६ प्रदेश : कति सबल, कति सक्षम ? (तथ्यांक सहित)

लामो रस्साकस्सीपछि संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरु कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले समझदारी गरेर ६ प्रदेशको संघीय संरचनाको प्रस्ताव अगाडि सारेका छन् । यद्यपि साउन २२ गते सार्वजनिक भएको उक्त प्रदेशको सीमांकनलाई लिएर असन्तोष बढ्दै गएकाले त्यो फेरबदल हुन सक्ने सम्भावना बढिरहेको छ ।

नेपाली सञ्चार माध्यमहरुमा प्रकाशित प्रस्तावित संघीय नेपालको नक्सालाई आधार मानेर विभिन्न राष्ट्रिय-अर्न्तराष्ट्रिय स्रोतहरुबाट संकलन गरिएको तथ्यांकका आधारमा प्रस्तावित ६ प्रदेशहरुमा प्राकृतिक र आर्थिक स्रोत र साधनको उपलब्धता र उपयोगको अवस्थाका बारेमा तुलनात्मक अध्ययन गर्नु यो लेखको उद्देश्य हुनेछ ।

यस लेखमा प्रस्तावित प्रदेशहरुको भूगोल, जनसंख्या, भूउपयोग, सडकमार्ग, जलविद्युत आयोजना, देशको कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्ने विभिन्न औद्योगिक क्षेत्रहरु, पर्यटकीय गन्तव्य, शैक्षिक संस्थाहरुको अवस्थिति र मानव स्वास्थ्यको अवस्थाहरुका बारेमा चर्चा गर्ने कोशिस गरिएको छ ।

जनसंख्या र भूगोल

नेपालको पछिल्लो जनगणनाको तथ्यांक हेर्दा, जनसंख्याको हिसाबले सवैभन्दा धेरै मानिसहरु प्रदेश ३ मा बसोवास गरिरहेका छन्, जसको जनसंख्या करिव ५५ लाख २९ हजार छ, जुन नेपालको कुल जनसंख्याको २१ प्रतिशत हुन आँउछ । यद्यपि क्षेत्रफलको हिसावले यो प्रदेशले नेपालको मात्र १४ प्रतिशत (२०,२९६ वर्ग किलोमिटर) भूभाग ओगटेको छ ।

त्यसैगरी प्रदेश नं २ मा करिव ५४ लाख मानिसहरु बसोबास गरिरहेका छन्, जुन नेपालको कुल जनसंख्याको २० प्रतिशत हो । तर क्षेत्रफलको हिसावले यो प्रदेश सबैभन्दा सानो प्रदेश हो, जसको क्षेत्रफल ९,८१९ वर्ग किलोमिटर अर्थात नेपालको कुल भूभागको ७ प्रतिशत मात्रै छ ।

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो प्रदेश ६ ले नेपालको ३३ प्रतिशत भूभाग अर्थात ४८,३३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ,जहाँ ३८ लाख (१४ प्रतिशत) मानिसहरुको बसोबास छ ।

भूगोल र जनसंख्याको करिव मिल्दो अनुपात प्रदेश नं १ र ५ मा देख्न सकिन्छ । उक्त प्रदेशहरुले कुल भूभागको क्रमश १८ प्रतिशत (२६,१९३वर्ग किलोमिटर) र १५ प्रतिशत (२२२८२ वर्ग किलोमिटर) भूभाग ओगटेका छन् ।

प्रदेश नं १ मा १७ प्रतिशत (४५ लाख जनसंख्या) र प्रदेश नं ५ मा १८ प्रतिशत (४८ लाख जनसंख्या) मानिसहरुको बसोवास छ ।

प्रदेश ४ ले क्षेत्रफलमा १४ प्रतिशत भूभाग (२१,१०२ वर्ग किलोमिटर) ओगटेता पनि यहाँको जनसंख्या सबैभन्दा न्यून अर्थात २४ लाख मात्रै छ, जुन नेपालको कुल जनसंख्याको ९ प्रतिशत मात्रै हो ।

प्रदेशगत जनघनत्वको अवस्थालाई ग्लोबल पपुलेसन प्रोजेक्ट, ल्याण्ड स्कान २०१३ ले सार्वजनिक गरेको नक्सामा हेर्नुस् ।

Pradesh New

जनसंख्याको उमेरअनुसार नेपालमा ३३ प्रतिशत जनसंख्या १५ वर्ष भन्दा मुनिका र ५७ प्रतिशत जनसंख्या १५ देखि ५९ साठी वर्षको छ ।

युवा जनसंख्या अर्थात १५ देखि २४ वर्ष उमेर समुहका मानिसहरुको संख्या प्रदेश ३ धेरै छ, जसमा १२ लाख २५ हजार युवा वसोवास गर्छन् भने सबैभन्दा कम युवाको संख्या प्रदेश ४ (४ लाख ८८ हजार) मा छ, जुन कुल युवा संख्याको ९ प्रतिशत मात्रै हुन आउँछ ।

नेपालको उक्त उमेर समुहका कुल युवा संख्याको १९, १८, १७ र १४ प्रतिशत क्रमश प्रदेश ५, २, १ र ६ मा बसोबास गर्दछन् ।

भूउपयोगको अवस्था

प्रदेशको आर्थिक विकासका लागिमात्रै होइन, वातावरण संरक्षणका लागि पनि त्यहाँको जमिनको बनोट, उत्पादकत्व, क्षमता र भौगोलिक विषेशता आदिका बारेमा थाहा हुन जरुरी हुन्छ । भूउपयोगको नक्साले कुन क्षेत्रमा के र कसरी भूमिको प्रयोग भइरहेको छ भन्ने जानकारी दिन्छ ।

नेपालको भूउपयोगको अध्यावधिक तथ्यांक सार्वजनिक रुपमा उपलब्ध छैन । केन्द्रीय तथ्यांक विभागले ०७१ साल असारमा प्रकाशित गरेको नेपालको वातावरणीय तथ्यांक (इन्भाइरोमेन्टल स्टाटिस्टीक्स अफ नेपाल) मा जिल्लागत भूउपयोगको अवस्था दिइएको भएता पनि त्यसमा १४ वर्ष पुरानो अर्थात सन् २००१ संकलित भूउपयोगको तथ्यांक प्रयोग भएकाले यस विश्लेषणमा अध्यावधिक भूउपयोगको तथ्यांकलाई प्रयोग गर्ने कोशिस गरिएको छ ।

खाली पर्ति जग्गाको वितरणमा पनि प्रदेश ६ नै धेरै अगाडि देखिन्छ । नेपालको कुल २,९४० वर्ग किलोमीटर पर्ति जग्गा क्षेत्रमध्ये ५४ प्रतिशत भाग प्रदेश ६ मा पर्दछ ।

विश्व खाद्य तथा कृषि संगठन (फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसन) ले सन् २०१४ मा प्रकाशित गरेको विश्वको भूउपयोगको पछिल्लो तथ्यांकलाई प्रयोग गरेर विभिन्न प्रदेशमा वर्तमान भूउपयोगको अवस्थालाई भौगोर्भिक सूचना प्रणालीको सफ्टवेयर (आर्क जीआइएस) प्रयोग गरी केलाइएको छ ।

यस विश्लेषणमा प्रयोग गरिएको विश्वको भूउपयोग नक्शा भूउपग्रहले खिचिएका तस्वीरहरुबाट तयार पारिएको र त्यसको सानो इकाई (रिजोलुसन) करिव एक वर्ग किलोमिटर जति भएकाले यसमा केही अनिश्चिताहरु पक्कै छन् (जस्तो साना मानव निर्मित संरचनाहरु यसमा देखिँदैनन्) तथापि यसलाई हालसम्म उपलब्ध सबैभन्दा उच्च गुणस्तरको विश्वको भूउपयोगको नक्शा मानिन्छ ।

उक्त नक्शाअनुसार नेपालमा २२१ वर्ग किलोमिटर क्षेत्र मानव निर्मित संरचनाले ओगटेको छ । जसमध्ये ८६ प्रतिशत मानव निर्मित कृत्रिम संरचनाहरु प्रदेश ३ मा परेका छन् । प्रदेश २ र प्रदेश ६ मा त्यस्ता संरचनाहरु नक्सामा देखिएका छैनन् ।

सोही नक्साअनुसार नेपालमा कुल ४२,८१४ वर्ग किलोमीटर कृषि क्षेत्र छ । उक्त कृषि क्षेत्रको सबैभन्दा धेरै अर्थात २२ प्रतिशत भूभाग प्रदेश नं १ मा परेको छ भने कृषि क्षेत्र धेरै पर्ने प्रदेशमा दोश्रो नम्बरमा प्रदेश ५ परेको छ, जसमा नेपालको कुल कृषि क्षेत्रको २१ प्रतिशत भूभाग पर्दछ ।

कृषि क्षेत्रको वितरणको हिसाबले प्रदेश नम्वर ४ मा सबैभन्दा कम अर्थात नेपालको कुल कृषि क्षेत्रको ९ प्रतिशत भूभाग मात्र पर्दछ ।

त्यसैगरी नेपालमा ८,४३७ वर्ग किलोमीटर क्षेत्र घाँसे मैदान वा चरन क्षेत्रले ओगटेको छ । घाँसे मैदानको सबैभन्दा धेरै भूभाग प्रदेश नम्वर ६ मा पर्दछ । नेपालको कुल चरन क्षेत्रको ४९ प्रतिशत भूभाग यो प्रदेशमा परेको छ भने सबैभन्दा कम ४१ वर्ग किलोमिटर प्रदेश नं २ मा परेको छ ।

नेपालको ६४,२७३ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ । वन क्षेत्रको तुलना गर्दा प्रदेश ६ मा सबैभन्दा धेरै अर्थात कुल वन क्षेत्रको ३५ प्रतिशत यस प्रदेशमा पर्दछ भने प्रदेश ५ मा १८ र प्रदेश ३ मा १७ प्रतिशत वन क्षेत्र पर्दछ । प्रदेश २ मा नेपालको कुल वन क्षेत्रको ५ प्रतिशत अर्थात ३,००८ वर्ग किलोमिटर मात्रै वन क्षेत्र परेको छ ।

खाली पर्ति जग्गाको वितरणमा पनि प्रदेश ६ नै धेरै अगाडि देखिन्छ । नेपालको कुल २,९४० वर्ग किलोमीटर पर्ति जग्गा क्षेत्रमध्ये ५४ प्रतिशत भाग प्रदेश ६ मा पर्दछ । बुट्यान क्षेत्रको हिसाव गर्दा नेपालको १९,८५१ वर्ग किलोमिटर बुट्यान क्षेत्रले ढाकेको छ, जसमध्ये ४६ प्रतिशत बुट्यान क्षेत्र प्रदेश नम्वर ६ मा परेको छ ।

बुट्यानको वितरणमा पनि सबैभन्दा कम क्षेत्र प्रदेश २ मा पर्दछ जसमा १२४ वर्ग किलोमिटर मात्रै बुट्यान क्षेत्र परेको छ ।
नेपालको कुल ९,४६१ वर्ग किलोमीटर हिँउ वा हिमनदीले ओगटेको क्षेत्रमध्ये सवैभन्दा धेरै भूभाग प्रदेश ४ मा पर्दछ । यस प्रदेशमा नेपालको कुल हिँउ वा हिमनदीले ओगटेको क्षेत्रको ४० प्रतिशत भूभाग परेको छ भने प्रदेश २ र ५ मा हिउँले ओगटेको क्षेत्र छैनन् । प्रदेश ६ मा ३७ प्रतिशत भाग हिँउले ओगटेको क्षेत्र छ ।

जल क्षेत्रको हिसाव गर्दा नेपालको कुल जल क्षेत्र १८६ वर्ग किलोमिटरको ३६ प्रतिशत भूभाग प्रदेश ५ मा परेको छ । त्यसैगरी प्रदेश नं १ मा २० प्रतिशत र प्रदेश  ४ मा १५ प्रतिशत जलक्षेत्र पर्दछ ।

प्रस्तावित प्रदेशहरुका भूउपयोगको अवस्था

6-Pradesh-land-use

प्रस्तावित प्रदेशमा भू उपयोगको अवस्था (क्षेत्रफल वर्ग किलोमिटरमा)
भूउपयोगको किसिम प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६
कृतिम संरचना १८८ १५
कृषि क्षेत्र    ९५२१ ६२११ ६०४७ ४०१५ ९०३२ ७९८७
घाँसे मैदान वा चरन क्षेत्र    १३३९ ४१ ९४० १६८६ २९१ ४१४०
वन क्षेत्र     ९४५२ ३००८ १०६६८ ७०६७ ११३६६ २२७१२
झाडी बट्यान क्षेत्र   ३४६१ १२४ १३९९ ४२६१ १४६९ ९१३८
खाली पर्ति जग्गा     ३७० २७० २८८ ३४३ ९३ १५७५
हिउँले ढाकेको क्षेत्र   १६२९ ६१३ ३७४८ १४ ३४५७
पानीले ढाकेको क्षेत्र   ३६ २० १७ २८ ६७ १८
तथ्यांक स्रोतः विश्व खाद्य तथा कृषि संगठन, २०१४

सडक सञ्जाल

प्रदेश नं २ र प्रदेश ४ सडक सञ्जालको हिसाबले सबैभन्दा कमजोर प्रदेश देखिन्छन् ।

सडकलाई आर्थिक विकासको मेरुदण्ड र विकासका अन्य पूर्वाधार निर्माणको जग मानिन्छ । सडक विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा सडक सञ्जालको लम्वाई १२,५९० किलोमिटर पुगेको छ, जसमध्ये कच्ची सडक ४,३९५ किलोमिटर, ग्राभेल सडक १,७३५ किलोमिटर र कालोपत्रे सडक ६,४६० किलोमिटर छ ।

सोही तथ्यांक अनुसार, नेपालमा अहिले करिव २५८ किमी सडक निर्माणाधीन छ भने १,७८८ किलोमिटर सडक बन्ने योजना बनिसकेको छ । सडक सञ्जालको लम्वाइको हिसावले प्रदेश ५ मा सबैभन्दा लामो सडक संरचना परेको छ । प्रदेश ५ मा सडक लम्वाइ २,६९० किलोमिटर छ । तर, त्यहाँ १,४५९ किलोमिटर सडक मात्रै कालोपत्रे छ ।

राजधानी काठमाडौं परेर पनि प्रदेश नं ३ सडक सञ्जालको हिसावले तेस्रो नम्बरमा आउँछ । जसमा २,३८० किलोमिटर सडक अर्थात कुल नेपालको १९ प्रतिशत सडक सञ्जाल परेको छ । यद्यपि यो प्रदेशमा कालोपत्रे सडक नेपालमै सबैभन्दा लामो अर्थात १,५१२ किलोमिटर छ ।

सडक सञ्जालको लम्बाइको हिसावले प्रदेश ६ दोस्रो नम्बरमा परेता पनि यस प्रदेशको अधिकांश सडक कच्ची सडक हो । यहाँको २,४७२ किमी सडकमध्ये आधा जति सडक कच्ची छ ।

प्रदेश नं २ र प्रदेश ४ सडक सञ्जालको हिसाबले सबैभन्दा कमजोर प्रदेश देखिन्छन् । प्रदेश २ मा करिव १,३५४ किलोमिटर मात्रै सडक छ भने प्रदेश ४ मा करिव १,४२९ किलोमिटर । दुबै प्रदेशमा नेपालको कुल सडक सञ्जालको करिव ११ प्रतिशत मात्रै सडक खण्ड परेको छ । जबकि प्रदेश ५ मा २१ प्रतिशत, प्रदेश ६ मा २० प्रतिशत, प्रदेश ३ मा १९ प्रतिशत र प्रदेश १ मा १८ प्रतिशत सडक परेको छ ।

बन्दै गरेको सडक भने प्रदेश ६ मा धेरै छ । नेपालमा बन्दै गरेको सडकको ७० प्रतिशत उक्त प्रदेशमा परेको छ भने प्रस्तावित सडकको ३७ प्रतिशत अर्थात ६६४ किलोमिटर सडक खण्ड उक्त प्रदेशमा परेको छ । प्रदेश ३ मा पनि ३७२ किलोमिटर सडक निर्माण प्रस्तावित छ ।

6-Pradesh-sadak-Sanjalजलविद्युत

प्रदेश २ विद्युत उत्पादनको हिसाबले सवैभन्दा कमजोर देखिन्छ, जसमा एउटा पनि जलविद्युत आयोजना सञ्चालनमा छैनन् भने सर्वेक्षण र उत्पादन अनुमति लिएका आयोजनाहरु पनि छैनन् ।

सडकजस्तै विकासका लागि अत्यावश्यक वस्तु हो बिजुली । बिजुली उत्पादनका अन्य स्रोतहरु भएता पनि नेपालमा यसको मुख्य स्रोत भनेको जलविद्युत नै हो । नेपाल सरकारको उर्जा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा ४३ वटा जलविद्युत उत्पादन केन्द्र सञ्चालित छन्, जसवाट ७१८ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

अहिले सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको प्रादेशिक वितरण हेर्दा प्रदेश नं ३ सबैभन्दा अगाडि देखिन्छ । जसमा हाल ३२५ मेगाबाट बिजुली उत्पादन भइरहेको छ ।

तर, उर्जा मन्त्रालयबाट सर्वेक्षण तथा उत्पादन अनुमति प्राप्त गरेका विद्युत आयोजनाहरु समेत जोड्ने हो भने सबैभन्दा धेरै क्षमता प्रदेश ४ मा देखिन्छ । जसमा २,६१८ मेगावाट क्षमताका विभिन्न १२९ वटा विद्युत उत्पादन आयोजनाहरुले अनुमति पाएका छन् ।

6-Pradesh-Hydro

प्रदेश ४ मा हाल १९० मेगावाट बिजुली उत्पादन भइरहेको छ भने २,२१६ मेगावाट बरावरका आयोजनाले उत्पादन र २१२ मेगावाट बराबरका आयोजनाले सर्वेक्षण अनुमति लिएको देखिन्छ । अहिले सञ्चालनमा रहेका, सर्वेक्षण र उत्पादन अनुमति पाएका जलविद्युत आयोजनाको अवस्था हेर्दा प्रदेश १ र ६ उस्तै देखिन्छन्, जसमा क्रमशः १,४२२ मेगावाट १,२३४ मेगावाट क्षमताका आयोजनाहरु परेका छन् । यद्यपि प्रदेश ६ मा कुनै पनि विद्युत आयोजनाहरु हाल सञ्चालनमा आएका छैनन् ।

Hydro on 6 pradesh

प्रदेश ५ मा १८४ मेगावाटको आयोजना सञ्चालनमा रहेतापनि भविष्यमा कम जलविद्युत आयोजना बन्ने देखिन्छ । जसमा १२ मेगावाटका ३ वटा आयोजनाले उत्पादन अनुमति र ३०५ मेगावाट वरावरका ७ आयोजनाले सर्वेक्षण अनुमति पाएका छन् ।

प्रदेश २ विद्युत उत्पादनको हिसाबले सवैभन्दा कमजोर देखिन्छ, जसमा एउटा पनि जलविद्युत आयोजना सञ्चालनमा छैनन् भने सर्वेक्षण र उत्पादन अनुमति लिएका आयोजनाहरु पनि छैनन् ।

आर्थिक क्षेत्रहरुको अवस्था

केन्द्रीय तथ्यांक विभागले विभिन्न आर्थिक क्षेत्रहरुले कुल ग्राहस्थ उत्पादनमा दिने योगदानहरु समेटेर सार्वजनिक गर्ने राष्ट्रिय लेखा तथ्यांकको पछिल्लो जिल्लागत विवरण सार्वजनिक रुपमा उपलब्ध छैन । सायद त्यसै कारण हुनसक्छ, यूएनडीपीले सार्वजनिक गरेको पछिल्लो नेपालको मानव विकास सूचकांक २०१४ मा समेत तथ्यांक विभागको ०६७/६८ सालको राष्ट्रिय लेखा तथ्यांक प्र्रयोग गरिएको छ । यस विश्लेषणमा नेपालको मानव विकास सूचांक २०१४ मा समावेश भएको तथ्यांक प्रयोग गरेर विभिन्न आर्थिक क्षेत्रहरुको कुल ग्राहस्थ उत्पादनमा योगदान र त्यसको प्रदेशिक वितरण दिइएको छ ।

कृषि क्षेत्र अन्र्तगत नेपालका कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान गर्नेमा प्रदेश १ पर्दछ, जसले २३ प्रतिशत क्षेत्रगत योगदान दिन्छ

राष्ट्रिय लेखा तथ्यांकमा विभिन्न औद्योगिक क्षेत्रहरुलाई १५ क्षेत्रमा विभाजन गरिएको छ, जसमा कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन्, उद्योग, विद्युत, ग्यास तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्दछन् ।

क्षेत्रगत रुपमा नेपालको कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा धेरै कृषि क्षेत्रको योगदान छ, जसले करिव ३७ प्रतिशत योगदान दिन्छ भने थोक तथा खुद्रा व्यापारले दोश्रो ठूलो (१४ प्रतिशत)योगदान गर्छ ।

यातायात सञ्चार तथा भण्डारण र रियल स्टेट तथा व्यवसायिक सेवाले क्रमशः ८ प्रतिशत र निर्माण क्षेत्र र उद्योग क्षेत्रले क्रमशः ७ र ६ प्रतिशत योगदान कुल ग्रार्हस्थ उत्पादनमा गर्दछन् ।

कृषि क्षेत्र अन्र्तगत नेपालका कुल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान गर्नेमा प्रदेश १ पर्दछ, जसले २३ प्रतिशत क्षेत्रगत योगदान दिन्छ भने प्रदेश ५ ले कुल कृषि क्षेत्रको २० प्रतिशत योगदान दिन्छ । अन्य क्षेत्रमा कमजोर भएता पनि प्रदेश २ ले कुल कृषि क्षेत्रको १८ प्रतिशत योगदान दिन्छ ।

कृषिमा क्षेत्रगत योगदानको हिसाबले सबैभन्दा कमजोर प्रदेश ४ देखिएको छ जसको योगदान कुल कृषि क्षेत्रको ११ प्रतिशत मात्रै हुन आउँछ ।

मत्स्यपालनमा सबैभन्दा बढी योगदान दिने प्रदेश २ (५५ प्रतिशत) छ भने त्यसपछि प्रदेश ५ (२४ प्रतिशत) आउँछ ।
खानी तथा उत्खननमा सबैभन्दा अगाडि प्रदेश ३ देखिन्छ, जसले ४१ प्रतिशत योगदान दिन्छ । उद्योग मार्फत देशको कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्नेमा सबैभन्दा अगाडि प्रदेश २ आउँछ जसले ३४ प्रतिशत योगदान गरेको छ भने प्रदेश ६ को यस क्षेत्र मार्फत देशको कुल ग्रार्हस्थ उत्पादनमा ४ प्रतिशत मात्रै योगदान छ ।

विद्युत, ग्यास तथा पानीमा प्रदेश नं ३ ले सबैभन्दा धेरै ३४ प्रतिशत योगदान दिन्छ भने प्रदेश ६ सबैभन्दा कम योगदान दिने प्रदेशमा पर्दछ । त्यसपछि औद्योगिक क्षेत्रहरु निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवामा सवैभन्दा धेरै योगदान दिने प्रदेश नं ३ पर्दछ ।

त्यसपछि उक्त क्षेत्रहरुमा योगदानको हिसावले प्रदेश नं १ र ५ आउँछन् । सोहि क्षेत्रहरुमा योगदानको हिसावले प्रदेश २ ठिकै भएता पनि प्रदेश ४ र प्रदेश ६ भने सबैभन्दा कम योगदान दिने प्रदेशमा पर्दछन् ।

विभिन्न औद्योगिक क्षेत्रहरुको नेपालको कुल ग्रार्हस्थ उत्पादनमा योगदान टेवलमा दिइएको छ ।

आर्थिक वर्ष ०६७/६८ मा नेपालको कुल ग्रार्हस्थ उत्पादनमा विभिन्न औद्योगिक क्षेत्रहरुको योगदान (रकम १० लाखमा रुपैयाँमा)
औद्योगिक क्षेत्र प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६
कृषि तथा वन १०७०३४ ८३५०७ ७६३२७ ४९९१२ ९३३६५ ६३१२१
मत्स्यपालन ६३८ २६९० १२५ १३३ ११४६ १४३
खानी तथा उत्खनन ९७० ८७९ २८४४ ५२६ ८३५ ९०१
उद्योग १४२९९ २७२८१ १९७४४ ७२१९ ८९७० ३०१५
विद्युत ग्यास तथा पानी २८८० २८४४ ५३८६ १५६२ २६६९ ६५४
निर्माण १४१९० १५२४० ३१८५७ ८०९१ ११९०२ ८०७८
थोक तथा खुद्रा व्यापार २८७७८ ३१९१९ ५९२०७ १३८४० २८३४९ १७२१२
होटल तथा रेष्टुरेन्ट ३१०४ ३४९० ७३५४ २३०४ ३०४४ १७६३
यातायात सञ्चार तथा भण्डारण १४७११ १२५०० ५३४७१ १०३९४ १०८८१ ३८७७
वित्तीय मध्यस्थता ६०७५ ३८७३ २६६६० ४२७० ६६३८ २५९२
रियल स्टेट तथा व्यवसायिक सेवा १६७८५ १३२०० ४२३१० ९३७९ १५७५९ ८८०२
सार्वजनिक प्रशासन तथा रक्षा ३४१६ २३०९ १०४८१ २२०६ २९८४ ३४३३
शिक्षा ६५६९ ५६७२ ३४३९२ ७६७५ ८३३२ ५०९८
स्वास्थ २८२८ २५०२ ५०६३ १८०२ २८३० २०६०
अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा २०२६ १३१९ ३८५१० १२३२ २११० १७४७
स्रोतः मानव विकास सुचकांक २०१४ युएनडीपी

पर्यटन

नेपाल आउने पर्यटकहरु भनेका धेरैजसो घुम्न आउने, पदयात्राका लागि आउने, पर्यावरणीय पर्यटनका लागि निकुन्जहरुमा जाने र पशुपति र लुम्विनी जस्ता क्षेत्रहरु भ्रमण गर्ने धार्मिक पर्यटकहरु हुन् ।

संसारको उच्च हिमशिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजंघा प्रदेश नं १ मा पर्दछन्

पर्यटन गन्तव्यको हिसाबले सबैभन्दा अगाडि प्रदेश नं ३ आउँछ । यहाँ चितवन राष्ट्रिय निकुन्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज, लाङटाङ राष्ट्रिय निकुन्ज र गौरी शंकर संरक्षण क्षेत्र पर्दछन् । गौरी शंकर, लाङटाङ र जुगल हिमाल श्रृंखला, गोसाइँकुण्ड ताल तथा पर्यटकको र्‍याफि्टिङका लागि चर्चित भोटेकोशी र त्रिशुली नदी पनि यहाँ छन् ।

प्राचीन र पुरातात्विक संरचनाहरुमा विश्व सम्पदा सुचीमा समावेश भएका काठमाडौं दरबार स्क्वायर, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, स्वयंभुनाथ, बौद्ध र पशुपतिनाथ मन्दिर यसै प्रदेशमा छन् ।

देशको एकमात्रै अन्र्तराष्ट्रिय विमानस्थल यसै प्रदेशमा भएकाले आकाशबाट आउने पर्यटकहरुको पहिलो गन्तव्य यही प्रदेश हुनेछ ।

संसारको उच्च हिमशिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजंघा प्रदेश नं १ मा पर्दछन् । सगरमाथा राष्ट्रिय निकुन्ज र कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुन्जका साथै गुराँसका लागि प्रशिद्ध तीनजुरे मिल्केडाँडा लगायत भेडेटार, अरुण उपत्यका प्रदेश नं १ का आकर्षण हुन् । धार्मिक पर्यटकका लागि पाथीभरा, हलेसी, बराहक्षेत्र, लारुम्बा यसै प्रदेशमा पर्दछन् ।

चराका लागि प्रसिद्ध कोसीटप्पु वन्यजन्तु आरक्षदेखि अर्ना पाइने पर्सा वन्यजन्तु आरक्ष प्रदेश २ मा पर्दछ । छिन्नमस्ता क्षेत्र र धनुषाधाम यस प्रदेशको अर्को आर्कषक पर्यटकीय गन्तव्य हो ।

चार नम्बर प्रदेशमा पदयात्राका लागि विश्वमै नाम कमाएको अन्नपूर्ण संरक्षण क्षेत्रदेखि मनास्लु संरक्षण क्षेत्र र शिकारका लागि प्रशिद्ध ढोरपाटन शिकार आरक्ष र चितवन राष्ट्रिय निकुन्ज पर्दछन् । पोखराका तालहरु, गोरखा दरवार, कागवेनी, मुक्तिनाथ यस प्रदेशका अन्य प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

बाघका लागि नाम कमाएको बर्दिया राष्ट्रिय निकुन्ज र वाँके राष्ट्रिय निकुञ्जलगायत लुम्विनी, तानसेन, रानीमहल, स्वर्गद्वारी, वागेस्वरी ५ नम्बर प्रदेशका पर्यटकिय आर्कषण हुन् ।

दुरीको हिसावले टाढा भएता पनि प्रदेश नं ६ मा शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुन्ज, खप्तड राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र अपिनम्पा संरक्षण क्षेत्र जस्ता पर्यटकीय गन्तव्य पर्दछन् ।  बढिमालिका, बुलबुले ताल यहाँका थप आर्कषण हुन् ।

प्रदेशहरुमा पर्यटकीय गन्तव्यहरु भएता पनि पर्यटकको आगमन भने केही क्षेत्रहरुमा मात्रै सीमित देखिन्छ, जुन कुराको पुष्टि ०६९/७० सालमा विभिन्न संरक्षण क्षेत्र घुम्न आएका पर्यटकहरुको संख्या हेर्ने हो भने -तल टेबलमा दिइएको) थाहा पाउन सकिन्छ ।

आर्थिक वर्ष ०६९/७० मा पर्यटकहरुले भ्रमण गरेको संरक्षण क्षेत्र अन्य गन्तव्यको विवरण
गन्तव्य वा संरक्षण क्षेत्र पर्यटक संख्या प्रदेश
सगरमाथा राष्ट्रिय निकुन्ज ३६७५०
कंचनजंघा संरक्षण क्षेत्र ६०६
मकालु वरुण राष्ट्रिय निकुन्जका १५२३
कोसीटप्पु वन्यजन्तु आरक्ष ४४४६ १, २
पर्सा वन्यजन्तु आरक्ष १९२ २, ३
चितवन राष्ट्रिय निकुन्ज १५३७४९ २, ३, ४
शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज १६५९०४
गौरी शंकर संरक्षण क्षेत्र ११०४
लाङटाङ राष्ट्रिय निकुन्ज १३३७०
मनास्लु संरक्षण क्षेत्र ४२०२
अन्नपूर्ण संरक्षण क्षेत्र ११३२१३
ढोरपाटन शिकार आरक्ष ८८ ४, ५
बर्दिया राष्ट्रिय निकुन्ज १२९७४ ५, ६
बाँके राष्ट्रिय निकुन्ज
लुम्विनी १२५४९६
शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज ६२०
रारा राष्ट्रिय निकुन्ज १६४
खप्तड राष्ट्रिय निकुन्ज १९
शुक्लाफाँटा वन्यजन्तु आरक्ष ४७१
अपिनम्पा संरक्षण क्षेत्र
स्रोतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

शैक्षिक पूर्वाधार र साक्षरता

शिक्षा मन्त्रालयले सन् २०११ मा प्रकाशित गरेको विद्यालयस्तरको शिक्षा सम्वन्धी तथ्यांकका आधारमा हेर्दा विद्यालय शिक्षाको पूर्वाधारका हिसाबले प्रदेश ३ सबैभन्दा सबल देखिन्छ । यस प्रदेशमा युनिटको हिसावले ७,३७७ वटा विद्यालयहरु छन् । जसमा ८९६ वटा उच्च माध्यामिक तह, २३८६ माध्यामिक तह ३६१३ निम्न माध्यामिक तह र ७२०५ वटा प्राथमिक तहका शैक्षिक संस्था छन् ।

विद्यालयहरुको संख्याको हिसाबले प्रदेश १ दोस्रोमा (६४३० विद्यालय) पर्छ भने प्रदेश नं ६ तेस्रोमा (६०७१ विद्यालय) पर्छ । त्यस्तै प्रदेश ५ चौथोमा (५९३५ विद्यालय), प्रदेश ४ पाँचौंमा (४७४१ विद्यालय) र प्रदेश २ छैटौंमा (३८०१ विद्यालय) पर्दछन् । विभिन्न तहको पढाइ हुने विद्यालयको विवरण ग्राफमा दिइएको छ ।

6-Pradesh-school

विद्यालय शिक्षाको पूर्वाधारमा प्रदेश ३ अन्य प्रदेशको तुलनामा अगाडि भएता पनि ६ वर्षभन्दा माथि उमेरको साक्षरताको प्रतिशत भने प्रदेश ४ मा धेरै अर्थात ७३ प्रतिशत छ ।

सोही स्तरको साक्षरता प्रदेश १ मा ७१ प्रतिशत, प्रदेश नं ३ र ५ मा ६८ प्रतिशतको हाराहारीमा छ । सबैभन्दा कम प्रदेश नं २ मा ५० प्रतिशत मात्रै साक्षर छन् भने प्रदेश ६ मा ६१ प्रतिशत ६ वर्षभन्दा माथि उमेरको साक्षरता छ ।

प्रौढ साक्षरतामा पनि प्रदेश नं ४ नै अगाडि देखिन्छ । अन्य प्रदेशहरुको प्रौढ साक्षरता नेपालको समग्र साक्षरता प्रतिसत (६० प्रतिशत) जस्तै भए पनि प्रदेश ६ (५० प्रतिशत) र २ (४१ प्रतिशत) को कम देखिन्छ ।

उच्च शिक्षाका पूर्वाधारको हिसाबले प्रदेश ३ अरु भन्दा धेरै अगाडि देखिन्छ । देशका दुई ठूला विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नयाँ कृषि तथा वन विश्वविद्यालय यसै प्रदेशमा पर्दछन् ।

त्यसैगरी प्रदेश नं ५ मा लुम्बिनी विश्वविद्यालय र नेपाल संस्कृति विश्वविद्यालय छ भने प्रदेश ६ मा मध्यपश्चिम विश्वविद्यालय र सुदुर पश्चिम विश्वविद्यालय गरी दुई विश्वविद्यालय छन् । अन्य तीन प्रदेशहरु प्रदेश ४ (पोखरा विश्वविद्यालय), प्रदेश १ (पूर्वाञ्चल विश्वविद्यालय) र प्रदेश २ (राजसी जनक विश्वविद्यालय) मा एक एकवटा विश्वविद्यालय छन् ।

विश्वविद्यालय बाहेक नेपालका अधिकांश उच्च शिक्षालयहरु प्रदेश ३ मा केन्द्रित छन् । मुलुकका आधा भन्दा बढी मेडिकल र इन्जिनियरिङ कलेजहरु यसै प्रदेशमा केन्द्रित छन् ।

स्वास्थ्य

स्वास्थ्यको पहुँच र सुविधा सम्वन्धी यकिन र अध्यावधिक तथ्यांकहरु खोजी गर्दा नभेटिएकाले यहाँ मानव विकास प्रतिवेदन र खानेपानी तथा सरसफाइ विभागको दक्षिण एशियाली सरसफाइ सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा भेटिएका स्वस्थ्यका केही आधारभूत सूचकहरुलाई विश्लेषण गरिएको छ ।

सरसफाइमा पहुँचको हिसाबले सबैभन्दा धेरै प्रदेश नं ४ मा ६० प्रतिशत जनसंख्यालाई सरसफाइको पहुँच, विषेश गरी शौचालयको पहुँच छ । त्यसैगरी प्रदेश नं ३ मा ५६ प्रतिशतलाई र प्रदेश नं १ मा ४८, प्रदेश नं ५ मा ३७, प्रदेश ६ मा २५ र प्रदेश नं २ मा २० प्रतिशत जनसंख्याको सरसफाइमा पहुँच छ ।

खानेपानीको पहुँचमा पनि प्रदेश नं ४ नै अगाडि देखिन्छ । जसमा ८६ प्रतिशत जनसंख्यालाई पिउने पानीको पँहुच छ । त्यसैगरी प्रदेश ३ र प्रदेश ५ मा ८१ प्रतिशत र अन्य तीन प्रदेशहरुमा ७७ प्रतिशत जनसंख्यालाई खानेपानीको पहुँच छ ।

सरसफाइ र खानेपानीको पहुँचको हिसावले कम प्रतिशत जनसंख्यालाई समेटेको भएता पनि प्रतिव्यक्ति सरदर आयुको हिसाबले प्रदेश २ नेपालको अन्य प्रदेशको तुलनामा अगाडि देखिन्छ । यहाँको सरदर प्रतिव्यक्ति आयू ७०.४३ वर्ष छ भने सरदर आयू बढि हुने दोश्रो नम्बरमा प्रदेश ३ (७०.३१ वर्ष) छ ।

नेपालको औषत आयू ६८.८० वर्ष भन्दा कम भएका दुई प्रदेशहरु प्रदेश ६ र ५ हुन्, जहाँको सरदर आयु क्रमश ६६.१२ वर्ष, ६७.७३ वर्ष छ । प्रदेश १ का बासिन्दाको सरदर आयु ६८.५२ वर्ष छ ।

अन्त्यमा,

यस लेखको उद्देश्य लेखकको व्यक्तिगत धारणा राख्नेभन्दा पनि तथ्यांकलाई केलाउने हो । अहिलेसम्म प्राप्त सार्वजनिक तथ्यांकहरुलाई विश्लेषण गरी प्रदेशहरुको विभिन्न पक्षहरुको सवलता र सक्षमता उजागार गरी प्रदेश सीमांकनमा चलिरहेको बहसलाई आधिकारीक तथ्यांकहरु मार्फत सार्थक वनाउने हो । सवैजसो तथ्यांकको स्रोत दिइएको छ ।

जिल्लागत तथ्यांकहरुलाई टुक्रिएका तीन जिल्ला बाग्लुङ, नवलपरासी, रुकुमको क्षेत्रफलअनुसार भाग लगाएर विश्लेषण गरिएको छ ।

प्रदेश सवलता कमजोर पक्ष
प्रदेश १ धेरै कृषि क्षेत्र, कृषिबाट क्षेत्रगत कुल ग्रार्हस्थ उत्पादनमा बढी योगदान, धेरै साक्षर जनसंख्या अन्य सूचकहरुमा मध्यम अवस्था खासै छैन
प्रदेश २ समथर भूभाग, धेरै जनसंख्या, उच्च प्रतिव्यक्ति आयु, क्षेत्रफलको तुलनामा खेतीयोग्य जमिन धेरै, देशको कुल ग्रार्हस्थ उत्पादनमा कृषि, मत्स्यपालन र उद्योगको क्षेत्रगत योगदान बढी सानो भूगोल, कम साक्षर जनसंख्या   कमजोर सरसफाइमा पहुँच, कम सडक, शुन्य जलविद्युत आयोजना, कम वन क्षेत्र
प्रदेश ३ युवा जनसंख्या धेरै, धेरै विकासका संरचनाहरु, धेरै जलविद्युत आयोजनाहरु, शिक्षाको पूर्वाधारमा अगि्रणी, खानी उत्खनन लगायत कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्ने अन्य क्षेत्रहरुमा अगाडि खासै छैन्
प्रदेश ४ भूमिको तुलनामा न्यून जनसंख्या, बन्ने क्रममा धेरै विद्युत आयोजनाहरु, उच्च साक्षरता, सरसफाइ र खानेपानीमा उच्च पहुँच, धेरै भाग हिउँले ढाकेको, कम कृषि क्षेत्र, कम सडक, कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्ने विभिन्न औद्योगिक क्षेत्रहरुमा कमजोर
प्रदेश ५ सडक लम्बाइमा अग्रणी तर धेरै कच्ची सडकहरु, अन्य सूचकहरुमा मध्यम अवस्था खासै छैन्
प्रदेश ६ ठूला घाँसे मैदान क्षेत्र पशुपालन र जडीबुटीका लागि उपयुक्त, धेरै क्षेत्रफल, धेरै वनक्षेत्र कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्ने विभिन्न औद्योगिक क्षेत्रहरुमा सबैभन्दा कमजोर, अधिकांश कच्ची सडक, कुनै पनि जलविद्युत आयोजना सञ्चालनमा छैनन्

(वातावरण विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा रुची राख्छन्)

अनलाइन खबरडटकम ।  २०७२ भदौ २

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s