सहरको सौन्दर्य

काठमाडौँ — सन् २००० को शरद् ऋतुको एक बिहान । पूर्वी युरोपको एउटा देश अल्बानियाको राजधानी सहर तिराना । कलाकार र पेन्टरहरूले सहरको मध्यभागमा रहेको पुरानो उराठलाग्दो भवनमा उज्यालो सुन्तले रङ पोत्न थाले । उनीहरूले के नाटक गरेका होलान् भनेर रमितेहरूको भीड लाग्यो । सवारीसाधनहरू रोकिए ।

रङ लगाउने उक्त समूह सहरका भित्तामा रङ पोत्दै हिँड्ने लहडीहरू थिएनन्, समूहमा नगरका नवनिर्वाचित मेयर एडी रामा पनि थिए । जतिखेर एडी रामा नगरप्रमुखमा चुनिएका थिए, बारम्बारको राजनीतिक संकटले थिलथिलो पारेको देशको राजधानी सहर कुरूप थियो । चोकहरूमा नउठाइएका फोहोरको थुप्रो लाग्थ्यो । चोरी, वेश्यावृत्ति लगायतका अपराध र भ्रष्टाचार दर उच्च थियो । सहरवासीहरू कर तिर्दैनथे । त्यसैले नगरको ढुकुटी लगभग रित्तै थियो । कुशल चित्रकारबाट मेयर बनेका रामासँग मान्छेलाई खुसी बनाउने ससाना सूत्रको ज्ञान थियो । त्यसैको सुरुआत थियो- पुरानो भवनलाई उज्याला रङहरूले रंगाउने काम ।

त्यसरी सोभियतकालीन, मिल्किएका भवनहरूमा रङ पोतियो । सुरुमा नगरवासीहरू सशंकित भए, त्यसपछि अचम्मित बने र समयक्रममा सहरमा थपिएका रंगीन भवन देखेर रमाउन थाले । सहरले बिस्तारै रूप फेर्दै गयो । केही समयपछि मान्छेहरूले जथाभावी फोहोर फाल्न बन्द गर्न थाले । पसले, यात्रु र सर्वसाधारणले आफूलाई सुरक्षित महसुस गर्न थाले । सहरमा नयाँ व्यवसायहरू खुल्न थाले । करदाताको संख्या तीन गुणाले बढ्यो । त्यहाँका रंगीन घरहरू हेर्न पर्यटकहरू आउन थाले । सहर बिस्तारै जीवन्त र गुलजार हुन थाल्यो । मेयर रामाले तिरानामा पैसाको खोला बगाएर भीमकाय पूर्वाधार बनाएका थिएनन् । कलाकारिताको पृष्ठभूमिले उनलाई मानिसहरूको सौन्दर्यचेत बुझ्न सहयोग गरेको थियो । त्यसैले उनले सहरका भवनहरूलाई विभिन्न रङ पोतेर सुन्दर बनाएका थिए । चार वर्षपछि सन् २००४ मा पुरानो तिरानालाई नयाँ, रंगीन र खुसीयालीपूर्ण बनाउने पूर्वाधार र संस्कृति निर्माणमा उल्लेख्य भूमिका खेलेकामा एडी रामा विश्वको सर्वोत्कृष्ट मेयर घोषित भए ।

सौन्दर्यप्रतिको मानवीय आकर्षण

सौन्दर्यसम्बन्धी प्लेटोको प्रसिद्ध भनाइ छ, ‘सुन्दरता हेर्ने आँखामा भर पर्छ ।’ त्यसैले कुनै चीज सुन्दर हो या होइन, वस्तुगत विशेषताले नभई व्यक्तिगत दृष्टिकोणले निर्धारण गर्छ भन्ने आमधारणा छ । तर, केही सार्वभौम वस्तुनिष्ठ गुणहरू नभई कुनै पनि चीज सुन्दर हुँदैन । सुन्दर वस्तुले हामीलाई आकर्षित गर्छ, सोचमग्न तुल्याउँछ र आनन्दित गराउँछ । त्यसैले हेर्दा, सुन्दा र सुँघ्दा आनन्दित तुल्याउने फूलदेखि फेससम्म, गीतदेखि गन्धसम्मका चीजहरू हामीलाई सुन्दर लाग्छन् । यसरी हेर्दा मानिसको सौन्दर्यचेतना भावनात्मक विषयजस्तो लाग्छ, तर यो जैविक गुण हो जसको नाता हाम्रो उत्पत्ति र विकाससँग जोडिन्छ ।

मानवीय सौन्दर्यचेतनाको उत्पत्ति र विकासले प्रकृति छनोटको सिद्घान्तका प्रतिपादक चार्ल्स डार्विनलाई निकै पिरोलेको थियो । प्रकृति छनोटका अनुसार, कुनै जीवमा बाँच्ने संघर्षका क्रममा विभिन्न गुण देखा पर्छन् (जसको कारण अनुवंशमा हुने फेरबदल अर्थात् जिनेटिक म्युटेसन हो भनी डार्विनलाई त्यो समय थाहा थिएन) । बाँच्नका लागि सहयोगी गुणहरू नयाँ पिँढीमा सर्दै जान्छन् र बाँच्नका लागि असहयोगी गुणहरू बिलाउँछन् । अर्थात्, प्रकृतिले वातावरणमा अनुकूल हुन सहयोगी जैविक गुणलाई छनोट गर्छ । उदाहरणका लागि, तराईका थारू जातिको शरीरमा मलेरियासँग जुध्ने क्षमता भएको वंशानुगत विशेषता (जिन) पाइन्छ । उच्च हिमाली भागमा बस्ने शेर्पा जातिको शरीरमा अक्सिजनलाई दोहन गर्न सक्ने क्षमतायुक्त जिन पाइन्छ । डार्विनका अनुसार, सुरुमा त्यस्ता गुणहरू साना हुन्छन् । कालान्तरमा बढ्दै गएर त्यसबाट नितान्त भिन्न जीवको उत्पत्ति हुन्छ । डाइनोसर फेरिएर चरा बन्छ, चारखुट्टे आदिमानव दुईखुट्टे मानवमा फेरिन्छ ।

उड्नमा अप्ठ्यारो पारिदिने, सिकारी जनावरको आक्रमण हुँदा भाग्न असजिलो बनाइदिने अनि त्यसलाई बनाउन र व्यवस्थापन गर्न शरीरले ठूलो ऊर्जा खर्च गर्नुपर्ने भाले मयूरको पुच्छरलाई डार्विनको उक्त सिद्घान्तले व्याख्या गर्न सक्दैनथ्यो । प्रकृति छनोटका अनुसार, बाँच्नका लागि प्रतिकूल हुने भाले मयूरको पुच्छर पोथी मयूरको जस्तै हुनुपर्थ्यो । आफ्नो सिद्घान्तसँग बाझिने भाले मयूरको विशेषता देखेर डार्विन आश्चर्यचकित र हैरान थिए । त्यसैले अमेरिकी वनस्पतिशास्त्री आसा ग्रेसँग उनको गुनासो थियो, ‘जब म भाले मयूरको पुच्छरलाई एकतमासले हेर्छु, त्यसमा जडित प्वाँखहरूले मलाई पागल बनाउँछन् ।’

भाले मयूरको अकल्पनीय सुन्दर पुच्छरको रहस्यलाई डार्विनले ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ भन्ने पुस्तकमा खोतलेका छन् । उनका अनुसार, पोथी मयूरले संसर्ग गर्नका लागि ठूलो र आकर्षक पुच्छर भएको भाले मयूर रोज्छ । त्यसैले ठूलो र आकर्षक पुच्छर भएको भाले मयूरले अन्य समकक्षीका तुलनामा धेरै पोथीसँग संसर्गको अवसर पाउँछ । पुच्छरको सुन्दरतामा लुकेको संसर्गको यौनिक उत्प्रेरणाले भाले मयूरहरूमा पुच्छर आकर्षण बनाउने जिन सर्दै जान्छ । सँगै पोथी मयूरमा पनि ठूलो र सुन्दर पुच्छर भएको भालेप्रति आकर्षित हुने दिमागी गुणको विकास (कोइभल्भ) हुन्छ । आकर्षक पुच्छर भएको भालेले बढी संसर्गको अवसर पाउने हुनाले प्रकृतिमा त्यस्ता पुच्छर भएका भालेका सन्तानहरू र तिनलाई मन पराउने पोथीको संख्या बढ्दै जान्छ । डार्विनका अनुसार, यस्ता यौनिक छनोट (सेक्सुअल सेलेक्सन) का कारण थुप्रै जनावरका भाले र पोथी जातिको साइज, आवाज, नाच, बानी व्यवहारमा प्रशस्त भिन्नता देखिन्छ ।

मानवमा अन्य जनावर (मयूर, सामुद्रिक सिल, चिम्पान्जी) मा जस्तो भाले र पोथीबीच ठूलो भिन्नता पाइँदैन । मानिस एकल पति/पत्नी हुने (मोनोग्यामी) जनावर भएकाले विशेष गुणका आधारमा पुरुषलाई महिलाले वा महिलालाई पुरुषले संसर्गका लागि छनोट गर्ने भन्ने हुँदैन । तथापि अनुसन्धानहरूले मिलेको (सिमेट्रिकल) र बेदाग अनुहार मानवजातिमा यौनिक छनोटका आधार हुन् भनी देखाएका छन् । आकर्षक अनुहारले हाम्रो मस्तिष्कको भिज्युअल कर्टेक्स (जसको काम अनुहार र वस्तुहरू छुट्याउने हुन्छ) लाई क्रियाशील गराउँछ । सँगसँगै त्यसले मस्तिष्कको पुलकित र आनन्दित तुल्याउने भागलाई पनि उद्वेलित गर्छ । त्यसकारण मिलेको, सुन्दर आकृतिले हामीलाई आकर्षित मात्रै गर्दैन, कौतूहल थप्छ र आनन्दित तुल्याउँछ । त्यसैले सुन्दरता आँखामा होइन, हाम्रो मस्तिष्कमा हुन्छ ।

उत्पत्तिका क्रममा आर्जित त्यस्ता जैविक गुणका कारण मानिसले आफूलाई खुसी पार्ने सुन्दर वस्तुहरूको निर्माणमा ठूलो धन, ऊर्जा, शक्ति, समय खर्च गर्ने गरेको छ, चाहे ती वस्तुहरू हामीलाई बाँच्ने संघर्षमा बाधक नै किन नबनून् । सुन्दर वस्तुप्रतिको आकर्षणका कारण त्यस्ता वस्तुहरूलाई प्रतीक बनाएर, त्यसमा कथा जोडेर मानिसहरूले सांस्कृतिक अंगका रूपमा तिनलाई अंगीकार गर्दै आइरहेका हुन्छन् । त्यसैले मानव समुदायमा हस्तकला, वास्तुकला, चित्रकला, फेसन, गहनाजस्ता सुन्दरतासँग जोडिएका वस्तुहरूले ठूलो महत्त्व राख्छन्, यद्यपि ती चीजले हामीलाई प्रकृतिमा बाँच्ने संघर्षमा खासै मद्दत गर्दैनन् । सयौं वर्षपहिले बनेका मन्दिर, मस्जिद, चर्चहरूमा समय, पुँजी, श्रम लगाएर कुँदिएका सुन्दर बुट्टाहरू हाम्रो सौन्दर्यप्रतिको आकर्षणका प्रतिफल हुन् । प्राचीन समयमा ससाना गहना बनाउनेदेखि अहिले मिलाएर सहरहरू बनाउने उत्प्रेरणाको कारक तत्त्व मानवमस्तिष्कमा जडित सौन्दर्यप्रतिको आकर्षण नै हो । सुन्दर वस्तुले आफूलाई खुसी पार्ने र सन्तुष्टि दिने भएकाले सायद मानिस अस्पतालको ठाउँमा पहिले धरहरा ठड्याउन उद्यत हुन्छ ।

सहरको सौन्दर्यको मापन

केही वर्षपहिले ‘द स्कुल अफ लाइफ’ संस्थाले सुन्दर सहरमा हुनुपर्ने विशेषताहरू सार्वजनिक गरेको थियो । उक्त घोषणापत्रका अनुसार, सुन्दर सहर बन्नका लागि घरहरूको विन्यासमा एकरूपता, बस्तीमा सघनता, जीवन देखिने तत्त्व, छिनमै भुलिने साँघुरा गल्ली र छिनमै भेटिने फराकिला बाटाहरूको संयोजन, कसैलाई नबिझाउने अग्ला संरचना र स्थानीय स्वादजस्ता छवटा गुण हुनुपर्छ । संसारका सुन्दर भनिने सहरहरू पेरिस, आमस्टरडम, लन्डन, भेनिस, बार्सिलोना, मेलबर्न आदिमा यी गुण भेटिने उक्त संस्थाको दाबी छ । केही दशकपहिले काठमाडौंको केन्द्रका नयाँ सडक, धर्मपथ र बागबजारका घरहरूमा एकरूपता थियो । न्युरोडजस्ता ठूला सडक र असनभित्रका ससाना गल्लीको सम्मिश्रण, सबैले माया गर्ने धरहरा, नौतले दरबार, तलेजु भवानी, स्वयम्भूजस्ता अग्ला संरचना, चोकहरूमा देखिने आम जनजीवन (पेसागत काम गरिरहेका मानिस, घाम तापिरहेका वृद्घवृद्घा, खेल्दै गरेका बच्चाहरू) को जीवन्त तस्बिर र स्थानीय स्वाद, कला, संस्कृति थिए । अर्थात्, सुन्दर सहरमा हुनुपर्ने सबै गुण थिए ।

यदि न्यातपोलको सट्टा अमूक बैंकको भवन, स्वयम्भू चैत्यको ठाउँमा पाँचतारे होटल र धरहराको ठाउँमा व्यापारिक भ्युटावर बनेर आम मानिसको अधिकार लाग्ने आकाश र परिदृश्यमा व्यापारिक समूहले कब्जा जमाएको भए ती ठाउँलाई हेर्दा हाम्रा आँखा बिझाउँथे । केही दशकपहिले सातदोबाटोबाट गोदावरी जाँदा बाटामा पर्ने नेवारी बस्ती हरिसिद्घि, ठेचोहरूको जीवन्तता र तिनले हाम्रो मस्तिष्कमा पैदा गर्ने कौतूहल रिङरोडको फराकिलो सडकमा यतिखेर हुइँकिँदा भेट्न मुस्किल छ । बहुदलीय प्रजातन्त्रपछि उपत्यका निरन्तर फैलिरहेको छ । दक्षिण एसियामै छिटो फैलिएको सहर काठमाडौंमा अपवादबाहेकका नयाँ संरचनाहरूले हामीलाई आकर्षित गर्ने, सोचमग्न तुल्याउने र पुलकित बनाउने सामर्थ्य राख्दैनन्, जति पुरानो उपत्यकाका गल्ली, चोक, बस्ती र सम्पदाजस्ता सहरी अवयवहरू र त्यहाँभित्रका जीवन्त संस्कृतिले आनन्दित तुल्याउने सामर्थ्य राख्थे ।

अन्त्यमा, पन्ध्र वर्षको विदेशबसाइ र ६ वटै महादेशका पचासौं सहर चहारेपछि मैले गत हप्ता पाटन टेकेको थिएँ । कृष्ण मन्दिर लगायतका सम्पदाहरूको फोटो खिच्दा फ्रेममा देखिएको फोहोर फाल्ने बिनले मन कुचुक्क पार्‍यो । पाटनका गल्लीहरू भेनिस, आमस्टरडम वा मेड्रिडका भन्दा कम रोमाञ्चक र रहस्यमय छैनन् । पछिल्लो समयमा त्यहाँका गल्लीहरूमा नयाँ बन्दै गरेका कलात्मक घरहरूले उत्साह त थपेका छन्, तर तीसँगै झाँगिएका तार, फ्लेक्सका बोर्डहरूका नमिलेका बान्कीले उत्साहमा तुरुन्तै पानी खन्याउँछन् । हामीले संसारमै उत्कृष्ट कालीगडीको नमुना मानिने मन्दिरको ढोकैमा प्लास्टिकले बनेको फोहोरको बिन राखेका छौं । कलकल बग्ने झरनासँगै जोडेर दोलखामा टिनको पाइखाना बनाएका छौं । लाखौं वर्षअगाडि बनेका मुस्ताङका रहस्यमय ऐतिहासिक गुफाहरूमा सिमेन्टको भर्‍याङ ठड्याएका छौं । कुनै सहर वा वस्तुको सुन्दरता नाप्न ठूलो मापदण्ड चाहिँदैन, न त त्यसको बखानमा ठूला साहित्य र कथा नै लेख्नुपर्छ । सौन्दर्य के हो भनेर छुट्याउन हामीले जन्मजात लिएको जैविक गुण नै काफी छ । सहरमा बन्दै गरेका र बन्ने भनिएका संरचनाहरूले तपाईंको ध्यान खिच्न सफल भए ? तिनले आकर्षित गरे ? सन्तुष्टि दिए ? पुलकित बनाए ? ठ्याक्कै भन्दा, झन्डै पौडी पोखरी बन्नबाट जोगिएको रानीपोखरीको बन्दै गरेको संरचनाले ओठमा विजयीभावको मुस्कान ल्यायो ? हामी बसिरहेको सहरको सौन्दर्य यसरी नापौं ।

कान्तिपुर दैनिकमा प्रकाशित

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s