भ्रष्टाचार घटाउन यस्तो उपाय
ट्रान्सपेरिन्सी इन्टरनेसनलले वर्षेनी प्रकाशित गर्ने भ्रष्टाचार अवधारणा सूचांकले विश्वका विभिन्न मुलुकमा हुने भ्रष्टाचारको अवस्थाको चित्रण गर्दछ। उक्त संस्थाको पछिल्लो सूचांकमा विश्वका १८३ देशहरुमध्ये नेपाल १२२ औं स्थानमा परेको छ। नेपालसँगै उक्त स्थानमा अजरवैजान, जिबुटी, काजकस्थान, लाइबेरिया, मलावी, माली र माल्दोभाजस्ता देशहरु छन्। उक्त संस्थाले प्रकाशित गरेका अघिल्ला वर्षहरुका प्रतिवेदनहरु हेर्दा नेपालमा भ्रष्टाचार क्रमिक रुपमा बढिरहेको देखाउँछ। ट्रान्सपेरिन्सी इन्टरनेसनलको प्रतिवेदन आफैँमा पूर्ण नभए तापनि भ्रष्टाचारले नेपालमा दह्रोसँग जरा गाढेको कुरामा सायदै कसैको विमति होला।
राष्ट्रिय गौरव भनिएका योजनाहरुमा भएका ठूलाठूला र सितिमिति नदेखिने नीतिगत भ्रष्टाचारका खबरले दैनिकजसो अखबारका पृष्ठहरु भरिएका हुन्छन्। सामाजिक सन्जाल र चिया पसलदेखि देशमा हुने ठूला ठूला गोष्ठी र सेमिनारसम्म भ्रष्टाचार नियन्त्रण मुख्य विषय बन्दछ। सर्वसाधारणका भान्सा गफदेखि नेताका भाषणसम्ममा पनि भ्रष्टाचार शब्द अटाएको हुन्छ।
भ्रष्टाचार भन्नाले सामान्यतया जालसाजी, अपचलन, घुसखोरी, शक्तिको दुरुपयोग, गोप्य र महत्वपूर्ण सूचना चुहाउनेजस्ता कार्यहरु बुझिन्छ। तर भ्रष्टाचारको परिभाषा र यसले समेट्ने क्षेत्र त्यो भन्दा पनि बृहद् छ। भ्रष्टाचार भनेको अधिकार र शक्तिको दुरुपयोग गरी व्यक्तिगत फाइदा उठाउने कार्य हो। समाजमा विद्यमान नैतिक र निष्ठाको मापदन्ड तोडेर गरिने जुनसुकै कार्यलाई भ्रष्टाचार करार गर्न सकिन्छ। त्यसकारण भ्रष्टाचारको आयतन व्यक्तिगत नैतिकतादेखि र राज्यको नीतिगत तहसम्म फैलिएको हुन्छ। यो निजी, सामाजिक, सरकारी र व्यक्तिगत सबै क्षेत्रमा विद्यमान हुन्छ। तर यो लेखमा चर्चा गरिन लागेको विषय भनेको राजनैतिक र सरकारी तहमा गरिने भ्रष्टाचार, जसले सेवाग्राहीलाई नोक्सान पुराएको हुन्छ, त्यसको सानो अंशको हो। जुन अहिलेको अवस्थामा नेपाली समाजको संस्कृति वा वानीकै रुपमा झागिंएको छ।
संसारमा अहिलेसम्म मानिसको बानी सुधार्न मुख्य दुई विधिहरु प्रभावकारी मानिएका छन्: एउटा सजाय र अर्को उत्प्रेरणा। नेपालमा भ्रष्टाचार नघट्नुको एउटा कारणमा मानिसको बानी सुधार्ने यी दुवै उपायहरुको प्रभावकारी कार्यान्वयन नहुनु हो।भ्रष्टाचारीलाई सजाय गर्ने भनेर स्थापना भएका सरकारी संस्थानहरु भित्र नै चर्को भ्रष्टाचार विद्यमान छ। नेपाल प्रहरीका उच्च पदस्थ पदाधिकारीहरु नै भ्रष्टाचारी प्रमाणित भएका कयौं उदाहरण छन्। न्यायालय भित्र भ्रष्टाचार भएको, न्यायमुर्तीहरुले न्याय सम्पादनमा चलखेल गरेको समाचारहरु बेला बखतमा आइरहन्छन्। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अक्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तले समेत घुस लिएको समाचार सार्वजनिक भएको छ।
यस क्षेत्रमा गरिएका अनुसन्धानहरुले पनि राजनैतिक र आर्थिक पक्षलाई लिएर मात्रै अवलम्बन गरिएका उपायहरुले भ्रष्टाचार न्यून गर्न नसक्ने देखाएका छन्। यस्तो अवस्थामा बानीको रुपमा रुपान्तरित भएको भ्रष्टाचारलाई सकारात्मक उत्पे्ररणा दिने प्रणालीको निर्माण गरेर घटाउन सकिन्छ कि भन्ने परिकल्पना गर्न सकिन्छ। त्यस्तो पारदर्शी र सामाजिक रुपमा उपलब्ध मनोवैज्ञानिक उत्प्रेरणा दिने प्रणालीले मानिसलाई स्वच्छ आचरण गर्न अभिप्रेरित गरेर भ्रष्टाचारलाई कम गर्न सक्दछ। किनभने मानिस स्वभावैले समाजमा राम्रो देखिन चाहन्छ। मानिसभित्र भएको अभिमानले गर्दा अरुले आफूलाई नराम्रो भनेको रुचाउँदैन्। जतिसुकै भ्रष्टचारीले पनि आफूले गरेको भ्रष्टाचार समाजले थाह नपाओस् भन्ने चाहना राखेको हुन्छ। त्यसलाई लुकाउन खोजिरहेको हुन्छ।
सेवाग्राहीको मूल्यांकन र प्रतिक्रिया
विकसित देशमा कुनै कम्पनीलाई फोन गरेर फोन राख्न नपाउँदै उक्त कम्पनीको सेवा कस्तो लाग्यो भन्ने प्रश्नसहितको इमेल आइपुग्छ। होटलबाट चेकआउट गर्नसाथ, रेष्टुरेन्टमा खाएर निस्कनसाथ वा सपिङ्ग सेन्टरमा किनमेल गरेर सक्नसाथ ग्राहकको प्रतिक्रिया वा मूल्यांकन माग्ने चलन यतिखेर सामान्य भएको छ। त्यति मात्रै होइन, अमेरिका लगायतका देशहरुमा प्राध्यापकले कक्षाको समाप्तिपछि जसरी विद्यार्थीको परीक्षा लिन्छ त्यसैगरी विद्यार्थीले पनि प्राध्यापकले पढाउन प्रयोग गरेका बिधि, विषयवस्तु, सन्दर्भ सामाग्री र समग्र पढाउने शैलीबारे प्राध्यापकको मूल्यांकन गर्दछ। विद्यार्थीहरुबाट प्राप्त हुने त्यस्ता मूल्यांकनहरु लगातार नराम्रो भएमा प्राध्यापकले जागिर समेत गुमाउनुपर्ने हुनसक्छ। चेक एन्ड व्यालेन्सको यो दोहोरो मूल्यांकन विधिले प्राध्यापक वा अन्य कुनै अधिकार र शक्ति सम्पन्न व्यक्ति वा सेवा प्रदायकलाई गलत आचरण गर्नबाट रोक्छ र उत्तरदायी हुन बाध्य गराउँछ।
कक्षा कोठामा विद्यार्थी र प्राध्यापकलाई स्वच्छ आचरण गर्न अभिप्रेरित गर्ने त्यस्ता दोहरो मूल्यांकन विधि अहिलेको सेयरिङ इकोनोमीको आधार भएको छ। विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ्ग स्टोर एम्याजनदेखि, कार सेयरिङ गर्ने उबर र बास बस्ने ठाँउ सेयर गर्ने एयरबीएन्डबीसम्ममा सेवाप्रदायक र सेवाग्राही दुवैले एक अर्काले मूल्यांकन गर्न पाउने सुविधा छ। जुन उक्त कम्पनीहरुको मेरुदन्ड हो। एम्याजनबाट सामान किन्दा सामान बेच्ने बिक्रेतालाई अघिल्ला उसका ग्राहकहरुले गरेको मूल्यांकन हेरेर नयाँ क्रेताले उसबाट सामान किन्दछ। वेबसाइटमा सार्वजनिक रुपमा उपलब्ध हुने उक्त मुल्यांकन नतिजाको आधारमा बिक्रेतालाई नयाँ ग्राहकले विश्वास गर्ने भएकोले बिक्रेता वा सेवा प्रदायक सार्वजनिक रुपमा आफू नराम्रो देखिन चाहँदैन। त्यसकारण क्रेताबाट राम्रो मूल्यांकन पाइने आशमा उसले गलत काम (ढिलो डेलिभरी, कमसल गुणस्तरको सामान, कमजोर प्याकिङ्ग) गर्दैन। सेवा राम्रो दिन्छ।
उबरको हकमा पनि ड्राइभरको मूल्यांकन यात्रुले र यात्रुको मुल्यांकन ड्राइभरले गर्ने हुनाले दुवै एकअर्काप्रति उत्तरदायी हुन्छन्। मूल्यांकन कमजोर भएको ड्राइभरले चलाएको गाडीमा नयाँ यात्रुहरु स्वभाविक रुपमा चढ्न असहज मान्छन्। त्यसकारण ड्राइभरले उत्कृष्ठ सेवा दिन लालायीत हुन्छ भने यात्रुलाई पनि ड्राइभरले मूल्यांकन गर्ने हुनाले यात्रु पनि ड्राइभरबाट आफ्नो मुल्यांकन नराम्रो होस् भन्ने चाहँदैन। यात्रुले पाउने नराम्रो मुल्यांकनले भविष्यमा उसले सेवा नपाउन सक्ने हुन्छ। यस्तो दोहरो मूल्यांकन बिधि एयरविएन्डवीले पनि अपनाएको छ। त्यहाँ पनि बास बस्न दिने होस्ट र बास बस्ने पाहुना दुवैको मुल्यांकन एक अर्काले गरेका हुन्छन्। र त्यो सार्वजनिक रुपमा उपलब्ध हुन्छ। यस्तो विधिबाट आफू राम्रो देखिने मनोवैज्ञानिक उत्पे्ररणा सेवा लिने र सेवा दिने दुवैले प्राप्त गर्ने हुनाले गलत कार्य स्वभाविक रुपमा दुवैलाई गर्न मन लाग्दैन।
यस्तो मूल्यांकन प्रणालीले मनोवैज्ञानिक उत्प्रेरणा मात्रै होइन वस्तु र सेवाको निरन्तर सुधारलाई पनि सहयोग पुर्याइरहेको हुन्छ। जुनसुकै सुधारको लागि प्रतिक्रिया वा फिडव्याक अनिवार्य बन्दछ। उत्कृष्ट सेवा र सुविधाको लागि सेवाग्राहीको प्रतिक्रियाले ठूलो योगदान गरेको हुन्छ। त्यस मार्फत सेवा प्रदायकले सेवाग्राहीले के पायो ? वा के पाएन ? कुन कुरा मन परायो ? कुन मन पराएन? थाह हुन्छ। त्यसको साथै सेवाग्राहीप्रति सेवा प्रदायक उत्तरदायी भएको पनि देखिन्छ। त्यसले सेवा प्रदायकलाई आफ्नो सेवा सुविधा बढाउन र आफूलाई सुधार्न मद्दत गर्दछ। उबरले त आफ्नो डाइभरले पाँच तारा पाएनन् भने त्यसको कारण खुलाउने सुविधा पनि यात्रुलाई दिएको छ। यसको अर्थ उत्कृष्ट सेवा पुराओस् र कमी कमजोरी भएमा सुधार गर्न पाइयोस् भन्ने हो।
नेपालमा कानुन निर्माण र सजायको उपायबाट नियन्त्रण गर्न नसकिएको सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार यस्तो दोहरो मूल्यांकन विधिबाट वा प्रतिक्रियात्मक संस्कार निमार्णबाट कम गर्न सकिन्छ कि भन्ने हाम्रो परिकल्पना हो।
नेपालमा मूल्यांकन विधि
सेवाग्राहीबाट सुझाव संकलन गर्ने विधि नेपालमा पनि नभएको होइन। नेपालमा ट्रान्सपेरिन्सी इन्टरनेसनलले २०७३ सालमा सार्वजनिक सेवा प्रवाह सर्वेक्षणले सर्वसाधरण सेवाग्राहीको अध्ययन गरेको थियो। सामान्य प्रशासन मन्त्रालयको व्यवस्थापन परिक्षण शाखाबाट पनि त्यही बेला सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरिएको थियो। विभिन्न कार्यालयहरुमा पनि सेवाग्राही सन्तुष्टि सर्वेक्षणको थालनी गर्न लागिएको छ। कतिपय कार्यालयहरुमा सुझाव पेटीका राख्न थालिएको पनि धेरै समय भइसकेको छ। तर त्यसले दिने उत्प्रेरणा र त्यो विधिको प्रभावकारीताबारे अध्ययन भएको हामीलाई थाहा छैन।
सुझाव पेटिकाबाट सुझाव संकलन गर्ने विधि अहिलेको प्रविधिको युग सुहाउँदो विधि पनि होइन। सुझाबभन्दा निर्धारित सेवाको मूल्यांकनको मापन गर्न सकिएमा त्यो प्रभावकारी हुनसक्छ। सेवाग्राहीले सेवादायकको सेवाको गुणस्तर, सेवाको गति, सेवा दिने क्रममा भएको अनुचित मोलमोलाइ आदिको मूल्यांकन गर्न पाउने प्रणाली बनाउन सकियो भने त्यसले सेवादायकलाई उत्तरदायी बनाउन सक्छ।
सुरुमा त्यस्तो विधिको प्रभावकारिताको लागि सानो स्तरमा एउटा भरपर्दो वैज्ञानिक अध्ययन अनुसन्धान गर्न सकिन्छ। निश्चित ठाँउका निश्चित कार्यालयहरु छानेर त्यहाँ सेवाग्राहीले उक्त छानिएका संस्थाहरुबाट पाएका सेवाहरुको मूल्यांकन गर्न लगाउन सकिन्छ। तथ्यांक संकलन गर्नको लागि निश्चित प्रश्नहरु तयार पारेर त्यसलाई विभिन्न स्केलमा उत्तर दिने ‘लाइकार्ट स्केल’मा प्रश्नावली तयार पार्न सकिन्छ। समय समयमा सेवाग्राहीले गरेको मूल्यांकनको नतिजा विश्लेषण गरेर सम्बन्धित कर्मचारीहरुलाई दिन सकिन्छ। आफ्नो मूल्यांकन पाएपछि कर्मचारीको बानीमा आउने फरकलाई तुलना गरेर यस विधिको प्रभावकारीता अध्ययन गर्न सकिन्छ।
त्यही नमुना अध्ययनको नतिजाअनुसार यस्तो मूल्यांकन विधिले सरकारी कार्यालयको कार्यशैलीमा सुधार आएमा यो विधिलाई नेपालभरका सबै कार्यालयमा विस्तार गर्न सकिन्छ। सेवाग्राही जनताले दिएको मूल्यांकन सार्वजनिक रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन सकेमा समाजको नजरमा राम्रो देखिनको लागि पनि सेवादायकहरुले असल काम गरेर समाजमा भ्रष्टाचारमा अलि कमी हुन्थ्यो कि ?
नेपाल खबरमा प्रकाशित । फाल्गुण २७ २०७५