मोरक्कोमा नेपालको प्रतिविम्ब

अस्ट्रेलियालाई मानिसहरू ‘डाउन अन्डर’ अर्थात् पुछारमुनिको देश पनि भन्छन् । त्यहाँबाट अरू देश जाँदा साँच्चै यो देश फेदैजस्तो लाग्छ । अस्ट्रेलियाबाट युरोपेली, अफ्रिकी, अमेरिकी मुलुक जान कम्तीमा २०–२५ घन्टा उड्नुपर्छ । मोरक्को जानु थियो, फर्कंदा पेरिसमा अर्को काम । त्यसैले पेरिस ट्रान्जिट पारी टिकट मिलाउँदा मेरो यात्रा ३० घन्टासम्म तन्कियो ।

केही महिनापहिले अमेरिका जाँदा सहयोगीविना नै पासपोर्ट र भिसा चेक गरी अध्यागमनको गेट पार गराएको ‘किअस्क’ मेसिनले यसपालि भने सहयोगी गुहार्न लगायो । पहिले लागेको थियो– यस्ता संवेदनशील क्षेत्रमा समेत मानिस प्रतिस्थापित हुँदै छन् । यसपालि अस्ट्रेलियन ध्वजावाहक क्वन्टसकी स्टाफलाई बोलाएँ ।

‘नेपाली राहदानी बोकेका यात्रु निकै कम देखेकी छु,’ मेरो यात्राबारे जानकारी लिई ती स्टाफले मेरो भिसा जाँच गरिन् र भनिन् । अस्ट्रेलियामा थुप्रै नेपाली रहेको तथ्यबाट समेत अनभिज्ञ थिइन् । त्यसमाथि, उनले मोरक्को पठाउन लागेको पहिलो यात्रु रहेछु म ।युरो साट्ने काउन्टरमा अतिरिक्त १३ डलर लाग्ने रहेछ । खर्च गर्न मन मानेन । प्लास्टिक हँुदाहँुदै पैसा किन बोक्नु ? प्लास्टिक अर्थात् क्रेडिट वा डेबिट कार्ड ।‘नेपाल जान लागेको ? रक्सी किन्नुस्, राम्रो डिलमा छ,’ अध्यागमनको द्वार पार गरी ड्युटी फ्रीतिर डुल्दा मेरा कानमा हिन्दी परे ।

‘म हिन्दी बुुझ्छु भनी कसरी थाहा भयो ?’ प्रतिप्रश्न गरेँ । मेरो पासपोर्टतिर इसारा गर्दै ऊ मुसुक्क हाँस्यो । विदेशमा भेटिएका भारतीयहरू नेपाली देखेपछि हिन्दीमा कुरा गर्न सुरु गर्छन् । त्यो भ्रातृत्वको भाव हो वा हेपाहा प्रवृत्ति, मैले अझै ठम्याउन सकेको छैन । लगभग एक घन्टा ढिलो उडेको जहाजमा दुइटा चलचित्र हेरेँ । सात घन्टा कटाउन गाह्रो भएन । सिंगापुर पुग्दा अर्को प्लेन उड्न तीन घन्टा बाँकी थियो । भिसा लिएर वरपर घुम्न जान पर्याप्त समय थिएन ।

नेपाली पासपोर्टमा घुम्दा निकै केरकारको सामना गरेको छु । त्यहाँ पनि त्यस्तै भयो । छेउको लाम निकै अघि सरिसक्दा पनि ममाथिको केरकार रोकिएन । यी मेरा लागि सामान्य भइसके । केही त अर्तीको भाषामा भन्छन्, ‘यति हिँडडुल गर्नेले विदेशी पासपोर्ट लिनू नि ।’ आवश्यकताबोध नगरेकाले अहिलेसम्म लिएको छैन । तर, भिसाका लागि कागजपत्र बटुल्नेदेखि लिएर दूतावास धाउनेसम्मका झन्झट भने व्यहोरेको छु । सँगै काम गर्ने पश्चिमा साथीहरूलाई त्यस्तो समस्यै पर्दैन ।

भोलिपल्ट पेरिस विमानस्थलमा जहाज उत्रियो । परिवारसँग केहीबेर कुरा गरेर ट्वाइलेट जानु छ भन्दै कुरो टुंग्याए । पेरिस एयरपोर्टजतिको सफा र आकर्षक डिजाइन भएको ट्वाइलेट मैले देखेको छैन । ट्वाइलेटको फोटो खिचेँ । आफूले देखेका ट्वाइलेटको फोटो खिच्ने गरेको छु । कुनै दिन ट्वाइलेटको फोटो प्रदर्शनी गर्ने इच्छा नभएको पनि होइन ।

मोरक्को जाने जहाजमा बसियो । चार घन्टाको यात्रा । एयर फ्रान्सको जहाजमा मनिटर नभएकाले पूरै समय पढेर बिताइयो । मोरक्कोको मराकेसमा उत्रँदा बिहानको ११ बज्दै थियो । जहाजको झ्यालबाट देखिएको एयरपोर्ट नेपालकै जस्तो लाग्यो । आफ्ना जस्तै वा आफ्ना भन्दा कमसल केही देख्दा मान्छेलाई सायद आनन्द आउँछ । मलाई पनि त्यस्तै भयो । जहाज ट्याक्सीवेतिर लाग्दै गर्दा इस्लामिक कला झल्कने एयरपोर्टको भव्य संरचना देखेँ । केही क्षणअघिको भ्रम पनि तोडियो ।

अध्यागमन अधिकारीसँग करिब २० मिनेट कुरा गरेपछि जान पाएँ । सँगै आएका अन्य यात्रु उहिल्यै उछिनेर गइसकेका थिए । बाहिरको मुद्रा साट्ने काउन्टरमा अस्ट्रेलियन डलर साट्न खोजेँ । काउन्टरका कर्मचारीले आफ्नाे देशमा कतै पनि अस्ट्रेलियन डलर नसाटिने बताएपछि आउनुअघि नै पैसा नसाटेकामा पछुतो मानेँ । अस्ट्रेलिया हुँदै मोरक्को आएको पहिलो यात्रु सम्भवतः म रहेको बताउने क्वन्टसकी कर्मचारीको आवाज कानैमा गुन्जियो ।

कम अस्ट्रेलियन आउने भएर अस्ट्रेलियन डलर सटही गर्न नमिलेको हो कि ? नजिकैको एटिएममा कार्ड घुसाएँ । तर, पैसा झरेन । हजुरबुबा भन्नुहुन्थ्यो– खल्तीमा पैसा नभए आँट आउँदैन । आफूसँग भएको अस्ट्रेलियन डलर मूल्यहीन साबित भइसकेको थियो । पर्समा पाँच युरो र पाँच अमेरिकी डलरका नोट रहेछन् ।

नेपालको भन्दा राम्रो एयरपोर्ट भए पनि ट्याक्सीको पारा भने नेपालकै जस्तो रहेछ । भीमकाय शरीर भएको र हातमा वाकीटकी बोकेको एक मानिस मनजिकै आई कनीकुथी अंग्रेजीमा सोध्यो, ‘कहाँ जान्छौ ?’ मैले होटलको नाम भनेँ । ‘दुई सय दिराम लाग्छ,’ उसले भाडा सुनायो । युरोमा त्यसको मूल्य २० जति हुन जान्छ । मराकेसमा ट्याक्सी बार्गेनिङ गर्नुपर्छ भन्ने थाहा थियो । ट्रिपएड्भाइजरमा पढेको थिएँ ।‘दश युरो हुन्छ ?’ मैले बार्गेनिङ गरिहालेँ ।

रिसाएर हात हल्लाउँदै उसले ‘उता जा’ भनी इसारा ग-यो । छेउमा अरू ट्याक्सी पनि थिए । केही यात्रु भाडामा कुरा नमिलेर चढिसकेको ट्याक्सीबाट सामान झार्दै थिए । निस्कनुभन्दा एक रात मात्र अघि श्रीमती र छोरीले खुत्रुकेबाट युरो छुट्याई क्यामेरा ब्यागमा राखिदिएका थिए । २३ युरोबराबरका सिक्का रहेछन् । मन ढुक्क भयो । केहीबेरको बार्गेनिङमा एउटा ट्याक्सी १० युरोमा जान राजी भयो । ट्याक्सी चल्दै गर्दा देखिएको मरुभूमिको त्यस सहरमा फराकिलो, सफा र प्रशस्त हरियाली भएको सडक देख्दा आश्चर्य लाग्यो । ड्राइभरलाई भनेँ, ‘तिम्रो सहर सुन्दर रहेछ ।’

‘हो, फूल फुल्ने मौसममा झन् सुन्दर हुन्छ,’ बाटाका छेउछाउ झपक्क फुलिरहेको फूल देखाउँदै उसले भन्यो । होटेल आइपुग्यो । दुई युरोका ६ सिक्का हातमा हालिदिएँ । ‘दुई युरो टिप्स ।’ अघिसम्म पैसाले पिरोलेको म केहीबेरमै टिप्स दिनसमेत पछि हटिनँ । मान्छेको जात छिनमै लुत्रुंग, छिनमै फुरुंग ।

मोरक्को घुम्ने उद्देश्यले पनि कार्यक्रमभन्दा एक दिनअघि पुगेको थिएँ । होटेलमा कुरा गरेपछि भोलिपल्टको यात्रा तय भयो । एट्लस पर्वतको फेदीमा औरिका नदीको किनारमा रहेको पातलो ग्रामीण बस्ती औरिका भ्याली जाने भइयो । मराकेसबाट करिब ५० किलोमिटर दक्षिणमा अवस्थित औरिका भ्याली त्यहाँको प्रख्यात पर्यटन गन्तव्य हो ।

भोलिपल्ट ९ बजे लिन आउँछ भनिएको टुरको गाडी (माइक्रोबस) करिब एक घन्टा ढिलो आयो । त्यहाँ पनि नेपाली समय चल्दो रहेछ । करिब आधा घन्टामा कुमालेको पसलअगाडि गाडी रोकियो । समथर खेतीयोग्य जमिनसँगै पातलो बस्तीभित्रको घर । गाडीबाट झरेर खुट्टा तन्काउँदै गर्दा क्षितिजमा हिउँले ढाकेको एट्लस पर्वत देखेँ । मैले मेरा हिमाल सम्झेँ  । हिमालयजति नै क्षेत्रफलमा फैलिएको एट्लस पर्वत शृंखला मोरक्को, अल्जेरिया र ट्युनिसियामा पर्छ । हिमालयको अग्लो चुचुरो सगरमाथा नेपालमा छ भने एट्लसको अग्लो चुचुरो टुव्कल मोरक्कोमा । तर, टुब्कलको उचाइ करिब चार हजार मिटर मात्रै छ ।

उत्रिएको ठाउँमा कुमालेले चक्रमा माटोको भाँडा बनाएर देखाए । माटोका थुप्रै सामान मोरक्कोबाट विदेशीले उपहारस्वरूप लैजाने रहेछन् । बाटाभरि त्यस्ता थुप्रै पसल थिए । कति फुटपाथमा पनि थिए ।केही समयपछि गाडी पहाडमाथि रहेको एउटा भ्यु प्वाइन्ट रेस्टुरेन्टमा गएर रोकियो । ‘चिया–कफी पिउन र दिसापिसाब गर्न २० मिनेट,’ ड्राइभर करायो । रेस्टुरेन्टको छतबाट केही तस्बिर खिचेँ । पिसाब फेरेको पाँच दिराम लाग्ने रहेछ । गाडी त्यहाँबाट फेरि हिँड्यो र यसपालि जडीबुटी पसलमा गएर रोकियो ।

परम्परागत पोसाकमा सजिएका अधबैँसे महिलाहरूले शिवलिंग आकारको जाँतोमा आर्गन (त्यहाँको स्थानीय वनस्पति) को फल पिस्दै तेल निकालेर देखाए । उक्त पसल महिला सहकारीद्वारा सञ्चालित रहेछ । मोरक्कोभर यस्ता सयौँ महिला सहकारी रहेछन् । मोरक्कोले आर्गनको तेल संसारभर प्रचारप्रसार गरिरहेको छ ।

लोपोन्मुख उक्त वनस्पति यस्तै सहकारीका कारण जोगिएको रहेछ । आर्गनबाहेक केशर, जैतुन, क्यामोमाइलजस्ता जडीबुटी बेचेर मोरक्कोले वार्षिक ६० मिलियन डलर आम्दानी गर्ने रहेछ । सन् २०१४ मा नेपालमा जडीबुटीको व्यापार पनि लगभग ६० मिलियन डलर थियो । तर, हाम्रा धेरै जडीबुटी प्रशोधन नभई बिदेसिन्छन् ।

गाडी औरिकाको एक होटेलमा रोकियो । ‘यहाँ खाना खाइसकेपछि ऊसँगै झरना हेर्न जानू,’ ड्राइभरले गाइडतिर देखाउँदै भन्यो । त्यहाँका सयौँ रेस्टुरेन्ट नदीकिनारमा रंगीचंगी कुर्सीटेबल राखेर ग्राहक लोभ्याउँदा रहेछन् । हामी गाइडका पछि लाग्यौँ । अरू होटेलबाहिर खानाको मूल्य टाँगिएको थियो । त्यस्तै खाना, मूल्य भने आधा । नेपालका राजमार्गमा पनि होटेलवाला र चालकबीच यस्तै सेटिङ चल्छ ।

पहाडको टुप्पोमा पुगी झरना हेरी फर्कने योजना थियो । नेपालमै तीभन्दा राम्रा झरना देखेकाले तिनले मलाई तानेनन् ।
खोलाको पानी फोहराजस्तै बनाएर त्यसमा सजाएर राखेका पेयपदार्थ र फलफूल लोभलाग्दा देखिन्थे । नेपालमा तीभन्दा सयौँ सुन्दर खोला छन्, तर हामीमा सिर्जनशील चेतको कमी छ । पूरै समय म नेपाल र मोरक्को तुलना गरिरहेँ ।

भोलिपल्ट कादिआयद विश्वविद्यालयमा कार्यशाला सुरु भयो । परिचयमा सहभागीले आफ्नो देशको एउटा रमाइलो तथ्य भन्नुपथ्र्यो । ‘म नेपाली भन्नेबित्तिकै सबै एभरेस्ट चढेको छस् भनी सोध्छन्,’ मैले भनेँ। ‘मलाई पनि मेस्सी भेटेको छस् भनी सोध्छन्,’ अर्जेन्टिनाको साथीले हँसायो ।

सिंगापुरकी मित्रले आफ्नो देशको पासपोर्ट संसारकै शक्तिशाली भएको र एक सय ८९ देशका लागि भिसा नचाहिने बताइन् । नेपालका नेताले देशलाई सिंगापुर बनाउने भनेको धेरै भइसक्यो । उद्घाटन सत्रमा विश्वविद्यालयको उपकुलपति बोलाइएको थियो । उनी ठीक समयमा आई स्वागत गरेर हिँडे । टुरबसका हकमा चलेको नेपाली समय विश्वविद्यालयमा भने चलेन । नेपालमा कार्यक्रममा जति उच्च पदस्थ निम्त्यायो, उति धेरै कुर्नुपर्छ ।

विश्वविद्यालयको भौतिक संरचना खासै ठूलो थिएन, तर निकै सफा थियो । परिसरमा सयौँ प्रजातिका जडीबुटी पनि रहेछन् । मैले आफूले पढेको त्रिभुवन विश्वविद्यालय सम्झेँ  । हाम्रा विश्वविद्यालय मिचाहा प्रवृत्तिका झारले छोपेको छ, गोबरले लतपतिएको छ ।

कार्यशाला सकेर पेरिस जानुअघि फेरि अर्को एकदिने यात्रामा निस्किएँ । मराकेसबाट दुई सय किलोमिटरजति टाढा पर्ने औरजेट र अइवेनहेदु मरुभूमिको । युनेस्को सम्पदासूचीमा परेका ती स्थान मैले ग्लाडिएटर र मम्मी नामक अंग्रेजी सिनेमामा देखेको थिएँ । खोला किनारमा जोडिएको सानो टाकुरामा एक–अर्कासँग जोडिएका माटोका घर, बस्तीमा जोगाउन बनाइएका अग्ला पर्खाल, प्रवेशद्वार र अग्लो भ्यु टावरले सहरलाई विशेष बनाएको छ ।

यात्रामा टिच्का पास पनि छिचोल्ने अवसर मिल्यो । चार वर्षअघि थोराङ्ला पास छिचोलेको थिएँ । पर्यटन विकास हुँदै गरेकाले पहाडी बाटा फराकिलो पार्ने काम हुँदै थियो । तर, नेपालमा जस्तो धुलो उडेको थिएन । ट्यांकरहरू पानी छरिरहेका भेटिन्थे । हामी राजधानी प्रवेश गर्ने गाडीहरू धुने गफ गर्छौँ, तर धुलो नउडाई बाटो बनाउन सक्दैनौँ । केही ट्यांकरले निरन्तर पानी छरे धुलो कति कम हुन्थ्यो होला ?

बाटोमा ठुल्ठूला मरुभूमिमा खेती गरेको र भिरालो जग्गामा वृक्षरोपण गरिएको थियो । मोरक्कोले २००८ देखि हरित मोरक्को योजनाअन्तर्गत खेती, पशुपालन र रूख रोप्ने देशव्यापी अभियान चलाइरहेको रहेछ । त्यसै आयोजनाअन्तर्गत उच्च मरुभूमिमा पनि डिपबोरिङ गरी सिँचाइ हुँदो रहेछ । पानीको स्रोत धेरै भएर मात्र हँुदैन, व्यवस्थापन पनि राम्रो गर्नुपर्छ ।

त्यहाँको भूगोलले मुस्ताङ सम्झाए, घरले नेपालका हिमाली भेग सम्झाए । बाटामा नेपालमा घाँसदाउरा बोकेका, खेतमा काम गर्दै गरेका महिला देखिन्थे । चालक त्यसै भेगका रहेछन् । बाटामा चिनेकालाई हात हल्लाएर वा हर्न बजाएर पूरै नेपाली पारामा अभिवादन गर्थे । यहाँको भूगोल मात्रै होइन, मान्छेका पेसा र आनीबानी पनि नेपालसँगै मिल्दाजुल्दा । मुस्लिम बाहुल्य भएको देश भए पनि बुर्कानलगाउने महिला प्रशस्तै देखिए । ग्रामीण भेगमा नेपाल र यहाँको अवस्था उस्तै थिए । तर, सहरमा भने मोरक्कोका पूर्वाधार राम्रा ।

सहरका घरमा एकैखाले गुलाफी रंग लगाइएको थियो । घर पाँच तलाभन्दा अग्लो बनाउन नपाइने । कतिपय ठाउँका सडक युरोप, अमेरिकाका जस्तै । बाटाभरि रूख रोपिएका, धुलोधुँवा निकै कम । एक हप्ताको बसाइमा मोरक्कोलाई नजिकबाट हेरेँ र बुझेँ  । क्षेत्रफलमा नेपालभन्दा पाँचगुणा, अर्थतन्त्रमा चारगुणा र प्रतिव्यक्ति आयमा तीनगुणा ठूलो मोरक्को भूगोल र जैविक विविधताका आधारमा भने नेपालजस्तै छ ।

पर्यटनको आधार पनि हाम्रोजस्तै । पर्यटनलाई हस्तकला र कृषि उत्पादनसँग जोड्ने प्रयत्न उत्साहप्रद लाग्यो । फ्रान्ससँगको औपनिवेशिक साइनो, युरोपसँगको भौगोलिक निकटता भएर होला, मोरक्कोमा सन् २०१७ मा १ करोड १० लाख पर्यटक गएका रहेछन् । अबको एक वर्षभित्र मोरक्को विश्वकै २०औँ प्रमुख पर्यटकीय गन्तव्य बन्ने महत्वाकांक्षी योजना तयार भएको छ । त्यहाँबाट फर्कने वेला एयरपोर्टमा प्लेन कुर्दै गर्दा त्यहाँबाट नेपालको सम्झना आयो । इन्टरनेट खोलेँ । एक दैनिक पत्रिकामा छापिएको समाचारले मन चसक्क भयो । शीर्षक थियो– सडकले नास्यो ट्रेकिङ रुट ।

नयाँ पत्रिका दैनिक  । २०७६ जेठ ११ शनिबार ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s