‘कठै हामी ! सूर्यबहादुर थापाको शोक मनाइरहेका छौं’

गतमहिना सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान यूको ९१ बर्षको उमेरमा मृत्यु भएसँगै दि इकोनोमिष्ट पत्रिकाले एउटा रेखाचित्र (ग्राफ) सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो, लि क्वान यूको समयमा सिंगापुर ।

यूको शासन समयका महत्वपूर्ण घटनाहरुलाई एक्स अक्ष (एक्सि्स) र सिंगापुरको प्रक्तिव्यक्ति आयलाई वाई अक्षमा राखेर बनाइएको उक्त रेखाचित्र देख्दा जति सामान्य थियो, त्यसमा भएको सन्देश भने उति नै असामान्य ।

झलक्क हेर्न साथ सजिलै बुझ्न सकिन्थ्यो, यूले शासन सम्हाल्दा सन् १९५९ मा सिंगापुरको प्रक्तिव्यक्ति आय ४०० अमेरिकी डलरको हाराहारीमा थियो र शासनपूर्ण रुपले छाड्ने बेला सन् २०११ मा करिब ५० हजार डलर ।

यो पढेपछि पछि मलाई के लाग्यो भने, जीवनकालमा समाजका लागि, देशका लागि साँच्चै केही गरेका मान्छेहरुलाई सम्झन ठूला ठूला बनावटी लेख, भाषण र श्रद्धान्जलीका असंख्य गाथाहरु चाहिँदो रहनेछ । त्यस्ता महान मान्छेका सम्झनाहरु त एउटा सामान्य रेखाचित्र, साना सूत्र, केही बिम्वहरुमै जीवन्त हुँदोरहेछ ।

न्यूटनलाई सम्झन रुखबाट खस्दै गरेको स्याउ, आइन्टाइनलाई सम्झन इ बराबर एमसी स्क्वायर, भिन्चीलाई सम्झन मोनालिसा वा हाम्रो घाँसीलाई सम्झन एउटा कुवा काफी भएजस्तै । तर जिन्दगीभर पटक-पटक अवसर पाउँदा पनि समाजको लागि उल्लेख्य खासै नगरेका मान्छेहरुका लागि भने अर्थ-अनर्थ, तुक-बेतुकका सबैथोक तानतुन गर्दै ठूलाठूला लेख र बनावटी श्रद्धाञ्जलीका असंख्य शब्द जालहरु आवश्यक पर्दोरहेछ ।

नेपालका पूर्वप्रधानमन्त्री सुर्यवहादुर थापा सिंगापुरका लि क्वान यू भन्दा पाँच वर्षपछि मात्रै जन्मिएका हुन्, जसको निधन यू भन्दा ३ बर्ष कम उमेरमा अर्थात ८८ वर्षको उमेरमा गत बुधवार भयो । क्वान भन्दा उमेरले पाँच वर्ष कान्छा सूर्यबहादुरले पनि क्वान जतिकै उमेरमा देशको शासन समाल्ने मौका पाए । सन् १९६३ मा । पाँचपटकसम्म प्रधानमन्त्री भए । जीवनको अन्तिम अवस्थासम्म पनि राजनीतिमा सधैं सक्रिय रहे । कहिले केन्द्रको प्रभावशाली वृत्तमा रहेर त कहिले किनारमा अवसर पर्खेर ।

पाँचपटक प्रधानमन्त्री हुँदा सूर्यबहादुरले देशलाई के दिए ? जाजरकोटमा अहिले मानिसहरु उपचार नपाएर मरिरहेका छन्

व्यवस्थाहरु परिवर्तन भए, राजाहरु परिवर्तन भए तर सुबथामा त्यस्तो कुन खुबी थियो, जसले गर्दा उनी राजाहरुको साह्रोगाह्रोमा सधैं भरोसायोग्य पात्रमा दरिए ? महेन्द्रदेखि वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्मलाई पनि पछिल्लोपटक उनी आफूले पृष्ठपोषण गरेको व्यवस्थाको विरुद्ध झण्डै स्थापनाकालदेखि संघर्षरत दलहरुलाई सहमतिको अर्ति दिने झण्डै सल्लाहकारको हैसियतमा राजनीतिमा सक्रिय थिए ।

थापाको निधनसँगै यतिखेर म इकोनोमिष्टले प्रकाशित गरेको जस्तै रेखाचित्रहरु नेपाली सञ्चारजगतमा खोजिरहेको छु, जसले ६ दशक राजनीतिको शक्तिनाभीमा बसेर पाँचपटक प्रधानमन्त्री भएका सुबथालाई सम्झन सकियोस् । तर, बिडम्वना ! देशका अखबारहरु सुबथाका योगदान झल्किने रेखाचित्र होइन, बरु स्वाइन फ्लु लगायतका विभिन्न रोगका प्रकोपले जाजरकोटमा दर्जनौं मान्छे मरिरहेको तस्वीर छापिरहेका छन् । ती तस्वीरहरु, जसले देशको गरिबी, अव्यवस्था, कुशासन र वेथीतीलाई एकमुष्ठ देखाइरहेका छन् । तर, पनि सूर्यबहादुरलाई महान नेता, असल अभिभावक, शीर्ष व्यक्तित्वका रुपमा मान्ने बहादुरहरुको कमी छैन यो देशमा । भनिरहनु परेन, यस पंक्तिमा प्रजातन्त्रिक समाजवादी, वहुदलीय जनवादी, सदावहार क्रान्तिकारीहरु सबै लागिरहेका छन् ।

मैले अघि नै लेखिसकें, महान व्यक्तिहरुको सम्झना साना विम्वहरुमा कैद हुन्छन्, लामा लामा लफ्फाजीहरुमा होइन ।

व्यक्तिगतरुपमा सूर्यबहादुर अत्यन्त सफल हुन् । पाँच-पाँच पटकसम्म प्रधानमन्त्री हुन पाउनु, जीवनको अन्तिमसम्म सक्रिय राजनैतिक जीवन बिताएर आफ्ना छोरा नातिसम्मलाई पनि राजनीतिमा स्थापित गर्न सफल भएका छन् उनी । जुन नेपालमामात्रै होइन, विश्वमै अलि प्रजातान्त्रिक भनिने देशहरुमा विरलै हुने घटना हो । तर, उनको व्यक्तिगत सफलताले हामीले वाँचिरहेको समाजलाई के दियो ? उनको योगदानको कारण देशमा कति जनाको अनाहकमा ज्यान बच्यो ? कतिले उचित शिक्षा दीक्षा पाए ? कति रोजगारी सिर्जना भयो ? कतिले उचित स्वास्थ्य सुविधा पाए ? र, समग्रमा देशले कति उन्नति प्रगति हासिल गर्‍यो ? यी प्रश्नहरुको कसीमा सुबथा वा कसैलाई पनि मूल्यांकन गर्नु उचित हुन्छ । न कि उनका गाथाका भावनात्मक कहानीहरु बुनेर ।

इतिहासमा ठूला र राम्रा मान्छेहरुलाई यस कारण पढिन्छ कि नयाँ पुस्ताले मनन र अनुसरण गर्न सकुन् उनका गुणहरु । विकसित देशहरुमा सार्वजनिक जीवन बिताएका मान्छेहरु विषेशगरी राजनैतिक नेताहरुको मस्ल्यांकनको विधि स्थापित हुन्छ । त्यहाँ शब्द जालहरु होइन, तथ्यांकहरु बोलिरहेका हुन्छन् । रोजगारीदेखि स्वस्थ्यसम्मको, वातावरण संरक्षणदेखि अन्तराष्ट्रिय सम्वन्धहरुको प्रगतिको मापनहरु हुन्छन् । त्यहाँसबैभन्दा महत्वपूर्ण उसको परिवारिक सन्तुलनको कुरा पनि हुन्छ ।

म रेखाचित्रहरु नेपाली सञ्चार जगतमा खोजिरहेको छु, जसले ६ दशक राजनीतिको शक्तिनाभीमा बसेर पाँचपटक प्रधानमन्त्री भएका सुबथालाई सम्झन सकियोस्

यतिखेर सूर्यबहादुर थापाको पुर्खौली घर खण्डहरमा परिणत भएको छ । सायद कुनै विकसित देशमा हुन्थ्यो भने पाँच पटकसम्म प्रधानमन्त्री हुने छोरा जन्माउने त्यस्ता घरहरु संरक्षित गरेर राखिन्थ्यो होला राष्ट्रको निधिका रुपमा । वा सूर्यबहादुर आफै पनि अघि सर्न सक्थ्ये त्यसलाई जोगाउन । तर, उनले त्योसम्म गरेनन् । उनको खण्डहर पुर्खौली घरले वर्तमान नेपालका धेरै घरहरुको अहिलेको अवस्थालाई चित्रित गर्छ । भौतिक रुपमा धेरै नेपालीको घर त्यस्तो खण्डहर नभए पनि आधा भन्दा बढी विदेशिएका नेपालीहरुको घर पारिवारिक रुपमा त्यसरी नै विखण्डित भएको छ । जसमा भने पक्कै सूर्य र अन्य बहादुरहरुको योगदान छ ।

त्यसो त व्यक्तिगत रुपमा उनीसँग मेरो कुनै लेनादेना छैन । हाम्रो पुस्ता उनले पक्षपोषण र थामेको पञ्चायतीशासनबाट खासै पीडित हुन पनि परेन । उनको नाम सानो हुँदा रेडियोमा खुबै सुनिन्थ्यो । पञ्चायती व्यवस्थाको कहर नकाटे पनि त्योबेलाको खैरो रंगको प्रहरीसँग भने निकै डर लाग्थ्यो । ती प्रहरीहरुले क्यासेट सुनेको (गणेशमानको भाषण) भन्दै गाउँका केही मान्छेहरुलाई पक्रेर लगेको कुरा सुनेको थिएँ आफ्नी हजुरआमाबाट । मीठो गीत संगीत बजाउने त्यो भाँडो सुन्दा पनि पक्रने भनेपछि मलाई पुलिस र उनीहरुले लिने कटबाँसको लौरोदेखि औधी डर लाग्थ्यो । उनी त्यस्ता निंरकुश व्यवस्थाका अब्बल कारिन्दा थिए ।

हामीले ०४६ सालमा ल्याएको प्रजातन्त्रले उनलाई उनले विगतमा गरेको कामको नसियतसमेत दिएन, बरु प्रधानमन्त्री बनाएर पुरस्कृत गर्‍यो । यद्यपि जनताको मतबाट उनको दलको पत्तासाफ भएको थियो ।

नानीदेखि लागेको बानी भनेझै, समय फेरिए पनि उनी फेरिएनन् । बरु ज्ञानेन्द्रको निरंकुश शासनको हिमायती बनेर देखापरे । ज्ञानेन्द्रले उनका दाइले क्यासेट सुन्नेलाई थुनेजस्तै समाचारहरु भन्ने लेख्नेहरुको मुखै थुन्ने कोशिस गरे । त्यतिबेला म विदेश लागिसकेको थिएँ, उज्ज्वल भविष्यको सपनामा । दुई चार शब्द बोल्न, लेख्न सक्ने भइसकेको थिएँ । विकसित देशको स्वतन्त्रता देखेको बुझेको हामीलाई उक्त कदम असह्य भयो । ज्ञानेन्द्रको कदमको विरोध गर्न अमेरिकाको बोष्टनमा हामीले पनि ज्ञानेन्द्र शासनको विरुद्ध बिरोध प्रर्दशन गर्‍यौं । यसरी ज्ञानेन्द्रको त्यो शासन जसको बचाउका लागि सूर्यबहादुर खडा थिए, त्योभन्दा फरक कित्तामा उभिएँ म ।

समय ज्ञानेन्द्रले सिंगो ब्रह्माण्ड नै खडा गरे पनि उनको सत्तालाई जोगाउन नसक्ने भइसकेको थियो । बृद्ध सूर्यले बचाउने सक्ने कुरै भएन । उनले पृष्ठपोषण गरेको शासनले घुँडा टेक्यो । राजनीतिको नाभीबाट फेरि छेऊ लागे उनी । हामी आफ्नो काममा फर्कियौं । देश चल्न थाल्यो । देश त के भनौं, राजनीति चल्न थाल्यो ।

हामी कठै नै भएर त होला कृष्णजी यतिखेर सूर्यबहादुरको निधनमा शोक विदा मनाइरहेछौं, राजकीय सम्मानका साथ

दोश्रो संविधानसभापछि समयले उनलाई यस्तो ठाँउमा पुर्‍यायो, जहाँ बसेर उनले सबै दलका प्रतिनिधिलाई संविधानसभाको भवनभित्र सपथ खुवाए ।

सार्वभौम भनिएको त्यो सभामा व्यवस्था मानेपछि व्यक्ति गौण हुन्छ । कसैले तर्क गर्‍यो, सबैले होमा हो मिलाए । विरोधको झिनो स्वरवीच कुनै बेला कांग्रेसका वीपीलाई फासीको सजायँ हुनुपर्छ भनेर माग गर्ने सूर्यबहादुर र एमालेको कार्यकर्ता मारिएको छिन्ताङ घटनाको नायक भनिएका सूर्यबहादुर र माओवादीलाई तिमीहरुलाई आकाशबाट हेरिएको छ भन्ने सूर्यबहादुरले काइते भाषा बोले, के गरम त, म  अरुभन्दा अघि जन्मिएँछु जेठो भएँछु ।

मृत्य आफैमा एउटा दुःखद परिघटना हो, पारिवारिक दुख र वियोगको हिसाबले । त्यसैले कसैको मृत्युमा पनि हर्ष बढाइँ गर्नु वा शोक नमनाउनु, श्रदान्जली नदिनु अमानवीय कार्य हो । तर, सार्वजनिक व्यक्तिको मृत्य विषेश गरी मुलुकको उच्च नेतृत्व सम्हालेको व्यक्तिको मृत्युले सधैं वस्तुनिष्ठ र निष्पक्ष मूल्यांकनको माग गरेको हुन्छ । उनीहरुको मूल्यांकन उसको व्यक्तिगत स्वभाव र आचरणको राम्रो-नराम्रो पक्षको आधारमा होइन, उसले दिएको योगदानका आधारमा हुनुपर्दछ । तर, नेपाली समाज खान बोल्न सक्दासम्म वास्ता नगर्ने र अन्तिममा अस्पताल भर्ना भएर पानी पनि निल्न नसक्ने भएपछि फलफुल किनेर लाने अति देखावटी गर्नुपर्ने समाज हो, जहाँ मृत्यु भएको मान्छेका बारेमा नकारात्मक टिप्पणी बर्जित छ ।

हाम्रो समाज मरेको मान्छेको नकारात्मक टिप्पणीले वैकुण्ठवास हुँदैन भन्ने अनौठो संस्कृतिको बोझले यति ग्रस्त छ कि यो कोही व्यक्तिको मृत्यसँगै गाथाहरु खोज्न जर्वजस्त लाग्छ । यतिखेर सूर्यबहादुरलाई अत्यन्त असल भन्दै भजन मण्डलीहरुमा हिजो हामीलाई निरंकुशताका विरुद्ध आवाज उठाउनुपर्छ है भनेर विभिन्न कालखण्डमा लागेका नेताहरु देखापरेका छन् । यस्तो अवस्था देखेर आफैसँग प्रश्न गरें आखिर किन भयो त यस्तो ? कारण स्पष्ट थियो, ती मान्छेहरु, जो हिजो आन्दोलनमा हामी जनतासँगै शासितका रुपमा थिए, आज शासक बनेर फेरिए, हामी जनता उस्तै रह्यौं ।

शासक र शासकको दृष्टिकोण एउटै हुने नै भयो । फरक त हामी शासित भएर पो पर्‍यो त । अर्को, हामी यतिखेर यस्तो अनौठो युगमा बाँचेका छौं, जहाँ कोही राम्रो नराम्रो छैनन् । छन् त सबै करिव-करिव उस्तै । सबै उस्तै भएपछि भाका, बान्की र शब्दरचना पनि उस्तै-उस्तै बनाउनपर्ने वाध्यता हुँदोरहेछ । जुन अहिले भइरहेको छ । र, यो केही समय अझै रहन्छ ।

जाँदाजाँदै फेरि लि क्वान यूतिर फर्कन्छु, लामो समयदेखि सिंगापुर बसिरहेका मित्र कृष्ण पौडेलले यसरी टुइटे  ‘लि वान यू स्वर्गे हुँदा सारा देश स्तब्ध र शोकाकुल थियो, तर कसैले शोक मनाउने विदाको कल्पना गरेन । कठै हामी ।’

अनलाइन खबर डटकम । २०७२ वैशाख ४

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s