भारतीय नाकाबन्दी र नेपाली राष्ट्रियताको गीत

भारतको अघोषित नाकावन्दी र तराईमा चलिरहेको आन्दोलनले यतिखेर राजधानीलगायत देशको सबैजसो भागको जीवन निकै कष्टकर बनिरहेको छ । नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियाल्नेहरु भन्छन्, यतिखेर नेपाल भारत सम्बन्ध ०४५/०४६ सालको जतिकै चिसो हुनपुगेको छ । संकटका बेला नागरिकको पीडा कम गर्नपर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरु यस संकटलाई पार लगाउन चरम उदासीन भएको प्रतीत हुन्छ ।

नाकावन्दीपछि विहीबारसम्म मन्त्रिपरिषदको एउटामात्रै बैठक नबसेको मात्रै होइन, नेपालको तर्फबाट कुनै पनि कुटनैतिक पहल भएको देखिँदैन । बरु उल्टै सरकारका जिम्मेवार मन्त्री र भारतका लागि नेपाली राजदुतले नाकाबन्दी भएको छैन भनिरहेका छन् । विपक्षी दलका प्रमुख नेता आफूले अहिलेको अवस्थामा बोल्यो भने अवस्था झनै बिग्रन्छ भनेर तर्किएका छन् ।

‘प्राइमिनिष्टर इन वेटिङ’ भनिएका नेता  केही चर्को बोल्दा  कतै आफ्नो प्रधानमन्त्री बन्ने सपनामा भारतीय अंकुश पो लाग्ने हो कि भन्ने सोचले तौलिएर बोलिरहेका छन् । लाग्छ, भारतीय ‘नाकावन्दी’सँगै नेपाली राजनीतिक दलका मुख्य नेतृत्वहरुको ‘बोलीबन्दी’ भएको छ ।

नागरिकस्तरमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा आउँदा उनले छाडेको जादुमय सम्मोहन उत्रिसकेको छ (मैले त्यतिबेला मोदी भ्रमणको उद्देश्य उर्जा शिकार हो भनेर लेखेको थिएँ) । सायद हिजो यतै मोदी, उतै मोदी भन्नेहरु आज आफैलाई धिकार्दै होलान् । नेपाली सामाजिक सञ्जालहरुमा आएका प्रतिक्रिया हेर्दा यतिखेर नेपालीमा भारतविरोधी भावना ह्वातै बढेको सजिलै अनुमान गर्न सकिन्छ ।

यस्तो संकटपूर्ण अवस्थामा नेपालीको नेपालप्रतिको भावना भने कस्तो भएको होला ? यो मुलुकभित्र आफू र आफ्नो सन्ततीको भविष्य खोज्नेहरु यहाँ अझै दुखकष्ट सहेर बसौंला भन्दैछन् वा जसरी हुन्छ विदेशतिर लाग्ने अर्को अवसर खोज्दैछन् ? संविधान बनेपछि नेपालमा कामगर्ने वातावरण बन्ला र स्वदेश फर्कौंला भनेर सोच्ने नेपालीहरुलाई वर्तमान अवस्थाले ‘वेट एण्ड सी’बनाएको छ वा छैन ?

सायद यी प्रश्नको उत्तरभित्र हामीले हाम्रो राष्ट्रिय भावना खोज्नुपर्दछ न कि भारत विरोधी भावना घटबढ भएको अर्थमा । यद्यपि नेपालमा राष्ट्रियताको प्रमाणपत्र कसैलाई लिनु या दिनुपर्‍यो भने उसले कति भारतको विरोध (देखावटीरुप मै भए पनि) वा समर्थन गर्छ, त्यसलाई हेरेर दिइने गरिन्छ ।

तर, नेपाली जनतामा भारत वा अन्य देश विरोधी भावना बढ्नासाथ उनीहरुमा आफ्नो देशप्रति वा राष्ट्रियताप्रतिको भावना पनि बढ्छ भन्ने होइन । त्यस्तो हुन्थ्यो भने नाकावन्दी र मधेस आन्दोलनको खबरलाई ब्रेक दिएर अमेरिकी डाइभरसिटी (डीभी) भिसाको आवेदन खुलेको खबरलाई हिजोका प्रत्येक सञ्चारमाध्यमले प्रमुख समाचार बनाउँदैन थिए ।

अन्य देशको डीभी वा पीआरको आवेदन खुलेका समाचारले सबैजसो सञ्चार माध्यममा प्रमुखता पाउनुमा त्यसप्रतिको आकर्षण सजिलै बुझ्न सकिन्छ । त्यसले पनि हाम्रो राष्ट्रियताको पाइन धेरथोर जाँच्न सहयोग गर्छ ।

केही समय पहिला डीभी वा पीआर भएकाहरुले सरकारी जागिर खान नपाउने नियम लागुभएपछि थुप्रै राष्ट्रसेवक भनिने कर्मचारीहरुले डीभी पीआरका लागि सरकारी जागिर हापे । राष्ट्रियताको नारा जति नै चर्को लगाएता पनि यो देशको अर्थ मन्त्रालयको सहसचिवको खाइपाई आएको जागिरभन्दा अमेरिकी डीभी प्यारो लाग्ने अहिलेको यथार्थ हो ।

सायद त्यही देखेर नयाँ पत्रिका दैनिकका पत्रकारमित्र दीपक सापकोटाले सिरियाका सरणार्थीहरुलाई जर्मनीले लिने बताएपछि फेसबुकमा यसरी लेखे- ‘जर्मनीले हरेक बर्ष ५ लाख आप्रवासी लिने बताएछ, एक वर्षचाँहि नेपालका लागि खुल्ला गरिदिए आवेदकको संख्या कति पुग्दो हो ?’

दीपकजीले उठाएको याे प्रश्न वास्तवमा बदलिँदो सन्दर्भमा नेपालको राष्ट्रियताप्रति उठेको गम्भीर प्रश्न हो ।

डीभी वा पीआरको आवेदन खुलेका समाचारले सबैजसो सञ्चार माध्यममा प्रमुखता पाउनुमा त्यसप्रतिको आकर्षण सजिलै बुझ्न सकिन्छ । त्यसले पनि हाम्रो राष्ट्रियताको पाइन धेरथोर जाँच्न सहयोग गर्छ ।

नेपालमा बसेर जति नै यो मन त नेपाली हो गाए पनि अमेरिकामा टीपीएस सुविधा दिने नियम पारित हुँदा होस् या कतारमा कामदारको माग हुँदा, कोरीयाले कामदार बढाउने निर्णय गर्दा होस् या मलेसियामा श्रम कानुन परिवर्तन हुँदा होस् या बेलायत, अष्ट्रेलियाले विद्यार्थी भिसा खुकुलो पार्दा होस् काठमाडौंमा पासपोर्ट बनाउनेको लाइन बढ्नु आजको कटु वास्तविकता हो ।

दोहोर्‍याइरहनुपरेन, पूर्व दरवारको ढोकामा पासपोर्ट बनाउन लाइन लाग्नेहरुले नै यो देशको अर्थतन्त्र बचाइरहेका छन् । ती पासपोर्ट बनाउन लाम लाग्नेहरु मध्ये धेरैले पाएसम्म विदेशमै अल्झिरहन लालायित हुन खोज्नुले हाम्रो राष्ट्रियताको परम्परागत मानक उहिल्यै भत्काइदिइसकेको छ । हामीलाई त्यो स्वीकार गर्न गाह्रो भएको मात्रै हो ।

०४५ सालमा भारतले नाकाबन्दी लगाउँदा म स्कूले विद्यार्थी थिए । पहराले बनेको छ छाती देखाउँदै हामी विहान प्रार्थना सभामा श्रीमान गम्भीर गाउँथ्यौं । र, स्कूलको हाफ टाईममा जिल्ला प्रसासन कार्यालयले मट्टीतेलका लागि बाँड्ने कुपन लिन लाइनमा बस्न जान्थ्यौं ।

प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले हवाइ जहाजबाट मट्टीतेल ल्याउने बताउनु भएको कुरा त्यो वेलाको रेडियोले सुनाउँथ्यो । गाँउमा सायद अहिले जस्तो भारतीय पत्रुखाना (जंकफुड) र च्यानल पुगिसकेको थिएन । आवश्यकताहरु सीमित थिए, धान मकै, कोदोजस्ता स्थानीय उत्पादनले पनि धानिन्छ भन्ने थियो । युवाहरु गाँउ मै भएकाले खेतीपातीमा समस्या थिएन । भात दाउरामा पाक्थ्यो । बन्द समाजको कारण हाम्रा सपनाको आयतनहरु निकै साँघुरा थिए । आमाको त्यतिबेलाको एउटै चिन्ता हुन्थ्यो, अरु सबै रोकिदिए पनि नुन नरोकिदियोस्, अलिनो खान नपरोस् । नुन भए चल्छ जीन्दगी ।

त्यो समयको करिव २७ बर्षपछि नेपाली अर्थतन्त्र र समाजको आवश्यकतामा व्यापक परिवर्तन आएको छ । देशको अर्थतन्त्रको आकार, माग र आपुर्तिको सन्तुलन फेरिएको छ । भारतसँगको व्यापार घाटा चुलिँदो छ । ०४५ सालमा नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिवर्ष ८७ लाख किलाेलिटर लिटर हुन्थ्यो भने ०७० सालमा त्यो करिव १३०० लाख किलाेलिटर पुगेको छ । हाम्रो समाजको सपनाको आयतनहरु फेरिएका छन् । ती विश्व सपनासँग जोडिन थालेका छन् ।

बढ्दो उपभोक्ता संस्कृतिसँगै हाम्रा आवश्यकताहरु व्यापक भएका छन् भने अर्कातिर काम गर्ने युवा गाँउमा नहुँदा स्थानीय उत्पादन हुनै छाडेका छन् । रेमिन्ट्यासको पैसामा विदेशी सामानको उपभोग गर्ने वानी लागिसकेको छ । काठमाडौंमा धारामा पानी आउँदैन, पानी बोक्ने ट्यांकर चलाउन डिजेल चाहिन्छ । डिजेल छैन त पानी छैन । ग्याँस छैन त भात पाक्दैन । आमा, अब नुनले मात्रै चल्दैन जिन्दगी ।

नेपाल धनी मुलुक हो भन्ने अमूर्त नारा घोकाएर व्यक्तिभित्र खोक्रो अंहकार निर्माण गरिदिएका रहेछौं । त्यसको नतिजा यतिखेर भारतीय पक्षले नाकावन्दी गर्दा तैले नदिएर के भयो ? चीनले दिन्छ भनेर भारतसँगको रीस फेसबुकको वालमा पोख्ने राष्ट्रियता निर्माण हुनपुग्यो ।

काठमाडौंमा बीएस्सी पढ्दासम्म हिँडेर क्याम्पस आउजाउ गरिन्थ्यो । अस्कल क्याम्पसका पार्किङमा टन्न साइकलहरु हुन्थे । अहिले अमेरिका र यूरोपका थुप्रै शहरमा साइकल सेयरिङ प्रथा बढिरहेको छ । तर, मध्यमवर्गीय परिवारमा जन्मेको नेपाली किशोरले प्लटु पढ्न जाँदा मोटरसाइकलको माग गर्दछ ।

क्याम्पस जाँदा मोटरसाइकल चढनुपर्ने भएपछि तेल छैन त पढाइ छैन । आजको प्लस टु पुस्तालाई काठमाडौंमा साइकल चढ्नु स्वास्थको हिसाबले, वातावरण र आर्थिक दृष्टिकोणले फाइदाजनक हो भनेर कसले सिकाउने होला ? उक्त कुरा सिक्न वा बोल्न पनि ठूला नेताहरुलाई भारतले नाकावन्दी लगाउन परेको वर्तमान अवस्थामा ।

जर्मनीको माइनस तापक्रममा साइकल चलाएर आउजाउ गर्न थालेपछि लागेको थियो, हाम्रो काठमाडौंमा न हिँऊ पर्छ, न त उत्पात गर्मी नै । बाटाहरुमा प्रशस्त हरियाली बनाएर साइकल र पैदल यात्रीहरुका लागि सहज भए गणेश र लाङटाङ हिमालसँग मुस्कुराएर हिँड्न कति रमाइलो हुन्थ्यो होला काठमाडौंमा ?

यस्तो कल्पनामा रमाउँदै गर्दा लाग्छ, हामीले नयाँ पुस्तालाई हाम्रो देशको सीमितता र सम्भावनाहरुको बारेर खुलस्त कुरा कहिल्यै वताएका रहेनछौं । हाम्रो उर्जा नीतिका बारेमा, यातायात प्रणालीका बारेमा, हाम्रो जीवनशैलीका बारेमा र समग्रमा हाम्रो विकासको मोडलको बारेमा खासै ठोस बहस नै गरेका रहेनछौं ।

हिमालयको उत्तर दक्षिणका दुई ठूला र चलायमान छिमेकीको चेपुवामा बाँचेको, ६० प्रतिशत भन्दा बढी भूभाग चट्टानी पहराले ढाकेको, पूर्वाधारको विकास गर्न निकै चुनौति भएको, छरिएको बस्ती भएको, खनिज जस्ता प्राकृतिक स्रोत खासै नभएको, माटोको उर्वराशक्ति पनि कम भएको र जीविकामुखी कृषितन्त्र भएको देशको वास्तविकता कहिल्यै बताएनौं । जसले गर्दा नयाँ पुस्ताले त्यसै अनुरुपको जीवनशैली अपनाउन सिकेन वा चाहेन ।

हामीले नेपाल धनी मुलुक हो भन्ने अमूर्त नारा धोकाएर र गीत गाउन लगाएर व्यक्तिभित्र खोक्रो अंहकार निर्माण गरिदिएका रहेछौं । त्यसको नतिजा यतिखेर भारतीय पक्षले नाकावन्दी गर्दा तैले नदिएर के भयो ? चीनले दिन्छ, उ गर्छ, यहाँबाट ल्याउँछौं भनेर भारतसँगको रीस फेसबुकको वालमा पोख्ने राष्ट्रियता निर्माण हुनपुग्यो ।

संयोग भनौं या इतिहासको मजाक, राष्ट्रियताको सवालमा मरिचमान शासनको करिब तीन दशकपछि नेपाल अर्धउपनिवेशिक मुलुक भनेर आफ्नो पार्टीको दस्तावेजहरुमा लेख्ने प्रचण्डको भाषा मरिचमानको जस्तै हुनपुगेको छ । दुवैको एउटै स्वर सुनिन्छ, नेपाल इतिहासदेखि अहिलेसम्म कहिल्यै कसैको गुलाम भएन ।

पञ्चायती शासनभन्दा पर जाने हो भने सायद राणाहरु पनि त्यही भन्दथे । इतिहासमा नेपाल कहिल्यै पनि कसैको गुलाम भएन । स्वतन्त्र राष्ट्र हो भनेर हामीले पनि धेरै पढियो । सिंगो भारतीय उपमहाद्वीपमा अंग्रेजको दबदबा हुँदा नेपाललाई स्वतन्त्र राष्ट्र हुने सौभाग्य प्राप्त भयो । तर, नेपाली इतिहासको क्रुर विडम्बना, नेपाल जुन बेलायती उपनिवेशबाट जोगियो, त्यही सामाज्यवादको रक्षाको खातिर यो भूमण्डलमा सवैभन्दा धेरै रगत बगाउने गैह्र बेलायतीहरुमा हामी अभागी नेपाली वा गोर्खालीहरु नै भयौं । अघिल्लो कुरालाई गर्वका साथ बताए पनि पछिल्लो वास्तविकतातर्फ हामीले शान्त दिमागले कहिल्यै नजर दौडाएका रहेनछौं ।

आर्थिक परनिर्भरता र भएका सीमित अवसरहरुको न्यायोचित वितरण भएन र नागरिकलाई आत्मसम्मान दिइएन भने राष्ट्रियताको गीत जति नै गाए पनि त्यो कर्कश सुनिँदोरहेछ

पञ्चायत खासै भोगिएन । तर, त्यसभित्र पनि भारतीय संस्थापन नजिक हुने र दरबार नजिक हुने पञ्चहरुको शक्तिसंघर्षको कोपभाजनमा नेपाली राष्ट्रियता परिरह्यो । पञ्चायतलाई ढलाउन र बहुदलीय व्यवस्था स्थापना गर्न आन्दोलनकारीको पक्षमा खुलेर लागेको भारतको भूमिका  हाम्रो पुस्ताले भोगेको देखेको बहुदलीय व्यवस्थाका प्रत्येक शक्ति-संघर्षहरुमा निर्णायकजस्तै हुनपुग्यो । उसको हात जसमा पर्छ, उही बिजेता हुने शैलीमा ।

माओवादी आन्दोलनको उत्कर्ष, ज्ञानेन्द्रको कू, बाह्रबुँदेपछिको शान्ति प्रकृया, कटुवालकाण्डदेखि पछिल्लो संविधानसभा निर्वाचन गराउन गठित रेग्मी सरकारसम्म । जसले गर्दा नेपालको समग्र प्रणाली आफ्नो स्वतन्त्र निर्णय गर्ने अवस्थाबाट वञ्चित हुनपुग्यो ।

जनताको तहमा भने आफ्नो खोक्रो राष्टवादी अहंम र भारत विरोधी भावना झन् बढ्न थाल्यो । अहिले परिस्थिति कस्तो भइदियो भने नेपालमा भारत विरुद्ध नारा लगाएको एउटा नेपाली, नेपाल छाडेर भारत बाहेकका अन्य मुलुक छिर्नासाथ तिनै भारतीयहरुले चलाएको ग्यास स्टेशन, रेष्टुरेन्ट, कारखाना र आइटी कम्पनीहरुमा कानुनी गैह्रकानुनी काम गर्न बाध्य हुने भए ।

मैले भ्रमण गरेका जर्मनीदेखि बेल्जियमसम्म, अमेरिकादेखि क्यानडा र अष्ट्रेलियाका गल्लीहरुमा जे जसरी भए पनि पुगेका नेपालीहरुको झोला बिसाउने र कानुनी, गैह्रकानुनी वा कानुनी जस्तोसुकै काम गर्ने पहिलो ठाउँ भारतीयहरुको भएको देखेको छु । नेपाली राज्यसत्ताले हामीभित्र भरिदिएको खोक्रो राष्ट्रियताको भूत र व्यक्तिगत अहंकार त्यतिबेला कसरी स्खलित हुँदो हो सम्झँदा पनि मन यसै भरंग हुन्छ ।

यसरी हेर्दा लाग्छ, नेपाली राष्ट्रियताको सबैभन्दा ठूलो खतरा आर्थिक परिनिर्भरता नै हो, जसले हामीलाई पूर्व दरबारको ढोकामा बिहानै लाइन लाग्न जान बाध्य बनाएको छ । अफ्रिकादेखि अरबसम्मको डान्स बारसम्म नाच्न लतारेको छ, कतारदेखि काबुलसम्मको मरुभूमिमा भोकै प्यासै दौडाएको छ, मेक्सिकोदेखि मोरक्कोसम्म पुगेर नेपाली पासपोर्ट च्यात्न बाध्य परेको छ ।

दोश्रो, देशभित्र चलिरहेको शक्ति-संघर्ष र अस्थिर राजनीति, जसले भारत लगायत विभिन्न शक्तिकेन्द्रहरुलाई खेल्ने मौका दिइरहेको छ । नेपालको सबैभन्दा अस्थिर कालखण्ड ०४६ सालपछिको बहुदलीय काल हो, उक्त समयमा देखिएको भारतीय र अन्य अन्तर्राष्ट्रिय हस्तक्षेपको मात्रा हेर्ने हो भने त्यो जो कोहीले पनि देख्न सक्ने कुरा हो । तर, पहिलो आर्थिक कारण रोग हो भने दोस्रो कारण रोग मात्रै होइन, लक्षण हो ।

सामाजिक न्यायबाट वञ्चिती, अवसरको अन्यायपूर्ण वितरण, अधिकारको निमूर्लीकरणले धेरै हदसम्म अस्थिरतालाई मलजल गरेको देख्न सकिन्छ । जसका आधारमा माओवादी आन्दोलनदेखि जनजाति र मधेस आन्दोलनहरु भए । त्यसकारण इतिहासले प्रमाणित गरिसकेको छ, आर्थिक परनिर्भरता र भएका सीमित अवसरहरुको न्यायोचित वितरण भएन र नागरिकलाई आत्मसम्मान दिइएन भने राष्ट्रियताको गीत जति नै गाए पनि त्यो कर्कश सुनिँदो रहेछ ।

अनलाइनखबर डट कम । २०७२ असोज १५

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s