समृद्धिको बाधक जातपात

चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर द्रव्य शाह गोरखाको राजा हुनुभन्दा ठ्याक्कै १ सय १० वर्षअघि सन् १४४९ मा युरोपमा छापाखाना अर्थात् प्रिन्टिङ प्रेसको आविष्कार भयो । फलस्वरूप ठूलो संख्यामा पुस्तक छापिन थाले । भनिन्छ, उक्त प्रेसको आविष्कार भएको ५० वर्षभित्र करिब दुई करोड पुस्तक छापिएका थिए । तीमध्ये प्रमुख बाइबल थियो । यसरी ठूलो संख्यामा छापिन थालेपछि पुस्तक सर्वसाधरणको पहुँचको वस्तु बन्न पुग्यो ।

त्यसअघि सीमित संख्यामा चर्चका पादरीहरू मात्रै पढ्थे । पढ्न थालेपछि मानिसहरूले किताबका साना अक्षरलाई ठम्याउन असहज  महसुस गरे । ठूलो संख्याका मानिसलाई आँखाको देख्ने क्षमता कमजोर भएको थाहा भयो र आमरूपमा चस्मा लगाउने प्रचलन सुरु भयो । र, मानिसले चस्माको लेन्ससँग खेल्न थाल्यो । दुई वा सोभन्दा बढी लेन्सलाई निश्चित दूरीमा राखेर हेर्ने क्रममा माइक्रोस्कोप र टेलिस्कोप जन्मियो ।

माइक्रोस्कोपको सहायताले मानिसले नांगो आँखाले देख्न नसक्ने सूक्ष्म कुराहरू अवलोकन गर्न सके भने टेलिस्कोपको आविष्कारले पृथ्वीबाहिरको संसार नियाल्न । मानिसको ज्ञानको दृष्टिलाई आफ्नो अन्तरअंगदेखि पृथ्वीको बाहिरी बह्माण्डसम्म पु-याउन प्रिन्टिङ प्रेसको ठूलो हात छ । भनिन्छ, प्रिन्टिङ प्रेसको आविष्कारविना औद्योगिक क्रान्ति, प्रविधिको विकास र आधुनिक लोकतन्त्र असम्भव थियो । आधुनिक संसारको जग बसाउने त्यो युगान्तकारी छापाखानाका आविष्कारक जोहानेस गुटनवर्ग पेसाले फलामको काम गर्ने (कामी ?) थिए, अर्थात् फलाम र सुन पिट्ने काम गर्दथे ।

युरोपमा मानवियता, कला, साहित्य, संगीत, भूगोल आदिको उच्च विकास भएको समय (जसलाई पुनर्जागरणको युग भनिन्छ) चलिरहँदा भक्तपुरमा पचपन्न झ्याले दरबार, पाटनमा कृष्ण मन्दिर र काठमाडौंमा तलेजु भवानी बनिसकेको थियो । यतिखेर औद्योगिक क्रान्तिको जननी लन्डन सहरको चारवटा मात्र सम्पदा युनेस्कोको सूचीमा छ । इन्जिनियरिङ विधामा विश्वमै उत्कृष्ट मानिने जर्मनीको बर्लिनका तीन र लेनिनको देश रसियाको मस्कोका चारवटा मात्रै सम्पदा उक्त सूचीमा अटाएका छन् । तर, काठमाडौं उपत्यकाभित्रका सातवटा सम्पदा युनेस्को सूचीमा छन् । यसको अर्थ औद्योगिक क्रान्तिअघिको उपत्यका (नेपाल)मा युरोपमा जत्तिकै कला, संस्कृति, इन्जिनियरिङ, सहरी विकास भएको थियो । उत्पादनको साधन जमिन मात्रै भएको त्यो समयमा खानाका विविध परिकार, जात्रा, चाडपर्व र युनेस्कोमा अटाउनेजस्ता भव्य सम्पदा निर्माणका लागि मानिससँग समय हुनु भनेको समृद्धिको सूचक हो ।

प्रतिव्यक्ति आयमा तुलना गर्ने हो भने त्यतिवेलाका सबैभन्दा धनी देशको तुलनामा नेपालीको सरदर आय खासै कम थिएन । सुगौली सन्धिताका नेपालको प्रतिव्यक्ति आय बेलायतभन्दा चार गुणा, स्विट्जरल्यान्ड र अमेरिकाभन्दा तीन गुणा र अस्ट्रेलिया भन्दा साढे एक गुणा मात्रै कम थियो । सिंगापुरभन्दा पाँच गुणा बढी थियो । अहिले नेपालको प्रतिव्यक्ति आयभन्दा स्विट्रजल्यान्डको ९७ गुणा, अमेरिकाको ७२ गुणा, अस्ट्रेलियाको ६६ गुणा, बेलायतको ४८ गुणा र सिंगापुरको ७० गुणाले बढी छ । यसरी लगभग दुई सय वर्षमा अन्य देशले प्रगतिको शिखर चुम्दा नेपाल किन पुछारमा नै रहन पुग्यो ?

अंगे्रजले स्टिल आविष्कार गरेर विश्वभरि पुल बनाए र अमेरिकीले एलिभेटर बनाएर संसारभरि गगनचुम्बी महल निर्माण सम्भव तुल्याए । तर, काठमाडौंको प्यागोडा शैलीको वास्तुकला त्यहाँबाट १०० किलोमिटरभन्दा टाढासम्म पनि किन पुगेन ? अहिले नेपालको कृषिको उत्पादन क्षमता संसारमै सबैभन्दा कम छ । किन कृषि प्रणालीको औद्योगीकरण हुन सकेन ? एकीकरणअघि तिब्बतको सिक्कासमेत नेपालमा नै छापिन्थ्यो । किन नेपालका प्राचीन धातुकला, वास्तुकला र काष्ठकला जस्ताको तस्तै रहन गयो वा झन् नासियो ? कलकत्ताको बजारमा नेपाली तामाले युरोपको तामालाई प्रतिस्पर्धामा पछाडि छाडेको थियो । यतिखेर हाम्रा उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने किन भए ?

उद्यमशीलताको अभाव
मानिसको सिर्जनशीलतालाई उद्यममा बदल्न सके मात्र त्यसले उत्पादन वृद्घि गर्दछ र छिटो पुँजी निर्माण हुन्छ । मानिसलाई उद्यमशील बनाउनका लागि आर्थिक, सामाजिक र मनोवैज्ञानिक उत्प्रेरणाको ठूलो भूमिका हुन्छ । त्यस्तो प्रभावकारी उत्प्रेरणा दिने काम औपचारिक र अनौपचारिक संस्थानले गर्दछन् । औपचारिक संस्थान र राजनीतिक वातावरण जस्तैः सरकारी नीति, नियम, कानुन र अनौपचारिक संस्थान जस्तै सामाजिक अवस्था, समाजको बनोट, सामाजिक सम्बन्ध, संस्कृति, धार्मिक आस्थाले उद्यमशीलतालाई सघाउने वा बिगार्ने हुन्छन् ।

श्रमअनुसार उचित ज्याला र सामाजिक सम्मान प्रदान भएमा उद्यमशीलताका सम्भावना बोकेका व्यक्तिलाई उत्प्रेरणा मिल्छ । पुँजीको सहज उपलब्धताले थप पुँजी आर्जन गर्ने वातावरण बन्छ । सामाजिक अन्तरघुलन र व्यक्तिगत सञ्जालले सिर्जनशीलताको थप विकास गर्दछ भने उद्यममा हुने जोखिमलाई कम गर्छ । त्यस्तो वातावरणमा मात्रै उद्यमशीलता फुल्छ र फस्टाउँछ । जब राज्यका औपचारिक र अनौपचारिक संस्थानले एकाधिकार, विशेषाधिकार, बन्देज, नियन्त्रण र बहिष्करणको व्यवस्थालाई बढावा दिन्छन्, त्यस्तो देशमा उद्यमशीलता फस्टाउँदैन् र उत्पादन वृद्घि पनि हुँदैन । नेपालमा इतिहासदेखि वर्तमानसम्म यस्तो अवस्था कायम नै छ ।

१८औँ शताब्दीको बेलायतमा सेना, कर्मचारीतन्त्र र राजनीति मात्रै उच्च घरानाका व्यक्तिका लागि सुरक्षित थियो, त्यहाँको उत्पादन र सेवा क्षेत्रमा सबैलाई प्रवेश छुट थियो । त्यहाँ औद्योगिक क्रान्ति हुनुभन्दा पहिले एकाधिकार, विशेषाधिकार, बन्देज, नियन्त्रण, बहिष्करणको व्यवस्था हटाइएको थियो । तर, नेपालमा पृथ्वीनारायण शाहको पालामा राज्यले जनतालाई दिने जमिन अर्थात् बिर्ता बाहुनले मात्रै प्राप्त गर्दथे । व्यापारमा  केही व्यक्तिको एकाधिकार कायम थियो । जुन अवस्था अहिले पनि उस्तै छ । ब्याजदर चर्को थियो । महेशचन्द्र रेग्मीका अनुसार, त्यतिवेला ब्याजदर १२ देखि ४० प्रतिशत र थप १० प्रतिशत कर कायम थियो । गोरखामा त्यो ब्याजदर ३०० प्रतिशतसम्म थियो । चर्को ब्याजदरका कारण मानिसले सस्तोमा फसल बेच्न पथ्र्याे वा बेच्न नसके ऋण तिर्न नसकेर जमिनदारको कमारो बस्न पर्दथ्यो ।

धार्मिक र राजनीतिक संस्थानले किसानी गर्ने भनेर निश्चित गरिएको समुदाय वा जातिलाई उत्पादनको एक मात्रै साधन जमिनसँग स्वामित्वमा बन्देज लगाएपछि त्यहाँ स्वतन्त्र उद्यमशीलता फस्टाउने कुरै भएन । उत्पादनका साधनसँगको स्वामित्वहरण र पुँजीको अभावले गर्दा उनीहरूको सीप, क्षमता, दक्षता फस्टाउन पाएन । सीप हुनेहरूलाई औपचारिक शिक्षाबाट वञ्चित गराइएपछि उद्यमशीलताको विकास भएन ।
 अन्तरघुलनमा बन्देज
जैविक विज्ञानमा एक–अर्काबीच मैथुन हुँदा फरक व्यक्तिमा भएको जीनको अन्तरघुलनले नयाँ उच्चकोटिको जिन पैदा गर्दछ । त्यसले मानवजातिको प्रगतिका लागि पनि फरक सोच, विचार, ज्ञानक्षेत्रबीच अन्तरघुलन हुन जरुरी हुन्छ । त्यस्तो अन्तरघुलनले उत्पादन गर्ने ज्ञानले समाजलाई समृद्घ बनाउन मदत गर्दछ । प्रिन्टिङ प्रेस बनाउने र कागज बनाउनेको संयोजन नभएको भए, इन्टरनेटसँग मोबाइल फोन नजोडिएको भए वा सफ्टवेयर र हार्डवेयरको मिलन नभइदिएको भए आधुनिक प्रविधिको विकासको गति यति अकल्पनीय द्रूत हुँदैन थियो ।

बेलायतमा पुँजीवादका पिता एडम स्मिथ र नेपालका निर्माता पृथ्वीनारायण शाह एकै समयमा जन्मिए । स्मिथ भन्थे, तीनजनामा सबैले सबै काम, रोटी पनि पोल्ने, लुगा पनि सिउने र घर पनि बनाउने गर्नुको साटो एकजनाले रोटी मात्रै पोल्ने, अर्काले लुगा मात्रै सिउने र अर्कोले इँट मात्रै बनाएर श्रमको विशिष्टीकरण गरेमा रोटी, इँट र लुगाको उत्पादन बढ्छ र पुँजीको वृद्घि हुन्छ । स्मिथलाई विश्वास थियो, श्रमको विशिष्टीकरणसँगै विनिमय वा व्यापार भएमा त्यसले समृद्घि ल्याउँछ ।

पृथ्वीनारायण शाहको पालामा वा त्यसअघिको नेपालमा पनि अन्यत्रजस्तै श्रमको विशिष्टीकरण भएको थियो । तर, त्यो विभेद र उँच–नीचमा आधारित थियो । उत्पादन गर्ने किसानलाई शूद्र, उत्पादित वस्तु बेच्नेलाई वैश्य, उत्पादन प्रणालीको सुरक्षा र नियमन गर्नेलाई क्षेत्रीय र ती सबैको अनुसन्धान गरेर सिद्घान्त लेख्नेलाई पण्डित बनाइएको थियो । स्मिथले भनेको जस्तो श्रमको विशिष्टीकरण भएता पनि उनीहरूबीच व्यापार भने भएको थिएन ।

दलितले पालेको भैँसीको दूधले अहिले पनि बजार पाउँदैन । जातीय व्यवस्थामा मिसाइएको छुवाछुतले ती विशिष्ट सीप, क्षमता र दक्षता भएका मानिसबीच अन्तरघुलन र विनिमयलाई रोकेको थियो । औद्योगिक क्रान्तिताकाको जस्तो अवस्था (जहाँ विभिन्न सीप, क्षमता, पेसा समूह, राजनीतिक धरातल भएका मानिसहरू एउटै समूहमा बसेर काम गर्ने, सँगै बियर पिउने र छलफल गर्ने गर्थे) नेपालमा थिएन । त्यसैले विभिन्न पेसागत समूहबीचको व्यापार र अन्तरघुलनको अभावमा नेपालमा श्रमको विशिष्टीकरण भएता पनि उत्पादन बढ्न पाएन र पुँजीको विकास हुन सकेन ।

उत्प्रेरणा होइन, बहिष्करण 
राजा त्रिभुवनका बुबा पृथ्वी वीरविक्रम शाहले नेपालमा शासन गर्दाको समयमा भारतमा दुई प्रख्यात वैज्ञानिक मेघनाथ शाह र सिभी रमन जन्मेका थिए । शाह भौतिकशास्त्रको नोवेल पुरस्कारमा चारपटक मनोनीत भए । रमनले भौतिकशास्त्रको नोबेल पुरस्कार नै जिते । चारपटक नोबेल पुरस्कारमा मनोनीत भएका शाह दलित परिवारमा जन्मेका कारण कलकत्ताको इडेन हिन्दू होस्टेलबाट निकालिए । बाहुनलगायत उच्च जातिहरूले उनीसँग होस्टेलमा खाना खान नमानेको निहँुमा । जातका कारण उनलाई कलेजमा हुने सरस्वती पूजामा मात्रै होइन, परमाणु अनुसन्धान समितिलगायत थुप्रै समितिमा बस्न दिइएन । नेपालमा यो उचाइको वैज्ञानिक नभएकाले मात्रै हो, तर आफ्नो पौरख र क्षमताले प्रगति गरेका एकाध दलित समुदायका मानिस बहिष्करण र भेदभावमा परेका यस्ता थुप्रै उदाहरण छन् । जुन यदाकदा मिडियामा पनि आइरहन्छ ।

माथि चर्चा गरिएजस्तै औपचारिक र अनौपचारिक संस्थानले प्रदान गर्ने प्रभावकारी सकारात्मक उत्पेरणाले मानिसको सिर्जनालाई उद्यमशीलतामा बदल्छ । नेपालमा श्रम गर्ने, विशिष्ट सीप भएका जातिले त्यस्तो उत्प्रेरणा पाउनुको साटो अहिलेसम्म पनि बहिष्करण, श्रमको शोषण र मनोवैज्ञानिक यातना भोगिरहेका छन् । त्यसले गर्दा जतिसुकै सिर्जनशील, दक्ष र उत्कृष्ट भएता पनि शिल्पी समुदायका मानिसले आफूमा निखार ल्याउन सक्ने सामाजिक वातावरण छैन ।

औद्योगिक क्रान्तिको नाभिस्थल बेलायतको म्यान्चेस्टरका लुगा धुनेले आफ्नो कामलाई सहज बनाउन वाष्प इन्जिन बनाउने सोच राख्दा नेपालका आरनमा धातु पिट्नेलाई आफ्नो कामलाई सहज बनाउन सामान्य सुधारको सोचसम्म नआउनुमा उत्प्रेरणाविहीन परिस्थितिको भूमिका थियो । बेलायतमा उत्प्रेरणाको वातावरण थियो र सामाजिक अन्तरघुलन सम्भव थियो । फलतः बेलायतीले औद्योगिक क्रान्ति गरेर प्रगतिको उच्च शिखर मात्रै चढेनन्, संसार पनि जिते ।

युरोपमा पानीजहाज र छापाखाना बनाउने, दिशा पत्ता लगाउने प्रविधिको विकास औद्योगिक क्रान्तिभन्दा पूर्व पनि भएको थियो । औपचारिक शिक्षा पनि चाँडै सुरु भयो । त्यहाँको समाजले विज्ञान र तर्कलाई हामीले भन्दा पहिल्यै आत्मसात् ग-यो । त्यसले त्यहाँको विकासको गति द्रूत  भयो । त्यसभन्दा महत्वपूर्ण  कुरा सामाजिक विभेदलाई त्यहाँ समयमै हटाइयो । सिर्जनशील व्यक्तिलाई उत्प्रेरणा दिने वातावरण बनाइयो । युरोप, अमेरिकामा १८—१९औँ शताब्दीका ठूला अन्वेषक, नवप्रर्वतक, वैज्ञानिकहरू नेपालमा तथाकथित तल्ला जातिले गर्ने भनिएका काम गर्ने मानिस थिए । धातुका काम गर्ने, रसायन घोल्ने, घन ठोक्ने ।

पहिलोपटक प्लेन उडाउने राइट दाजुभाइ साइकल बनाउँथे । प्लास्टिकको आविष्कारक अलेक्जेन्डर पाक््रस चरेसको ताला बनाउने काम गर्दथे । वाष्प इन्जिनको आविष्कारकमध्येका एक थोमस न्युकोमन फलाम पिट्थे । कल्पना गरौँ, उनीहरूलाई तल्लो स्तरको काम गर्ने भनेर समाजले छोइछिटो गरेर मनोवैज्ञानिक यातना दिएको भए के हुन्थ्यो ? न त गुटनबर्गको प्रेस बन्थ्यो, न त राइट दाजुभाइले प्लेन उडाउने सपना देख्थे, न त औद्योगिक क्रान्तिको जग बसाल्ने वाष्प इन्जिन बन्थ्यो ।

दक्षिण एसियाको जातीय व्यवस्थाले एकाध मेघनाथ शाहजस्ता उत्कृष्ट प्रतिभालाई उत्प्रेरणाको साटो मनोवैज्ञानिक र भौतिक यातना दियो । आज पनि नेपालमा पढ्ने स्कुलमा उसलाई शिक्षक र साथीभाइले गर्ने व्यवहार, बस्न पाउने डेरा, गर्न सक्ने श्रम वा उद्यम र त्यसले पाउने बजार समग्रमा भन्दा व्यक्तिको भविष्य जातले निर्धारण गर्ने परिस्थिति विद्यमान छ ।

किसान र श्रमिकको श्रमले आर्थिक उत्प्रेरणा र सामाजिक सम्मान नपाउनाले समाजमा शिल्पी वर्गका मानिस (जसले उत्पादन बढाएर समृद्घि ल्याउन महत्वपूर्ण  भूमिका खेल्न सक्थे) मात्रै आर्थिक र सामाजिक रूपमा पछि परेनन्, सिंगो समाजै पछाडि धकेलियो । सयौँ वर्षसम्म हाम्रो आरन, हलो, कुटो, कोदालो, कृषि प्रणाली, धातुलगायतका उद्योग कि जस्ताको तस्तै रहन गयो, कि नासियो ।

कर्कप्याट्रिकले दुई सय वर्षअघि नेपालले विदेश निर्यात गर्ने वस्तुको सूची दिएका छन्, ‘अकाउन्ट अफ द किंग्डम अफ नेपाल’ पुस्तकमा । अदुवा, अलैँची, जडीबुटी, घिउ, मह आदिको । त्यो वेलाको निर्यात सूची र अहिले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निकाल्ने निर्यात सूचीमा आश्र्चयजनक समानता भेट्न सकिन्छ । उक्त वस्तुहरू फेर्न र थप्न नसकेर सन् १८२० बाट अहिलेसम्म दुई सय वर्षमा नेपालीको प्रतिव्यक्ति आय जम्मा ४३७ डलरले मात्रै वृद्घि भयो, जसमा अन्य धेरै कारण भएता पनि जातीय प्रथा एक प्रमुख कारण थियो, जसले हाम्रो समृद्घि र समग्र प्रगतिलाई अवरुद्घ पा-यो ।

नयाँपत्रिका दैनिक | २०७५ फाल्गुण ९ बिहीबार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s