जैविक विविधता अन्वेषणको खाँचो

काठमाडौँ — सन् १८०२ अर्थात् नेपाल र बेलायती इस्ट इन्डिया कम्पनीबीचको ‘व्यापार र मैत्री सम्झौता’ भएको पछिल्लो वर्ष, बेलायती प्रकृतिप्रेमी, भूगोलवेत्ता, वनस्पतिशास्त्री र डाक्टर फ्रान्सिस बुखानन–ह्यामिल्टन नेपाल आए ।

नेपाल र बेलायतबीच शान्ति र भ्रातृत्व बढाउने उद्देश्यले गरिएको उक्त सम्झौताअन्तर्गत पहिलोपटक बेलायतले नेपालमा बेलायती ‘रेसिडेन्ट’ राख्न पाउने अधिकार पाएको थियो । सम्भवतः त्यसैको फाइदा उठाउँदै बेलायती प्रथम रेसिडेन्ट क्याप्टेन विलियम नक्ससँगै बुखानन–ह्यामिल्टनले भारतबाट दक्षिण नेपालको समथर भूभाग हुँदै भीमफेदी, चित्लाङको बाटो भएर १६ अप्रिल १८०२ मा काठमाडौंमा पाइला टेके । बुखानन–ह्यामिल्टनको नेपाल आगमनको उद्देश्य ‘नेपाली राजनीतिमा बेलायतको प्रभाव बढाउने’ क्याप्टेन नक्सको उद्देश्यभन्दा भिन्न थियो । १४ महिना नेपाल बसेका उनले नेपालबाट करिब १,५०० वनस्पतिका नमुनाहरू अनि सयौं संख्याका जीवित जडीबुटी लगायतका वनस्पति र बीउहरू कलकत्ता लगे । त्यति बेलाको कलकत्ता दक्षिणपूर्वी एसियाका विभिन्न ठाउँबाट बेलायतीहरूले संकलन गरेका वनस्पति लगायतका जैविक वस्तुहरूको नमुना संकलनको केन्द्र थियो । संकलित वस्तुहरू त्यहाँ संग्रह गरेपछि बेलायत लगिन्थे । बुखानन–ह्यामिल्टनले नेपालमा संकलन गरेका नमुनाहरूबाट लगभग १,१०० प्रजातिका नयाँ वनस्पतिहरूको पहिचान भएको थियो ।

२१८ वर्षअघि बुखानन–ह्यामिल्टनले सुरु गरेको नेपालको जैविक विविधताको अन्वेषणको वैज्ञानिक शृंखला अझै सकिएको छैन । अझै पनि नेपालमा नयाँ प्रजातिहरू पत्ता लाग्ने र तिनको पहिचान गर्ने क्रम जारी छ । पछिल्लोपटक गत वैशाखमा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ‘लहरे सर्प’ को नयाँ प्रजाति फेला परेको थियो । त्यसभन्दा अघि डोटी र पाल्पा जिल्लामा सुनाखरीका दुई नयाँ प्रजाति ‘क्यालेन्थी हिमालइका’ र ‘हेबनरिया पाल्पेन्सिस’ पाइए । त्यसले देखाउँछ, नेपालमा जैविक विविधता अन्वेषणको कार्य अपूरै छ । पर्याप्त वैज्ञानिक खोज र अन्वेषण हुने हो भने अहिले पनि नेपालमा धेरै नयाँ प्रजातिका वनस्पति, जीवजन्तु, च्याउ र सूक्ष्म जीवहरू पाइने ठूलो सम्भावना छ ।

जैविक विविधताको हटस्पट

यस पृथ्वीमा जीवनको विविधता अर्थात् जैविक विविधता (जसअन्तर्गत पारिस्थितिकीय प्रणाली, प्रजाति र आनुवंशिक गरी तीनस्तरका विविधता पर्छन्) को वितरण एकैनासको छैन । विश्वका केही स्थानमा जीवनको विविधता अकल्पनीय रूपमा प्रचुर छ । त्यस्ता ठाउँमा जैविक विविधतामाथिको मानवचाप पनि उच्च छ । क्षेत्रफलको हिसाबले पृथ्वीको मात्र २.४ प्रतिशत जमिन ओगटेका ती स्थानहरूमा विश्वमा पाइने कुल प्रजातिमध्ये लगभग आधा वनस्पति, ४३ प्रतिशतभन्दा बढी प्रजातिका स्तनधारी जीव, चराचुरुंगी, सरीसृप र उभयचर वर्गका प्राणीहरू पाइन्छन् । ती क्षेत्रमा पाइने प्रजातिहरू अन्यत्र कतै नपाइने रैथाने (इन्डेमिक) हुन्छन् । हालसम्म विश्वभर हिमालय क्षेत्र लगायतका त्यस्ता ३६ स्थानको पहिचान गरिएको छ (सुरुमा त्यो संख्या २५ थियो), जसलाई जैविक विविधताको केन्द्र (बायोडाइभर्सिटी हटस्पट) भनिन्छ । हिमालय जैविक विविधता केन्द्रमा १० हजारभन्दा बढी प्रजातिका वनस्पति, ३०० स्तनधारी जीव, ९७७ चराचुरुंगी, १७६ सरीसृप, २६९ माछा र १०५ उभयचर वर्गका जीवहरू पाइएका छन् ।

नेपालले हिमालय जैविक विविधता केन्द्रको लगभग दुईतिहाइ भूक्षेत्र ओगटेको छ । त्यसकारण नेपाल जैविक विविधताका लागि विश्वकै एउटा केन्द्र हो, जहाँ सानो भूगोलमा जीवनका अद्वितीय विविधताहरू पाइन्छन् । यद्यपि नेपालको जैविक विविधतालाई पञ्जीकरण गर्ने, तिनको प्राकृतिक जनसांख्यिकीको अध्ययन गर्ने र मानवदोहनले जैविक विविधतामा पारेको प्रभावको अवस्था बुझ्ने काममा हामीकहाँ ज्ञानको ठूलो खाडल छ । नेपालको जैविक विविधताको भरपर्दो अनुमानित र अद्यावधिक तथ्यांक एकै ठाउँमा भेट्न मुस्किल छ । यससम्बन्धी सरकारी प्रकाशनहरू नयाँ अध्ययनसँगै अद्यावधिक हुन सकेका छैनन् । उदाहरणका लागि, नेपाल जैविक विविधता रणनीति तथा कार्ययोजना, २०१४–२०२० अनुसार नेपालमा १,८२२ प्रजातिका च्याउ, ११,८६१ प्रजातिका जीवजन्तु र १०,१४९ प्रजातिका वनस्पति पाइन्छन्, जसमध्ये २८४ प्रजातिका रैथाने (इन्डेमिक) वनस्पति पाइन्छन् । तर पछिल्लो अनुसन्धानले नेपालमा पाइने रैथाने प्रजातिका वनस्पतिको संख्या ३१२ देखाएको छ । नेपालमा नयाँ प्रजातिहरू पत्ता लाग्ने क्रम र अन्यत्र पनि पाइने तर यहाँ त्यसको पहिचान हुने क्रम जारी रहेकाले यो संख्या अझै उच्च हुन सक्ने सम्भावना छ । नेपालमा मात्रै होइन, विश्वभर जैविक प्रजातिहरूको अन्वेषण, नामांकन र पञ्जीकरणको सानो अंश मात्रै पूरा भएको छ ।

अन्वेषण र पञ्जीकरणको अधुरो कार्य

लगभग २५० वर्षअघि स्विडिस अध्येता कार्ल लिनियसले पृथ्वीमा भएका जीवजन्तु र वनस्पतिको जाति (जिनस) र प्रजाति (स्पेसिज इपिथेट) खुलाएर दुई शब्दमा नामांकन गर्ने (जस्तै— मानवको नाम होमो सेपियन्स) प्रणाली (बाइनोमियल नोमेक्लेचर) को सुरुआत गरेपछि संसारमा हालसम्म करिब १७ लाख प्रजातिका वनस्पति, जीवजन्तु, च्याउ र सूक्ष्म जीवहरूको पहिचान र नामांकन भइसकेको छ । तर उक्त संख्या यहाँ भएका प्रजातिगत विविधताको अनुमानित संख्याको एकदमै सानो हिस्सा मात्र हो । वैज्ञानिकहरूका अनुसार, पृथ्वीका अनुमानित ८६ प्रतिशत जीवनहरू अझै वैज्ञानिक नामांकनको पर्खाइमा छन् । अन्वेषण र पञ्जीकरणको पर्खाइमा रहेका ती जैविक विविधताहरू ठूला समुद्र, उष्णप्रदेशीय जंगल र पर्वतीय क्षेत्रहरूमा बढी हुन सक्ने वैज्ञानिकहरूको राय छ । नेपाल एक पर्वतीय देश भएको हुनाले र विश्वको ८६ प्रतिशत जैविक विविधता पहिचान र नामांकन हुन बाँकी रहेको परिप्रेक्ष्यमा अझै पनि नेपालमा पत्ता लाग्न र पहिचान हुन बाँकी भएका थुप्रै जीव रहेको अनुमान गर्न सकिन्छ ।

जैविक विविधताको अन्वेषण र पञ्जीकरणको क्षेत्रमा नेपाल लगायतका हिमाली क्षेत्रमा हाल भइरहेका सीमित अध्ययनहरूले पनि यस क्षेत्रमा पाइने जैविक विविधताहरू अझै पहिचान र पञ्जीकरणको पर्खाइमा रहेको पुष्टि गरेका छन् । पछिल्ला पन्ध्र वर्षमा भएका सीमित अध्ययनले यहाँ नयाँ प्रजाति पत्ता लाग्ने र पहिचान हुने क्रम तीव्र रहेको देखाएका छन् । विश्व वन्यजन्तु कोषले गरेको संकलनअनुसार, नेपाल लगायतका पूर्वी हिमालय क्षेत्रहरूमा सन् १९९८ देखि २००८ सम्मको एक दशकमा ३५३ नयाँ प्रजाति फेला परेका थिए, जसमध्ये २४२ वनस्पति, १६ उभयचर, १६ सरीसृप, १४ माछा, २ चरा, २ स्तनधारी र ६१ ढाड नभएका नयाँ प्रजातिका जीवहरू थिए । त्यसै गरी उक्त कोषले संग्रह गरेको पछिल्लो तथ्यांकअनुसार, सन् २००९ देखि २०१४ सम्म पाँच वर्षमा १३३ नयाँ प्रजातिका वनस्पति, ३९ ढाड नभएका जीवजन्तु, २६ प्रजातिका माछा, १० प्रजातिका उभयचर, १ सरीसृप, १ चरा र १ स्तनधारी जीव गरी कम्तीमा २११ नयाँ प्रजाति पाइएका थिए । यी दुई संग्रहका अनुसार, नेपालसहित भुटान, उत्तरपूर्वी भारत र उत्तरी बर्माका हिमाली क्षेत्रहरूमा विगत पन्ध्र वर्षमा प्रत्येक वर्ष लगभग ३७ नयाँ प्रजातिहरूको पहिचान हुँदै आएको छ । ‘बिजनेस यज युजल’ अर्थात् यथास्थितिमा भइरहेको सीमित अन्वेषण र पहिचान गर्दा पनि तीसौं नयाँ प्रजातिहरू प्रत्येक वर्ष फेला पर्छन् भने, व्यवस्थित अन्वेषण र अनुसन्धान गर्ने हो भने यस क्षेत्रबाट थुप्रै नयाँ प्रजातिहरू फेला पार्न सकिने सम्भावना छ ।

तर नेपाल र अन्यत्र पनि जैविक विविधताको अन्वेषण, पहिचान र पञ्जीकरणको कामको गति निकै सुस्त छ । अहिलेको जस्तो धिमा गतिमा जैविक विविधताको अन्वेषण र पञ्जीकरण भइरहेमा बाँकी जैविक विविधताको पहिचान गर्न वैज्ञानिकहरूलाई थप २,५०० वर्ष लाग्ने अनुमान छ । यद्यपि वैज्ञानिकहरूले पृथ्वीमा भएका स्तनधारी र चरा वर्गका प्राणीहरूको अन्वेषण र नामांकन लगभग पूरा गरिसकेका छन् । किनभने स्तनधारी ठूला जीव र चराचुरुंगी बढी अध्ययन गरिएका वर्गमा पर्छन् । तर पृथ्वीमा ठूलो संख्यामा रहेको अनुमान गरिएका सूक्ष्म जीवहरू ब्याक्टेरिया, भाइरस र ढुसीका प्रजातिहरूको पहिचान हुन सकेको छैन ।

यतिखेर विश्वभर ठूलो महामारी फैलाइरहेको सार्स कोभ–२ भाइरस पनि भर्खरै पत्ता लागेको हो । नेसनल जियोग्राफीमा प्रकाशित एक लेखका अनुसार, यस ब्रह्माण्डमा भएका ताराहरूभन्दा कैयौं गुणा बढी भाइरस पृथ्वीमा पाइन्छन् जसमध्ये अधिकांश पहिचानविहीन छन् । त्यसै गरी मानिसले आदिमकालदेखि रक्सी बनाउन प्रयोग गर्ने, पछिल्लो समयमा खाना र औषधिका रूपमा प्रयोग गरिने र कतिपय रोगका कारक ढुसी (च्याउ) वर्गका मात्रै ७ प्रतिशत प्रजातिहरूको पहिचान गरिएको छ । त्यसै गरी मानव शरीरको अभिन्न अंगका रूपमा रहेको ब्याक्टेरिया वर्गका अधिकांश प्रजाति पहिचानविहीन छन् ।

जैविक विविधताका क्षेत्रमा नेपालले बाघ, गैंडाजस्ता ठूला र प्रभावशाली (करिज्म्याटिक) जनावरको अध्ययन र संरक्षणमा हासिल गरेको उपलब्धिले एकातिर खुसी तुल्याउँछ भने थुप्रै संख्यामा भएका अन्य जीवप्रतिको अपहेलनाले दुःखी । हिमालय क्षेत्रमै स्तनधारी जीव, कीरा, चरा, वनस्पति सवैभन्दा बढी अनुसन्धान गरिएका वर्गमा पर्छन् । ढुसी, काई, लेउ, झ्याउजस्ता सूक्ष्म जीवहरू अन्यत्रजस्तै नेपालमा पनि उपेक्षित छन् । यससम्बन्धी हाम्रो अन्वेषण र अनुसन्धान मात्रै होइन, विज्ञताको अवस्था पनि निम्छरो छ । कोभिड–१९ जस्ता महामारीसँग जुध्न, नेपालमा भर्खरै देखिएको ‘मिमोसा डिप्लोट्राइका’ जस्ता नयाँ मिचाहा झारलाई व्यवस्थापन गर्न, केही वर्षयता ठूलो परिमाणमा निर्यात गरिने सेतकचिनीजस्ता जडीबुटीमार्फत आम्दानी बढाउन र घट्दो संख्यामा रहेका यार्साजस्ता प्रजातिहरूको संरक्षण गर्न पहिचान र पञ्जीकरण पहिलो आवश्यक खुड्किलो हो । तर विडम्बना, लगभग २०० वर्षअघिदेखि थालिएको नेपाली जैविक विविधता अन्वेषण, पहिचान र पञ्जीकरणको कार्य यतिखेर सरकारी र अनुसन्धानकर्ताको प्राथमिकतामा परेको छैन । उदाहरणका लागि, दस वर्षभित्र सक्ने भनेर सन् १९९९ मा सुरु गरिएको नेपालका वनस्पतिको पञ्जीकरण कार्य ‘फ्लोरा अफ नेपाल’ को प्रकाशन तोकिएको भन्दा दोब्बर समयसम्म पनि ३० प्रतिशत मात्रै सकिएको छ ।

अन्त्यमा, इसिमोडले गत वर्ष सार्वजनिक गरेको हिमालय क्षेत्रको असेसमेन्ट रिपोर्टले यो शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रका एकचौथाइ रैथाने प्रजाति र जैविक वासस्थानको ८० प्रतिशत भागसम्म नाश भएर जाने सम्भावना रहेको देखाएको छ । यस्तो नहोस्Ù हामीले पहिचान र नामांकन गर्नुअगावै यहाँबाट प्रजातिहरू लोप नहोऊन् । यतिखेर बुखानन–ह्यामिल्टनले २१८ वर्षअघि संसारसँग परिचित गराएका उपत्यकाका वनस्पतिहरूको अवस्था के होला ? त्यसपछिका सयौं अन्वेषणले पत्ता लगाउन नसकेका अन्य जीवजन्तु कति र कस्तो अवस्थामा होलान् ? ती जैविक निधिहरूको अन्वेषणका लागि पनि नयाँ पुस्ताको क्षमता वृद्घिका साथै उनीहरूलाई प्रोत्साहन र उत्प्रेरणाको जरुरी छ ।

कान्तिपुर दैनिक श्रावण २९

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s