चुरेमा ‘भर्जिनिटी’को खोजी!

केही दिनअघि व्यवस्थापिका संसद्अन्तर्गतको विकास समितिले ‘वातावरणको नाममा विकासको काम नरोक्न तथा विकासको नाममा जथाभावी वातावरण विनाश नगर्न’ सम्बन्धित निकायलाई निर्देशन जारी गर्यो । झट्ट हेर्दा विकास र वातावरणबीचको सन्तुलनजस्तो देखिने यो निर्देशन जति आकर्षक लाग्छ त्यति नै कार्यान्वयन गर्न कठिन।

किनकि यसको कार्यान्वयनको लागि मुख्यतः ३ कुराको आवश्यकता हुन्छ। पहिलो, विकास भनेको के हो? र, हामीले कस्तो किसिमको विकास, कसका लागि गर्नखोजेका हौँ भन्ने स्पष्ट मान्यता पहिल्याउनु जरुरी छ। दोस्रो, हाम्रो वातावरणीय संवेदनशीलताले कतिमात्रामा मानवीय अतिक्रमणको भार बहन गर्नसक्छ? र, वातावरणमा कति मात्रामा क्षति भएपछि त्यसलाई विनाश मान्ने भन्ने मापनयन्त्रको जरुरी छ। तेस्रो, वातावरण संरक्षणलाई विकासको बाधक मान्ने कि साधक ठान्ने भन्ने कुराको जानकारी हुनु आवश्यक छ। विकासप्रतिको दृष्टिकोण नै धूमिल भएको र वातावरण र विकासबीचको बुझाईमा अन्तर भएको अवस्थामा यस्ता कुराको कार्यान्वयन कल्पनामात्रै हो।यद्यपि, उक्त निर्देशन कुन सन्दर्भमा दिइएको भन्ने कुरा प्रष्ट छ। वनजंगल विनाश, ढुंगागिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतको अत्यधिक दोहनले निम्त्याएको चुरेको विनाश र त्यसको परिणाम (पानीको सतह घट्नथाल्नु, मूल सुक्नथाल्नु, खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुन सुरु हुनु, बाढीले बस्ती जोखिममा पार्नथाल्नु, पुलहरू भासिन थाल्नु, खोलाहरू फैलनु आदि) देखिन थालेको सन्दर्भमा उक्त निर्देशन दिइएको हो। तर, उक्त निर्देशन दिने बैठकमा अर्थमन्त्री डा. रामशरण महतका अभिव्यक्ति सुन्दा उनको विकासप्रतिको दृष्टिकोण र वातावरणको संरक्षण आवश्यकताप्रतिको बुझाइ उदेकलाग्दो देखिन्छ। बैठकमा डा. महतले भने– ‘चुरेको कतिपय गाउँ भर्जिन छन्। त्यस्ता क्षेत्रबाट ढुंगागिट्टी निकाल्न सकिन्छ। संकट आउनथालेको क्षेत्रमा दोहन बन्द गर्नुपर्छ’ (नागरिक दैनिक पुस ३)। डा. महतको भनाइको सीधा अर्थ हो– चुरेमा रहेका भर्जिन ठाउँको दोहन गरौँ। त्यसलाई पनि संकटग्रस्त पारौँ अनि संरक्षणको काम थालौँला! अर्थात् वातावरण संरक्षण भनेको प्रकृतिलाई नोक्सान पुगेपछि र त्यसको असर भयावह हुनथालेपछि मात्रै गरिने कार्य हो।
अहिलेसम्मको मानव विकासको इतिहासले प्रष्ट गरेको छ– हाम्रो आर्थिक विकासको आधारभूत स्रोत भनेको प्रकृति वा पर्यावरण नै हो। प्रकृतिको संरक्षणले आर्थिक विकासको आधारमात्रै तय गर्दैन, मानवजातिको अस्तित्वलाई पनि जोगाउँछ। तर, मान्छेले आफ्नै अस्तित्वसँग जोडिएको कुरा, आफै आश्रित वातावरणको विनाश गर्न किन अग्रसर हुन्छ वा आफ्नै खुट्टामा बन्चरो हान्ने जस्तो कार्य किन गर्नपुग्छ? ‘कोल्याप्सः हाउ सोसाइटिज चुज टु फेल अर सक्सिड’ पुस्तकमा जारेड डाइमन्ड भन्छन्– ‘किनकि उनीहरूलाई प्रकृतिको विनाशले निम्त्याउने भयावह परिणामको पूर्वजानकारी नै हुँदैन।
परिणाम देखिसकेपछि पनि उनीहरूलाई त्यसको आयतनको पत्तो हुँदैन, जसले गर्दा प्राकृतिक क्षतिलाई सुरुमा वास्ता गर्दैनन् र त्यसलाई घटाउनेतिर लाग्दैनन्। अन्तिममा जब तिनीहरूले समाधानको प्रयास थाल्छन् त्यतिबेला तिनको क्षमताले नभ्याउने हुन्छ। अन्त्यमा समाधानका सबै उपाय कामनलाग्ने भइसकेको हुन्छ।’ उक्त पुस्तकमा उनले पुराना मानव सभ्यता पतनको मुख्य कारण वनजंगलको विनाश, भूक्षयीकरण आदिजस्ता वातावरणीय विनाश हो भन्ने तर्कसंगत व्याख्या गरेका छन्।
वर्तमान अवस्थामा चुरेको सन्दर्भमा पनि डाइमन्डले भनेका कुरा मिल्दोजुल्दो छ। अहिले चुरे विनाशको परिणाम सतहमा जेजस्ता आएको छ यो कुनै एकदुई वर्षभित्रमा देखिएको समस्या होइन। त्यो विगत ७० वर्षयता त्यस क्षेत्रमा गरेको निरन्तर मानव अतिक्रमण, जुन विगत एक दशकमा निकै बढिरहेको छ, त्यसको समष्टिगत नतिजा हो। चुरेमा विगतको मानवीय अतिक्रमणको परिणाम अहिले देखिन थालिसकेको छ, जुन हामीले २० वर्षअघिसम्म पनि अनुमान गर्नसकेका थिएनौँ। सन् १९५० पछि जतिबेला चुरेमा व्यापक वनफँडानी थालियो, त्यतिबेलासम्म चुरे कुनै दिन यो अवस्थामा पुग्नेछ भन्ने कुराको कल्पना नगरिएको हुनसक्छ। त्यसैले त त्यतिबेलाको सरकारी कदम चुरेको संरक्षणमा भन्दा दोहनमा सहयोगी बन्यो।
केही वर्षयता चुरेको विनाशको भयावह चित्र सञ्चारमाध्यमहरूमा आउन थालेपछि मात्रै संरक्षणका उपाय अवलम्बन गरिन थालियो। अहिले हामीले थालेका संरक्षणका प्रयास पर्याप्त छ? हामीसँग चुरेको संरक्षणको लागि पर्याप्त माववीय, प्राविधिक वा आर्थिक क्षमता छ? यसको जवाफ पाउन केही समय कुर्नैपर्छ। सरकारी संरचना बनाइँदैछ, बजेट छुट्याइएको छ, स्थानीय समुदाय संगठित भएका छन्। तर, ती संरचनागत प्रयासलाई निकम्मा पार्ने प्रयत्न भइराखेका छन्। ‘चुरेको भर्जिन क्षेत्रमा दोहन गर्ने’ भन्ने अर्थमन्त्रीका कुरा त्यसैको एउटा रूप हो। अर्थमन्त्रीको रोडम्यापमा हिँड्ने हो भने अहिले हामीले संरक्षण नथालेर अन्तिम अवस्थासम्म कुर्नुपर्छ। तर, जारेड डाइमन्डको ठम्याइमा त्यो अवस्था भनेको घातक अवस्था हो, जतिबेला संरक्षणका प्रयास कामै नलाग्ने भइसक्छन्।
चुरेको महŒव बुझ्न ठूलो कुरा जान्नैपर्दैन, मात्रै यति बुझेपुग्छ, किन कुनै बेला मानिस आउजाउ गर्न डराउने ठाउँ अहिले ५० प्रतिशतभन्दा बढी जनसंख्या बस्ने क्षेत्रमा परिणत भयो? स्पष्ट छ, चुरे जैविक विविधता र प्राकृतिक स्रोतको खानी भएका कारण त्यसले दिने वातावरणीय सेवा र सुविधाका (इकोसिस्टम सर्भिस एन्ड गुड्स) अन्यन्त्रभन्दा धेरै छ। ती सेवा र सुविधाको निकट उपलब्धताले जीवनयापन सहज हुने भएकोले मानिस त्यस स्थानमा बसाई सर्दै गएका हुन्। नेपालको अन्न भण्डार तराईको प्राण भनेको चुरे शृंखला हो। यसैले तराईलाई उर्बर बनाइरहेको छ। त्यसकारण चुरेको संरक्षणको आवश्यकता आफ्नै हितको लागि हो।
चुरेको संरक्षणसँग त्यसले प्रदान गर्ने विभिन्न वातावरणीय सेवा र सुविधा जोडिएको छ। ती सेवा र सुविधासँग हाम्रो सहज र स्वस्थ्य जीवन तथा आर्थिक प्रगति गाँसिएको छ। हिजोआज वातावरण वैज्ञानिकहरूले वातावरणले दिने सेवा र सुविधालाई मौद्रिक इकाईमा मापन गर्नथालेका छन्। नेपालमा त्यसको सुरुवात स्थानीयरूपमा कतैकतै भए पनि समग्र नेपालमा वा चुरे क्षेत्रमा त्यो कार्य हुनसकेको छैन। तर, भुटानमा हालसालै गरिएको अनुसन्धानका अनुसार त्यहाँको वातावरणले प्रतिवर्ष दिने सेवा र सुविधा त्यहाँको अर्थतन्त्रभन्दा पाँच गुणाले बढी छ।
सो बैठकमा अर्थमन्त्रीले चुरेको ढुंगागिट्टी निकासी रोक्दा रोजगारी खोसियो, अर्थतन्त्र धरापमा पर्योा पनि भन्न भ्याए। पक्कै पनि केही व्यक्तिको रोजगारी गुमेको होला, व्यवसाय चौपट पनि भएको होला, तर प्राकृतिक स्रोतको यस्तो छाडा दोहन गर्नदिनु भनेको सीमित व्यक्तिलाई मोटाउन दिएर त्यसको व्ययभार जनसमुदायमा थोपर्नु हो। चुरेको दोहनले केही व्यापारीलाई फाइदा पुगेको छ अनि अर्थतन्त्रमा नगन्य योगदान। तर, चुरेको विनाशले हजारौँ घरपरिवारलाई भौतिक र आर्थिक क्षति पुगिरहेको छ। यसकारण अहिले जुन ढंगमा प्राकृतिक विनाश भइरहेको छ, त्यो वातावरणीय विनाशमात्रै होइन आर्थिक हिसाबले पनि नाफामूलक छैन। केही मान्छेको व्यवसाय जोगाइदिन सर्वसाधरणले ठूलो मूल्य चुकाउनुपर्ने र सोही कार्यले निम्त्याएको विपद् व्यवस्थापनमा फेरि सर्वसाधारणको करको पैसा खर्च गर्नुपर्ने काम विकास हुनसक्दैन।
डिस्कभर म्यागेजिनले हालसम्मकै २५ महान वैज्ञानिकको पुस्तकको सूचीमा राखेको पुस्तक ‘साइलेन्ट स्पि्रङ’ की लेखिका रेचल कार्सन भन्छिन्– ‘आजको युगमा मान्छेको प्रकृतिप्रतिको दृष्टिकोण निकै महŒवपुर्ण छ, किनकि मान्छेले प्रकृतिलाई बदल्न र ध्वस्त पार्नसक्ने सामर्थ्य आर्जन गरिसकेको छ। तर, मान्छे आफै प्रकृतिको महत्त्वपूर्ण हिस्सा भएकोले प्रकृतिसँगको लडार्इं भनेको ऊ आफैसँगको लडाई हो।’ डा. महतले चुरेको थप विनाशको लागि भर्जिन ठाउँमा जाउँ भन्नु चुरेसँग लडाईंको लागि थप तयारी गर्नु हो। चुरेको विनाशबाट यो पुस्ता प्रभावित भइसकेको छ। संरक्षणको प्रयास नथाल्ने हो भने थप विनाश निम्तन सक्छ। त्यसकारण चुरेमा ‘भर्जिनिटी’ खोज्दै नहिडौँ। प्रकृतिको बलात्कारको मूल्य निकै महँगो हुन्छ।
नागरिकदैनिक । सोमबार १४ पुष, २०७१

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s