अलविदा ! दयानन्द सर

दयानन्द सरको बारेमा अस्कल क्याम्पसमा विएस्सी पढ्दाताका धेरै सुनिन्थ्यो तर उहाँसँग प्रत्यक्ष कुराकानी हुने मौका कहिल्यै भएन उहाँ र मेरो बिषय उस्तै भएतापनि । विएस्सी सकेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वनस्पति विभागमा एमएस्सीको विद्यार्थी बनेर जाँदा उहाँ त्यस विभाग छोडेर तात्कालिन रोनाष्ट (हालको नाष्टको) उपकुलपति भएर गइसक्नु भएको रहेछ । वनस्पति विभागको कार्यक्रममा आक्कल झुल्कल उहाँलाई देखिन्थ्यो तर उहाँसँग बोल्ने साहास कहिल्यै भएन । उहाँ आउने भनेपछि वनस्पति विभागमा अर्कौ किसिमको बातावरण तयार भएको महसुस मैले पछिसम्म पनि गरेको छु । घर छोडेर गएको अभिभावक धेरैपछि घर आउँदा घरमा हुने वातावरण जस्तो उत्सुकता, रोमान्चकता र अलिकती डर । उहाँ वनस्पति विभागको कुशल अभिभावकको रुपमा सम्मानित हुनुहुन्थ्यो ।

वनस्पति विभागमा दुईवर्ष पढ्दा उहाँको बारेमा वनस्पति विभागमा औपचारिक अनौपचारिक धेरै किस्साहरु पनि सुनिन्थ्यो अग्रजहरुबाट । किस्साहरु उहाँले गर्नुभएको माइटोकोन्ड्रियाको उत्पत्ति र विकास सम्वन्धी उहाँको पिएचडी सोध विश्वविख्यात भएकोदेखि वनस्पति विभागको विद्यार्थी र शिक्षकहरुसँग उहाँको सम्वन्धसम्मका हुन्थे । एउटा किस्सा यस्तो थियो । उहाँ विभागिय प्रमुख हुँदा त्यहाँको विद्यार्थी नेताले एकजना विद्यार्थीलाई भर्ना गर्न दवाव दिएछ । उहाँले मान्नु भएनछ । त्यसपछि त्यो विद्यार्थी नेताले भए भरको गमला फोरेर देखाउँदै सरकोे टाउको पनि यसरी नै फोरी दिउँ भनेछ । दयानन्द सरले पनि सक्छौं भने लौ फोर भन्नु भएछ । भनाभन बढ्दै गएपछि त त्यो नेताले वनस्पति विभाग जलाइदिन्छु भन्दै जर्किनभरी पेटोल ल्याएर छर्न थालेछ । तनाव बढ्दै गएपछि क्लास लिइरहेका वनस्पति विभागका विद्यार्थीहरु वाहिर आएर प्रतिकार गरेपछि त्यो विद्यार्थी नेता कुलेलाम ठोकेछ । सायद विद्यार्थीले राजनिति गर्ने मात्रै होइन संगठीत पनि हुनुहुन्न भन्ने मान्यता राख्नुहुन्थ्यो दयानन्द सर । त्यसैले होला अन्य त्रिविविका केन्द्रिय विभागहरुमा विद्यार्थीहरुको स्वतन्त्र संस्था थियो तर वनस्पति विभागमा थिएन । सरको कारण त्यो संभव नभएको भन्नेहरु पनि थिए । तर हाम्रो पालादेखि वोटानिकल स्टुडेन्ट सोसाइटीलाई पुर्नजिवित भएको थियो ।

अर्को किस्सा वनस्पति विभागको प्राद्यापकहरुसँग सम्वन्धित थियो । दयानन्द सर त्रिविविको रेक्टर हुँदा त्यसै वनस्पति विभागमा प्राद्यापक हुनुहुन्थ्यो त्रिविविका पूर्व उपकुलपति कमलकृष्ण जोशी सर पनि । कमल सर राजनितिमा सक्रिय हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलनताका प्राद्यापक संघले अडिटोरियमा सभा गर्नको लागि कमलसरले चावी माग्दा दयानन्द सरले नदिएको र पछि कमलसरले अडिटोरियम वाहिर नै सभा गर्ने भनेपछि चावी दिएको भन्ने किस्सासँगै उहाँले अप्रत्यक्ष पंचायतलाई सहयोग गरेको अनौपचारीक आरोप पनि लाग्थ्यो । तर यस्ता किस्साहरु दशौं पुस्तापछि वनस्पति विभागमा गुन्जीरहेर हामीसँग आउँदा त्यसमा सत्यताको अंश कति बाँकी रहन्थ्यो हामीले जाच्दैनथ्यौं बरु उहाँको बारेमा एउटा धारणा बनाउथ्यौं । समग्रमा उहाँप्रतिको मेरो धारणा यस्तो थियो–विषयगत दक्षतामा कतै कमि नभएको विज्ञानको विकासमा लागिपर्ने एउटा निर्भिक र कडा मिजासको व्यक्ति जो राजनैतिक रुपमा राजसंस्थाप्रति उदार छ ।

पछिल्लो पटक उहाँको प्रवचन मैले हिमालयन जर्नल अफ साइन्स को विमोचनको क्रममा त्रिविवि केन्द्रिय पुस्तकालयमा सुनेको हो सन् २००३ मा । उहाँले वैज्ञानिक प्रकाशनको बारेमा निकै विचारोत्तेजक भाषण गर्नुभएको थियो । उक्त जर्नलका सम्पादक कुमार मैनाली दाईले भनेको अझै संझना छ, वनस्पति विभागको महिनावारी भित्तेपत्रिका बोटानिका ओरियन्ट्यालीस निकाल्नको लागि एक अंकको लागि रुपैयाँ माग्न जाँदा उहाँले एकवर्ष भरिको एकमुष्ट पैसा दिएको कुरा । उहाँले नेपालको विज्ञान क्षेत्रको विकास हुन बैज्ञानिक प्रकाशनहरु हुनपर्दछ भन्ने मान्यता राख्नुहुन्थ्यो । नेपाली वैज्ञानिक जर्नलहरुमा उत्कृष्ट मानिने र साजसज्जाको हिसावले पनि अन्तराष्ट्रिय स्तरको हिमालयन जर्नल अफ साइन्सको पहिलो अंकमा उहाँले सम्पादकिय पनि लेख्नु भएको छ । उहाँ त्यसको सल्लाहाकार पनि हुनुहुन्थ्यो तर पछि के कारणले गर्दा हो उहाँ त्यो जर्नलबाट टाढा हुनु भयो ।

नेपालमा विज्ञानको महत्व समाजमा फैलाउन उहाँले जति मेहनत र योगदान सायद कसैले पनि गरेको छैन् । पहिले कान्तिपुर र पछि नागरिक पत्रिकामा उहाँ नियमित लेख्नुहुन्थ्यो । नागरिकमा छापिने उहाँको लेख धेरै पढिने लेखहरुमा पर्दथ्यो । नोवेल पुरस्कारको घोषणा हुँदा होस् या मंगलग्रहमा यान पुग्दा उहाँको लेख प्रसंग मिलाएर आउथ्यो । व्रम्हाणदेखि शरिरको कोषसम्म, जलवायु परिवर्तनदेखि मानव जातिको अस्तित्वसम्मको बारेमा समेत सर्वसाधारणले वुझ्ने भाषामा बैज्ञानिक लेख लेख्न सक्ने अदभुत क्षमता थियो दयानन्द सरसँग । त्यसै क्षमताको कारण उहाँ नेपालको वैज्ञानिक सेलिवे्रटी वा आइकन बन्नुभयो । नेपालमा विज्ञानको कुरा हुँदा दयानन्द सरको नाम पर्याय जस्तै बन्यो । तर विज्ञान विषयको विकाशमा यति मरिमेटेर लागेको व्यक्तिले वनस्पति विभागको प्रमुख हुँदा एक दशकसम्म पनि एकजना पिएचडी सोधकर्ता पनि किन उत्पादन गर्न उहाँले सक्नु भएन होला ? जवकी पिएचडी सोध भनेको विज्ञानको विकासको जग र मापन दुवै हो । मेरो मनमा सधै यस प्रश्नले घचघचाइ रहन्थ्यो । उहाँसगँ भेट भएमा सायद मैले सोध्ने प्रश्न त्यहि हुन्थ्यो होला तर व्यक्तिगत रुपमा उहाँले भेट्ने घोको अधुरै रह्यो ।

व्यक्तिगत रुपमा प्रत्यक्ष भेटघाट नभएपनि दयानन्द सरले पहिले कान्तिपुर र पछि नागरिकमा लेख्ने कोलमको अधैर्य पाठक म । उहाँ पनि मैले लेखेका विज्ञानसम्वन्धी लेखको नियमित पाठक हुनुहुन्थ्यो । सन् २००५ अप्रिल ९ मा कान्तिपुर दैनिकमा ‘डस्टरमै सिमित नेपाली बैज्ञानिक’ भन्ने मेरो छापिएको थियो दयानन्दसर त्यतिवेला नाष्टको उपकुलपति हुनुहुन्थ्यो । नाष्टबाट आएको उक्त लेखको प्रतिकृया पनि छापिएको थियो त्यसवेला । नोभेम्बर २००८ मा नयाँ पत्रिकामा विज्ञान सम्वन्धि मेरो लेख छापिएपछि उहाँले मलाई वधाई भन्दै इमेल गर्नुभएको थियो र विदेशिएका वैज्ञानिक भन्ने कान्तिपुरको आफ्नो लेख पढ्ने सुझाव सहित । उहाँले यसै ब्लगमा विज्ञानसम्वन्धी लेखिएका मेरा ब्लगहरु पढेर मलाई हौसलाका इमेलहरु पठाइ रहनुहुन्थ्यो । हामी विचको सम्पर्कको पुल तात्कालिन वनस्पति विभागका प्रमुख प्रा कृष्णकुमार श्रेष्ठ बन्नु भएको थियो । पछिल्लो पटक सन् २०१२ मा विश्वप्रसिद्ध बैज्ञानिक जर्नल साइन्समा नेपालमा विज्ञान प्रविधीको विकासमा छिमेकीको भुमीका सम्वन्धी छापिएको मेरो लेख सरलाई पठाएपछि बधाई सन्देशको इमेल आएको थियो । अब मेरो इन वक्समा डिवज्राएटडब्लुलिकंडटकमडटएनपी बाट हौसलाले भरिएका त्यस्ता इमेल कहिल्यै आउने छैनन् । अलविदा ! दयानन्द सर !

माइसन्सार ब्लग ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s