आफ्नै ज्ञानको सम्मान
उनीहरु त्यो ज्ञानको खोजीमा न त आदिम ऋषिमुनिहरु जस्तै ध्यान नै वसे, न त आधुनिक मानिसहरु जस्तै ठुला ठुला युर्निभरसिटी नै पसे । त्यो परम्परागत ज्ञान र शिप आफ्ना पुर्खाहरुका अनुभव र पसिना सिंचेर आर्जन गरेका हुन् । उनीहरुको त्यो परम्परागत ज्ञानलाई पन्जिकरण र विष्लेषण गरे वापत अर्थसास्त्रमा विश्व प्रसिद्घ नोवेल पुरस्कार पाएर इलिनोर ओष्टमहरु खुशी साट्न व्यस्त भइरहँदा, उनीहरु सायद खेतमा कार्तिके सिंचाई गरेर आफनो वाली सपार्दै थिए होला । प्राध्यापक ओष्टमको दृष्य खोलिदिने, अझ भनौ विश्वलाई साझा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन यसरी गर्न सकिन्छ भनेर सिकाउने असली ज्ञानको हकदार ती किसानहरु विश्वमा गत साता तहल्का मच्चाएको यो खबरदेखि सायद अनभिज्ञ नै थिए होला । उनीहरु वाहिर संसारसँग अनभिज्ञ भएर के भयो र ? आखिर नेपालको समुदायले परम्परागत रुपमा गर्दै आएको सिंचाई प्रणाली लगायत प्राकृतिक स्रोतको व्यवस्थापन कौशलको ज्ञानलाई विश्वले कृतज्ञता व्यक्त गर्यो । र, त्यसै आधारमा गरिएको अनुसन्धानलाई अर्थसास्त्रको नोवेल पुरस्कारले विभुषित गरयो ।
सन् १९६८ मा ग्यारेट हार्डिनको “ट्राजेडी अफ कमन्स्” (साझा स्रोतको दुखान्त) लेख साइन्स जर्नलमा छापियो । उक्त जर्नलको इतिहासमा नै अहिलेसम्म सबैभन्दा बढि साभार गरिएको उक्त लेख वास्तवमा नेपालको किसान र दुध किस्सासँग मिल्दोजुल्दो छ । किस्सा अनुसार एउटा ट्यांकी भरी दुध भर्ने भनेर गाँउलेलाई भनिएको हुन्छ । एउटाले अरु सबैले दुध लगि हाल्छ म त त्यसैमा पानी खन्याइदिन्छु । त्यत्रो दुधमा जावो मेरो पानीले के फरक पार्ला र ? भन्ने द्घिविधा पाल्छ । अनि अरुहरु सबैले पनि त्यस्तै सोच राख्दै पानी लिएर आँउदा ट्यांकीमा दुध हाल्ने कोही नभई पानी पानी मात्रै भरिन्छ ।
हाम्रो किस्सामा किसानको दुध लाने नलाने द्घिविधा भएजस्तै साझा गौचरनको उदाहरण पेश गर्दै प्राध्यापक हार्डिनले साझा खर्कको प्रत्येक उपभोक्तामा हुने द्घिविधालाई प्रस्तुत गरेका छन् । उनका अनुसार खर्कको क्षमताले नभ्याएपनि त्यहाँ गाई चराउने हरेक गोठाला वा किसानको स्वार्थ गाई थप्ने हुन्छ । किनकी किसानले त्यहाँ गाई थपे वापत उसलाई व्यक्तिगत फाइदा हुन्छ तर घाटा सबैलाई बाडँ्छ अर्थात चरनमा घाँस कम भए सबैलाई बाडिन्छ । किसानहरुको यहि मानसिकताको कारण साझा प्राकृतिक स्रोतको ह्रास र अन्तव्यगत्वा दुखद विनाश हुन्छ । हार्डिनको यो भनाईलाई कसि लगाउने काम भए त्यसपछि थुप्रै भए । थुपै उदाहरणहरु पेश भए । साझा प्राकृतिक स्रोतको यसरी दुखान्त अन्य हुने भएकोले हार्डिनका अनुसार, त्यसको व्यवस्थापन नियमन गर्नको लागि राष्टिय र अन्तराष्टिय निकायको खाँचो पर्दछ । त्यस्ता स्रोतको व्यवस्थापन कि त राष्टिय र अन्तराष्टिय निकायको नियमन गरेर गर्न सकिन्छ कि त त्यसलाई निजिकरण गरेर । उनको यो थेसिस आएपछि हामीलाई पश्चिमाहरुले वा पश्चिमकृत वुद्घिजिवीहरुले घोकाउने गरेको तथ्य यहि हो । नेपालको सार्वजनिक संस्थानहरु निजिकरण पनि सायद त्यसैको प्रतिफल होला ।
प्राध्यापक ओष्टम सायद हार्डिनको त्यो भनाईसँग असहमत हुँदै समुदायमा आधारीत स्रोत व्यवस्थापनको अध्ययन गर्न लागिन । उनका अनुसार, हार्डिनहरुले साझा प्राकृतिक स्रोत र निर्वाध प्रयोग गर्न मिल्ने (ओपन स्रोत) फरक छुट्याउन सकेनन् । “ट्राजेडी अफ कमन्स्” का वकालतकर्ताहरुले के विर्सिए भने साझा प्राकृतिक स्रोतको व्यवस्थापन समुदायले आफ्नो परम्परागत मान्यता र परम्परागत संस्थाहरु (गुठी जस्ता) को मद्तले दिगो हिसावले गर्न सक्दछन् र गरेका हुन्छन् । सन् १९८९ तिर इलिनोर ओष्टम नेपाल आएर अनुसन्धानको विषय वनाएको र निकालेको निष्कर्ष यहि हो । आफ्नो अनुसन्धानको क्रममा उनले समुदायले व्यवस्थापन गरेको माछापोखरीदेखि वन, सिंचाई कुलो सम्मको अध्ययन गरिन । र निश्कर्ष निकालिन विदेशी दातृसंस्थाहरु जसले गरिव देशहरुमा वातावरण संरक्षणमा हात हालेका छन् उनीहरुले त्यहाँ विद्यमान सामाजिक सम्वन्धहरुलाई जानेर वा अन्जानमा ध्यस्त वा अपांग तुल्याएका हुन्छन् । उनीहरुले सामाजमा विद्यमान परम्परागत नाता सम्वन्ध, ज्ञान शिप, र आर्दशहरुलाई चकनाचुर पारेका हुन्छन् । तर ती कुराहरु यति महत्वपुर्ण हुन्छन् कि त्यसको आधारमा प्राकृतिक स्रोतको प्रयोगकर्ताहरुले सदियौंदेखि प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै उत्पादकत्व बढाइरहेका हुन्छन् । र, जीविका चलाईरहेका हुन्छन् । त्यस्ता सामाजिक संस्थाहरुलाई अपांग तुल्याएर स्रोतको दिगो व्यवस्थापन हुन सक्दैन । उनको निचोड थियो ।
उनको यो निचोड नेपालमा नयाँ संविधान वनाउने सिलसिलामा निकै महत्वपुर्ण छ । किनकी हामी अहिले संविधानसभा मार्फत विभिन्न जाति, जनजाति, क्षेत्र लिंग र समुदायको अधिकार, पहुँचलाई सुनिश्चित गर्न लागिरहेका छौं । कतिपय मानिस, राजनैतिक दलहरु अहिले पनि समुदाय वा समाजको तल्लो निकायलाई ससक्तिकरण गर्ने, उनीहरुको नितिगत तहरुमा पहुँच बढाउने, स्रोतको उपभोग, परिचालन र संरक्षण गर्ने अधिकार दिने र उनीहरुलाई नितिगत तहमा सामेल गराउने कुरामा अझै पनि हिच्चकिचाइरहेका छन् । अपठित भनेर समुदायरहेका ज्ञान र शिपलाई अवमुल्यन गर्ने, त्यसलाई महत्वहीन ठान्ने हेलाँको दृष्टीले हेर्नेहरु कथित पठितहरु हामी कहाँ थुपै छन् । ओष्टमलाई समुदायले गरेको सफल व्यवस्थापनमा को खोज गरे वापत दिइएको नोवेल पुरस्कार नेपालका आदिवासी जनजातीले परम्परागत रुपमा प्रयोग गर्दै आइरहेको ज्ञान र शिपलाई विश्वजगतले कृतज्ञता ज्ञापन गरेको प्रमाणको रुपमा लिन सकिन्छ । विश्वले कृतज्ञता ज्ञापन गरेको हाम्रो समुदायमा आधारीत ज्ञानलाई कृतज्ञता ज्ञापन नगरे पनि पहिचान गर्ने वेला भएन र ?
नागरिक दैनिक । कार्तिक ९ २०६६ साेमबार ।