने, लचिलो आनुवंशिक संरचना भएका जीवहरूमा यस्ता उत्परिवर्तनहरूले ल्याउने फेरबदल देखिन र परिवर्तित वातावरणमा अनुकूल भएर बाँच्न ती जीवहरूलाई खासै समय लाग्दैन । जबकि ठूला जीवहरूमा त्यस्ता परिवर्तन हुनजुगौं लाग्छ, डाइनोसरबाट चरामा फेरिन अर्बौं वर्ष लागेको थियो ।

यस्तै आनुवंशिक उत्परिवर्तनका कारणहाल कोरोना भाइरसको नयाँ प्रकार देखापरिसकेको छ । उत्परिवर्तनले ल्याएको भाइरसको तीव्र फैलनसक्ने गुणलाई, बाँच्न सहयोगी भएकै कारण, प्रकृतिले छनोट गरेको छ । अहिलेको भ्याक्सिनले नयाँ प्रकारका कोरोनाभाइरसलाई नियन्त्रण गर्ने बताइन्छ । तर कोरोनाभाइरसमा यस्तै उत्परिवर्तनहरू भइराखेमा सम्भवतः हालको भ्याक्सिनले कामै नगर्ने नयाँ प्रजातिको कोरोनाभाइरसको उत्पत्ति पनि हुनसक्छ । त्यसकारण भाइरस नियन्त्रणका लागि भ्याक्सिन बनाउनुजत्तिकै महत्त्वपूर्ण छ उत्पत्तिको सिद्घान्त बुझ्नु । सम्भवतः त्यसैले होला, नोबल पुरस्कार विजेता जोसुवा लेडरबर्ग भन्छन्—कोभिडजस्ता संक्रामक रोगमा लुई पास्चरको भ्याक्सिनजत्तिकै महत्त्वपूर्ण छ डार्बिनको सिद्घान्त ।

कान्तिपुर दैनिक । माघ २९ २०७७ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: