सामूहिक विनाशको संघार

काठमाडौँ — विक्रम संवत् २०४५ । गोरखाको पुरानो स्कुल श्री शक्ति माविको कक्षा ६ को एउटा कोठा । सामाजिक शिक्षाको पाठ्यक्रममा संलग्न ‘गर्मीमा घाँस र हिउँदमा कीरा’ हुने अनौठो जीवका बारेमा पढाइ चल्दै थियो । चीनसँग सीमा जोडिएको गोरखाको उत्तरी गाउँ छेकम्पारबाट पढ्न आएका एक विद्यार्थी आफ्नो गाउँवरपर पाइने उक्त जीवका बारेमा बढी नै जानकार रहेछन् ।

पुस्तकमा दिइएको भन्दा बढी कुरा बताएपछि उनलाई गाउँ जाँदा त्यो जीव ल्याएर साथीहरूलाई देखाउन भनियो । उनले उक्त जीव संकलन गर्नु ‘बौद्घ धर्मअनुसार पाप’ हुने भन्दै आनाकानी गरे । लगभग तीन दशकअघि ‘अध्ययनका लागि’ संकलन गर्नसम्म ‘पाप मानिने’ उक्त जीव अर्थात् यार्सागुम्बु यतिखेर संसारकै सबैभन्दा महँगो जैविक औषधिका रूपमा बेचबिखन गरिन्छ ।

सुनभन्दा महँगोमा बेचिने यार्साको अन्तर्राष्ट्रिय बजार अनुमानित ५ अर्बदेखि ११ अर्ब डलरसम्मको छ । पाँच वर्षअघि नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार, २०७१ सालमा नेपालका एघार जिल्लामा ४ अर्ब ९२ करोड रुपैयाँ मूल्यको यार्सागुम्बु संकलन भएको थियो । विश्व बजारमा बढ्दो माग पूरा गर्न नेपालका उच्च पहाडी भेगका लगभग ३ लाख मानिस बर्सेनि ३,५०० मिटरभन्दा बढी उचाइका हिमाली पाटनमा ‘कीरा’ खोज्न पुग्छन् । अधिक संकलनका कारण व्यावसायिक संकलन सुरु गरिएको दुई दशक नपुग्दै यार्सा प्राकृतिक रूपमा घटेर लोपै हुने खतरा बढेको छ । त्यसैको प्रमाण हो— यस वर्षदेखि यार्सालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) ले अतिसंवेदनशील प्रजातिमा सूचीकृत गर्नु । आईयुसीएनले सन् १९६४ देखि मानवीय अतिक्रमणका कारण दुर्लभ र लोपोन्मुख भएका जीवहरूको ‘रातो सूची’ राख्न थालेको हो । हाल त्यसमा यार्सा लगायतका १ लाख २० हजार जीव सूचीकृत छन्, जसमध्ये ३२ हजार प्रजातिलाई लोपोन्मुख भनिएको छ । उक्त सूचीले सबै राष्ट्रलाई संरक्षणको नीति र योजना बनाउन विश्वसनीय वैज्ञानिक आधार प्रदान गर्छ । पृथ्वीमा भएका लाखौं जीवमाथि भइरहेका मानवीय दोहनको चाप मापन गर्ने भएकाले उक्त सूचीलाई ‘जीवनको ब्यारोमिटर’ पनि भन्ने गरिन्छ ।

जीवनको ब्यारोमिटरमा थेगिनसक्नु चाप

विज्ञान र प्रविधिको विकासले अकल्पनीय उपलब्धि हासिल गरेको यस समयमा पनि पृथ्वीमा भएका जीवहरूको संख्या अझै यकिन छैन, अनुमानमै सीमित छ । अनुमानबीच पनि ठूलो दरार छ, कसैले ३० लाख भन्छन् त कसैले १० करोड । प्लस वान जर्नलमा प्रकाशित एक अनुसन्धानअनुसार, यस पृथ्वीमा करिब ८१ लाख प्रजातिका वनस्पति र जनावर पाइन्छन् । तीमध्ये हालसम्म केवल १७ लाख प्रजातिको पहिचान भएको छ । मानवीय अतिक्रमणका कारण कतिपय पहिचान भइसकेका र पहिचान हुन बाँकी वनस्पति र जीवजन्तुहरू लोप हुँदै गइरहेका छन् ।

गत वर्ष प्रकाशित राष्ट्रसंघीय जैविक विविधता र वातावरणीय सेवासम्बन्धी अन्तरदेशीय विज्ञान नीति संयन्त्र (आईपीबीईएस) को प्रतिवेदनअनुसार, मानवजातिले पृथ्वीको ७५ प्रतिशत जमिन र ६६ प्रतिशत समुद्री भागको प्राकृतिक स्वरूपलाई आफूअनुकूल परिवर्तन गरिदिएको छ । सहरीकरण, पूर्वाधार निर्माण, कृषि र चरनजस्ता मानवीय गतिविधिहरूका लागि जैविक वासस्थानलाई अतिक्रमण गर्ने कार्यले गर्दा त्यहाँ बसोबास गर्ने असंख्य जीवको संख्या घटेको छ । यार्साजस्तै जंगली जीवहरूको अत्यधिक संकलन गर्ने, सिकार गर्ने, मार्नेजस्ता क्रियाकलापले पनि पृथ्वीबाट ठूलो संख्यामा जीवजन्तु लोप हुँदै गएका छन् । मानवीय क्रियाकलाप साबिक रूपमै रहिरहे आगामी केही दशकभित्रै पृथ्वीबाट १० लाख वनस्पति र जीवजन्तु सदाका लागि लोप हुनेछन्, प्रतिवेदनमा लेखिएको छ ।

त्यसो त पृथ्वीमा जन्मेको हरेकको जीवन समाप्त हुन्छ । मानिसको उत्पत्ति हुनुअगावै पृथ्वीमा जन्म–मृत्यु, उत्पत्ति–विनाशको प्रक्रिया एउटा लयमा चलिरहेकै थियो । वैज्ञानिकहरूका अनुसार, उत्पत्ति भएको ३ अर्ब ५० करोड वर्षयता पृथ्वीमा लगभग ४ अर्ब जीव उत्पत्ति भए, जसमध्ये ९९ प्रतिशत यहाँबाट लोप भए । कुनै प्रजातिको लोप हुने प्राकृतिक प्रक्रियालाई नयाँ प्रजातिको उत्पत्ति र विकास हुने प्रक्रियाले सन्तुलन गर्ने हुनाले पृथ्वीमा जीवनको अकल्पनीय विविधता पाइन्छ । यद्यपि उत्पत्ति र विनाशको उक्त सन्तुलनलाई महाविपत्तिहरूले कहिलेकाहीँ तहसनहस बनाइदिएको पाइन्छ । महाविपत्तिहरू, जस्तै : ठूला ज्वालामुखीहरू एकैपटक विस्फोट भएर, छुद्रग्रह पृथ्वीमा ठोक्किएर, पृथ्वीको वातावरणमा परिवर्तन (तापमानमा घटीबढी) भएर पृथ्वीबाट ठूलो संख्यामा जीवहरू सामूहिक रूपमा एकैपटक लोप भएका छन् ।

अवशेषहरूमा आधारित अध्ययनहरूले, पृथ्वीमा त्यस्ता सामूहिक विलोपन (मास एक्सटिङ्क्सन) पहिलोपटक ४४ करोड वर्षअघि, दोस्रो ३६ करोड वर्षअघि, तेस्रो २५ करोड वर्षअघि, चौथो २० करोड वर्षअघि र पाँचौं ६ करोड ५० लाख वर्षअघि भएको देखाएका छन् । ती पाँच महाविनाशमा पृथ्वीमा भएका ७५–९६ प्रतिशत प्रजातिहरू लोप भएको अनुमान गरिन्छ । त्यस्ता दुर्लभ परिघटनाका बावजुद पृथ्वीमा जीवन फैलने र विविधता कायम हुने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ, जसका कारण त्यस्ता सामूहिक विलोपनको करोडौं वर्षपछि नयाँ प्रजातिहरूको उत्पत्तिसँगै पृथ्वीमा जीवनको विविधता पुनः फर्केको पाइन्छ । तर पछिल्लो समयमा मानवजाति पृथ्वीमा प्रभावशाली भएयता मानवीय अतिक्रमणको द्रुतताले गर्दा प्रजातिहरूको लोप हुने दर अप्रत्याशित रूपमा बढेको छ । उक्त वृद्घिलाई वैज्ञानिकहरूले छैटौं सामूहिक विलोपन (सिक्स्थ मास एक्सटिङ्क्सन) भन्न थालेका छन् ।

सन्निकट छैटौं सामूहिक विलोपन

करोडौं वर्षपहिलेको जस्तो महाविपत्ति र वर्तमानको जस्तो मानवीय अतिक्रमण नहुँदा पनि प्रकृतिमा जीवहरूको विनाशको निश्चित गति हुन्छ, जसलाई प्राकृतिक विलोपनको दर (ब्याकग्राउन्ड एक्सटिङ्क्सन रेट) भनिन्छ । मानिस र भवितव्य नहुँदाको अवस्थामा उक्त विलोपन दर जीवजन्तुको संख्या र आयुअनुसार फरकफरक हुने गर्छ । तर गणितीय हिसाबमा प्रति १० लाख प्रजातिमा वार्षिक एक प्रजातिको लोप हुने गर्छ । यो दरअनुसार, १० हजार प्रजातिका स्तनधारी जनावरहरू यस संसारमा भएको मान्ने हो भने (यद्यपि करिब ६,५०० को मात्रै पहिचान भएको छ), एउटा स्तनधारी प्रजाति लोप हुन करिब १०० वर्ष लाग्छ । तर आईयुसीएनका अनुसार, सन् १५०० यताका ५०० वर्षमा पृथ्वीबाट स्तनधारी, चरा, सरीसृप, उभयचर वर्गका मेरुदण्डीय जीवका ६१७ प्रजातिहरू लोप भएका छन् । उक्त लोप हुने क्रम १०० वर्षयता झनै तीव्र बनेको छ । १०० वर्षयता पृथ्वीबाट मेरुदण्ड भएका ४०० प्रजाति लोप भएका छन् । यदि मानवीय अतिक्रमण नहुँदो हो त सोही संख्याका प्रजातिहरू प्राकृतिक रूपमा लोप हुनलाई ८ हजारदेखि १० हजार वर्षसम्म लाग्थ्यो ।

साइन्स जर्नलमा प्रकाशित लेखले पनि पृथ्वीमा प्रजातिहरूको लोप हुने गति साबिकको भन्दा हजारौं गुणाले बढिरहेको जनाएको छ । उक्त लेखअनुसार, मानिस र ऊसँग मिल्दोजुल्दो समूह- प्राइमेट्स- का ६० प्रतिशत प्रजाति यतिखेर लोपोन्मुख छन् । पीएनएएस जर्नलमा प्रकाशित आईयुसीएनको रातो सूचीमा आधारित अर्को लेखले हाल विश्वभर ७७ प्रजातिका स्तनधारी जीवहरूको संख्या ९४ प्रतिशतले घटेको र तिनको वासस्थानमा ८० प्रतिशतसम्मले संकुचन भएको देखाएको छ । मानवजातिले पृथ्वीको प्राकृतिक स्रोतमाथि कब्जा जमाउँदै, वन्यजन्तुको वासस्थानलाई टुक्र्याउँदै र मास्दै, मिचाहा प्रजातिका जीवजन्तु र रोगका जीवाणुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दै र कतिपयलाई मार्ने, संकलन गर्ने गरेर लोप हुने प्राकृतिक दरलाई बढाएको उक्त लेखको निष्कर्ष छ । मानवसिर्जित जलवायु परिवर्तनका कारण पनि कतिपय जीव लोपोन्मुख बन्न पुगेका छन् ।

एउटा प्रजातिलाई उत्पत्ति, विकास र फैलावटबाट स्थापित हुन लाखौं वर्ष लाग्ने वैज्ञानिकहरूको दाबी छ । तर पृथ्वीमा केवल २ लाख वर्षअघि आएको एउटा प्रजाति- मानिस- ले यहाँ करोडौं वर्षदेखि बाँचिरहेका जीवहरूको अस्तित्वलाई केही शताब्दीभित्रै सदाका लागि नामेट पार्दै छ । पृथ्वीकै इतिहासमा यसरी एउटा प्रजातिले यहाँको जीवन र जगत्लाई अकल्पनीय परिवर्तन यसअघि कहिल्यै गरेको थिएन । उदाहरणका लागि, गत पाँच दशकमा मानवीय अतिक्रमणका कारण पृथ्वीमा करोडौं वर्ष पहिलेदेखि बस्दै आएका भ्यागुताका कैयौं प्रजाति लोप भए । यतिखेर विश्वमा उभयचरको लोपदर ४५,००० गुणा बढी भएको भनिन्छ । हाम्रो मुट्ठीमा अट्ने भ्यागुताजस्ता निरीह प्राणी त भइहाले, हामीभन्दा शक्तिशाली र ठूला बाघ, गैंडाजस्ता जनावर पनि मानिसकै कारण घटेर लोप हुने अवस्थामा पुगेका छन् ।

हाल नेपाल र भारतका केही निकुञ्जमा सीमित एकसिंगे गैंडाको वासस्थान पन्ध्रौं शताब्दीतिर म्यानमारदेखि उत्तरी पाकिस्तानसम्म फैलिएको थियो । वासस्थानमा मानवीय अतिक्रमण र सिकारका कारण बीसौं शताब्दीको सुरुमा पुग्दा गैंडाको संख्या घटेर २०० मा सीमित भयो । त्यसै गरी वासस्थानमा अतिक्रमण र सिकारका कारण यतिखेर बाघको ऐतिहासिक वासस्थान ९३ प्रतिशतले खुम्चिएको छ । र, केही दशकअघि बाघको संख्या पनि घटेर केही सयमा सीमित हुन पुगेको थियो । संरक्षणमा ठूलो लगानी र प्रयासका कारण केही दशकयता नेपालमा र अन्यत्र पनि गैंडा र बाघको संख्यामा बढोत्तरी भइरहेको छ । प्राकृतिक रूपमा जनसंख्या घटेपछि त्यसलाई पुरानो अवस्थामा फर्काउन कति कठिन छ भन्ने कुराको उदाहरण हो- झन्डै लोप हुने अवस्थामा पुगेका यी जक्खु जनावरहरूको संख्या बढाउन लागेको मिहिनेत, लगानी र समय । बाघ आईयुसीएनको संकटापन्न (इन्ड्यान्जर्ड) सूचीमा र गैंडा अतिसंवेदनशील (भल्नरेबल) सूचीमा रहेका जनावर हुन् । यार्सागुम्बु पनि यस वर्षदेखि आईयुसीएनको अतिसंवेदनशील सूचीमा परेको छ । विगत पन्ध्र वर्षमा यार्साको उत्पादन ३० प्रतिशतले घटेको छ र उक्त अवस्था कायमै रहे अबका केही दशकभित्रै यार्सा लोप हुने अवस्थामा पनि पुग्न सक्छ । यद्यपि संरक्षणको प्रयासले यसको दिगो व्यवस्थापन पनि हुन सक्छ ।

अन्त्यमा, बाघ, गैंडाजस्ता जक्खु र यार्सागुम्बुजस्तो महँगो जीवको घट्दो संख्या मात्र होइन, विश्वभर प्रजातिहरूको विलोपनको शृंखला भयावह छ । कतिपय जीवजन्तु हाम्रो जानकारी र पहिचानबिना विलोप भइसकेका छन् । ‘द सिक्स्थ एक्सटिङ्क्सन: एन अनन्याचुरल हिस्ट्री’ पुस्तककी लेखक एलिजाबेथ कोल्वर्ट भन्छिन्- हामी केही शताब्दीभित्रै त्यो विनाशको चरम अवस्थामा पुग्न सक्छौं । आईपीबीईएसको १० लाख प्रजाति लोप हुन सक्ने चेतावनी र कोल्वर्टको छैटौं सामूहिक विलोपनको अनुमानलाई हाम्रै पालामा ‘संकलन गर्न पाप लाग्ने’ यार्सागुम्बुको द्रुत विनाशले बल पुर्‍याएको छ । यार्सा लगायतका ज्ञात–अज्ञात प्रजातिहरूको सन्निकट विलोफन रोक्न ढिला नगरौं ।

कान्तिपुर दैनिक साउन १५

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s