प्रवचनको स्रोता बन्न पाए पो [अन्तर्वार्ता]

fursad-barta-uttam-babu-shrestha_20190914042417अमेरिकाको युनिभर्सिटी अफ् म्यासेचुसेट्स, बोस्टनबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका उत्तमबाबु श्रेष्ठ आक्कलझुक्कल सञ्चारमाध्यमहरूमा लेख्छन्। जर्मनी, अमेरिका र अस्ट्रेलियाका गरी सातवटा विश्वविद्यालयमा संलग्न भएर अनुसन्धानात्मक कार्य गरिसकेका उनले हाल नेपालमा ग्लोबल इन्स्टिच्युट फर इन्टर डिस्प्लिनरी स्टडिटज्मार्फत अन्तर्विषयक (इन्टर डिस्प्लिनरी) अनुसन्धानलाई अघि बढाउँदैछन्। श्रेष्ठका एक पुस्तक र ५० भन्दा बढी अनुसन्धानात्मक कृति विश्वप्रसिद्ध साइन्सलगायतका अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनले हालै मात्र जैविक विविधतासम्बन्धी १८ सय पृष्ठ लामो संयुक्त राष्ट्रसंघीय प्रतिवेदनको सहलेखन गरेका थिए। ‘विश्व युवा वैज्ञानिक एकेडेमी’का सदस्य उनले त्यसैअन्तर्गतको ‘दक्षिण एसियामा विज्ञान कूटनीति’ नामक समूहको नेतृत्व गर्छन्। असाध्यै व्यस्त वैज्ञानिक श्रेष्ठको फुर्सदमा फुर्सदका लागि गरिएको फुर्सद-वार्ता  :

 कत्तिको फुर्सद हुन्छ ?      

मेरा दैनिक प्राथमिकतामा क्रमश : जागिर, छोराछोरीको हेरचाह र उनीहरूसँग खेल्ने, घुम्ने, पकाउने, सरसफाइ गर्ने, पुस्तक पढ्ने, दौड्नेलगायतका व्यायाम गर्ने, लेख्ने र भेटघाट पर्छन्। मलाई दैनिक आठ घण्टा सुत्नैपर्छ। आठ घण्टा जागिरमा जान्छ। मेरो फुर्सद तपार्इं नै अनुमान लगाउनुस्।

फुर्सद निकै छोटो छ…

यी सबै कामबाट समय बचेमा विशेष गरी बिदाको दिनमा मेरो सोखको काम फोटोग्राफी गर्छु। फोटो खिच्ने, एडिट गर्ने, त्यससम्बन्धी लेख पढ्ने र विश्वप्रसिद्घ फोटोग्राफरहरूले खिचेका फोटोहरू हेर्ने गर्छु।

 अब पुस्तकतिर फर्काैं, पढेको पछिल्लो पुस्तक ?

मजस्तो दुई ससाना बच्चाबच्चीको जागिरे बुवालाई घरमा किताब आद्योपान्त पढ्ने सुविधा छैन। त्यसैले मौकाअनुसार एकै पटक उस्तै विषयका किताबहरूका च्याप्टर पढ्छु। अहिले क्याथी ओ निलको ‘वेपन्स् अफ म्याथ डिस्ट्रक्सन’, सुजाना जुवोफको ‘द एज अफ सर्भाइलेन्स् क्यापिटलिज्म’ र पिडब्लु सिंगर र इमर्सन ब्रुकिङको ‘लाइकवार’ पढिरहेको छु। यी तिनै पुस्तक सोसल मिडिया र बिग डेटासँग सम्बन्धित छन्। सोसल मिडियालगायतका प्रविधिहरूले अहिले हाम्रो दैनिक व्यवहारदेखि निर्णय क्षमतासम्म, विश्व अर्थतन्त्रदेखि देशका निर्वाचनसम्म कसरी प्रभाव परिरहेको छ। यस्ता ठूला प्रविधि कम्पनीहरूलाई बेलगाम छोडिदिने हो भने यसले भविष्यमा कस्तो दूरगामी प्रभाव पार्न सक्छ भन्नेबारे पुस्तक केन्द्रित छन्।

औद्योगिक पुँजीवादको कच्चा पदार्थ प्राकृतिक सम्पदा र मानव श्रम हुन् भने निगरानी पुँजीवाद (सर्भाइलेन्स् क्यापिटलिज्म)को मानव अनुभव, स्वभाव र संवेदना। यिनै कच्चा पदार्थहरूको मद्दतले पुँजीवादले धन, ज्ञान र शक्ति आर्जन गर्छ। प्राकृतिक स्रोतमा आधारित औद्योगिक पुँजीवादले पृथ्वीमा पर्यावरणीय संकट निम्त्याए जसरी मानव संवेदनामा आधारित निगरानी पुँजीवादले मानवीयता नै संकटमा पार्नसक्ने कुरा ‘द एज अफ सर्भाइलेन्स् क्यापिटलिज्म’मा छ। ‘लाइकवार’मा भने टेलिग्राफ, रेडियो र इन्टरनेटको दुरुपयोग कसरी युद्धमा वा क्रूर सत्ता जोगाउन भयो वा भइरहेको छ भन्ने वर्णन छ।

 पछिल्लो पटक हेरेको सिनेमा ?  

बच्चाहरूसँगै हलमा गएर लोककथामा आधारित डिज्ने पिक्चर्सले बनाएको ‘एल्लाडिन’ हेरेँ। तर आफूले हेरेको ‘ग्रिन बुक’ भनौं।

 ‘ग्रिन बुक’ कस्तो लाग्यो ?      

‘ग्रिन बुक’ सिनेमा काला जातिका पियानोवादक डन सर्लीले सन् १९६२ मा अमेरिकाको दक्षिणी भेगमा गरेको सांगीतिक यात्राको कथा हो। त्यो बेलाको अमेरिकी समाजमा विद्यमान रंगभेदको साधारण कथा तर प्रस्तुति भने उत्कृष्ट भएकाले मन पर्‍यो। कामको सिलसिलामा हवाई यात्राहरू भइरहने हुनाले प्लेनमा सिनेमा हेर्न पाइन्छ।

 थाती राखेको किताब ?       

रोबर्ट सापोलस्कीको ७७४ पृष्ठको ‘बिहेभ  : द बायोलोजी अफ ह्युमन एट आवर बेस्ट एन्ड वस्र्ट’। पेसाले स्ट्यान्डफोर्ड विश्वविद्यालयका प्राध्यापक सापोलस्की न्युरो बायोलोजिस्ट हुन्। बबुनका विश्वविख्यात अध्येता। मानिस साँच्चै अचम्मको प्राणी हो। सग्लो देखेको मान्छेले केही दिनमै आत्महत्या गरेको खबर सुनिन्छ। कायर ठानेको मान्छेले बहादुर काम गरिदिन्छ। घुसेघुसेले ताल पार्छ। त्यस्ता राम्रा र नराम्रा, नियमित र आकस्मिक मानवीय व्यवहारहरूका पछाडि के कस्ता वैज्ञानिक कारण छन् ?        कुनै मानवीय निर्णयका पछाडि उसको मस्तिष्कमा एक सेकेन्डअघि कस्तो परिवर्तन भएको हुन्छ ?        एक घण्टाअघि उसको शरीरमा कस्ता हर्मोनहरू सञ्चार भएका हुन्छन् ?        निर्णय हुनुभन्दा अघिल्ला दिनमा भएका घटनाहरूले त्यसमा कसरी मलजल गर्न सक्छन् ?        मान्छे हुर्केको परिवार र समाजले मानवीय निर्णयमा कसरी फरक पार्छ ?        आमाको पेटमा हुँदा आमाले पाएको स्याहारसुसारले कसरी त्यस्ता निर्णय क्षमतामा असर गर्छ ?        साथै हामीले लाखौं वर्षदेखि ल्याएको अनुवंश (जिन) जुन चिम्पान्जी, बिरालो, चरा, उभयचरदेखि कीरासँग मिल्छ। त्यसले मानव स्वभाव निर्माणमा कस्तो भूमिका खेल्छ भन्नेबारेको पुस्तक हो— बिहेभ।

पुस्तक रोचक उदाहरणहरूले भरिएको छ। जस्तै, इजरायलमा गरिएको एक अनुसन्धानमा अदालतका न्यायमूर्तिहरूले एकै किसिमको मुद्दामा पेट भोको हुँदाको बेला र खाना खाएपछिको बेलामा फरकफरक निर्णय दिने रहेछन्। पेट भरिएको बेला न्यायाधीशहरूले अभियुक्तहरूलाई धरौटीमा छोड्ने सम्भावना खाली पेट हुँदै गएको अवस्थामा भन्दा बढी हुने उक्त अध्ययनले देखाएको थियो। खानाले दिने सन्तुष्टि र शरीरमा बढ्ने चिनीको मात्रा आदिले न्यायाधीशहरूको मुड राम्रो हुने भएकाले त्यस्तो निर्णय दिनसक्ने उक्त अनुसन्धानमा जनाइएको छ।

समाजमा भनिने नैतिकता र असल कामको मापनको आधार के ?        कुन कुरा नैतिक÷अनैतिक, राम्रो÷नराम्रो हो भन्ने तय कसरी हुन्छ ?        जस्ता कुराहरू पुस्तकमा छन्। अलि घोत्लिएर पढ्नुपर्ने तर लामो पुस्तक भएकाले त्यसलाई राम्रोसँग पढ्न पाएको छैन। उनले स्ट्यान्डफोर्ड विश्वविद्यालयमा पढाउने ‘ह्युमन बिहेभिरल बायोलोजी’को कक्षा युट्युबमा राखिएको छ, जसलाई तीसौं लाखपटक भन्दा बढी हेरिएको छ। बिना अत्याधुनिक शिक्षण सामग्री (पावर प्लाइन्टलगायत) उनको पढाउने शैली बेजोड छ। एक प्राध्यापकले विश्वविद्यालयमा पढाएको कुरा पनि युट्युबमा त्यति धेरै मान्छेले हेर्छन् भनेर म छक्कै परेँ।

 धेरै पल्ट पढेको किताब ?  

नढाँटी भन्ने हो भने मैले सन् १९६१ मा प्रकाशित भएको पीडी स्टम्यानले लेखेको ‘गो डग गो’ नामक पुस्तक धेरै पल्ट पढेँ। केही समय अघिसम्म दुईवर्षे छोरोले सधैं त्यही किताब पढिदिन भन्थ्यो। छोरी पनि त्यो उमेरको हुँदा त्यस्तै गर्थी। उनीहरूका लागि मैले उक्त बालसाहित्य सयौं पटक पढेँ। त्यो उमेरमा बच्चाहरू एउटै कुरा दोहोर्‍याइरहन्छन्। उनीहरूले त्यसरी नै सिक्ने हो। बालमनोविज्ञान बुझेर लेखिएको किताबले भित्र-बाहिर, तल-माथि, हिँड-रोक, धेरै-थोरै, सानो-ठूलो लगायतका कुराहरू बच्चालाई सिकाउँछ। आफूले दोहोर्‍याएर पछिल्लो पटक पढेको पुस्तक गुरचरण दासको ‘डिफिकल्टिज अफ बिइङ गुड  : अन द सटल आर्ट अफ धर्म’ र म्याट रिड्लेको ‘र्‍यासनल अप्टिमिस्ट  : हाउ प्रस्परिटी इभल्स्’। दासको पुस्तकमा महाभारतका पात्रहरूको द्विविधासँग अहिलेको समाजका घटनाहरूलाई जोडेर हेरिएको छ। रिड्लेले विगत १० हजार वर्षयता मानवले पौष्टिक खाना खाने, उन्नत ठाउँमा बस्ने, बढी मनोरञ्जन गर्नेे, बढी बाँच्ने, बढी कमाउने जस्ता सूचकांकहरू पस्केर हामी हाम्रो ढुंगे युगका पूर्खाहरूभन्दा किन समृद्घ भयौं भन्ने दृष्टान्त दिएका छन्। समृद्घिको परिभाषा बुझ्न त्यो पुस्तक निकै उपयोगी छ। सेवाको विविधीकरण र श्रमको विशेषीकरणले कसरी समृद्घि ल्याउँछ भन्ने तर्क पुस्तकमा गरिएको छ।

 पहिलो (बच्चाको) किताब ?  

म जन्मिएको पारिवारिक र सामाजिक परिवेशमा बच्चा बेलामा पढ्ने भनेको कोर्सका किताबहरू नै हुन्थे। त्यति बेला हाम्रोजस्तो निम्न मध्यम परिवारमा स्कुल नटेक्दासम्म घरमा पढाउने चलन थिएन। स्कुले जीवनमा पनि पाठ्यक्रमबाहिरका पुस्तक पढ्ने चलन थिएन। पहिलोपल्ट पाठ्यक्रमभन्दा बाहिरको पुस्तकमा मैले अंग्रेजी ग्रामरको मोटो पुस्तक किनेको याद छ। पुस्तक किनेर फर्कंदा सानो हातमा मोटो पुस्तक बोकेको सबैले हेरिदियोस् भन्ने लागेको थियो। एसएलसी दिएपछि र आईएस्सीपछिको समयमा घरसँगैको पुस्तक पसलमा नेपाली साहित्यका थुप्रै पुस्तक पढेँ। ध्रुवचन्द्र गौतम, मदनमणि दीक्षित, पारिजात, विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकहरू त्यति बेला पढेको हँ। तर हामी किशोर हुँदासम्म पनि उपन्यास पढेमा मान्छे बिग्रन्छ भन्ने धारणा थियो।

बच्चाबच्ची जन्मिएपछि बालसाहित्य पढ्ने मौका पाइयो। म घरमा हुँदा छोराछोरी सुत्नुअघि हामी        श्रीमान्        श्रीमती उनीहरूसँगै बसेर दैनिक बालसाहित्यिक किताब पढ्छौं वा उनीहरूले पढेको सुन्छौं। मैले गर्ने दैनिक कार्यहरूमध्ये सबैभन्दा आनन्दको क्षण यो हो। एक पुस्तामा बीचमा नै पढ्ने र पढाउने संस्कृतिमा यति धेरै फरक परेको देख्दा आश्चर्य लाग्छ। मेरा बाआमा र हजुरबाआमाको पुस्ता वा त्योभन्दा अघिका पुस्ताहरूबीचमा त्यति ठूलो फरक थिएन।

धेरैपल्ट उपहार दिएको किताब ?       

मैले युवल नोआ हरारीको ‘सेपियन्स्’ पुस्तक धेरैलाई उपहार दिएँ। मेरो पीएचडीका प्राध्यापक, हाकिम र मिल्ने साथीहरू गरेर पाँच जनालाई त्यो पुस्तक दिएँ।

धेरैपल्ट उपहार पाएको किताब ?       

मैले एकदुई पटकबाहेक पुस्तक उपहार पाएको छैन। पाएका पुस्तकहरू पनि खासै गतिला थिएनन्।

पढ्न मन लागेर नपाएको किताब ?       

खासै छैन। पढ्न मन लागेको पुस्तक किन्न सक्ने र खोज्न सक्ने भएको छु। नपढ्ने पुस्तक जम्मा गर्ने बानी छैन। पढ्न मन लागेको पुस्तक किन्दा पैसा खेर गएजस्तो लाग्दैन। यस अर्थमा हाम्रो पुस्ताले आफूलाई भाग्यमानी मान्नुपर्छ। कुनै समय बाइबल एकदमै विरलै पाइने पुस्तक थियो। आज संसारभर सबैभन्दा बढी छापिएको पुस्तक कुनै छ भने त्यो बाइबल नै हो। हिजोआज बजारमा नपाइने पुस्तकको पनि अंश, सारांश वा समीक्षा इन्टरनेटमा पढ्न पाइन्छ। पुस्तक लेखकका प्रवचन युट्युबमा सुन्न÷हेर्न सकिन्छ।

 कहाँ किन्नुहुन्छ ?       

निश्चित ठाउँ छैन। अमेरिका बस्दा एम्याजोनबाट सेकेन्ड ह्यान्ड किताब किन्थेँ। यात्राको बेला कहिलेकाहीँ एअरपोर्टका पुस्तक पसलहरूमा र ठूला सहरहरूको केन्द्रतिर बरालिँदा त्यहीँ किन्छु। विदेशका प्राय : ठूला सहरका केन्द्रहरूमा वर्षौं पुराना पुस्तक पसलहरू हुन्छन् तर नयाँ चिजका पसल÷अफिसहरू सहरबाहिर हुन्छ। नेपालमा एकता, मण्डला र हिमालयनमा किनेको छु। तर विदेशमा बसाइँ सर्दै हिँड्न परेकाले यतिखेर किन्डललगायतका बुक रिडरमा सयौं पुस्तक छन्।

० कुन समय धेरै किताब पढ्नुभयो ?  

स्कुले जीवनदेखि अहिलेसम्म पुस्तकको साथ मैले र मेरो साथ पुस्तकले छोडेको छैन। त्यसमा पढ्नुपर्ने र पेसागत बाध्यता साथै व्यक्तिगत रुचि सबै छन्। पेसा नै पढ्ने÷पढाउने भयो। पढ्ने रुचिले त होइन, ज्यान पाल्ने बाध्यताले हार्वर्ड विश्वविद्यालयमा काम गर्दा खुबै पुस्तक पढियो। मेरो जागिर नै पुराना ऐतिहासिक पुस्तक हेरेर तथ्यांक संकलन गर्नुपर्ने थियो। त्यो बेला त्यहाँको पुस्तकालयमा बसेर लगभग पाँच वर्षमा वनस्पतिशास्त्रसम्बन्धी हजारौं पुस्तक पढेँ÷पल्टाएँ। टेबल जत्रा दुई जनाले उचाल्नुपर्ने १६औँ शताब्दीमा लेखिएका पुस्तकहरूदेखि हत्केलामा अटाउने साना पुस्तकहरू त्यहाँ देखँे। म त्यहाँ काम गर्दा गुगलले सबै पुस्तक स्क्यान गर्न थालेको थियो। उनीहरू त्यहाँ आएर ट्रकका ट्रक पुस्तक लैजान्थ्ये। यति खेर ती धेरै पुस्तक गुगल बुकमा पाइन्छ। अमेरिकी विश्वविद्यालयमा भएका गुगल बुकलगायतका इन्टरनेटमा नभेटिएका पुस्तकहरूका खास अंशहरू चाहिएमा उक्त विश्वविद्यालयको पुस्तकालयलाई अनुरोध गरेमा स्क्यान गरेर पढाइदिन्छन्।

मैले विगत पाँच-छ वर्षयता औपचारिक पढाइ सकेपछि व्यक्तिगत रुचिका धेरै पुस्तक पढ्न थालेको छु।

 मन परेको पुस्तकालय ?       

पाँच वर्षभन्दा बढी नियमित प्रयोग गरेकाले होला, हार्वर्ड हर्वेरियमको पुस्तकालय नै मन पर्‍यो। शान्त, सुविधासम्पन्न भएकाले पनि होला। उक्त विश्वविद्यालयमा ४० भन्दा बढी पुस्तकालय रहेछन्। तिनमा वार्षिक एक खर्ब ८२ अर्ब रुपैयाँजति खर्च हुने रहेछ।

 पुस्तक समीक्षाहरू कसरी पढ्नुहुन्छ ?    

समीक्षा कहाँ छापिएको र कसले लेखेको भन्नेमा भर पर्छ। न्युयोर्क टाइम्स्, द गार्जियनजस्ता पत्रिकामा लेखिएका समीक्षाहरूले नयाँ पुस्तकको जानकारी दिन्छन्। विश्वसनीय हुन्छन्। त्यसलाई साथै एम्याजोनमा र बिल गेट्सले लेखेको पुस्तक समीक्षा पढेर धेरै पुस्तक किनेको छु। पुस्तक किन्नुअघि पुस्तकबारे इन्टरनेटमा खोजेर जानकारी लिएपछि मात्रै किन्छु।

 पढिसकेपछि राम्रो लागेको किताबबारे पनि लेख्नुहुन्छ कि ?    

मेरो फेसबुकका प्राय : पोस्ट्हरू मैले पढेका पुस्तकहरूबारे हुन्छन्। पुस्तकमा आफूलाई मन परेका कुराहरू छन् भने त्यसको थप जानकारी इन्टरनेटमा खोजेर फेसबुकमा लेखिरहन्छु। कहिलेकाहीँ पुस्तकबारे समीक्षा पनि लेख्छु। तर मन लागेको जति लेख्न सकिएको छैन। पढेको कुरा अरूलाई बाँड्दा आफूलाई सम्झिन मद्दत गर्छ। मानिसलाई सबैभन्दा सन्तुष्टि अरूलाई कुनै चिज दिँदा हुन्छ।

पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?  

भविष्यमा सन्दर्भ लिन काम लाग्छ भनेर ससाना चिनोहरू लगाएको हुन्छु। डिजिटल बुक रिडरहरूमा अन्डरलाइन गरेका कुराहरू तुरुन्तै हेर्न मिल्छ। सजिलो हुन्छ।

अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?       

निश्चित बेलाभन्दा पनि अरू कामबाट बचेको समयमा पढ्ने हो। प्राय : बच्चा सुतेपछि आफू सुत्नुअघि मेरो पढ्ने खास समय हो। बिदाको दिन घरमा बस्दा घरायसी काम भ्याएपछि दिउँसो।

 यहाँसँग भएको दुर्लभ पुस्तक ?       

छैन। भए पनि राख्दिनँ, कुनै पुस्तकालयलाई दिन्छु। दुर्लभ चिज व्यक्तिको भन्दा सामाजिक सम्पत्ति भएको राम्रो।

 राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?

मलाई उहाँहरूको पुस्तक रुचिका बारेमा खासै जानकारी छैन। राजनीतिक रूपमा बाबुराम भट्टराईसँग होइन, बौद्धिक बाबुराम भट्टराईसँग भने चिनजान छ। उहाँ बेलाबेलामा तपाईंले नयाँ पढेका पुस्तकहरू छन् भने सिफारिस गर्नुस् है भनेर भनिरहनुहुन्छ। उहाँसँग भेट्दा पनि पुस्तककै बारेमा गफ हुन्छ। मैले उहाँलाई तपाईं समृद्धि भन्दै हिँडिरहनुभएको छ तर मेरो बुझाइमा समृद्धि साँघुरो संकथन हो तर विकास फराकिलो भनेको थिएँ। समृद्धिको बारेमा ठोस जानकारीका लागि तपाईंले यो पुस्तक पढ्नैपर्छ भन्दै पछिल्लो पटक म्याट रिड्लेको ‘र्‍यासनल अप्टिमिस्ट  : हाउ प्रस्परिटी इभल्स्’ दिएको थिएँ। उहाँले त्रिविमा दिएको एउटा प्रवचनमा उक्त पुस्तक पनि सन्दर्भ सामग्रीका रूपमा उल्लेख गर्नुभएको देखेपछि त्यो उहाँले पढ्नुभएछ जस्तो लाग्यो। पुस्तक दिने भनेको सजाउन दिने होइन नि, पढाउन दिने हो।

 किनेको सबैभन्दा महँगो पुस्तक ?    

वासलात राखेको छैन। मैले मन फुकाएर किन्ने भनेको नै पुस्तक र फोटोग्राफीसँग सम्बन्धित कुराहरू क्यामेरा, लेन्सलगायत हो।

बढ्ता होहल्ला भएको औसत पुस्तक ?       

थाहा भएन। केही पाना पढ्दा पुस्तकले ध्यान खिचेन भने म आँखा र दिमागलाई सजाय दिन्नँ।

 कम होहल्ला भएको गज्जबको पुस्तक ?       

अहिलेको बजारीकरण र द्रुत सञ्चारको जमानामा गज्जबको पुस्तक भए धेरथोर होहल्ला भइहाल्छ।

 रोजाइमा कुन विधा ?       

निश्चय नै गैरआख्यान।

तपाईंले पढ्ने जर्नल ?      

मेरो पेसामा जर्नल नपढे जागिर जान्छ। अनुसन्धानकर्ता र जर्नल भनेको माछा र पानीजस्तै हो। भोको नरहन पनि मैले जर्नल पढ्नैपर्छ। आफ्नै विषयका जर्नलहरू पढ्छु।

साहित्यमा आख्यान कि गैरआख्यान ?

आख्यान पहिले पढियो। अहिले गैरआख्यान पढ्छु। माल्कोम ग्लाड्वेल, माइकल पोलेन, बिल ब्रायोसन, स्टेभेन जोन्सन, एडवार्ड विल्सनजस्ता लेखकका लेखाइ मन पर्छ।

कुन लेखक भेट्न चाहनुहुन्छ ?       

लेखक भेटेर के गर्नु ? बरु उनीहरूका प्रवचनको       श्रोता बन्न पाए पो मजा त। रोबर्ट सापोलेस्कीको क्लासमा गएर बस्न पाए भन्ने चाहना छ।

लेख्न चाहेको किताब ?       

अक्षर मात्रै होइन; चित्र, फोटो, नक्सा, ग्राफ, टेबल लगायतका सामग्री भएको नेपालबारेका गैरआख्यान पुस्तक जसले हाम्रो इतिहास, भूगोल, आर्थिक-सामाजिक परिवेश र अविकासको कथा भन्न सकोस्।

कुराकानी  : विमल आचार्य | अन्नपूर्ण फुर्सदमा प्रकाशित | भदाै २८ २०७६ |

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: