सुशील, रामलाल र वर्षमान !

यो लेखको शुरुवात दुईवटा प्रश्नहरुबाट गर्न चाहन्छु । पहिलो, अहिलेको विश्व राजनीतिमा देखिएका राजनैतिक नेतृत्वहरुमा एउटा आदर्श नेताको छनौट गर्नुपर्‍यो भने तपाईको आँखामा झट्ट त्यस्तो कुन नेताको तस्वीर आउला ? दोश्रो- एक्काइसौं शताब्दीको आदर्श राजनैतिक नेताका विषेशताहरु के-के हुन सक्लान् ?

दुबै प्रश्नहरुको जवाफ व्यक्तिपिच्छे फरक आउन सक्छ । तर, धेरै मानिसहरुलाई यही प्रश्न सोध्ने हो भने त्यसमा एउटा स्वरुप अर्थात प्याट्रन देख्न सकिन्छ र त्यसका आधारमा निष्कर्ष निकाल्न सकिन्छ ।

अमेरिकाको प्रतिष्ठित अनुसन्धान केन्द्र पिऊ रिसर्च सेन्टरले गत वर्ष गरेको एउटा अनुसन्धानमा असल नेतामा अनिवार्य हुनैपर्ने चारित्रिक विषेशताहरु के के हुन् भनेर अमेरिकाका विभिन्न शहरका १८३५ व्यक्तिहरुलाई एउटा प्रश्न सोधिएको थियो ।

जवाफमा करिव ८४ प्रतिशत, अर्थात सबैभन्दा धेरैले इमान्दारिता असल नेतामा हुनैपर्ने गुण भनेका थिए । त्यस्तैगरी, ८० प्रतिशतले बौद्धिकतालाई आवश्यक माने । ८० प्रतिशतले निणर्ायक क्षमता हुनुपर्ने भने । ६७ प्रतिशतले संयोजनकारी, ५७ प्रतिशतले दयालु, ५६ प्रतिशतले अभिनवी अर्थात इनोभेटिभ र ५३ प्रतिशतले महत्वाकांक्षालाई असल नेतामा हुनुपर्ने गुण बताएका थिए ।

हामीकहाँ यस्ता सामान्य लाग्ने जटिल प्रश्नको खोजी गर्ने चलन छैन । बरु सञ्चार माध्यममा कुन नेताको कपाल र जुँगा राम्रो भन्ने कुराहरु सोधिएको देख्न पाइन्छ । खैर, अहिलेको अवस्थामा नेपालमा त्यस्तै किसिमको सर्वेक्षण गर्ने हो भने पनि मोटोमोटी यस्तै उत्तरहरुको अपेक्षा गर्न सकिन्छ ।

दिवंगत भारतीय राष्ट्रपति तथा वैज्ञानिक एपीजे अब्दुल कलाम भन्थे, एक्काइसौं शताब्दीको नेता उपदेशक होइन, उत्पेरणा दिने हुनुपर्छ । हाउभाउयुक्त वाकपटुता र आकर्षक शारीरिक बनोट अहिलेको राजनैतिक नेताका लागि आवश्यक पर्ने शारीरिक गुण हो ।
यस्ता अत्यावश्यक चारित्रिक विषेशता र आवश्यक शारीरिक गुणहरुको कसीमा हेर्दा दिवंगत पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला भन्ने व्यक्तिको चारित्रिक क्षमता र शारीरिक गुण आफैंमा राजनीतिक नेता हुन लायक थिएन । उनी आफैसँग पनि हलिउडको हिरो बन्ने सपना थियो, न कि यो देशको प्रधानमन्त्री ।

विदेशमा उपचार गराउँदा क्यान्सरजस्तो जटिल रोगलाई जित्न सक्ने तिनै सुशीलले स्वदेशमा किन निमोनिया जस्तो सामान्य रोगसँग हारे ? यो प्रश्नलाई खोतल्ने हो भने कोइरालाको पुस्ताले नेपाल र नेपालीलाई गरेको वास्तविक योगदानको श्यामस्वेत तस्वीर देख्न सकिन्छ

यति भनेर उनको अवमूल्यन वा मृतात्मालाई प्रहार गर्न खोजिएको कदापि होइन । त्यसो त हामीले खोजेको आदर्श नेताको त्यस्तो तस्वीर वर्तमान नेपालका कुनै पनि नेतासँग मिल्दैन । न त त्यस्ता चारित्रिक र शारीरिक विषेशताहरुको गठजोड भएका नेताहरु नै भेटिन्छन् वर्तमान नेपालको राजनीतिमा ।

तर, प्रश्न उठ्छ- सुशील कोइरालामा यस्तो कुन गुण थियो, जसले उनलाई यति लामो समयसम्म यो मुलुकको जेठो पार्टीको उच्च नेतृत्वमा टिकाइराख्न सक्यो र संकटको ऐतिहासिक क्षणमा नेपालको प्रधानमन्त्री हुने मौका प्रदान गर्‍यो ?

पिउ रिसर्च सेन्टरले गरेको उक्त सर्वेक्षणको उपल्लो स्थानमा परेको एउटै मात्रै चारित्रिक विषेशता अर्थात इमान्दारिता सुशील कोइरालामा थियो । यद्यपि पछिल्लो प्रधानमन्त्रीय चुनावमा त्यसका बारेमा प्रशस्त प्रश्नहरु नउठेका भने होइनन् । त्यही इमान्दार छविका कारण उहाँ मृत्यपर्यन्त पनि नेपाली काँग्रेसका लागि अपरिहार्य बनिरहे इमान्दारहरुको खडेरी परेको वर्तमान समयमा ।

डा. रामशरण महतको भाषामा भन्दा उनी काँग्रेसका लागि व्यक्ति भन्दा पनि झण्डै सिंगो संस्था जस्ता थिए । काँग्रेसजस्तो प्रजातान्त्रिक भनिने पार्टीमा व्यक्तिलाई संस्थाका रुपमा चलाउन पाइन्छ वा मिल्छ ? कम्तिमा कोइरालाको मृत्यको यो समयमा त्यस्ता प्रश्नको जवाफ खोज्नतिर नजाउ“ । तर, मृत्युपूर्वसम्म स्वच्छ छविको स्केलमा वर्तमान नेपालका उच्चतहका नेताहरुलाई लहरै राख्ने हो भने सुशील कोइरालाको उचाइ सबैभन्दा अग्लो हुन्थ्यो भनिराख्न भने उनको मृत्यु कुरिरहन पर्दैन ।

म यतिखेर सञ्चारमाध्यामहरु र सामाजिक सञ्जालहरुमा दिवंगत पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युपश्चातका समाचार र प्रतिक्रियाहरु पढिरहेको छु । नेपाली समाजमा मृत्युपश्चात व्यक्तिका असल पक्षहरुलाई बढाई चढाई प्रस्तुत गर्ने गरिन्छ । बाचुञ्जेल सञ्चार माध्यमले खेदो खनेका मान्छेलाई मृत्युपछि त्यही सञ्चार माध्यमले नायक बनाउँछ ।

भिन्न चरित्रका कृष्णप्रसाद भट्राईदेखि गिरिजाप्रसाद कोइरालासम्म र विपरीत धुव्रका मनमोहन अधिकारीदेखि सूर्यबहादुर थापासम्मका भूपु प्रधानमन्त्रीहरुको मृत्यु हुँदा शोकमा डुबेको नेपाली समाजले उनीहरुको मृत्यु पश्चात मीठा शब्दहरु बर्षाउन कञ्जुस्याइँ गरेको छैन । संविधान जारी गरेको प्रमुख जस पाएका सुशील कोइरालाको हकमा झन् त्यो लागु नहुने कुरै छैन । यस्ता कुराहरु हाम्रा लागि एउटा नियमित आकस्मिकता मात्रै हो ।

आमरुपमा व्यक्त प्रतिक्रियाहरुलाई एकै ठाँउमा राख्ने हो भने दिवंगत कोइरालाको यस्तो चरित्र र उनले गरेका योगदानको एउटा स्वरुप देख्न सकिन्छ । सबैले उनलाई निष्ठावान, स्वच्छ छवि र सादा जीवनशैली अपनाउने व्यक्तित्व भनेका छन् । त्यसबाहेक उनका अन्य उल्लेख्य चारित्रिक विषेशताहरु आमभावनामा प्रतिविम्वित छैनन् । त्यसैगरी उनको योगदानमा धेरैले प्रजातन्त्रका लागि लामो समयसम्म लडेको र नेपालको पछिल्लो संविधान ०७२ उहाँको पालामा जारी गर्न सक्नुलाई मानेका छन् ।

तर, संविधान जारी हुनमा गोरखा भूकम्पको योगदान बढी कि सुशील, केपी र प्रचण्डको ? उक्त असहज प्रश्नको उत्तर इतिहासकारहरुले देलान् । तर, अहिले उहाँको मृत्य सन्दर्भतिर जाँऊ, जसले हामीलाई उहाँलगायतका नेपालका पहिलो पुस्ताका राजनीतिक नेतृत्वहरुले देश र जनतालाई गरेको वास्तविक योगदान बुझ्न धेरथोर सघाउँछ ।

७७ वर्षीय कोइराला लामो समयदेखि क्यान्सर रोगबाट ग्रस्त थिए । उनको क्यान्सरको उपचार अमेरिकाको सुविधासम्पन अस्पतालमा पटक-पटक भएको थियो सायद सरकारी खर्चमा ।

संविधान जारी गरेपश्चात अमेरिकामा गएर जचाउँदा आफ्नो शरीरमा क्यान्सरका कोषहरु सम्पूर्ण रुपमा नष्ट भएको रिपोर्ट देखाउँदै प्रफुल्ल मुद्रामा कोइरालाले भनेका थिए, मैले क्यान्सरलाई जितें । विदेशमा उपचार गराउँदा क्यान्सरजस्तो जटिल रोगलाई जित्न सक्ने तिनै सुशील कोइरालाले स्वदेशमा किन निमोनिया जस्तो सामान्य रोगसँग हारे ? यो प्रश्नलाई खोतल्ने हो भने कोइराला लगायतका यो देशका पहिलो पुस्ताका नेताले नेपाल र नेपालीलाई गरेको वास्तविक योगदानको श्यामस्वेत तस्वीर देख्न सकिन्छ ।

हिमाल खबरपत्रिकाको समाचार अनुसार, विरामी कोइरालालाई एम्बुलेन्स समयमा लिन नआएकाले अन्तिम समयमा उनलाई अस्पताल पुर्‍याउन सकिएन ।

उनको उपचारमा संलग्न निजी चिकित्सकले त्यति जानकारी दिएपछि शंकाको प्रश्न गर्ने सुविधा प्राप्त हुन्छ । त्यो के भने, बेलैमा अस्पताल पुर्‍याउन सकेको भए उनी केही समय बढी बाँच्न सक्थे कि ?

रामलाल र सुशीलको एउटै नियति

विदेशको महंगो अस्पतालमा गएर मृत्युलाई किनेर फेरि सक्रिय हुन पाइने हैसियत धेरै नेपालीसँग छैन, जसरी हिजो कोइरालाहरुले पाएका थिए, आज वर्षमानहरुले पाएका छन् ।

करिब तीन हप्ताअघि मात्रै मेरा माइला बुवा, रामलाल श्रेष्ठको मृत्यु भयो । उहाँ दमको रोगले ग्रसित हुनुहुन्थ्यो । रातको समयमा स्वास- प्रश्वासमा समस्या आएपछि उहाँलाई गोरखा अस्पताल लगियो, त्यहाँ अक्सिजन थिएन । डाक्टरहरुले तुरुन्त काठमाडौं लैजान भने, इन्धनको हाहाकार भएको समय, त्यो पनि रातका बेला काठमाडौं लान कुनै एम्बुलेन्स वा गाडी तयार भएनन् । केही समयपछि उहाँले गोरखा अस्पतालमै देहत्याग गर्नुभयो ।

नेपालमा प्रधानमन्त्री भइसकेको व्यक्ति सुशील कोइराला र सामान्य जनता रामलाल श्रेष्ठको मृत्य कथाको एउटै स्वरुप ! दुबै जनालाई समयमा एम्बुलेन्स नपाएर राम्रो अस्पताल लैजान नसकेको ! यो कस्तो विडम्वना ?

त्यसैले कोइरालाको मृत्यु पश्चातका प्रतिक्रियाहरु पढिरहँदा एउटा प्रश्नले लखेटिरह्यो । कृष्णप्रसाद, मनमोहन सुशीलसम्मका निष्ठावान र गिरिजाप्रसाद, सूर्यवहादुर र मरिचमानसम्मका राष्ट्रवादी असल सपुत प्रधानमन्त्रीहरु जन्मिँदा पनि यो देशमा समयमै उपचार नपाएर मेरा माइला बुबाजस्ता सामान्यजनदेखि देशको पूर्वप्रधानमन्त्रीसम्मले किन असामान्य रुपमा सामान्य रोगबाट मर्नु परिरहेको होला ?

यो देशमा कमजोर सडकका कारण सवारी दुर्घटनामा ज्यान गुमाउने, समयमा औषधिमूलो गर्न नपाएर मर्न बाध्य हुने, पुलको अभावमा नदीमा खसेर वेपत्ता हुने वा कोइरालाजस्ता राजनैतिक व्यक्तिहरुलाई शक्तिमा पुर्‍याउन भर्‍याङ बन्नेक्रममा शहिद भएर अकालमा ज्यान गुमाउने अभागीहरु कति छन् ? त्यो हामीले सधैं पढ्दै सुन्दै आएको कुरा हो । आजको दिनमा नेपालमा सायद त्यस्तो कुनै राजनैतिक व्यक्तित्व छैन, जसले गर्वले भन्न सकोस् कि मैले अवलम्बन गरेको नीति र कार्यक्रमका कारण यतिजनाको अकालमै ज्यान जोगियो । त्यो किन बषाैदेखि भइरहेको छ ?

स्पष्ट छ, कोइरालालगायतहरुले यो देश र समाजलाई प्राथमिकता के हो, सिकाएनन् । समयको महत्वबारे बुझाएनन् । बरु समाजको चरित्रलाई आफुजस्तै सुस्त, तदर्थवादी, अकर्मन्य र प्रारब्धमा विश्वास गर्ने बनाएर गए । जसका कारण विदेशमा क्यान्सरलाई जित्नसक्ने कोइरालाले स्वदेशमा निमोनियासँग हार खानुपर्‍यो ।

वर्षमानको सक्रियता केका लागि ?

संयोगवश, कोइरालाको मृत्य भएकै दिन यो देशको तेस्रो पुस्ताका एमाओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त) लामो समय विदेशमा उपचार गराएर स्वदेश फर्किएका छन् ।

सुशील कोइरालाले त छोडेर गइहाले, तर यतिखेर प्रश्न उठेको छ- वर्षमानहरुको अबको सक्रियता केका लागि ? कोइरालाको नियति समात्न कि त्यसलाई बदल्न ?

कोइराला र अनन्त फरक पार्टीका र फरक पुस्ताका प्रतिनिधि भएतापनि दुबैमा केही समानता देख्न सकिन्छ । जसरी युवा अवस्थामा सुशील कोइराला यो देशमा प्रजातन्त्र स्थापना गर्नका लागि बिराटनगरमा विमान अपहरणमा संलग्न भएका थिए, त्यसैगरी लक्का जवान वर्षमान यो देशको मुहार फेर्न भनेर रोल्पा, रुकुमतिर बन्दुकमा बारुद भर्दै थिए ।

कोइराला र वर्षमानले बाँचेको समय फरक भएता पनि वा उनीहरुले अंगालेको बैचारिक धार भिन्न भएता पनि उनीहरुले केही समय हिँडेको बाटो उस्तै हिंसात्मक थियो । र, सायद उद्देश्य पनि एउटै थियो । तत् समयहरुमा तरुण पत्रिकामा छापिने कोइरालाका कुरा र जनादेशमा छापिने अनन्तका कुराहरु सामान्य जनताका लागि उस्तै थिए । दुबै उस्तै सुनिन्थे, लोकतन्त्रको स्थापना र समृद्ध नेपाल बनाउने । भलै त्यसका तरिकाहरु फरक थिए होलान् ।

अर्को आश्चर्यजनक समानता- क्यान्सरबाट तंग्रिएका कोइरालाले न्यूयोर्कबाट जे भनेका थिए, वर्षमानले बैंककबाटै उस्तै लवजमा भनिसकेका छन्, रोगलाई जितें, अब सक्रिय हुन्छु । जनताले तिरेको करले विदेशको महंगो अस्पतालमा गएर मृत्युलाई किनेर फेरि सक्रिय हुन पाइने हैसियत धेरै नेपालीसँग छैन, जसरी हिजो कोइरालाहरुले पाएका थिए, आज वर्षमानहरुले पाएका छन् ।

राजनीतिमा सक्रिय भएकै कारण पहिलो पुस्ताका कोइरालादेखि तेस्रो पुस्ताका वर्षमानसम्मले विदेशमा असामान्य रोगको सहज उपचार पाउन सफल भएका छन् । तर, स्वदेशमा भने कोइरालाले रामलालकै नियति अर्थात समयमा उपचार नपाएर नै मर्नुपर्‍यो, यस्तो नियतिलाई बद्ल्ने मौका पटक-पटक पाउँदा पनि ।

सुशील कोइरालाले त छोडेर गइहाले, तर यतिखेर प्रश्न उठेको छ- वर्षमानहरुको अबको सक्रियता केका लागि ? कोइरालाको नियति समात्न कि त्यसलाई बदल्न ?

अनलाइन खबर डटकम । २०७२ माघ २७

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s