यो मान्छे, खै कस्तो प्रकृतिको मान्छे !

एक लाख ५१ हजार ५७८ डलर ४६ सेन्ट। हाड र मासु निर्मित मानव शरीरलाई कृत्रिम रूपमा बनाउन लाग्ने खर्च, जसमा श्रम र सरकारी कर जोडिएको छैन। बेलायतको रोयल सोसाइटी अफ केमेस्ट्रीका अनुसार मानव शरीर ५९ वटा रासायनिक तत्व मिलेर बनेको हुन्छ। तीमध्ये ९९ प्रतिशत अंश प्रकृतिमा सजिलै पाइने कार्बन, अक्सिजन, क्याल्सियम र फस्फरसले ओगटेका हुन्छन्। शरीरमा ६१ प्रतिशत हुने अक्सिजनको बजार मूल्य १४ डलर पर्छ भने शुद्ध कार्बनको मूल्य महँगो हुने भएकाले ६७ हजार डलर पर्छ। तर, मानव शरीर विशुद्ध हाड, मासुको रासायनिक थुप्रो मात्रै होइन।

लेखक विल व्राइसनका अनुसार मानिसले एक दिनमा १४ हजार पटक आँखा झिम्काउँछ। शरीरको रक्तनलीलाई पाइप जसरी जोड्ने हो भने त्यसले पृथ्वीको साढे दुई फन्को लगाउन पुग्छ। शरीरमा भएका सबै डीएनए त्यान्द्रोलाई धागो जसरी फुकाउँदै लाने हो भने त्यसको लम्बाइ नाप्न यम ग्रहसम्म पुग्नुपर्ने हुन्छ। पृथ्वीमा धेरैपछि आएको मानव भनिने एउटा जनावरको शारीरिक बनोट त यति अकल्पनीय जटिल छ भने अनुमानित ८७ लाख जीवन भएको भनिएको पृथ्वीको जटिलता कस्तो होला ?

ब्रम्हाण्डीय स्तरको जटिलता र विविधता भएको पृथ्वीको लाखौँ जीवन एउटा नियमले चलेको छ, जसलाई प्राकृतिक छनोट भनिन्छ। तमाम विविधताका बाबजुद प्रकृतिमा पाइने हरेक जीवन र पर्यावरण एकअर्कामा जेलिएका छन्, जोडिएका छन्।

न्युयोर्कमा चलाइएको गाडी वा चीनमा रहेका उद्योगले फालेका धुवाँले पृथ्वीको तापमान वृद्धि गर्छ परिणामतः हाम्रो हिमालको हिउँ पग्लन्छ। हिमालमा फालेको प्लास्टिक बगेर सागरसम्म पुग्दछ र त्यसले सामुन्द्रिक जीवलाई असर पार्दछ। यसरी मानिस, जीवजन्तु र पर्यावरण एकअर्कासँग अन्तरसम्बन्धित छन्। मानिस पनि प्रकृतिको अंग भएकाले हाम्रो उत्पत्ति, विनाश, स्वास्थ्य र बिमार यहाँ बस्ने अन्य जीवजन्तु र वातावरणसँग जोडिएको हुन्छ। मानिसको डीएनए चिम्पान्जीसँग ९९ प्रतिशत, मुसासँग ८५ प्रतिशत, कुखुरासँग ६० प्रतिशतले मिल्दछ। जीवनहरू बीचको यस्तो अनौठो समानता र असीमित विविधता नै पृथ्वीको सुन्दर पक्ष हो।

यहाँ सिकार पनि छ सिकारी पनि छन्। छन्, रोगजन्य जीवाणु र जीवाणु बस्ने शरीर। प्रकृतिमा हरिणले घाँस खाने, बाघले हरिणको सिकार गर्ने, चिलले चल्ला टिप्ने गरेजस्तै रोगजन्य ब्याक्टेरिया, भाइरसजस्ता जीवाणुहरू जीवहरूको शरीरभित्र बाँच्ने र फैलने गरिरहेका हुन्छन्।

अनगन्ती रूपमा रहेका त्यस्ता जीवाणुहरू विभिन्न प्रजातिका जनावर, पशुपक्षी र वनस्पतिको शरीर (होस्ट)भित्र लुप्त वा खुला रूपमा बसिरहेका हुन्छन्। उदाहरणका लागि, इबोलाको भाइरस चमेरामा, जिका भाइरस बाँदरमा, सार्स बिरालोमा, मेर्स उँटमा, बिफरको भाइरस मानव शरीरलाई ‘होस्ट’ बनाएर  बसिरहेको हुन्छ। त्यसरी प्राकृतिक ‘होस्ट’मा वसिरहेका भाइरसको संक्रमण यदाकदा त्यही ‘होस्ट’मा रोगका रूपमा देखिन्छ तर अक्सर त्यस्ता भाइरसहरू प्राकृतिक होस्टमा कुनै लक्षणविना होस्टलाई क्षति नपुर्‍याइकन बसिरहेका हुन्छन्।

त्यस्ता जीवाणु होस्टको शरीरमा पुस्तौंअघि पसेको हुनाले त्यसलाई होस्टले अंगीकार गरिरहेको हुन्छ। क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डाना विल्लनरले गरेको अनुसन्धानले मानिसको फोक्सोमा १७४ प्रजातिको भाइरस पाइएको थियो। मानव शरीरको जिनोममा ८ प्रतिशत भाइरसको डीएनए हुन्छ। त्यस्ता भाइरसका डीएनएले मानिसको शरीरमा विभिन्न प्रोटिन  उत्पादन गर्न सघाउँछन्। तीमध्ये केही प्रोटिन शरीरलाई फाइदा गर्ने हुन्छन् भने केहि बेफाइदा गर्ने। पीएनएएस जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानव गर्भमा शालले उत्पादन गर्ने ‘हेमो’ नामक प्रोटिन मानव शरीरभित्र रहेको भाइरसको डीएनएको मद्दतले बन्दछ। भाइरसका त्यस्ता डीएनएहरू  करोडौं वर्ष पहिले नै मानव पुर्खाको शरीरमा प्रविष्ट गरेको बताइन्छ। उत्पत्ति र विकासको क्रममा ब्याक्टेरिया भाइरसजन्य वातावरणमा हुर्कंदा मानव लगायतका जीवजन्तुका शरीरले ती जिवाणुलाई अपनाएको हुन्छ।

प्रकृतिमा बाँचिरहेका विभिन्न जीवजन्तुका शरीरभित्र रहेका रोगजन्य भाइरस लगायतका जीवाणुहरूको भण्डारलाई महामारी विज्ञानको भाषामा व्याधिकोश (डिजिज रिर्जभ्व्यर) भनिन्छ। त्यस्तो व्याधिकोशमा रहेको भाइरस जब उसको प्राकृतिक होस्टबाट सरेर नयाँ शरीरभित्र पस्दछ, त्यसले नयाँ होस्टलाई अस्वस्थ बनाउँछ र महाव्याधि निम्त्याउँछ। अहिलेको संसारभर फैलिएर बितण्डा मच्चाइरहेको कोभिड-१९ भाइरस चमेराको शरीरबाट निस्केर सालक हुँदै मान्छेमा सरेको हुनसक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्।

जसरी जंगलमा बस्ने बाघ घरपालुवा जनावरको सम्पर्कमा आएमा मृगको बदलामा गाईबस्तुको सिकार गर्दछ। त्यसरी नै प्राकृतिक रूपमा कुनै जंगली जनावरको शरीरभित्र बसिरहेको ब्याक्टेरिया भाइरसजस्ता जीवाणु त्यस्ता जनावरको सम्पर्कमा मानिस पुगेपछि मानिसमा सर्ने गर्दछ। त्यसो त जनावरबाट मान्छेमा मात्रै होइन, प्राकृतिक रूपमा मानिसमा पाइने भाइरस वा ब्याक्टेरियाहरू अन्य जनावरमा सरेर जीवजन्तुलाई रोग लाग्ने पनि गर्दछ।

जनावरबाट मानिसमा सर्ने व्याधि

सन् १९३२ ताका न्युयोर्क विश्वविद्यालयका अध्येता विलियम ब्रेवनर बाँदरमाथि पोलियो खोपको अनुसन्धान गर्दै थिए। एकदिन प्रयोगशालामा बाँदर समात्ने क्रममा बाँदरले उनको हातमा टोकिदियो। टोकाइले खासै ठूलो चोट लागेन। उनले घाउमा आयोडिन लगाएर काम जारी राखे। तीन दिनपछि घाउ वरपर रातो बिबिरा देखियो। घाउ दुख्ने र सुन्निने हुन थाल्यो। त्यसपछि उनलाई व्यथाले च्याप्दै लग्यो र दुई हप्तापछि उनले ज्यान गुमाए। धेरैपछि उनको मृत्युको कारण थाहा भयो- बाँदरले टोक्दा बाँदरबाट हप्र्स वि भन्ने भाइरस उनको शरीरमा सरेको रहेछ।
अमेरिकाका कतिपय प्रयोगशालामा अनुसन्धानका लागि राखिएका जनावरहरूको हेरचाहको काम गर्नेहरूमा सरेको उक्त भाइरसले पछिल्लो समयमा सन् १९९७ मा अमेरिकाको अटलान्टास्थिति एउटा बाँदरको अनुसन्धान गर्ने प्रयोगशालामा काम गर्ने एक जना मानिसको ज्यान लिएको थियो।

त्यसरी जनावरबाट मानिसमा सर्ने व्याधिहरूले संसारमा बर्सेनि बीसौँ लाख मानिसको ज्यान लिन्छ। गएको ५० वर्षयता पृथ्वीमा देखिएका ३०० नयाँ रोगजन्य जीवाणुको स्रोतमध्ये दुई तिहाइ जीवाणुको स्रोत जनावर विशेष गरी जंगली जनावर थिए। अहिले फैलिरहेको कोभिड-१९ मात्रै होइन, एड्स, इबोला, जिका, हेन्ड्रा, सार्स, मेर्सजस्ता पछिल्ला महाव्याधिको स्रोत वा त्यस्ता रोगहरू ल्याउने भाइरसको प्राकृतिक होस्ट जंगली जनावरहरू हुन्।

न्युयोर्क विश्वविद्यालयको प्रयोगशाला होस् या चीनको वुहानको मासु बजार या अफ्रिकाको घनाजंगल विभिन्न बहानामा मानिसहरू जंगली जनावरको सामिप्यमा पुगेका छन्। अनुसन्धानका लागि, मासुका लागि, घरमा पालेर राख्ने साथी (पेट)का लागि मानिसले विचित्र प्रकारका जीवजन्तुसँग हिमचिम बढाइरहेका छन्। त्यसैले विश्वभर वन्यजन्तुको वैध–अवैध व्यापार फस्टाउँदो छ। विश्वमा वन्यजन्तुको व्यापारलाई  लागूऔषध, सामानको मिसावट र मानव तस्करीपछिको चौथो ठूलो अवैध व्यापार मानिन्छ।

संसारभर फैलिएको वन्यजन्तुको व्यापारका लागि चीन विश्वकै केन्द्रबिन्दु मानिन्छ। एक अध्ययनअनुसार चीनमा सालक, ब्वाँसो, दुम्सी, चमेरा, बिरालो, बँदेललगायतका ५४ वटा विभिन्न जंगली जनावर घरेलुकरण गरेर पाल्ने पनि गरिन्छ। चीनभित्र बीसौँ हजारको संख्यामा रहेका त्यस्ता वन्यजन्तु पाल्ने फार्ममा पालिएका त्यस्ता जनावरहरूको वार्षिक कारोबार ७४ बिलियन डलरको हाराहारीमा छ। त्यसो त चीनमा मात्रै होइन, अमेरिकालगायतका विकसित देशहरूमा पनि विचित्रका (एक्जोटिक) जनावरहरूलाई घरपालुवा जनावरका रूपमा पाल्ने चलन बढ्दो छ। जसले गर्दा मानिसलाई जनावरको नजिक मात्रै होइन, वन्यजन्तुजन्य रोगको नजिक पनि पुर्‍याएको छ। त्यसको साथै वन्यजन्तुको प्राकृतिक बासस्थानमा गरिएको क्रुर मानवीय अतिक्रमण पनि वन्यजन्तुबाट मानिसमा रोग सर्ने प्रत्यक्ष अप्रत्यक्ष कारण बनेका छन् ।

पर्यावरणीय अतिक्रमण 

जसरी फल लागेको रुखलाई हल्लाएपछि त्यसबाट फलहरू  झर्दछन्। जीवाणुको प्राकृतिक भण्डार खल्बलिएपछि व्याधिजन्य भाइरस ब्याक्टेरियाहरू त्यसबाट बाहिर निस्कन्छन्। उदाहरणका लागि गाईबस्तु वा मानिसलाई लाग्ने एन्थ्रेक्स नामक सरुवा रोगको कारक व्यासिलस एन्थ्रेर्‍यासिस भनिने ब्याक्टेरिया माटोमा सुषुप्त अवस्थामा बसिरहेको हुन्छ। माटो उधिनिएपछि वा त्यस्तो माटोको सम्पर्कमा मानिस वा अन्य जनावर पुगेपछि त्यो ब्याक्टेरिया जनावरको शरीरमा छिरेर त्यसले रोग लगाउँदछ।

यतिखेर वन विनाश गरेर खनिज पर्दाथको उत्खनन गर्ने, बाटोलगायतका पूर्वाधार निर्माण गर्ने, कृषियोग्य भूमिको विकास गर्ने कार्यले मानव जातिले प्रकृतिरूपी जटिल रुखलाई नराम्रोसँग हल्लाइरहेको छ। तर, विडम्बना हामीले त्यस्ता रुख हल्लाउँदछौं, जसको फल कस्तो छ र त्यो भुइँमा झरेपछि त्यसले के कस्तो हानि पुर्‍याउँछ भन्ने परिणामका बारेमा हामी अनभिज्ञ छौं। अज्ञानी छौं। त्यस्ता परिणामगत सम्बन्धहरू बुझ्न सघाउने पर्यावरणीय विनाश र मानव बिमारीको अन्तरसम्बन्धको वैज्ञानिक अनुसन्धानहरू भर्खरै मात्र सुरु हुन थालेका छन्।

हालसालै ब्राजिलको एम्याजोन जंगलमा गरिएको एक अनुसन्धानले वन विनाशसँग औलो (मलेरिया) रोगको फैलाहटको सम्बन्ध प्रत्यक्ष जोडिएको देखाएको थियो। त्यहाँका आठ सय गाउँमा १३ वर्ष लगाएर गरिएको उक्त अध्ययनअनुसार १० प्रतिशतले जंगल विनाश बढेमा मलेरिया रोग ३.३ प्रतिशतले वृद्धि हुनसक्ने देखाएको थियो। त्यस्तै अर्को अनुसन्धानले सन् २०१७ मा अफ्रिकामा फैलिएको इबोलाको एक कारक त्यहाँको भूउपयोगमा आएको परिवर्तनलाई ठम्याएको थियो। भूउपयोगमा आएको बदलावले चमेरा र चिम्पान्जीजस्ता जनावरहरूको प्राकृतिक वासस्थानमा खानेकुरा अभाव हुन गएर उनीहरू एकै ठाउँमा साँघुरिन पुगेका थिए। जसका कारण चमेराबाट चिम्पान्जीमा र त्यसबाट मानिसमा इबोला भाइरस सर्नेे वातावरण बनेको थियो। जंगली जनावरको मासु खाँदा पनि मानिसमा इबोला भाइरसले संक्रमण गरेको हुनसक्ने अर्को अनुसन्धानको अनुमान छ।

अन्तमा, यो लेख छाप्दासम्म कोभिड-१९ भाइरसले ९५ हजार मानिसको ज्यान लिइसकेको छ। संसारका सबैजसो देशमा फैलिएको यसले विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध पछिकै ठूलो धक्का पुराउने अनुमान गरिँदै छ। पृथ्वी विजय गरेको ठान्ने मानव जाति प्रकृतिभित्रै रहेको आँखाले नदेखिने, उमार्न पनि नसकिने, गतिहीन, जीवित वा निर्जीवको ठेगानसमेत नभएको एउटा भाइरससँगको लडाइमा छ। उक्त खतरनाक भाइरसबाट बच्न मानव जातिले त्यसविरुद्ध ठूलो युद्ध घोषणा गरेको समयमा रेचल कार्सनलाई सम्झनु उपयुक्त हुनेछ। डीडीटीजस्ता विषादीको प्रयोगले पर्यावरणमा पारेको असरबारे सन् १९६२ मा ‘साइलेन्ट स्प्रिङ’ पुस्तक लेखेर संसारलाई पर्यावरणप्रति सचेत हुन झक्झकाउने अमेरिकी वातावरणकर्मी रेचल कार्सन भन्छिन्, ‘मानव पनि प्रकृतिको हिस्सा भएकाले मानव जातिको प्रकृतिविरुद्धको युद्ध अन्तत्वगत्वा मानव जातिको आफैंविरुद्धको युद्ध हो ।’ कोरोना महाव्याधिको समाप्तिपछि पनि मानिसले प्रकृतिविरुद्धको क्रुर युद्ध यसरी जारी राख्ला वा छोड्ला ?

अन्नपूर्ण दैनिक । २९ चैत २०७६

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s