मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक)

Yuval-Noah-harari-1

अहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति अर्थात् मानव (वैज्ञानिक नाम होमो सेपियन्स् homo sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समय मै कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक विकासको तिथिमितिमा एक लाख वर्ष भनेको निकै छोटो समय हो । किनभने पृथ्वीको उत्पत्ति भएको नै ४ अर्ब ६० करोड वर्ष भइसक्यो ।

पृथ्वीमा पहिलो एक कोषीय जीव ३ अर्ब ८० करोड बर्ष अघि, बहुकोषीय जीव २ अर्ब १० करोड वर्षअघि, स्तनधारी प्राणी ६ करोड ३० लाख बर्ष अघि र मनुष्य जाति एप्स (apes) २ करोड वर्षअघि देखा परेका थिए । मानव जाति चिम्पाञ्जीसँग छुटि्टई भिन्न भएको नै ६० लाख वर्ष पुगिसकेको छ र आधुनिक मानव प्रजातिसँग मिल्ने प्राचीन मानव जातिहरु होमो (homo) जातका २० लाख वर्षअघि देखि नै यस पृथ्वीमा पाइन थालेको हो ।

झन्डै २ लाख वर्षअघि यस पृथ्वीमा देखा परेको (अहिलेसम्म पाइएको सबैभन्दा पुरानो आधुनिक मानव अवशेष १ लाख ६० हजार वर्षअघिको छ) आधुनिक मानव अर्थात् हाम्रो प्रजाति होमो सेपियन्स्ले अघिल्लो एकलाख बर्ष प्रभाव र महत्वको हिसाबले निरीह भएर अन्य जीवहरुकै हैसियतमा बितायो- जन्मने, बाँच्नको लागि संघर्ष गर्ने, सन्तान उत्पादन गर्ने र मर्ने ।

पछिल्लो एक लाख वर्षमा त्यस्तो के भयो जसले गर्दा मानव प्रजातिले करोडौं वर्षअघिदेखि यस ग्रहलाई घर बनाइरहेका अन्य लाखौं जीवजन्तुहरु रुख, कीरा, चराचुरुङ्गी र आफ्नो उत्पत्तिको हाँगोबाट छुटि्टएको चिम्पान्जीलाई क्रम विकासको दौडमा धेरैपछि छाडिदियो र विश्वभरि एकछत्र राज गर्न सफल भयो ?

प्राचीन मानवहरुले लाखौं वर्ष पृथ्वीमा ढुंगा खोपेर बिताए र बिलाए । तर, आधुनिक मानवको एक प्रजाति चन्द्रमा र मंगल ग्रहको धुलो अध्ययन गर्ने कसरी भए ? विगत ७० हजार बर्षदेखि अहिलेको पृथ्वीमा निरन्तर कब्जा जमाउँदै गइरहेको मानव प्रजाति भविष्यमा पनि यति नै प्रभावशाली विजेता रहिरहला ? वा ऐतिहासिक क्रमिक विकासको दौड उसले जसरी हिजो अरुलाई पछार्याे त्यसैगरी आफू पनि पछारिएला ? उसलाई पछार्ने को हुन सक्ला ? यो लेखमा त्यस्ता प्रश्नहरुको उत्तर यूवल नोआ हरारीका पछिल्ला दुई पुस्तक सेपियन्स्ः अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड (२०१४) र होमो दिअस्ः अ वि्रफ हिस्ट्री अफ टुमरो (२०१७) को सेरोफेरोमा केन्द्रित भएर खोज्ने प्रयास गरिएको छ ।

यी पुस्तकमा नभएका वैज्ञानिक तथ्यहरु पनि यहाँ समेटिएको छ, त्यसकारण यो आलेख दुवै पुस्तकको समीक्षा तथा संलेषण हो ।

हिब्रु विश्वविद्यालय इजरायलमा इतिहासका प्राध्यापक अक्फोर्ड ग्याजुयट यूवल नोआ हरारीले सेपियन्स पुस्तकमा आधुनिक मानवको पछिल्लो ७० हजार बर्षको इतिहासलाई विचारोत्तेजक ढंगले वर्णन गरेका छन् । उक्त पुस्तककै श्रृंखलाको रुपमा प्रकाशित दोस्रो पुस्तक होमो दिअस्मा मानव प्रजातिको भविष्यका संभावनाहरु (उनको शब्दमा प्रक्षेपण होइन) औंलाएका छन् । निश्चित रुपमा ७० हजार बर्षको मानव इतिहासलाई ४१६ पृष्ठमा लेख्नु चुनौतीपूर्ण र कठिन कार्य हो । तर, हरारीले आधुनिक मानवको विकास क्रममा छरिएर रहेका बैज्ञानिक र ऐतिहासिक तथ्यहरुलाई यसरी जोडेका छन् कि गैर-आख्यान पुस्तकले पाठकहरुलाई आख्यानले जस्तै लामोसमयसम्म बाँधि राख्छ र पाठक मस्तिष्क नै हल्लाउने थुप्रै प्रश्नहरुजन्माइदिन्छ ।

भाषागत रुपमा अब्बल र उत्कृष्ट शैलीको प्रस्तुतीले उक्त पुस्तक लामो समयसम्म संसारभर ३० भाषामा अनुदित भएर बेष्ट सेलर मात्रै भएन, विल गेट्सदेखि मार्क जुकरवर्गसम्मको पुस्तक सूचीमा चढ्न सफल भयो । एक अन्तर्वार्तामा बाराक ओवामाले जीवनमा एकपल्ट पढ्नैपर्ने पुस्तकको रुपमा उक्त पुस्तकको नाम लिइदिए, जसले हरारीलाई इजरायलको एउटा विश्वविद्यालयमा अरुले खासै नरुचाएको विषय-इतिहास पढाउने प्राध्यापकबाट विश्वविख्यात बौद्धिक व्यक्तिको रुपमा चिनायो ।

यस पृथ्वीमा २० लाख बर्ष अघिदेखि नै विभिन्न प्रजातिका प्राचीन मानवहरु थिए तर इतिहास थिएन । एक सयबर्ष अघिसम्म पनि होमो इरेक्टस्, नियाण्डरथल लगायत कम्तिमा ६ प्रजातिका मानवहरु पृथ्वीमा हिँडडुल गरिरहेको वैज्ञानिक विश्वास छ । उनीहरु दुई खुट्टे जनावर मात्रै थिएनन्, उनीहरुको मस्तिस्क पनि आधुनिक मानव जतिकै ठूलो र विकसित थियो । उनीहरुले पिस्ने, घोच्ने जस्ता ढुंगे औजारहरु पनि चलाउन सक्दथे । तर, पनि ती मानवहरु विभिन्न हिंस्रक जनावरसँग डराएर, वनस्पति, किराफट्याङ्ग्रा र मौका मिल्दा अन्य ठूला मांसहारी जनावरले शिकार गरेर छोडेका जुठोपुरो खाएर बाँचिरहे लाखौं वर्षसम्म पनि । त्यतिबेलाको मानव जीवनको मूल्य कीरा-फट्याङ्ग्राको भन्दा बढी थिएन ।

तर करिब ७० देखि ३० हजार बर्ष यताका मानवहरु एकाएक एक अर्का विच भाषागत संवाद गर्न सक्ने भए । त्यो कसरी संभव भयो ? धेरैको विश्वास छ, जैविक प्रकृयामा यदाकदा भइरहने अनुवांशिक उत्परिवर्तन जेनेटिक म्युटेसन (genetic mutation) को कारण । अनुवांशिक उत्परिवर्तनले मानव मस्तिष्कमाल्याएको फेरवदलले गर्दा मानवले आफूले कहिल्यै नदेखेको, नसुनेको, नछामेको र नछोएको कुराको बारेमा सोच्न सक्ने भयो । अर्थात मानवमा कल्पनशिलताको विकास र त्यसलाई संचार गर्नसक्ने क्षमताको विकास भयो । उक्त विकासक्रमलाई हरारीले संज्ञानात्मक क्रान्ति (cognitive revolution) को चरण भनेका छन् । पुस्तकको चार भागमध्ये एकभाग यसैमा केन्द्रित छ ।

त्यहि कल्पनशीलतामा आधारित भएर मानवले विभिन्न मिथकहरु र कथाहरुको निर्माण गर्न सक्यो । वस्तुगत रुपमा कतै नभेटिने तिनै मिथकहरु जस्तै धर्म, पैसा, राज्य, ठुला कर्पोरेशन, संविधान, मानव अधिकार समयक्रममा यति शक्तिशाली भैदियो कि त्यसमा ठूलो संख्यामा मानवहरुले विश्वास गर्न थाले । त्यसले गर्दा अरबौं संख्या हुँदा पनि मानवहरुवीच एक अर्कामा लचिलो सहकार्य र सहयोग संभव भयो जुन अन्य प्रजातिमा संभव भएन । लाखौं करोडौंको संख्याका मानववीच सम्भव हुने सहकार्यको कारण एकल रुपमा अन्य जनावरभन्दा निरिह र कमजोर भएता पनि सामुहिक रुपमा मानव प्रजातिले विकासक्रममा सबैलाई पछि पारिदियो ।

एकापसमा सहकार्य अन्य प्रजातिहरुमा पनि नहुने होइन । मौरी वा कमिलाले आफ्नो प्रजातिमा मिलेर काम गर्दछन् । चिम्पान्जी वा ब्वाँसोले आफ्नो समूहमा मिलेर शिकार गर्दछन् । तर, उनीहरु सीमित संख्यामा मात्रै मिलेर बस्दछन् । उनीहरुले पनि आफूमाथि आइलाग्ने खतराको सूचना एकआपसमा दिने गर्दछन् । संवाद गर्छन् । तर, त्यस्तो संवादमा वस्तुगत तथ्य मात्रै हुन्छ, मानव समाजको जस्तो कथा हुँदैन । चिम्पाञ्जीको संसारमा बाघ हुन्छ तर, लक्ष्मीको बहानको रुपमा हुँदैन । त्यहाँ मुसा भएता पनि त्यसमा कल्पनाको गणेश भगवान चढ्दैनन् । हरारीको शब्दमा, कामदार मौरीले मजदुर युनियन बनाउँदैनन् र रानी मौरीको विरुद्ध गणतन्त्रको माग पनि गर्दैनन् ।

उनीहरुको संसारमा सबैले विश्वास गर्न खालको मिथक नभएको हुनाले मानव डीएनएसँग ९९ प्रतिशत मिल्ने डीएनए बोकेका चिम्पाञ्जीहरु ५० भन्दा बढी संख्यामा भएमा एक आपसमा लडाई गर्न थाल्दछन् । तर, अरबौं संख्यामा भए पनि मानवहरु एउटै धर्मको नियममा बाँधिएर बस्छन् । करोडौं संख्याका मानवहरु एउटै राज्यको नियम कानुन मानेर बस्छन्, आफूले मेहनत गरेर कमाएको पैसाको कर तिर्छन् । अन्य जनावरहरुको संसारमा पैसा अर्थहीन छ, तर विश्वभर भएका सबै मानवले पैसालाई औधीमाया गर्छन् ।

धेरै मान्छेहरु मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन् त्यसो होइन, बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो । हरारी तर्क गर्छन्, कृषि क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो घोका थियो

हरारी लेख्छन्, ओसामा विन लादेनले अमेरिकी धर्म, संस्कृति र राजनितिलाई असिम धृणा गर्दथे यद्यपि अमेरिकी डलरसँग भने उनको गाढा प्रेम थियो । हरारीको कथन छ, मानव निर्मित मिथकहरु राजा वा धर्म सबै ठाँऊमा सफल भएनन् । तर, पैसा सफल भयो । पैसा मानव इतिहासको सबैभन्दा उन्नत आविष्कार हो, जसले गर्दा अपरिचित मानववीच पनि विश्वास र सहकार्यको सम्बन्ध संभव भयो ।

रोचक कुरा धर्म, राज्य र पैसा सबै मान्छेले बनाएको भ्रम वा मिथक मात्रै हो, वस्तुगत यर्थाथ होइनन् । वास्तविक संसारमा ती चिजहरुको भौतिक उपस्थिति कतै पनि छैन् । धर्मका नाममा बनाइने मन्दिर वा मस्जिद वस्तुगत यर्थाथ हो, त्यो भेटिन्छ । तर धर्म सिर्फ मानव मस्तिष्कको उपज हो । राष्ट्र वा राष्ट्रवाद हाम्रो कल्पनाको उपज हो । तर, त्योसँग जोडिएको भूगोल वा जनता वस्तुगत सत्य हो ।

त्यस्तै पैसा बनाइने कागज वा सिक्कामा प्रयोग हुने धातु वस्तुगत यर्थाथ हो तर त्योसँगै जोडिएको मूल्य भने मानव निर्मित भ्रम वा विश्वास । हरारी अगाडि तर्क गर्छन्, मानव वाहेकका जनावरहरुको संसारमा एउटा मात्रै सत्य हुन्छ, वस्तुगत सत्य । तर, मानव समाजमा वस्तुगत सत्यसँगै कल्पनिक यर्थाथ पनि हुन्छ र ठूलो संख्याका मानवले त्यसलाई मानेपछि त्यो कुरा भौतिक रुपमा नभए पनि अन्तर वस्तुगतसत्य बन्छ ।

आज कसैले पनि खोज्दा नभेटिने धर्म, राज्य, पैसा, मानवअधिकार, नियम कानुन जस्ता काल्पनिक कुरा छैनन् भन्दैनन् बरु सबैले तिनलाई विश्वास गर्छन् । यी मानव निर्मित अवधारणाहरु वस्तुगत यर्थाथसँग यसरी जेलिएका छन् कि त्यसको अस्वीकार गर्ने अवस्था नै छैन् ।

यस्तै भ्रमहरुको निरन्तर आविष्कार र प्रयोगले मानवप्रजातिलाई अन्य प्रजातिभन्दा फरक बनायो । हरारी भन्छन्, एक काइँयो केरा बोकेर बसेको चिम्पाञ्जीलाई अर्को चिम्पाञ्जीले पैसा दिन्छु, केरा देऊ भनेर फकाउँदा होस् या तिमीले बोकेको केरा ऊ त्यहाँको ढुंगामा लगेर नचढाएमा तिमी मरेपछि स्वर्ग जान पाउदैनौं भनेर डरधम्की देखाउँदा होस्, उसले वास्ता नै गर्दैन । न त केरा नै दिन्छ । किनभने उसको नजरमा ढुंगा भनेको भौतिक वस्तु मात्रै हो । तर, मानवको अदभुत क्षमता के भैदियो भने उसले प्रत्येक ढुंगामा कथा बुन्न सक्छ र आफुजस्तै अरुको विश्वास जितेर त्यसमा ढोगाउन, पुजाउन र ढुंगाका नाममा आफूसँग भएका प्रियवस्तुहरुको त्याग गराउन सक्छ । कागजको टुक्रामा मूल्यको काल्पनिक विश्वास भरेर आफू जस्तै अरुलाई दिनभरि काममा जोताउन सक्छ । अपरिचित देश, फरक भाषा र संस्कृति भएको ठाँउमा गएपनि कागजको टुक्राको भरमा पेट पाल्न सक्छ, बाँच्न सक्छ । त्यही अद्भुत क्षमताका कारण पृथ्वीमा धेरै पछि आएको मानवले शहर बनायो, चिम्पाञ्जीले सकेनन् । त्यसैले त आज मानव निर्मित शहरको चिडियाखानामा मान्छेका मनोरञ्जनको साधन बनेर चिम्पाञ्जीहरु कैद भए । सायद एक लाख बर्षअघि त्यो कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो, किनभने एकल चिम्पाञ्जी एकल मानवभन्दा कयौं गुणा शक्तिशाली हुन्छ ।

क्रमिक विकासको यस रोमाञ्चक यात्रामा मानवलाई यहाँसम्म ल्याउने सहयोग गर्ने दोश्रो ठूलो परिवर्तनकारी घटना लगभग ११ हजार बर्ष पहिले भयो (कतिपय वैज्ञानिकहरु यस मितिसँग असहमत छन्, नयाँ अध्ययनहरुका अनुसार मान्छेले कुकुर पाल्न थालेको १५ हजार बर्ष भइसक्यो) । मिति जे भए पनि मानिसहरु खेती गर्न सक्ने भए, जसलाई हरारीले कृषि क्रान्तिको चरण भनेका छन् । कृषि क्रान्तिसँगै पृथ्वीमा मानव प्रभाव बढ्न थाल्यो । खेती हुन थालेपछि खानाको आपूर्ति बढ्यो । त्योसँगै खानेमुखहरु बढे ।

कृषियुग भन्दा पहिले लाखौं बर्षसम्म पनि केही लाखमै सीमित मानव जनसंख्या घातांकीय हिसाबले बढेर केही हजार वर्षयता ७ अरब पुगिसकेको छ । जसको प्रमुख कारण त्यही आदिम कृषिको बलमा भएको औद्योगिक कृषिको विकास नै हो । पुस्तकको दोश्रो भाग यसैमा केन्दि्रत छ ।

कृषि क्रान्तिसँगै इतिहासमै पहिलोपल्ट मानवले प्रकृतिको कानुन फेर्ने दुस्साहस गर्‍यो । ४ अरब बर्षदेखि पृथ्वीमा एउटै मात्रै कानुनी प्रणाली थियो, प्राकृतिक छनौटको सिद्धान्तमा आधारित प्रणाली । तर, कृषिक्रान्ति मार्फत मानवप्रजातिले त्यस सिद्धान्तलाई चुनौति दिँदै मानव छनोटको प्रणाली स्थापना गर्न थाले । आफुलाई आवश्यक चिज छनौट गर्ने, त्यसको संरक्षण गर्ने र हुर्काउने । गँहुदेखि गाईसम्म, काजुदेखि कुखुरासम्म मानवीय आवश्यकताका जीवजन्तुहरुले क्रमिक विकासमा ठूलो फड्को मारेर विश्वभर फैलिए ।

आठ हजार बर्षभन्दा अघि मध्यपूर्वको मैदानमा मात्रै पाइने एउटा सामान्य घाँस, जसलाई हामी गहुँ भन्छौं, आज विश्वको २४ करोड हेक्टर जमिन ओगट्न सफल भयो । योग्य मात्रै बाँच्ने प्रकृतिमा गहुँको यो विशाल फैलावट क्रमिक विकासको हिसाबले ठूलो सफलता हो । धेरै मान्छेहरु मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन् त्यसो होइन, बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो । हरारी तर्क गर्छन्, कृषि क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो घोका थियो ।

जंगली युगमा सिंगो मैदान, खोला, जंगल र खुल्ला आकाश मानवका बासस्थान थिए । तर, कृषि युगपछि मानवहरु खेती हुने ठाँउ नजिकै घामपानी छल्ने, अन्नपात थन्काउन मिल्ने, माटोढुंगाले बनेका ससाना संरचनामा कैद भए, जसलाई घर भनियो ।

कृषि युगले ल्याएको अर्को महत्वपूर्ण परिवर्तन भनेको त्यसपछिका मानवमा भविष्यप्रतिको चिन्ता देखिन थाल्यो । खेती नफले के खाने ? मौसम बिगि्रएर वा असिना परेर बाली सखाप पो हुने हो कि ? भविश्यको चिन्तासँगै अन्नहरु सञ्चय गर्न थालियो र त्योसँगै अनाज फल्ने माटोको माया हुर्कियो । त्यो सोच नै एक किसिमको सामाजिक र राजनैतिक प्रणालीको आधारशिला थियो, हरारी लेख्छन् ।

फिरन्तेबाट एकै ठाँउमा बस्नेमा फेरिएपछि गाउँ बन्न थाल्यो । केही सय मान्छे बस्ने पृथ्वीको पहिलो मानव वस्ती जेरिक्को गाउँ (अहिलेको प्यालेष्टाइन भएको ठाउँमा) ईसापूर्व ८५०० मा बन्यो । युफेटस्, सिन्धु र यल्लो नदीका किनारहरुमा गाउँ देखा परे । गाउँपछि शहर र केही गाउँ-शहर मिलेर साम्राज्य बन्यो । र, लगभग २५०० बर्ष पहिले पृथ्वीमा संगठित साम्राज्यको जन्म भयो ।

साम्राज्यसँगै पृथ्वीका विभिन्न ठाउँहरुमा नयाँ मिथकहरु, जस्तै- लिखित अलिखित कानुन संस्कृति, स्वर्ग-नर्क, भाग्य विधाता, भगवान-राक्षस, माथिल्लो जाति-तल्लो जाति, महिला-पुरुष आदि विभेदहरु जन्मिए । शासन व्यवस्थाको उत्पत्ति भयो । एकथरि मान्छेहरु आफूले उब्जाउ गरेको कृषिबाट कर तिर्न बाध्य भए, अर्काथरि त्यसैमा राज गर्ने शासक बने ।

जब राज्यमा शासितको संख्या बढ्न थाल्यो, उनीहरुलाई कर उठाउन समस्या पर्यो । कुन किसानले, कुन बर्ष, कति तिर्‍यो ? तिर्‍यो वा तिरेन ? सबैको हिसाब सम्झिएर साध्य भएन । किनभने अफ्रिकाको घाँसे मैदानमा भाग्ने, छल्ने र बच्नेक्रममा विकास भएको मानव मस्तिष्क त्यति धेरै सूचना संग्रह गर्न सक्ने अंग थिएन । मानव दिमागमा हिसाब-किताब राख्न नसक्ने भएपछि जन्मियो -नम्बर र लेख्ने प्रणाली ।

राज्यमा धेरै गाउँ भएपछि गाउँहरुवीच आवत-जावत बढ्न थाल्यो र मानवका आर्थिक र सामाजिक आवश्यकताहरु बढ्न थाले । एकपछि अर्को नयाँ सुविधाको खोजीको कहिल्यै समाप्त नहुने असिमित दौडमा सामेल भयो मानव । वृहद आवश्यकताले काममा विशिष्टिकरण ल्यायो । घर बनाउने, खेती गर्ने, पशुपाल्ने, फलफूल लगाउने, विरामी हेर्ने फरक फरक पेशाका मानवहरु देखा परे ।

यी फरक सीप भएका मानववीच धेरै वस्तु र सेवाको विनिमयको लागि भरपर्दो र चुस्त सटही माध्यम चाहियो । त्यसले मानव कल्पनशीलताको सर्वोकृष्ट आविश्कार अर्थात पैसा जन्मायो ।

चार हजार बर्ष पहिले शुरुमा अफ्रिका र दक्षिण एशियातिर समुद्री जीव काउरी (cowry) को खपटा पैसाको रुपमा प्रयोग हुन थाल्यो । हरारी लेख्छन्, चाहे खपटा होस् या आधुनिक कागजको डलर, बस्तु जेजस्तो भए पनि त्योसँग जोडिएको मूल्य र त्यसप्रतिको आम विश्वास महत्वपूर्ण थियो । आज विश्वमा पैसा भनेको कागजी नोट वा सिक्का होइनन्, त्यो फगत विश्वास मात्रै हो । त्यसैले, हरारी लेख्छन्, आज विश्वभरि भएका कूल मौद्रिक सम्पत्तिमध्ये ९० प्रतिशत पैसा त बैंकहरुको कम्प्युटरको हिसावमा मात्र सीमित छ ।

हरारीका अनुसार, मिथकका रुपमा निर्माण भएका साम्राज्य र पैसा जतिकै महत्वपूर्ण तेश्रो कुरा रिलिजन वा धर्म हो (हुन त रिलिजनको ठ्याक्कै अर्थ धर्म होइन भन्ने जमात ठूलो छ) । आज विश्वमा कुनै पनि मानव यी तीन कुरा धर्म, राज्य र पैसाबाट अछुतो छैन् । उनी भन्छन्, रिलिजनलाई अहिले मानिसहरु विभेद, मतभेद र फुटको स्रोतको रुपमा हेर्छन् । तर, इतिहासमा रिलिजनले मानवजातिको एकीकरण र सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । मानव कल्पनामा निर्मित सामाजिक संरचना वृहद हुँदै जाँदा सामाजिक सम्बन्धहरु कमजोर बन्न पुगे र कतिपय अवस्थामा निकम्मा बने । त्यसलाई बलियोसँग बाँधिराख्न त्यही समाजले चाहेको वा त्यसबाट स्वीकृत भएको नियम कानुन अपुग बन्न पुग्यो । मानवभन्दा पर अन्य केही दैवी शक्तिद्वारा निर्मित मूल्य र मान्यताको आवश्यकता टड्कारो भयो । तिम्रो भाग्यमा कुनै शक्तिले यस्तै लेखिदिएछ वा फलाना भगवानका अनुसार तिमीले यो कुरा खायौ भने मरेपछि नर्क जान्छौ वा यसो गर्‍यौ भने स्वर्ग जान्छौं जस्ता मिथकहरु निर्माण भए ।

हरारी लेख्छन्, अहिलेसम्म सबै धर्मको केन्द्रीय सोच हामीभन्दा पर अर्को कुनै अदृश्य शक्ति छ र त्यसैको मूल्य मान्यता र खटनपटन मार्फत हामी चलेका हौं भन्ने नै हो ।

अहिले धर्म, पैसा र राज्यमा आधारित भएर प्रत्येक मानवले एकआपसमा सहकार्य गरिरहेका छन् । त्यसकारण हरारीले मानवजाति एकीकरणको सुत्रका रुपमा यी तीन कुराहरुलाई मानेका छन् । पुस्तकको तेस्रो भाग मानवजातिको एकीकरणमा केन्द्रित छ । जहाँ धर्म, पैसा र साम्राज्यको विविध आयामहरुका बारेमा चर्चा गरिएको छ ।

वेबिलोन जस्तो ठूलो साम्राज्य बनाए पनि, इजिप्टमा भीमकाय पिरामिड खडा गरे पनि आज भन्दा ५०० बर्ष अघिसम्म पनि पृथ्वीमा मानव प्रभाव खासै धनीभूत र शक्तिशाली भएको थिएन । कृषि क्रान्तिपछि पनि प्रतिव्यक्ति उत्पादन सधैं स्थिर रह्यो । १६ औं शताब्दीमा स्पेनिस म्यागेलान एक्स्पीडिसन भन्दा अघि यस संसारको परिक्रमा कुनै मानवले पनि गरेका थिएनन् । मानवलाई यस संसारमा भएका ९९.९ प्रतिशत जीवजन्तु र परिस्थिकीय प्रणालीका बारेमा ज्ञान थिएन । त्यही अज्ञानताको महसुस गर्ने बेलामा मानवलाई चेत भएको हुनुपर्छ, जीवन र जगतको अध्ययन नगरेसम्म आफ्नो क्षमताको अभूतपूर्व बृद्धि सम्भव छैन ।

मानवले आफ्नो अज्ञानतालाई स्वीकार गरेर प्रगतिको चेतना हासिल गर्‍यो । पछिल्लो चरणमा यही प्रगतिवादी अवधारणा आर्थिक अवधारणामा रुपान्तरण भयो, जसको एकमात्र उद्देश्य उत्पादन, व्यापार र पुँजीको वृद्धिमा केन्द्रित थियो । जसले पुँजीवादी अवधारणा जन्मायो । जब उत्पादन बढाउने र पुँजी बृद्धिको पुँजीवादीको भोक र आर्थिक उत्पादनसँगै शक्ति आर्जन गर्ने साम्राज्यवादीलालचले वैज्ञानिक क्रान्तिमा आफनो प्रगति देखे, क्रमिक विकासको यात्रामा मानव दौड सुपरसोनिक जहाजको गतिमा कुद्न थाल्यो ।

दुई सय वर्ष पहिले वाष्प इञ्जिन बनाउने कामदेखि सिलिकन भ्यालीमा प्रत्येक दिन उत्पादन हुने ग्याजेट निर्माणका पछाडि निरन्तर उत्पादन बढाउने र पुँजी बृद्धि गर्ने पुँजीवादी मान्यताले काम गरिरहेको छ ।

हरारी लेख्छन्- आधुनिक विज्ञान कहिल्यै पनि पुँजीवादबाट अलग भएको छैन । पुँजीवादले आधुनिक विज्ञानको विकासमा मुख्य भूमिका खेल्यो नै, त्योसँगै यूरोपिय साम्राज्य विश्वभर फैलाउन पनि मद्दत गर्‍यो । तिनै वैज्ञानिक खोज र आविष्कारको वलमा आर्थिक उत्पादन बढ्यो र साम्राज्यहरु झनै धनी र शक्तिशाली भए ।

प्रन्ध्रौं शताब्दीमा क्रिस्टोफर कोलम्बसले व्यापारको नयाँ मार्ग पत्ता लगाएर त्यसबाट प्रशस्त धन कमाउने योजना पोर्चुगलको राजा जोन द्वीतीयलाई सुनाए । राजाले ज्यान गए टेरेनन् । उनले त्यो योजना इटाली, फ्रान्स र इंगल्याडका व्यापारीहरुलाई पनि सुनाए । तर, कसले टेरपुच्छर लगाएनन् । अन्त्यमा स्पेनिस साम्राज्यकी रानीलाई आफ्नो योजनामा मनाउन सफल भए उनी । उक्त योजना अन्र्तगत आधुनिक अमेरिका स्पेनिस साम्राज्यको कब्जामा पुग्यो । त्यहाँको सुन र चाँदी खानी, चिनी र सुर्तिको व्यापारले स्पेनिसहरु धनी भए । नयाँ खोज गरेर धनी हुने योजना कोलम्वसका पालादेखि जुकरवर्गको पालासम्म पनि जारी छ । मानव क्रमिक विकासको पछिल्लो पाँच सय बर्ष अज्ञानताबाट ज्ञानको खोजी गर्ने क्रममा वैज्ञानिक अध्ययन, अनुसन्धानमा केन्दि्रत भएको छ । जसलाई हरारीले वैज्ञानिक क्रान्तिको चरण भनेका छन् । पुस्तकको अन्तिम भाग यसैमा केन्दि्रत छ ।

प्रत्येक नयाँ वैज्ञानिक खोज पछाडि राजनैतिक र आर्थिक स्वार्थ लुकेको हुन्छ । नयाँ खोजीले प्रगति जन्माउँछ भन्ने अवधारणाले औद्योगिक क्रान्ति शुरु भयो । औद्योगिक क्रान्तिको सफलता भनेको त्यसले उर्जाको अथाह स्रोतमा मानव अधिपत्यको बाटो खोल्यो । त्यसभन्दा पहिले उर्जाको स्रोत मानिस वा जनावरको शरिर मात्रै थियो, जोत्नेदेखि बोक्ने र मेसिन चलाउनेसम्म । त्यसलाई आधार दिने काम वनस्पतिले सूर्यको प्रकाश ग्रहण गरेर बनाउने उर्जाले गर्दथ्यो । औद्योगिक क्रान्तिसँगै मानवले उर्जालाईर् एक रुपबाट अर्को रुपमा बदल्न सफलता प्राप्त गर्‍यो । यातायातका भीमकाय सञ्जाल बने र वस्तु निर्माणमा वरिपरिको वातावरणमा मात्रै भर पर्नुपर्ने चरण सकियो । यतिखेर मानव पृथ्वी बाहिरको ग्रहबाट बहुमूल्य धातु ल्याउनेसम्म सोच्छ ।

औद्योगिक क्रान्तिपछि जैविक इन्धनको व्यापक प्रयोगले मानव प्रगतिको रेल बुलेट टे्रनको स्पीडमा कुद्न थाल्यो । भ्याक्सिन, औषधीलगायत स्वास्थ्य क्षेत्रमा भएका आविश्कारहरुले जनसंख्या मात्रै बढाएन, मान्छेको आयु बढायो, शिशु मातृ मृत्युदर घटायो । मान्छेले प्रतिदिन ग्रहण गर्ने क्यालोरी पनि बढ्यो । समग्रमा कृषि क्रान्ति भएको हजारौं बर्षपछिसम्म पनि अचल रहँदै आएको प्रतिव्यक्ति उत्पादन परिणाम आकाशियो ।

औद्योगिक क्रान्तिपछिको पछिल्लो ५० वर्ष सूचना र जैविक प्रविधि क्रान्ति भयो । यस चरणमा मानवले लाखौं बर्षदेखि आफ्नो प्रगतिको वाधक बनेको भोक, रोग र युद्धमाथि विजय प्राप्त गर्‍यो । उनीहरुले हजारौं बर्षदेखि पुकारेका विभिन्न दैवीशक्तिहरुको बलमा भन्दा मानव चेतनाको विकासले ती सबै कुरा सम्भव भयो । यतिखेर मानवहरु कम खाएर होइन, बढी खाएर रोगी हुने र मर्ने भएका छन् । पछिल्लो समयमा विश्वमा मानव हिंसाबाट मर्नेहरुको संख्याभन्दा आत्महत्या गरेर मर्ने वा बढी खाएर मर्नेको संख्या बढी छ । विश्वभर मानव हिंसा घटेको छ । इतिहास मै हामीले बाँचेको समय सबैभन्दा शान्तिपूर्ण समय हो । हरारी लेख्छन्, यतिखेर पहिलोपटक बारुदभन्दा चिनी बढी खतरनाक हुन पुगेको छ ।

पछिल्लो ५० बर्षमा विकास भएको जैविक प्रविधि र जेनेटिक इन्जिनियरिङको बलमा मानव प्रकृतिको छनौटको सिद्धान्तको समीकरण बदल्ने मार्गमा लागेको छ । प्राकृतिक छनौटको ठाँउमा मानवको बुद्धिमत्तापूर्ण छनौट आएको छ । यतिखेर विश्वभरका वैज्ञानिक प्रयोगशालाहरु मानवले कुनैबेला कल्पना गरेका दैवी सृष्टिजस्तै जैविक सृष्टिमा लागेका छन् । उक्त जैविक वस्तुमा आफूले चाहेको गुण, रुप र स्वाद भर्दैछन् । कुनैबेला अफ्रिकाको घना जंगलमा निरीह जीवन बिताएको एउटा प्रजाति आज अथाह शक्ति आर्जन गरेर सिंगो पृथ्वीको मालिक बन्न पुगेको छ । तर, त्यसका पछाडि यस पृथ्वीमा रहेका अन्य प्रजातिको पीडा र बेदना लुकेका छन् । त्यसभित्र प्रकृतिको व्यापक दोहनको मूल्य छ ।

त्यसैले हरारी लेख्छन्, पृथ्वीको मालिक बनेको मानव यहाँको प्रकृतिका लागि ठूलो आतंक हो । इतिहासका यस्तै रोचक तथ्यहरु पाठक सामु राखेर हरारीले पुस्तकको विट दार्शनिक प्रश्नहरु पाठकहरु माझ राखेर मारेका छन् ।

अहिलेसम्म जति नै प्रगति गरेता पनि मानव असन्तुष्टि चुलिएकै छ । यति लामो यात्रा तय गरेर यहाँ आएपछि अबको मानव गन्तव्य कता हो ? वास्तवमा कसैलाई थाहा छैन । यतिधेरै मानवशक्ति केका लागि प्रयोग हुन्छ ? आखिर मानव के चाहिरहेको छ ? के बन्न खोजिरहेको छ ?

यस लेखेको दोस्रो भागमा हरारीको दोस्रो पुस्तकमा गरिएको मानव भविश्यका बारेमा लेख्नेछु ।

अनलाइन खबर डटकम । २०७४ जेठ १९

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s