हिमालय वचाउन
विश्वभरका वैज्ञानिकहरु यतिखेर जलवायु परिवर्तन एउटा अकाट्य सत्य हो भन्नेमा करिव करिव एकमत भएका छन् । जलवायु परिवर्तनले विश्वको कान्छो पर्वतश्रृंखला हिमालयलाई झनै् असर पार्ने कुरा विभिन्न प्रतिवेदनहरुले देखाएका छन् । संयुक्त राष्ट्रसंघिय निकाय जलवायु परिवर्तन सम्वन्धी अन्तरदेशिय समिति (आइपिसिसी) को २००७ मा प्रकाशित प्रतिवेदनका अनुसार, यदि पृथ्वीको तापमान वर्तमान गतिमा बढिरहने हो भने स्न २०३५ सम्ममा हिमालयक्षेत्र सम्पूर्णरुपमा हिउँविहिन हुनेछ । विभिन्न समयमा इसिमोड र विश्व वन्यजन्तु कोष जस्ता विभिन्न संस्थाहरुले गरेको अध्ययनहरुले हिमालय क्षेत्रको जलवायु संवेदनशिलता र जलवायु परिवर्तनले यसक्षेत्रलाई पार्ने असरहरुलाई उजागार गरिरहेका छन् । तर गत सोमवार भारतीय वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले यसअघि गरिएका विभिन्न पुर्वानुमानहरु भन्दा भिन्न आँकडा पेश गर्दै यसक्षेत्रको हिमनदीहरु पग्लने प्रकृयामा नयाँ बैज्ञानिक विवाद सिर्जना गरेकोछ । छलफलको लागि ल्याइएको भनिएको उक्त प्रतिवेदनका अनुसार हिमालय क्षेत्रको हिमनदीहरु पग्लनुमा जलवायु परिवर्तन नै कारक हो भन्ने कुनै ठोस प्रमाण हालसम्म भेटिएको छैन् । भारतीय वातावरण मन्त्री जयराम रमेशका अनुसार, यो अध्ययनले हिमालयक्षेत्रमा जलवायु परिवर्तन सम्वन्धी वर्तमान ज्ञानलाई चुनौती दिएको छ । यद्यपी यस प्रतिवेदनले आगामी डिसेम्वरमा हुने जलवायु परिवर्तन सम्वन्धी कोपेनहेगन सम्मेलनमा भारतले प्रस्तुत गर्ने अवधारणालाई कत्तिको प्रभावित पार्ने हो त्यो आगामी दिनमा प्रष्ट होला । तर पनि कोपेनहेगन सम्मेलनको मुखैमा आएको यो नयाँ प्रतिवेदन र त्यसप्रति उत्पन्न क्रियाप्रतिक्रियाहरुले उक्त सम्मेलनमा हिमालयक्षेत्रका साझा समस्याहरु उठाइने भन्दापनि आरोप प्रत्यारोपमा सिमित हुने खतरा बढेकोछ ।
भारतीय भौगर्भिक विभागका पूर्वप्रमुख भिके रैनाद्वारा लिखित साठी पृष्ठ लामो “हिमालय क्षेत्रका हिमनदीहरु” भन्ने शिर्षकको उक्त प्रतिवेदनका अनुसार हिमालय क्षेत्रको हिमनदीहरु फैलने र संकुचन हुने क्रम भर्खरै शुरु भएको होइन, यो २० हजार वर्ष अघिदेखि नै हुँदै आइरहेको छ । विभिन्न कालखण्डमा यहाँका हिमनदीहरु फैलने र संकुचन हुनेक्रम जारी छ र अहिलेपनि यो अरुले भनेजस्तो असाधारण रुपमा संकुचित भइरहेको छैन् । उदारहण पेश गर्दै प्रतिवेदनमा भनिएको छ गंगानदीको मुहान गंगोत्री हिमनदी सबैभन्दा बढि संकुचन सन् १९७७ मा भएको थियो (जतिवेला जलवायु परिवर्तनको कुरा नै उठेको थिएन) र अहिले त्यो आफ्नै गतिमा घटीरहेको छ । यसअघि विभिन्न प्रतिवेदनहरुमा जलवायु परिवर्तनको कारण गंगानदी सुक्ने र करोडौं मानिसहरु त्यसवाट प्रभावित हुने खतरा औलाइएको थियो । त्यस्तै सोनापानी हिमनदी विगत १०० वर्षमा ५०० मीटर घटेको थियो भने काँग्रीज हिमनदीमा कुनै परिवर्तन देखिएको छैन् र अहिले पनि सिइचेन हिमनदी बढिरहेको छ । त्यसकारण प्रतिवेदनका अनुसार यो साँधुरिने वा फैलने क्रिया जलवायु परिवर्तनले मात्रै हुने साधारण काम होइन, विभिन्न स्थानिय र वाह्य परिघटनाको समिश्रणले यसमा काम गरेको हुन्छ ।
भारतका प्रसिद्घ हिमनदी विशेषज्ञ रैनाका यस्ता भनाई यसअघि पनि विभिन्न जर्नलहरु मार्फत सार्वजनिक भएको थियो । तर वातावरण मन्त्रालय मार्फत सोमवार प्रकाशित प्रतिवेदनले भने विश्वको ध्यान खिचेको छ । उक्त प्रतिवेदन माथि प्रारम्भिक टिप्पणी गर्दै आइपिसिसीका प्रमुख राजेन्द्र पचुरीले भनेका छन् प्रतिवेदनमा निकै कम वैज्ञानिक सन्र्दभसामग्रीहरु समेटिएको र सम्वन्धीत विशेषज्ञले त्यसको सत्यता जाँचेका छैनन्, हामीलाई थाह छ त्यहाँ के भइरहेको छ । तर रैना भन्छन् पश्चिमा वैज्ञानिकहरुले विश्वका अन्य भागमा भैरहेको हिमनदी सुक्ने दरलाई हिमालयक्षेत्रमा प्रयोगगरि पुर्वानुमानहरु गरिरहेका छन् जुन अस्वभाविक छ । जवसम्म यस क्षेत्रमा मनसुन रहिरहन्छ तवसम्म हाम्रो हिमनदीहरु सुक्दैनन् । थोरै भुभागमा धेरै उचाईमा विविधता भएको हिमालय पर्वतमाला अन्य क्षेत्रभन्दा विषेश खालको छ । उनको थप कथन थियो । उनको यो भनाई नेपालका हिमनदीमा अध्ययन गरिरहेका अमेरिकाको कोलोराडो विश्वविद्यालयका प्राध्यापक रिर्चड आर्मस्टगंसँग मिल्न खोज्दछ ।
प्राध्यापक रिर्चड आर्मस्टगंले दक्षिण एशियाली क्षेत्रको कोपेनहेगन सम्मेलनमा प्रस्तुत गरिने साझा अवधारणा वनाउन भनि गत अगष्टमा काठमाडौंमा आयोजित “काठमाडौंदेखि कोपेनहेगेनसम्म” भन्ने सम्मेलन, जसमा यो पंक्तिकार पनि सहभागी थियो, त्यस्तै अवधारणा प्रस्तुत गरेका थिए । उनका अनुसार जलवायु परिवर्तनले हिमालय क्षेत्रका हिमनदीहरुमा पार्ने प्रभाव सम्वन्धी अहिले प्रकाशित निष्कर्षहरु एकदमै कम तथ्यांकको आधारमा निकालिएको हो । तीनीहरुले सम्पुर्ण हिमालय क्षेत्रको प्रतिनिधित्व गर्न सक्दैनन् । हिमालयक्षेत्रको भौगलिक अवस्था विश्वका अन्य भागहरु भन्दा निकै फरक छन् । उनका अनुसार हिमालयक्षेत्र सन् २०३५ सम्ममा पाँचलाखबाट एकलाख वर्गकिलोमिटरमा साँधुरिने भन्ने विश्व वन्यजन्तु कोषले सन् २००५ मा गरेको अनुमान गलत छ किनकी अहिले हिमालयक्षेत्रको कुल हिमनदीको क्षेत्रफल एकलाख वर्गकिलोमिटर भन्दा कम छ ।
उक्त प्रतिवेदनले प्रस्तुत गरेका तथ्यहरु सत्यको नजिक भएमा पनि हिमालय क्षेत्रको जलसम्पदा यसक्षेत्रमा मनसुन रहँदासम्म नसुक्ने र हिमनदी अन्य पुर्वानुमान जतिकै चाँडो गतिमा नपग्लिने मात्रै हो । इसिमोडले नेपालको हिमालय क्षेत्रमा गरेको अध्ययनले पनि २० वटा हिमनदीहरु फुट्नसक्ने कुरा औल्याएको थियो । उक्त प्रतिवेदनमै पनि धेरै जसो हिमनदीहरु पग्लीरहेको कुरालाई स्वीकार गरिएको छ, त्यसको कारण जलवायु परिवर्तन नै हो भनेर ठोकुवा नगरिएतापनि । त्यसकारण उक्त प्रतिवेदनले जलवायु परिवर्तनको हिमनदी बाहेक अन्यत्र परिरहेको असरको बारेमा खासै प्रभाव राख्दैन । नेपालको सन्र्दभमा भन्ने हो भने जलवायु परिवर्तनका असरहरु वन, कृषी र पशुपालन लगायत यहाँको परिस्थिकिय प्रणालीमा पनि पर्न थालेको तथ्यहरु देखिन थालेका छन् ।
विगत केहिवर्ष यता नेपालमा वर्षेनी ०.०६ डिग्री सेल्सियसको दरले तापक्रम बढिरहेको छ, जाडोयाम छोटिन थालेकोे र वसन्त ऋतु चाँडै शुरु हुन थालेको छ, आकाशे पानी पर्ने समयमा फेरवदल भइरहेको छ, कुनै ठाँउमा सुख्खा त कुनैमा अतिवृष्टी भइरहेको छ । हावापानीमा भएको यस्तो परिवर्तनले परिस्थिकिय प्रणालीमा पारेको असरहरुका बारेमा हामीसँग यकिन तथ्यांक र विस्तृत अध्ययन नभएको भएतापनि समुदायको ज्ञानमा आधारीत भएर गरिएको अध्ययनहरुले विभिन्न असरहरु पर्नथालेको देखाएको छ । फुलहरु समय अगावै फुल्न थालेका छन्, उच्च पहाडी भेगका रुखहरु बढि उचाईतिर विस्तार हुँदै गइरहेका छन्, उच्च पहाडी भागहरुमा लामखुट्टे देखापर्न थालेको छ, वालीनालीमा नयाँ नयाँ झार, रोगहरु र किराहरु देखापर्न थालेको छ, चराहरुले समय अगाडी नै वच्चा काड्न थालेका छन्, कतिपय ठाँउमा नयाँ प्रजातीका विरुवाहरु देखापर्न थालेका छन् । जुन विश्वका अन्य भागमा पनि देखिएका छन् ।
अन्त्यमा, हिमालय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट साँच्चै जोगाउने हो भने यसक्षेत्रका मुलुकहरु विशेष गरेर नेपाल, भारत र चीनको सहकार्य हुन जरुरी छ । चीन र भारत विश्वमा महाशक्तिको रुपमा उदाँउदै गएको, उक्त दुई देशको जनसंख्या विश्वको जनसंख्याको दुईतिहाइ भन्दा वढि भएको र उनीहरु विश्वमा जलवायु परिवर्तनको कारक मानिएको हरितगृह उत्र्सजन गर्ने प्रमुख राष्ट्रहरु पनि भएकोले उनीहरुको आवाज विश्व रंगमन्चमा विषेशगरि कोपेनहेगन सम्मेलनमा प्रभावकारी हुने निश्चित छ । त्यसकारण भारतीयहरुले उक्त प्रतिवेदनलाई आधार मानेर कोपेनहेगन सम्मेलनमा आफ्नो हरितगृह ग्याँस उत्र्सजन नघटाउने भन्ने अडान राखे भने हिमालय जोगाउने भनेर नेपालले विश्व समुदायमा गर्न लागेको अभियान ओझेलमा पर्न सक्दछ । सम्मेलनको मुखैमा भारतिय वातावरण मन्त्रीको विषेश अनुरोधमा ल्याइएको उक्त प्रतिवेदन आफैमा शंकाको घेराभित्र छ । त्यसकारण नेपालले यस क्षेत्रमा जलवायु परिवर्तनसँग जुघ्नको लागि लविगं र अन्य तयारी नगर्ने हो भने डेनमार्कको कोपेनहेगन सम्मेलनमा नेपालको सहभागीता उपलब्धी विहिन पनि हुनसक्छ ।
नागरिक दैनिक । २९ कार्तिक २०६६ ।