खराब विज्ञान आकर्षक समाचार बनेपछि !

सधै कृषिपानाको चौथाईमा सिमित नेपालका किसान र उनीहरुका कुराहरु यतिखेर चर्चाको शिखरमा छ । ठुला ब्रोडसिटदेखि विभिन्न अनलाइनसम्म गएको तीन सातायता मोन्सान्टो, जिएमओ, वीउविजन र खाद्यसुरक्षा सम्वन्धी बहसले भरिएका छन् । चौधरी घरानाले भित्राउनै लागेको बदनाम अमेरिकी कम्पनी मोन्सान्टोको आनुवांषिक परिवर्तन गरिएको मकैको विरोध भएपछि उक्त चर्चा एकएक चुलिएको हो । उक्त कम्पनी आनुवासिंक वीउ वेचविखन र त्यसबाट मुनाफा आर्जनको लागि जस्तो सुकै हर्कत गर्न पनि पछि नपर्ने भएकोले विश्वभरि नै बदनाम छ । तर मोन्सान्टोको विरोधको नाममा अनुवांसिक प्रविधीले उत्पादित खाद्यान्न (जिएमओ) र उक्त प्रविधीलाई राक्षसीकरण गर्ने कार्यहरु नेपाली छापामा भइरहेका छन् । त्यसले थुप्रै भ्रमहरु सिर्जना गरेको छ । जिएमओको बारेमा म पनि केहि वर्षसम्म त्यस्तै भ्रममा थिएँ।

यकिन मिति थाह भएन सायद सन् २००३ तिर हुनुपर्दछ हिमाल खबर पत्रिकामा वनस्पति विज्ञ तथा मेरा अग्रज डा तिर्थबहादुर श्रेष्ठको एउटा लेख छापिएको थियो जिएमओ सम्बन्धी।

धेरै कुरा याद नभएपनि उहाँले जिएमओले जैविक विविधता माथि असर पार्ने भन्दै अनुबासिंक प्रविधीले उत्पादित विटी मकैले मोनार्क पुतलीको लार्भालाई असर गरेको कुरा लेख्नुभएको थियो । नेपाल जस्तो जैविक विविधताले धनी देशमा जिएमओ भित्राउँदा त्यसले यहाँको जैविक विविधतामा पार्नसक्ने नकारात्मक असर उक्तलेखमा उठाइएको थियो । भर्खरै वनस्पतिसास्त्रमा एमएस्सी सकाएर जैविक विविधतामा रुची राख्ने र तीर्थ सरलाई आफ्नो आर्दश ठान्ने म उहाँको उक्त कुरा पढेपछि धेरैपछिसम्म पनि प्रभावित भइरहे । सायद जिएमओप्रतिको मेरो धारणा (नकारात्मक) को उत्पत्ति त्यतिवेलादेखि नै भएको हुनुपर्दछ । श्रोत र साधनको सिमितताको कारण तीर्थसरको उक्त लेखमा जुटाइएको प्रमाणको आधार के रहेछ भनेर खोज्न लागिएन धेरैपछिसम्म पनि । त्यसको आवश्यकता नै भएन । यसपाली समरमा अनुसन्धानको लागि नेपालमा जाँदा मेरो झोलामा द इन्फाइनाइट रिर्सोस द पावर अफ आइडियाज अन अ फाइनाइट प्लानेट भन्ने किताब थियो । पुस्तकको ग्रीनर देन ग्रीन भन्ने च्याप्टर पढेपछि र त्यसमा दिइएका सन्दर्भ सामाग्रीहरु पनि हेरेपछि जिएमओ सम्बन्धी मेरो पहिलेको धारणामा परिवर्तन भयो ।

सामाग्री खोज्दै जाँदा पत्ता लाग्यो तीर्थ सरले लेख्नु भएको जिएमओले मोनार्क पुतलीमा पार्ने प्रभावको मुहान सन् १९९९ मा प्रतिष्ठीत नेचर जर्नलमा छापिएको लेख पो रहेछ । जसको आधारमा सानफ्रान्सिको क्रोनिकलले आनुवाषिंक मकैको कारण पुतली खतरामा भन्ने समाचार छापेको थियो । समाचार छापिएपछि अन्तराष्ट्रिय संस्था ग्रीनपिसले अमेरिकी कंग्रेस अगाडि मरेको मोनार्क पुतली जस्तै पहिरन लगाएर प्रर्दशन गरेपछि संसारभरि त्यसले हलचल मच्चाएको थियो । त्यसपछिका बर्षहरुमा यसको समर्थन र विरोधमा जानेर नजानेर पछि लाग्नेहरुको ताँती अझै रोकिएको छैन । नेपालमा यसको प्रारम्भ चौधरी घरानाको वीउकाण्डबाट शुरु भएको छ । त्यसै सन्दर्भमा हिजोको नागरिक शनिवारमा छापिएको तीर्थसरको लेख पढेपछि लाग्यो, तीर्थसरले यहि वर्षको मे ८ मा नेचर वायोटेक्नोलोजी जर्नलमा प्रकाशित वृहद संलेषण अर्थात मेटाएनालाइसिस पत्रचार लेख (३५ पियर रिभ्यु लेख, ५५ अनुसन्धानको वृहद संस्लेषण) पढ्नु पाउनु भएको रहेनछ । नेचर वायोटेक्नोलोजीको उक्त लेखको निष्कर्ष छ विटी मकैले लेपिडोप्टेरा वर्गका (पुतलीवर्ग) किराहरुलाई नकारात्मक असर गर्दैन । (यो लेखको शिर्षक पनि त्यहि लेखबाट लिइएको हो ।)

यतिखेर प्रत्येक हप्ता वा महिनाजसो जिएमओ सम्वन्धी नयाँ नयाँ अनुसन्धानात्मक लेखहरु आइरहेका छन् । गत मे महिनामा प्रतिष्ठीत जर्नल नेचरले जिएमओ सम्बन्धी विषेशांक छाप्यो उक्त पत्रिकामा जीएमओ प्रविधीको बारेमा ब्रेकथ्रु छापिएको तीसवर्षको उपलक्ष्यमा । जसमा भारतिय अभियन्ता डा वन्दना शिवा जसले भर्खर नेपालमा प्रवचन दिएर जानुभयो उहाँले गर्नुभएको जिएमओ (विटी कपास) को कारण भारतमा किसानहरुले आत्माहत्या बढीरहेको दावीलाई झुटो र आधारहिन भनेको छ । डा शिवाको दावीपछि भारतमा किसान आत्माहत्या प्रकरणमा धेरै अनुसन्धान भएका छन् । गुरे र सेनगुप्ताले गरेको अनुसन्धान अनुसार भारतमा आत्माहत्याको दर सन् १९९७ मा प्रतिवर्ष १ लाखबाट बढेर सन् २००७ मा १ लाख २० हजार पुगेको छ तर किसानको आत्माहत्या प्रतिवर्ष २० हजारको वरिपरि नै छ । डा शिवाले नेचरको उक्त फिचरको जवाफमा जीएमओ कपास खेती बढिहुने महाराष्ट्र र आन्द्रप्रदेशमा किसान आत्माहत्या बढिरहेको कुरालाई नेचरले लुकाएको आरोप लगाउनु हुन्छ । डा शिवाको वीउमाथि किसानको अधिकार हुनुपर्ने माग जति तर्कसंगत छ त्यति उहाँको किसान आत्माहत्या प्रकरणको दावी फिक्का हुँदै गएको छ । डा शिवाले किसान आत्माहत्याको दावीलाई पियररिभ्यु जर्नलमा अहिलेसम्म छपाउनु भएको छैन त्यो जवाफ उहाँको एनजीओको वेभसाइटमा प्रकाशित छ

परम्परागत वीउ छनौट, वर्णशंकर र जिएमओ
अझैपनि खच्चरले भारी बोकिने नेपालका अधिकांश मान्छेहरुलाई थाह छ खच्चर गधा र घोडाको वर्णशंकर (हाइव्रिड) हो जुन अधिक क्षमताको भारी बोक्ने क्षमतावान हुन्छ तर आफैले सन्तान उत्पादन गर्न सक्दैन् । मान्छेहरुले आफुले चाहे अनुसारको चरित्रको विरुवा र जनावरको खोजी आधुनिक कृषीको शुरुवात भएदेखि नै गर्दै आएका हुन् । खेतिपातीको शुरुवाती क्रममा हामीले अहिले खाइरहेका खाद्य पर्दाथहरुका प्रकार (variety/cultivar) अहिले जस्तो सग्लो, राम्रो, स्वादिलो, बढि उब्जाउ हुने पक्कै थिएन । चाहेको जस्तो गुण बोकेको विरुवाको वीउ छान्ने वा दुई उच्च गुणका विच संर्सग गराउने हजारौं बर्ष पुरानो परम्परागत वीउ र माउ छनौट विधीले त्यो संभव तुल्याएको हो । अझै पनि सकेसम्म खाद्यवालीको वीउ राख्दा ठुलो, स्वास्थ, बलियो राख्ने चलन छ । त्यस्तै गाईवस्तुलाई प्रजनन गराउँदा पनि त्यस्तै किसिमको बर खोज्ने गरिन्छ । वास्तवमा यहि परम्परागत वीउ छनौट विधीको उन्नत स्वरुप अहिलेको जैविक प्रविधी मार्फत गरिने जिएमओ हो । फरक के भने परम्परागत विधीमा छनौटकर्ताले वाहिरी आवरण हेरेर छनौट गर्दछ भने यस प्रविधीमा उक्त खोजेको गुणलाई प्रभाव पार्ने डिएनए वा जीनको छनौट वा मिसावट गरिन्छ । परम्परागत प्रविधीमा डिएनएमा छनौटकर्ताको नियन्त्रण हुदैन र खोजे जस्तो नतिजा नआउने संभावना धेरै हुन्छ । अनुभवको आधारमा गरिने यस्ता प्रकृयाहरु धेरै श्रम र समय लाग्ने हुन्छ । तर जैविक प्रविधीमा वस्तुको कुनै गुणको लागि आवस्यक डिएनए वा जीन पहिचान गरेर डिएनएमा नै फेरवदल गरिने भएकोले यो विधीबाट आशातित गुण पाउन सकिन्छ । यसरी खाद्य वीउहरु उत्पादन गर्ने प्रकृयालाई जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म (जिएमओ) भनिन्छ । यो प्रविधीले उत्पादन गरिएको खाद्यान्नहरु सन् १९९२ तिर बजारमा आएपछि नै यसको समर्थन र विरोधमा विभिन्न स्वरहरु उठ्नेक्रम जारी छ । यद्यपी अहिलेको विश्वको आधुनिक कृषी प्रणालीमा यसको प्रयोग बढ्दो छ । विश्वका २८ देशका १७०.३ मिलियन हेक्टरमा (नेपालभन्दा १२ गुणा बढि) जिएमओ खाद्यान्नहरुको खेती गरिन्छ । विश्वमा उत्पादन हुने भटमासको ८१ कपासको ८१, मकै ३५ र क्यानोलाको ३० प्रतिशत जिएमओ खाद्यान्न हो । यद्यपी युरोपका धेरै मुलुकहरु जापान लगायतका देशमा यसको प्रतिवन्ध जारी छ तर युरोपमा सन् २०१० मा एम्फोल्रा भन्ने जिएमओ आलुले प्रवेश पाएपछि अन्य जिएमओ खाद्यान्नहरु भविष्यमा प्रवेश पाउनेछन् भनरे आशा गर्नेहरु धेरै छन् । किनकी सन् २०१० मा युरोपियन युनियनले गरेको वृहद अध्ययन (करिब ५०० अनुसन्धान संस्था मिलेर ज्१० वर्षको लगाएर तयार पारीएको) प्रतिवेदनले जैविक प्रविधी विषेश गरेर जीएमओ परम्परागत प्रविधी भन्दा खतरनाक होइन भन्ने निष्कर्ष निकालेको थियो । युरोपमा जिएमओ रोक्नु विज्ञानप्रति अविश्वास व्यक्त गर्नु हो भन्न थालिएको छ ( हेर्नुस् प्रतिष्ठीत साइन्स जर्नलको यो सम्पादकिय) । त्यस्तै गरि सन् २०१० मा अमेरिकाको नेसनल रिसर्च काउन्सीलले गरेको वृहद अध्ययनले जीएमओले किटनाशक औषधीको र झारपात मास्ने औषधीको प्रयोग घटाएको, कार्वन उत्सर्जन कम गरेको, माटोको बग्ने प्रकृया रोकेको र माटोको उर्वराशक्ति बढाएको दावी गरिएको छ । तर नेचर विषेशांकमा प्रकाशित लेखमा जिएमओले बलियाझार बढाएको कुरा सत्य भएको भनिएको छ ।

यसै सन्दर्भमा जिएमओ खाद्यान्नको बारेमा सधैभन्दा बढि उदाहरण दिने गरेको सन् २०१२ मा फुड एण्ड केमिकल टोक्सीकोलोजी भन्ने जर्नलमा प्रकाशित एउटा वैज्ञानिक अनुसन्धानात्मक लेख गत महिना मात्रै उक्त जर्नलले हटाएको (retraction) छ । जिएमओ खाद्यान्न खुबाएको मुसामा ट्युमर हुने दावी गरिएको उक्त वैज्ञानिक अनुसन्धानलाई उक्त निष्र्कषमा पुग्न पर्याप्त प्रयोगात्मक आधार नभएको भनेर फिर्ता गरिदिएपछि जिएमओ सुरक्षित रहेको बताउनेहरुको तर्क झनै बलियो भएको छ यतिखेर । नेपालमा प्रवचन दिने क्रममा डा वन्दना शिवाले प्राद्यापक सेरालिनीको उक्त लेख हटाउनको कारण उक्त जर्नलको वर्तमान सम्पादक मोन्सान्टोको पूर्व कर्मचारी भएको आरोप लगाउनु भएको थियो । समर्थन र विरोधमा यस्ता आवाज गुन्जिरहँदा गत सेप्टेम्वरमा साइन्स जर्नलको यो सम्पादकिय मार्फत नोवेल पुरस्कार विजेता लगायतका अन्य वैज्ञानिकहरु समेतले जिएमओ खाद्यान्नप्रति ऐक्यवद्धता जाहेर गरेका थिए । त्यसकारण वर्तमान अनुसन्धानका नतिजाहरु पढेर केहि जानकारी हासिल गरिसेकपछि सन् २००३ मा तीर्थसरको लेख पढेर जिएमओप्रति बनाएको धारणालाई जोगाइराख्न मैले भरपर्दो आधार भेटेको छैन् । भोलीका दिनमा भेटिएका त्यो अर्को कुरा हो ।

अन्त्यमा, जब देश राजनैतिक रुपमा ठुलो प्रयोगशाला बन्दछ र अर्थतन्त्र दानमा निर्भर रहन्छ तब स्वस्थ्य, कृषी र समाज सबैजस्तो क्षेत्रहरु ससाना प्रयोगशाला बनिरहने रहेछन् । मोन्सान्टोको विरोधमा उठेको आवाज जति सकारात्मक छ तर जिएमओको बारेमा नेपाली छापामा भइराखेको वहस एकतर्फि छ । विज्ञान भनेको गतिशिल हुन्छ । नयाँ नयाँ खोज र अनुसन्धानले उजागर गर्ने तथ्य र प्रमाणहरुले नयाँ मान्यताहरु समाजमा स्थापित गर्दै जान्छन् र भ्रम यर्थाथमा बढ्लिन्छ वा ठानिएको सत्य भ्रममा परिणत हुन्छ । विज्ञानको गतिशिलतामा समाजीक धारणामा निरन्तर परिवर्तन भइरहेको हुन्छ । तर जब हल्लाहरुलाई सत्य मानेर संचारजगतले प्रसारित गर्दछ तब पछिल्ला पिढीहरुलाई सत्य स्थापना गर्न र त्यसको खोजी गर्न बढि मेहनत, अनावश्यक झन्झट र प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ । त्यसमा पनि जिएमओ जस्तो भर्खरै बामे सर्दै गरेको गतिशिल प्रविधीमाथि कलम चलाउँदा इन्टरनेटमा आधारित (कु?)सुचनाको भन्दा बैज्ञानिक सोधमा आधारित लेख आधार बनाइनु पर्दछ भन्ने मेरो मान्यता छ । सायद अहिलेसम्मको सबैभन्दा बढि वहस भएको विज्ञानको यो क्षेत्र जसको सोझो संपर्क मानव खाद्यसँग छ यस्तो विषयमा हल्ला भन्दा तथ्यको खोजी हुन आवश्यक छ । बैज्ञानिक सुचनाको खोजीमा आग्रह र पुर्वाग्रह पालिनु हुन्न ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: